Logo बैशाख ७, २०७८ मंगलबार


बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै : नेपाल

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित नेकपा उक्त समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बामदेव गौतम अहिले पनि केपी ओलीलाई सुधार्ने कोसिस गरिरहनु भएको बताउनुभएको हाे ।

कुनैबेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर केपी ओलीको राजीनामा सबैभन्दा पहिला गौतमले नै माग्नुभएको उल्लेख गर्दै अहिले फेरि ओलीलाई सुधार्न उहाँले नै कोसिस गरिरहनु भएको तर आफूले बालुवा पेलेर तेल निस्किदैन तरपनि कोसिस गर्नुस् भनेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दुई तिहाईको संख्यामा भएको ठाउँमा उहाँले तुरुन्तै भङ्ग गरिदिनुभयो । किन भङ्ग गरिदिनुभयो भने मलाई प्रधानमन्त्रीबाट हटाउने भए भनेर । यो प्रधानमन्त्री हटाउने को हो थाहा छ ? बामदेव गौतम हो । फेरि उहाँ (प्रचण्ड)लाई दोष जान्छ सबैभन्दा बढी । होइन, साँचो कुरा म तपाईहरुलाई बताउँछु । यो पहिलो प्रस्ताव राख्ने केपी ओली मान्छे खराब मान्छे हुन भनेर स्थायी कमिटीको बैठकमा भाषण गर्नुभएको छ बामदेवले । ४० मिनेट भाषण गर्नुभयो केपी ओली जस्तो रद्दी मान्छे धर्तीमा कोही पनि छैन भनेर । अब अहिले पनि उहाँ फेरि कोसिस गर्दै हुनुहुन्छ । केपीलाई सुधार्न । मैले भनेको छु यो बालुवा पेलेर तेल निस्किदैन कोसिस गर्नुहोस् ।’

अध्यक्ष नेपालले अब केपी ओलीसँग एकताको कुनै सम्भावना नभको पनि स्पष्ट पार्नुभएको छ । बरु ओली प्रवृतिको विरुद्धको आन्दोलनमा सहभागी भएकाहरु बीच सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘केपी ओलीसँगको एकताको कुनै सम्भावना छैन । कुनै भ्रममा नपर्नुस् । केपी ओलीका मानिसहरुको आँखामा बाम लगाएर निकालेको आँशुको कुनै अर्थ छैन । ख्याल गर्नुहोला । बाम लगाएर आँशु निकाल्छन् र भित्र कोठामा गएर मुसुमुसु हाँस्छन् । यिनलाई मुर्ख बनाएर पठाइयो भन्छन् । त्यसो भएकोले तपाईहरु यस्ता कुराको भ्रममा नपर्नुस् । अब हामी के गरिरहेका छौं भन्दा सबै जो आन्दोलनमा सहभागी भएकाहरुलाई साथमा लिएर बरु जाऔं संयुक्त सरकार बनाऔं भनिरहेका छौं ।’

अहिले प्रतिनिधि सभा पुन:स्थापना भएपनि पुरै लडाई जित्न बाँकी रहेको पनि अध्यक्ष नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘एउटा लडाई जित्यौं, सिङ्गो लडाई जित्न बाँकी छ । एउटा लडाई जितेका छौं अर्को लडाई केपी ओलीलाई प्रधानमन्त्री पदबाट नहटाएसम्म लडाई गर्नुछ ।’

केपी ओलीलाई पूर्व एमालेको कुनै माया नभएको पनि अध्यक्ष नेपालले बताउनुभएको छ । ओलीले अहिले मदन भण्डारी फाउण्डेसनको गुट चलाएको आरोप समेत अध्यक्ष नेपालले लगाउनुभयो । उहाँले भन्नुभयो, ‘केपी ओलीलाई एमालेको कुनै माया छैन । कम्युनिष्ट पार्टीको कुनै माया छैन । केपी ओली भनेको मदन भण्डारी फाउण्डेसन गुटको नेता हुन् ।’

बालुवाटारमा बैठक हुँदा उपस्थित नहुने ओली अहिले फूर्तिका साथ देशभर दौडिरहेको समेत बताउनुभयो । यसबाट पार्टीप्रति ओलीको इमानदारिता थिएन भन्ने स्पष्ट भएको पनि अध्यक्ष नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘केपी ओली यो तरिकाले जाँदा पार्टीभित्र उहाँले छलफल बहस बन्द गर्नुभयो । बैठक त्यहीँ छ बालुवाटारमा, बालुवाटार बाहिर कहीँ नजाने मान्छे अहिले हेर्नुहोस् त फूर्ति कहिले कहाँ पुग्या छ कहिले कहाँ पुग्या छ । बैठक भनेपछि धुम्बाराहीमा नआउने मान्छे अहिले त कुदेकाे छ कुदेकाे छ । भनेपछि पार्टीलाई कति मर्यादित ठानेको । आफ्नो पूरै पछिपछि लाग्नुपर्छ भन्ने प्रवृतिको कति पक्षपाेषण भएको कुरालाई पुष्टि गर्दैन त्यसले । त्यसैगरी त्यहीँ निवास छ, बेडरुम छ, त्यहीँ बैठक बसेको छ बैठकमै नआउने । बैठकमा ल्याउनका लागि प्रचण्डले बैठक छोडेर जाने फेरि, कहिलेकाहिं हामीलाई पनि सँगै जाउँन भन्ने । एउटाको शक्तिले पुगेन र दुईवटाले सकिन्छ की भनेर । यस्तो ज्याद्रो मान्छेलाई हामीले चलाउन सकेनौं ।’

अहिले केपी ओलीलाई विदा गरे जस्तै ओली प्रवृतिलाई पनि सबैले त्याग्नुपर्ने बताउनुभयो । अहिले सबै क्षेत्रबाट नेताहरुलाई ओली प्रवृति त्यागेर अगाडि बढ्न सुझाव आएको पनि अध्यक्ष नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘केपी ओलीलाई विदा गर्यौं । केपी प्रवृतिलाई हामीले विदा गर्ने की नगर्ने ? अहिलेका नेताहरुलाई चेतना भया भनेर हामीलाई पनि भन्ने गर्नुहुन्छ । पत्रिकामा पनि पढ्दै थिएँ । होस् गर्नुहोस् है तपाईहरुमा पनि केपी प्रवृति नउदाओस् । हामी अवश्य पनि सतर्क छौं ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।