Logo बैशाख २८, २०७८ मंगलबार


कथा : ओदानको फेटा

-तुलसीहरि कोइराला

“अच्छा भतिज, तिम्रो काकीलाई दिल्लीजस्तो खुवसुरत शहरमा बस्न किस्मतमा लिखेको रहेछ । अनि तिम्रो त्यो बहिरो बूढोकाकालाई किन लात नमारोस् ।”

हो, भावना काकीले ठूलै हिम्मत गरेर वैवाहिक जीवनसँग विद्रोह गरिन् । उनको विद्रोहलाई कतिले जायज भने, कतिले नाजायज पनि भने । मूल्याङ्कन गर्नेहरुसँग आ–आफ्ना तर्क थिए । “मानु खानु आफ्नो, कुरा काट्नु अर्काको” भन्छन् । भाग्नेका भित्री पीडाहरु, खाटा नबस्ने गरी लागेका घाउहरु र बाध्यतावश खुम्च्याइएका इच्छा र चाहनाहरु सबैले देख्ने र थाहा पाउने कुरा होइनन् । त्यस्ता कुराहरु बुझ्न र अनुभव गर्न चाहनेहरु पनि कमै हुन्छन् । कुरा काट्न चाहनेहरुलाई अलिकति कच्चा कुराहरु भइदिए पुगिहाल्छ । त्यसपछि त वश, के चाहिन्छ र ! जामजिरी, हिङमसला हाल्नुसम्म हालिहाल्छन् । यो घटनामा पनि त्यस्तै भयो ।

धेरैले भने– उत्ताउली थिई, के बस्थी त्यस्तासँग ।

पचास काटेकालाई भर्खर फुल्दै गरेकी चौध वर्षे केटी ! विहे गर्नै हुँदैनथ्यो यस्तो अमिल्दो उमेरमा ।

उजुरी गरिदिने हो भने त कानूनले समाउने थियो यिनीहरुलाई । अब पनि केटीले नमान्दा नमान्दै यसरी विहे गरिदिनु हुन्छ त ?

कोसँग सल्किएकी थिई, डाँडोकाटी त्यसैसँग ।

यस्तो हावा न चावाको बूढोसँग बस्नुभन्दा त अर्खौलेको भीरबाट हामफालेर मर्छु वा दूधकोशीमा गएर हेलिन्छु भन्थी । केही मनमिल्दाहरुसँग ।

यसरी उनले भनेका व्यथाका कुराहरु पनि कोहीकोहीबाट आइरहेथे । म चाहिँ भने भावना काकीको साहस, आत्मविश्वास र सङ्घर्षशील जीवनप्रति पूर्णतः परिचित भएका कारणले विश्वस्थ थिएँ यस्ता कुनै पनि हल्लाहरु सत्यमा बदलिन सक्दैनन् भन्नेमा ।

हल्लाहरु क्रमशः सेलाउँदै थिए । उनी दिल्ली पुगिन् अरे भन्ने अपुष्ट समाचार त आइसकेको थियो । दिल्ली बसाईबाट काठमाडौँ आइछिन् । काठमाडौँ आएको बेला उनी भाइलाई लिएर मेरो कोठामा आइन् । उनको शरीर, लुवाई र हाउभाउ देखेर म चकित भएथेँ । उनले दिल्लीको खुवसुरतीको वयान छाँट्नसम्म छाँटिन् । म सुनेको सुन्यै भएँ । पहिलेकी खुम्चिएकी भावना र अहिलेकी फैलिएकी भावनाको तुलना गर्दै टोलाइरहेँ धेरैबेर ।

उनले जीवन भोग्नै पाएकी छैनन् । उनमा जीवन भोग गर्ने चाहना अकूत छ । बैँसका सिँढीहरु टेक्नै नपाई बावुआमाले ‘छोरी भनेको बोझिलो भारी हो, यसलाई जतिसक्दो छिटो आफ्नो थाप्लोबाट अर्कोको थाप्लोमा पन्साइहाल्नु पर्छ’ भन्ने सोचेर मेरै छिमेकी काकालाई दिएथे । कस्तो जबरजस्तीको विवाह कठै ! छ कक्षामा पढ्दै गरेकी फुच्चीलाई स्कूलबाट घर आइपुग्दा नपुग्दै दुई–चार जना गाउँले भलाद्मी भनाउँदाहरुको सल्लाह र रोहवरमा कुरो छिनिएथ्यो । उनी स्कूलबाट आउँदा त कुरा सिध्याएर सबैजना हिँड्ने तरखरमा थिए ।

