अदालतको फैसलाले जनताको जित भयो : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधव कुमार नेपालले सर्वोच्च अदालतको फैसलाले जनताको जित भएको बताउनुभएको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्थापना गर्ने निर्णय गरेसँगै अध्यक्ष नेपालले जनताको जित भएको बताउनुभएको हो ।
उहाँले सामाजिक सञ्जालमार्फत संविधानका प्रावधानलाई मिचेर केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी भएको उल्लेख गर्दैअदालतले संवैधानिक अपेक्षा र जनभावना अनुसार निर्णय गरेको उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले अदालतको फैसला अत्यन्तै प्रशंसनीय र ऐतिहासिक भएको भन्दै यसबाट लोकतन्त्रको रक्षा भएको उल्लेख गर्नुभयो ।
उहाँले ऐतिहासिक फैसलाका लागि सवोच्च अदालतप्रति आभार व्यक्त गर्नुभयो । साथै अध्यक्ष नेपालले सम्पूर्ण नेपाली जनता, आन्दोलनमा उत्रेका राजनीतिक दलहरु, नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई समेत धन्यवाद दिनुभएको छ ।