कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा ८ हप्तापछि दिइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आठ हप्ता पछि दिने भएको छ । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ प्राविधिक सल्लाहकार समितिको प्रस्ताव अनुसार दोस्रो मात्रा खोप आठ हप्तापछि दिने निर्णय गरेको हो।
सरकारले कोभिड खोप अभियान सुभारम्भ गर्दा दोस्रो मात्रा २८ दिनपछि दिने निर्णय गरेको थियो। उक्त निर्णय संशोधन गर्दा आठ हप्तापछि मात्र दोस्रो मात्रा दिने निर्णय गरिएको हो।
आइतबारसम्म नेपालमा चार लाख १५ हजारले पहिलो मात्रा खोप लगाइसकेका छन्।
हालसम्म स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, सरकारी कार्यालयका कर्मचारी, पत्रकार, स्थानीय निर्वाचित जनप्रतिनिधि, नेपालस्थित कूटनीतिक नियोगका कर्मचारी, युएन एजेन्सीका कर्मचारीले खोप लगाइसकेका छन्।