लालपूर्जासहितको जमिन माग्दै मुख्यमन्त्री कार्यालयमा वादी समुदायको धर्ना

सुर्खेत । खेतीयोग्य जमिनको माग गर्दै कर्णालीका वादी समुदाय मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका छन् । खेती गर्न स्थायी लालपूर्जासहितको जमिन, बस्नका लागि घर र रोजगारीको माग गर्दै सोमबार रातिदेखि वादी समुदायका चार सय बढी मानिस कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेका हुन्।
दैलेखको रामाघाट, दुल्लु, डुंगेश्वर, भैरवी, गमौडी र कालीकोटको मान्मबाट एक सय १२ घरका चार सय दुई जना वादी समुदायका मानिस धर्नाका लागि सुर्खेत आएका छन् । सरकारले आफ्ना माग पूरा नगरेसम्म धर्ना जारी राख्ने उनीहरुले चेतावनी दिएका छन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाही प्रदेश बाहिर भएकाले उनीहरूले भेट्न पाएका छैनन्। कर्णालीका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले मंगलबार उनीहरूलाई भेटेर प्रदेश सरकारले जग्गा उपलब्ध गराउन नसक्ने बताउनुभयो ।