प्रधानमन्त्रीले कुनै हालतमा राजीनामा दिनुहुन्न : मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा राजीनामा नदिने बताउनुभएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को ३३औँ वार्षिकोत्सवका अवसरमा उहाँले प्रधानमन्त्रीले कसैले माग्दैमा राजीनामा नदिने बताउनुभएको हो ।
सत्तारुढ नेकपाका नेता श्रेष्ठले प्रधानमन्त्रीले अविश्वासको प्रस्तावको सामना गरेर अगाडि बढ्ने जनाउँदै संसद् सञ्चालन भएपछि प्रक्रियामा जाने बताउनुभयो । अदालतको फैसलालाई सम्मान गर्ने बताउँदै उहाँले जनताले नै चुनेर पठाएकाले जनताले नै अहिलेको संकटकालीन अवस्थाको मूल्यांकन गर्ने बताउनुभयो ।
अदालतले संसद् पुनःस्थापनाको फैसला गरेलगत्तै केही नेताले केहीलाई प्रधानमन्त्रीको सपना बाँड्दै हिँडेको टिप्पणी गर्दै मन्त्री श्रेष्ठले सपना बाँड्दैमा र सपना देख्दैमा कोही पनि प्रधानमन्त्री हुन नसक्ने बताउनुभयो।