फागुन ७

लेखनाथ ज्ञावाली
होमी आफ्ना अनेकौं हृदय र सपना कालको भेल छल्दै,
कालो निष्पट्टताका प्रहरहरुमा आशको दीप बल्दै,
हिँड्थ्यो त्यो जो उठाई हृदयहरु जहाँ देशको लाज बोकी,
हामीले सम्झिएको दिन कहीँ त्यही मुक्तिको आज हो कि ?
मान्छे स्वतन्त्रताका समरहरुमा भष्म भै आफू जल्छ,
छेक्ने कुख्यात, उस्को प्रगतिपथको बार पर्खाल ढल्छ,
मान्छेको चेतना प्रगति समयको चिन्तनालोक बोकी
कैलेकैं आउने यो दिन कहीँ उही बैंशको झोंक हो कि ?
पाई आधार उनकै कलुषित मनले नाम उनकै भजाई,
उनकै विज्ञान–बाटो विथलि बीचमै स्वार्थ आफ्ना सजाइ
मान्छे दुष्कर्म भित्री–सतहमुनि गै गर्छ कालो प्रहार,
कतै त्यो बैरिलाई लखटिरहने सोच हो बार बार ?
मान्छे अग्ला बनेछन् समय निमठी सृष्टिमा हेर हेर !
मान्छेकै वस्तिमाथि गति अगतिको बाँडि संकट धेर,
मान्छेको दुःख नाङ्गै पडिरछ कसले सक्छ यो दृश्य छोपी ?
कतै यो निस्किएको त्यहि हृदयको शुष्क आवाज हो कि ?
जैले यो पुन्पुरामा सहि नसकिने गृष्मको घाम चढ्छ,
जैले यो धर्तिमाथि खपि नसकिने घोर अन्याय बढ्छ,
सक्दै–सक्दैन भन्छन् मनुजमनले आत्म विस्फोट रोकी,
कतै यो सोहि नौलो समय दिनको मागको तोक हो कि ?