रोनाल्डोको २ गोलसँगै युभेन्टसको शानदार जीत

एजेन्सी । इटालियन फुटबल लिग सिरी ए अन्तर्गत युभेन्टसले शानदार जीत निकालेको छ । गएराति भएको खेलमा क्रोतोनेलाई ३–० ले पराजित गरेको हो । युभेन्टसलाई घरेलु मैदानमा जीत दिलाउन क्रिष्टियानो रोनाल्डोले दुई गोल र वेस्टन म्याकेनीले एक गोल गरे ।
रोनाल्डोले ३८ र पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा हेड मार्फत गोल गरेका हुन् । यस्तै वेस्टन म्याकेनीले ६६ औँ मिनेटमा गोल गरे । रोनाल्डोले सिरी ए मा अहिलेसम्म ७० गोल गरिसकेका छन् । उनी यो सिजन सिरी ए का सर्वाधिक गोलकर्ताको सूचिमा शीर्ष स्थानमा छन् । १८ गोल गरेका उनले इन्टर मिलानका रामेलु लुकाकुलाई उछिनेका हुन् ।
जित निकालेको युभेन्टस २२ खेलबाट ४५ अंकसहित तेस्रो स्थानमा पुगेको छ । उ २३ खेलबाट ५३ अंकसहित शीर्ष स्थानमा रहेको इन्टर मिलान भन्दा ८ अंकले पछि छ ।