घरभरि मान्छे देखेर उनी छक्क परेकी थिइन् । उनलाई कुनै साथीले “तेरो विहेको कुरो छिनिसके, केटो त्यही हो” भनेर देखाइदिएका थिए । त्यसपछि उनको मनमा उठेको आँधी–तूफान र विद्रोहले धेरैलाई असर पार्नुपथ्र्यो तर उनी आफूबाहेक अरु कसैलाई कुनै प्रभावै पारेन । उनका इच्छा, चाहना, सपना र वेदना उनैसँग थिए । उनीबाहेक अर्को कोहीसँग थिए भने सम्भवतः मसँग मात्र थिए । म पनि के नै सहयोग गर्न सक्थेँ र । उनले भनेजति कुरा सुन्थेँ, आफुलाई उचित लागेको सल्लाह र सुझाव दिन्थेँ । दिएका धेरै सल्लाह र सुझावहरु एनले मानेको मलाई थाहा छ तर महत्वपूर्ण सुझाव जुन हो, त्यो चाहिँ उनी मान्न तयार थिइनन् । म भन्थेँ– ‘जे हुनु भइगयो, एक मानो खानका लागि दुःख छैन, गरेर खान सकिहाल्छ्यौ, घर खाउ ।’ मैले आम शुभेच्छुकहरुले बोल्नेजस्तै भाषा बालेको थिएँ ।

जब काकीले विद्रोही स्वरमा आममान्छे छक्क पर्ने कुरा भनिन्, म वाक्य नै नफुट्ने गरी हल न चल भएँ ।

“भतिज, माथि हेर त ।” आज्ञाकारी बालकले जस्तो गरी मैले माथि आकाशतिर मुन्टो उठाएँ ।

“विहे भएको दुई वर्ष पुग्यो, आजसम्म तिम्रो त्यो बहिरो बूढो काकासँग सहवास गरेकी रहेँछु, भने यिनै सूर्यनारायणले भष्म गरुन् ।”

उनको यो भनाईले मलाई एकाएक खलखली पसिना आए । पत्याउँ भने कसरी पत्याउँ ? नपत्याउँ भने सूर्य नारायणको कसम खाएकी छिन् ! अघिपछि पनि ठट्टैठट्टामा कहिले कहीँ त भनेकी हुन्– ‘त्यस्तो घिनलाग्दो बूढोसँग को सुत्छ । तिमीजस्तो हिस्सी परेको, खाइलाग्दो र पढेलेखेको भए त कसले मन पराउँदैनथ्यो । मन पराउनलाई हुनुप¥यो नि केही न केही । त्योसँग सुत्नुभन्दा त सेरिएर मर्छु बरु ।’

केही समयअघिको एउटा घटनाले पनि उनको यही कुरालाई पुष्टि गथ्र्यो । क्याम्पसको विदामा घर गएको बेला मैले घाँस काटिरहेको ठाउँमा भावना काकी एक्कासि आइपुगिथिन् र “तिम्रो घाँसको भारी पुगेको छैन भतिज ? म पनि काटिदिन्छु हुन्न” भन्दै घाँस काटिदिन थालिथिन् । मलाई भने त्यसरी एकान्तमा उनी आइदिँदा डर र सङ्कोच पनि लाग्थ्यो । उनी कता जान्छिन्, कोकोसँग बोल्छिन् र कसकसले केके भनेर भड्काइदिन्छन् भन्दै परिवारका सदस्यहरुबाट निक्कै नै चियोचर्चो हुन्थ्यो ।

मसँग त्यसरी एकान्तमा हुनु, मलाई घाँस काटिदिनु भनेको कुरा काट्नेहरुका लागि प्रशस्तै विषयवस्तु मिल्नु हो । यसैलाई लिएर ठूलै हङ्गामा मच्चाइन पनि सकिन्थ्यो भने अर्कोतिर मसँग उनी कुनै पनि कुराहरु नलुकाई ओकल्थिन् । ज्यादाजसो भेटमा उनको अनुहार मलिन नै देखिन्थ्यो तर आज भने उनी अप्रत्याशित रुपमा हँसिली देखिएकी थिइन् । त्यो दिन घाँस काटिरहेको ठाउँ पनि अलिक एकान्त थियो । यसकारण पनि मेरो मनमा अलिक सङ्कोच उत्पन्न भइरहेको थियो ।

नजिकै आएर भावना काकीले भनिन्– ‘बुझ्यौ भतिज, आज राति त बहिरोलाई तातो ओदानको पगरी लगाइदिएँ नि ! खुबै जवरजस्ती गर्न पो खोज्दोरहेछ है बज्जिया त ।’

