Logo फाल्गुन १४, २०७७ शुक्रबार


मन हराएको सुचना

निशान निष्कर्ष

सम्पादकज्यू !

छापिदिनुस् तपाईँको अखबारको पहिलो पानामा
मेरो मन हराएको सुचना ।

कता जान्छ होला यति धेरै धुँवाको मुस्लो ?
कि कतार र दुवइमा
अर्को मृत्युको खोजीमा निस्किन्छ ?
कि मलेसियाको जंगलको भेडीगोठमा
जान्छ पिरती गाँस्न ?
कि अमेरिका र अष्ट्रेलियाको
मसाज सेन्टर पस्छ ?

पक्कै पनि सिमाना काटेको हुनुपर्छ
सरकारले उतै जाने आदेश दिएपछि ।
ब्रह्मनालको छेउमा उभिएर यही सोच्दै थिएँ

म भर्खर आर्यघाटबाट फर्केको हुँ
जलाएर सत्यताको चाँङ

मैले बिसाएको मन पनि उतै छुट्यो कि ?

हातमा १७ वर्षे लगानीको धितोपत्र बोकेर
हिँडिरहेँ सहरका कुनाकुनामा डलर कोरलिरहेका
आइएनजिओ र एनजिओ भेट्न
फाटिरहे आमाको सपना
बुबाको विश्वास र प्रेमिकाको आशा ।
चढाइरहेँ स्वाभिमानको आहूति
तर पनि मनले मनलाई नजितेपछि
त्यतै छुटेछ क्यारे मन

सम्पादकज्यू,
यति खबर त छापिदिनुहुन्छ होला नि ।

नयाँ बानेश्वरस्थित सहरभित्रको पार्कमा जम्मा भएका
एक हूल युग
नियालिरहन्छन् सहरको सरम
गाइरहन्छन्, रिमालका कविताहरु
देखिरहन्छन् बि आइ सि सिमा आमाका सपनाहरु ।
उनीहरु कति सत्य छन्
मेरो मनले नियाल्न नसकेरै
भागेको हुनुपर्छ मन
कोटेश्वरको चोकबाट कुनै बाटो ।

सपना बाँड्न जति सजिलो छ नि
त्यति गाह्रो रहेछ संघर्ष गर्न ।

हजारौँ निर्दोष इन्द्रमायाहरुको छोटिएको लुगामा मात्र
किन बस्छ आजकाल रमेशहरुको मन
र देख्छन् उनीहरुलाई सन्नी लियोनी

स्वतन्त्र हुनु अपराध हो र ?

उता सुदूर बस्तीहरुको
छाउगोठमा आफ्नो कौमार्य सेलाइरहेका
सालिन सुशीलाहरु पीडाको सुस्केराभित्र
कहिले पाउलान् परिवर्तनको आभाष
मैया बादीहरुले कहिले बनाउलान्
आफ्नै संविधान ?

सम्पादकज्यू,
मनले यस्तै सोचिरहन्छ आजकाल र
बस्मा छैन मन ।

मैले सफलताको शीतल सुस्केरा हाल्न
फर्किनु थियो गाउँ र गाउनु थियो एकताको गीत

यति जान्दाजान्दै पनि किन पाउँदिन
मेरो मन आफैसँग ?

सम्पादकज्यू,
देशप्रतिको थोरै मायालाई सम्झेरै भए पनि
अब त छाप्नुहुन्छ नि हैन ?
मेरो मन हराएको सुचना ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

व्यक्तिगत काममा अलमल हुनेछ । साथीभाइसित रमाइलो यात्रा हुनेछ । पारिवारिक काम बन्नेछ ।

पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणमा समान रुपले सम्बोधन नभएको बताउनुभएको छ ।

पर्यटकीय सम्पदा वस्ती वुङमतीलाई साइकल रुट बनाउने, वुङमतीको काष्ठकला र हस्तकलालाई विश्वव्यापीरुपमा चिनाउन र सम्पदा बस्ती संरक्षणमा स्थानीय सरकारसँगै परियोजना…

अन्तराष्ट्रिय क्षेत्रमा नेपालीहरुको पहिचान निर्माण गर्ने उल्लेखनीय काम गरेको भन्दै वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरी शंकर लाल दासलाई प्रदान गरिएको…

उहाँहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घटनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताउनुभयो ।