अमेरिकालाई कोरोनासंक्रमणबाट विश्वयुद्धमा भन्दा बढी क्षति,मृतक संख्या पाँच लाख नाघ्यो

एजेन्सी । अमेरिकामा कोरोना भाइरसको संक्रमणबट मृत्यु हुनेको संख्या पाँच लाख नाघेको छ ।
वल्र्ड ओ मिटरकाअनुसार अमेरिकामा कोरोनाका कारण अहिलेसम्म पाँच लाख १२ हजार ५ सय ९० जनाको मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो र दोस्रो विश्वयुद्ध र भियतनामसँगको युद्धमा ज्यान गुमाउने अमेरिकीभन्दा कोरोनाले ज्यान गुमाउनेको संख्या धेरै हुनु दुःखद भएको बताएका छन् ।
ह्वाइटहाउसबाट सम्बोधन गर्दै उनले अमेरिका कोरोना महामारीसँग लडिरहेको भन्दै यस्तो दुःखद अवस्था आए पनि विक्षिप्त नहुन आग्रह गरेका छन् । उनले कोरोनाविरुद्धको लडाइमा सबैले मिलेर जुट्नु पर्नेमा जोड दिएका छन् ।
यस्तै, अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएकाको सम्झनामा पाँच दिन राष्ट्रिय झण्डा आधा झुकाउन निर्देशन दिइएको छ ।
कोरोना भाइरसको महामारीका कारण अमेरिका सबैभन्दा धेरै प्रभावित छ । त्यहाँ अहिलेसम्म दुई करोड ८८ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।