यति भनेर भावना काकी खित्का छोडेर हाँसिन् । म पनि सँगसँगै हाँसेँ । उनी आफ्नो हिम्मतमा हाँसेकी थिइन्, म घटनाको रोमाञ्चकतामा हाँसेको थिएँ । भने पनि– ‘धत्, त्यस्तो नचाहिँदो काम पनि गर्ने हो त ? विहे गरेर आएपछि र लोग्ने स्वीकारेर बसेपछि उसलाई लोग्नेको हक त दिनु पर्यो नि ! लोग्नेको कर्तव्य निभाउन खोज्दा त्यति ठूलो सजाय दिने हो त ! यो त गर्नै नहुने अपराध भयो ।’

“तिमी त्यस्तो कुरा गर्दै नगर । त्यसलाई मेरो शरीर छुन कदापि दिन्न । मेरो खुशीले विहे गरेको भए पो । जवरजस्ती गर्न खोज्यो, त्यसैले थाप्लोमा अगेनोको तातो ओदान घोप्ट्याइदिएँ । फेटा बाँधेर छोपेको छ । यस्तो गर्मीमा पनि किन टाउकोमा फेटा बाँधेको भनेर सोधी हेर न, के भन्दोरहेछ बहिरोले” यति भनेर उनी फेरि हाँस्न थालिन् ।

नभन्दै हो रहेछ । गोकुल काकाले निक्कै ठूलो फेटा गुतेका रहेछन् । आज पनि फेटा थियो, भोलिपल्ट पनि फेटा छ । सोधेँ मैले– ‘किन फेटा गुतेको काका ? टाउको दुखेको छ कि के हो ? टाउको दुखेको भए म दवाई दिउँला ।’

छरछिमेकीका लागि म सानोतिनो डाक्टर नै थिएँ । सिटामोल, एस्प्रिन, टिन्चर आयोडिन, डिटोल, ब्रुफिन लगायतका सामान्य औषधिहरु मसँग भइरहन्थे । काठमाडौँबाट बिदामा घर जाँदा लिएर जान्थेँ । हत्तपत्त औषधि नभेट्नेहरुलाई दुइचक्की सिटामोलले पनि निक्कै ठूलो काम गथ्र्यो । तर फेटा गुत्नुको कारण टाउको दुखाई होइन भन्ने त मलाई थाहा थियो नै । तै, कुनै कुरो चुहिहाल्छ कि भनेर कोट्याएथेँ मैले ।

बहिरो त धेरथोर हुन् उनी । मैले कराएरै सोधेका कुरालाई पनि सुनेको नसुनै जस्तो गरिदिए । उनी “बेँसीतिर हिँडेको” भनेर छड्किए । तर पोलेको घाउ फेटाले छोपेर किन निको हुन्थ्यो ! डाहा बढ्दै गएछ झन् । मह, ध्यूकुमारी आदिले नछोएपछि उनले कुनै केटाकेटीलाई पोलेको घाउको दवाई छ भने दिनु अरे भन्दै माग्न पठाएछन् । सोधीखोजी त गरेँ तर त्यो केटाकेटीलाई के थाहा कहाँ पोलेको र केले पोलेको भन्ने ! कुरो बुझेकोले दिनु नै राम्रो ठानेर मल्हम दिएर पठाएँ ।

काकालाई ज्वरो नै आएछ । अगेनोको डिलमा ओछ्यान, अगेनोमा बसेको ओदान र काकीको रीसको झोँक ! धन्न ओदानका बीचका भाँडा बस्ने त्रिकोटीले रोकेर मात्रै, नत्र त घाँटीमै झर्न बेर थिएन तातो ओदान ।

गोकुल काकाको यो बूढेसकालमा आएर विहे हुनुमा पनि ठूलै कारण छ । घर छोडेर हिँडेको पैँतीस वर्षपछि सबैलाई आश्चर्यचकित पार्दै उनी टुप्लुक्क देखापरेका हुन् । मरिसके कि जिउँदा छन् भन्ने खुटखबर नभएका मान्छे एक्कासि आउँदा सबैलाई अचम्म लाग्ने नै भयो । कानूनले पनि बाह्र वर्षसम्म बेपत्ता भएको मान्छेलाई मरिसकेको मान्छ भने उनी बेपत्तिएको त पैँतीस वर्ष भइसकेको थियो । उनी आएपछि बावुआमा खुशी भए तर दाजुभाइ भने त्यति खुशी देखिएनन् । कुरो त उही अंशकै हो । यतिका वर्षसम्म बेखवर रहेर उसले कमाएको के कति छ ? जहान–परिवार छन् कि छैनन् ? कुरा धेरै थिए ।

