आधारशिला कम्युनद्वारा कम्युनिस्ट आन्दोलनका चार अग्रज सम्मानित

महोत्तरी । कम्युनिस्ट विचार तथा सिद्धान्तका माध्यमबाट सामाजिक र साँस्कृतिक परिवर्तन गर्न सकिने कुरालाई व्यवहारमा लागु गर्ने प्रयास गरिरहेको यहाँको आधारशिला कम्युनले नेपाली कम्युनिस्ट आन्दोलनका ४ शीर्ष व्यक्तित्वलाई सम्मान गरेको छ । बर्दिवास नगरपालिका वडा नम्बर ३ मा रहेको कम्युनिस्ट कम्युनले नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समय विभिन्न ढंगले योगदान पुर्याउनुभएका वरिष्ठ कम्युनिस्ट नेताहरुलाइ सम्मान गरेको हो ।
आधारशिला कम्युनले आफ्नो १८ औं वार्षिक उत्सव समारोहको सन्दर्भमा सम्मानित गरेका व्यक्तित्वहरुमा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहका साथै पुराना वामपन्थी नेताहरु कृष्णराज बर्मा, विष्णु बहादुर मानन्धर र कमल कोइराला रहनुभएको छ ।
कार्यक्रममा नेकपा मसालका महामन्त्री सिंहले आधारशिला कम्युन कम्युनिस्ट आन्दोलको एकताका उतारचढावसँग समेत सम्बन्धित रहेको बताउनु भयो । ‘आजको समयमा यस्तो कम्युनको थप विकास तथा विस्तार गर्नुपर्ने आवश्यकता भएपनि कम्युनिस्ट पार्टीमा सामुहिकता भन्दा व्यक्तिगत स्वार्थ हाबी हुँदै गएको छ’ सिंहले भन्नुभयो । कम्युनले आजको समयमा सामुहिकताको आवश्यकता झन् बढेको उहाँको भनाइ छ ।
एक अर्को सन्दर्भ सिंहले नेपाली कम्युनिस्ट आन्दोलनमा विचलन आउनुको मुख्य कारण नेतृत्वमा देखिएको वैचारिक विचलन र विरोधीको अफवाहमा फस्नु रहेको उल्लेख गर्नुभयो ।
आधारशिला कम्युनले सम्मानित गरेका अर्का सम्मानित व्यक्तित्व कृष्णराज बर्माले आजको नेतृत्वले कम्युनिस्ट आन्दोलनलाई यो स्थानमा ल्याइ पुर्याउन खेलेको भूमिकालाई बिर्सन नहुने धारणा राख्नुभयो । अग्रज पुस्ताको त्याग, तपस्या र बलिदानले नै कम्युनिस्ट पार्टी र आन्दोलनलाई आजको ठाउँमा ल्याउन मदत गरेको बर्माको भनाइ छ ।
आधारशिला कम्युनद्वारा सम्मानित व्यक्तित्व विष्णुबहादुर मानन्धर र कमल कोइराला भने कार्यक्रममा उपस्थित हुन सक्नुभएन ।
आयोजकका अनुसार मानन्धर बिरामी हुनुभइ उपचारका क्रममा रहनुभएकाे र कोइराला पनि स्वास्थ्य समस्याका कारण उपस्थित हुन सक्नुभएन । समान्नित र उपस्थित दुवै जनालाई वार्षिकाेत्सव समारोहका प्रमुख अतिथिसमेत रहनुभएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले दोसल्ला ओढाइ सम्मान गर्नुभएको हो ।