अमेरिकामा हिमआँधीबाट २० भन्दा बढीको मृत्यु

एजेन्सी । संयुक्तराज्य अमेरिकामा केही दिन देखिको हिमआँधीमा परेर कम्तीमा २० जनाको मृत्यु भएको छ । दक्षिणपश्चिम टेक्सासदेखि उत्तरपूर्वी म्यासाचुसेट्ससम्मको विशाल भूमिमा आएको ठूलो हिामआँधीबाट कम्तिमा २० जनाको मृत्यु भएको हो ।
टेक्सासमा मंगलबार अपराह्नसम्ममा ३० लाखभन्दा बढी मानिस विद्युत सेवाबाट विमुख भएका छन् । सुगरल्यान्ड शहरमा घरभित्र बालेको आगो फैलिएर भएको आगलागीबाट मंगलबार बिहान एक महिला र तीन बालबालिकाको मृत्यु भएको छ ।
उत्तरी क्यारोलिनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १० जना अरु घाइते भएका छन् ।
दक्षिणी टेनेस्सी राज्यमा पनि एक जना १० वर्षीय बालकको हिउँले ढाकिएको पोखरीमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिकूल मौसमका कारण धेरैवटा कोभिड–१९ का खोप केन्द्रहरु पनि बन्द गर्नु परेको छ । खोप ढुवानीमा समेत समस्या उत्पन्न भएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।
अर्को हिउँदे आँधी अमेरिकाका दक्षिण तथा मध्यपश्चिमी क्षेत्रमा बुधबारदेखि शुरु हुन लागेको पनि जलवायु अधिकारीले बताएका छन् ।