गोकुल काका पनि बाठै रहेछन् । बनावटी हो वा साँच्चै हो कुन्नि, आसाममा गाई पालेर बसेका थिए अरे । श्रीमती र तीन वटी छोरीहरु थिए अरे । परिवारमा झगडा परेर श्रीमती र छोरीहरुसँग मिल्न नसकेर जायजेथा उनीहरुलाई नै छोडिदिएर आएको बताउँथे । अब कतै जान्न, यहीँ बस्छु भनेपछि बावुआमाले विहे गरिदिनलाई केटीको चाहारी गर्दा “गरीबका छोरी, तीते फापरले तीन भर्ने” भनेझैँ’’ भएको हो । त्यतिका वर्ष बेपत्ता भएको छोरोमान्छे, थुप्रै सम्पत्ति कमाएको छ, तराईमा प्रशस्त जमिन जोडेको छ भनेर फुलबुट्टा भरेका थिए लमीले र विहे गराइदिएथे ।

भ्रमजालमा पारेर भावनाको शरीर त जसोतसो धित्र्याए तर मन भित्र्याउन सकेनन् । चौध वर्षे केटीको पचास वर्ष काटेको केटोसँग विवाह गरिदिन बावुआमा राजी हुनु भनेको स्वस्थानीको कथामा आउने शिव शर्मा र गोमाको कथाभन्दा पनि चर्को हो । कुरो छिनेको रात उनी खाना नै नखाई घरबाट बाहिर निस्किएर रातभर परालको टौवामा रोएर बसेकी थिइन् अरे । शरीर भित्र्याएर के गर्नु मन भित्र्याउन नसकेपछि । लोग्नेसँग दोहोरो वोलचाल त छैन नै, वेलामौकामा यस्तै अप्रत्याशित घटनाहरु घटिरहन्छन् । काकी भन्छिन्– ‘अचेल त हँसिया लिएर सुत्ने गरकी छु । उसलाई पनि देखाइदिएकी छु त्यो हँसया अनि विचराको के हिम्मत होस् मलाई छुने ।’

भावना काकीले घर गरिखाएको हेर्ने मेरो इच्छा थियो तर ठाडै अस्वीकार गर्दै उनी भन्थिन्– अब छिट्टै बहिरोलाई छोड्दैछु बुझ्यौ भतिज ! मैले भनेँ– छोडेर कहाँ जान्छ्यौ ? तिमीलाई माइतीमा बस्न दिँदैनन् त । कि कसैसँग भाग्ने तयारी छ ?

उनले भनिन्– हेर्दै जाउ न मेरो प्यारो भतिजसँग गफ गर्ने पनि धेरै दिन छैनन् अब ।

उनले साँच्चै घर छोडिन् । उनको घर छोडाई पनि अचम्मकै भयो । न त कसैले सुइँको पाए, न त साथमा केही लगिनन् नै । त्यसैले झन् शङ्का उब्जियो– कतै उनले आत्महत्या त गरिनन् ? भीर पाखा, खोला, कोशी, सबै चाहारिए । केही पत्तो लागेन । एक्लै हिँडिन्, खालि एकजोर काकाका दौरासुरुवाल र इस्टकोट मात्र हराएको छ । त्यसैले कता हिँडिन् भन्ने अन्यौल भयो । कहीँ न कहीँ त कसैले देख्नुपर्ने ! कसै न कसैले त भेट्नुपर्ने पनि हो । माइती पक्षलाई थाहा छ कि भनौं भने उल्टै ‘ज्यान जिम्मा, तलमाथि भई भने ज्यानमारामा हाल्छौँ’ भन्दै घरैमा आएर धम्क्याएका छन् ।

लामो समयको अन्यौलपछि माइतीमा चिठी आएछ भावना काकी को । ‘मेरो पीर नगर्नु, म दिल्ली आइपुगेकी छु । भाइलाई पठाइदिनु यही ठेगानामा । घरमा त्यसै बसेर के गर्छ । यहाँ मसँगै बसेर पढ्छ र काम पनि गर्छ । मलाई पनि साथी हुन्छ’ त्यसपछि सबैलाई ढुक्क भएथ्यो ।

दिल्ली गएको पूरै दुई वर्षपछि दिदीभाइ नै फर्किएछन् । गोकुल काका पनि श्रीमती फर्किएर आई भनेपछि हुर्दुराउँदै ससुराली पुगेछन् । पहिले त बस्न नचाहेकी, दिल्लीको रमझममा दुई वर्ष रुमल्लिएर फर्किएकी भावना किन मान्थिन् । बरु खाली खुट्टै गएका गोकुल काकालाई एकजोर चप्पल दिइछन् । उनी पनि किन लाउथे चप्पल । ‘तँ त भइनस् भने चाहिएन तेरो दिल्लीको कमाईको चप्पल, खालीखुट्टै ठीक छु’ भन्दै हिडेँछन् भन्किएर ।

उनको लुवाई र बोलाईमा आएको परिवर्तनले गाउँ पिटियो । त्यतिबेला देख्न–बोल्न नपाए पनि चलेको हल्ला आउने–जानेमार्फत् काठमाडौँसम्म सुनिएथ्यो । तर जब अर्को वर्ष उनी काठमाडौँ आइन्, त्यतिबेला चाहिँ हाम्रो भेट भयो । त्यतिबेलै हो उनले मसँग दिल्लीको वयान गरेकी ।

“भतिज, दिल्ली जाने भए हिँड मसँग । दश हजार आइसीको जागिर त चुड्कीमा लाइदिन सक्छे हो यो काकीले” भनेकी थिइन् । उनले घरबाट आफू भाग्दाको रोचक कहानी पनि सुनाइन् मलाई ।

‘बुझ्यौ भतिज, त्यतिबेला त खुब मज्जा आयो नि । दौरा–सुरुवाल, इष्टकोट र टोपी लगाएर ठ्याक्कै ‘ब्वाइज’ बनेको थिएँ नि म त । अनि त मलाई कुनै दिक्कत नै भएन दिल्ली पुग्न ।’

उनले त्यसो भने पनि पत्याइहाल्न सक्ने अवस्थामा म थिइनँ । कहिल्यै घरबाट बजारसम्म नहिँडेकी केटी एक्लै कसरी दिल्ली पुग्न सक्छे ?

उनको एक्लै दिल्ली पुगेको कहानी चाहिँ झुठ्ठा हो वा उनले वास्तविकता ढाँटेर गोप्य नै राखिन् ।

यता गोकुल काका पनि के कम हुन्थे । अर्को विहे गरेर तीन सन्तानका बावु बनेका छन् अरे । म गाउँ नगएको पनि पन्ध्र वर्ष हुन लाग्यो । गोकुल काकाको परिवार हेर्ने मन छ मलाई । भावना काकीले पछिल्लोपल्ट पूरै परिवारलाई लुगाफाटा ल्याइदिएकी थिइन् रे !

केही समयअघि अफिसको काम विशेषले दिल्ली जाने सौभाग्य मिलेथ्यो मलाई । भावना काकीलाई नसम्झिएको त होइन तर दिल्लीजस्तो भीडभाडको शहरमा भरपर्दो ठेगाना नभई के पत्तो पाउनु ! आफ्नै तालमा पार्कमा घुमिरहेको थिएँ । “तँ चिता, म पुर्याउँछु” भनेजस्तो भयो । अचानक उनी मेरो अगाडि देखापरिन् ! मलाई आठौँ आश्चर्यझैँ भयो । अनुहार त उही थियो तर दिल्लीले फेसनेवल बनाइदिएकोले झट्ट देख्दा हुन् कि होइनन् भयो । ठूलै हिम्मत गरेर पछाडि फर्किएर च्याप्प पाखुरामा समातेँ र भनेँ– भावना काकी, नलाई नचिनेकी ! म राजन भतिज क्या त !

उनले मुन्टो हल्लाएर नचिनेको भाव प्रकट गरिन् । मैले समाएको उनको हात चटक्कै छोडिदिएँ । खै, उनले चिनिनन् कि मैले चिनिनँ ? कतै दिल्लीले परिवर्तन गराएर नचिनाएको पो हो कि ! हिँड, जागिर लगाइदिन्छु भन्ने काकी, घाँस काटिदिने काकी, रुँदैरुँदै आफ्ना व्यथाहरु सुनाउने काकी, मेरा हात मुसारेर मीठामीठा कुरा गर्ने काकी र दिल्लीमा भेटिएकी काकीबीच म अन्यौलमा परेँ । आफ्ना आँखाले धोका खाएको हो भनेर पटक्कै मान्दिन म । कतै दिल्लीले पो धोका दिएको हो कि !

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…