Logo बैशाख ७, २०७८ मंगलबार


जनता समाचारमा शनिवार प्रकाशित समाचार सार

जनतासमाचार डट्कममा शनिवार प्रकािशत समाचारका मुख्य अंशहरू :

१. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले राज्य सञ्चालनका लागि सवाल युवा, प्रौढ वा वृद्धको नभएर ज्ञानको हुने बताउनुभएकाे छ । नयाँ बानेश्वरस्थित जनता टेलिभिजनको हलमा शनिबार आयोजित पुस्तक परिचर्चा कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेकपा अध्यक्ष दाहालले जुनुसुकै उमेर समूह भएपनि अज्ञानताले जनताको सेवा नहुने बताउनुभएको हो ।

२.नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित नेकपा उक्त समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बामदेव गौतम अहिले पनि केपी ओलीलाई सुधार्ने कोसिस गरिरहनु भएको बताउनुभएको हाे ।

३.नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य डा. विजय पौडेलले सत्ताका लागि बहुमत पुग्ने नपुग्ने कुरा चिन्ताको विषय नभएको बताउनुभएको छ । बानेश्वरस्थित जनता टेलिभिजनको हलमा आयोजित पुस्तक परिचर्चा कार्यक्रममा जनता सञ्चारगृहका अध्यक्ष समेत रहनुभएका डा.पौडेलले चिन्ताको विषय सत्ताका लागि बहुमत पुग्छ कि पुग्दैन भन्ने नभएर प्रतिगमनका विरुद्ध बहुमत पुर्याउने भएको बताउनुभएको हो ।

४.नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित नेकपा दाहाल–नेपाल पक्ष सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू जन्मिएको धरातल बिर्सेर प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज सम्झिएको टिप्पणी गर्नुभएको हो ।

५. फागुन १५ गते अर्थात आजैका दिन हेलिकप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी दिवङ्गत हुनुभएको थियो । यो दिनलाई स्मरण गर्दै आज स्व अधिकारीको जन्मस्थल पोखरा (कास्की) लगायत देशका विभिन्न स्थानमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी उहाँको योगदानको स्मरण गरिएको छ ।

६. राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना गर्नुभएकाे छ। भण्डारीले  मष्तिष्कघात भई उपचाररत नर्भिक अस्पतालमा उपचाररत जाेशीकाे शिघ्र लाभकाे कामना गर्नुभएकाे हाे ।

७.अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । घट्टेकुलो समाजले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले नागरिक समाज र जनताको अपेक्षा अनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि अहिलेसम्म भएको कामहरुभन्दा बढी प्रभावकारी ढङ्गले काम गर्ने बताउनुभएको हो ।

८. साउदी अरेबियाका पत्रकार जमाल खाशोग्गीको हत्याको विषयमा अमेरिकी एक गुप्तचर निकायले शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको छ। अनुसन्धानबाट तयार भएको प्रतिवेदनमा हत्यामा साउदी अरेबियाका राजकुमारको हात रहेको भनी आरोप लगाइएको छ ।

९.अन्नपूर्ण गाउँपालिका–१ दोवाका बासिन्दाले अस्पताल निर्माण गर्न १२ रोपनी भन्दा बढी जग्गा दान गरेका छन् । संघीय सरकारको “एक पालिका, एक अस्पताल” योजना कार्यान्वयनका लागि स्थानीयले दोवा र मारका गाउँको बीचमा पर्ने १२ रोपनी सात आना दुई दाम क्षेत्रफलको जग्गा निशुल्क उपलब्ध गराएका हुन् ।

१०. कराते खेलाडी मन्डेकाजी श्रेष्ठलाई चुच्चेपाटीस्थित मनास्लु वर्ल्ड कलेजले शनिबार सम्मान गरेको छ । २०७६ साल मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण जित्दै देशको प्रतिष्ठा अभिवृद्धि गरेकोमा मन्डे सम्मानित भएका हुन्।

 ११.हाइटीमा जेलबाट शुक्रबार दुई सयभन्दा बढी कैदी भागेका छन् । भाग्ने क्रममा भएको झडपमा परी कम्तीमा २५ जनाको मृत्यु पनि भएको छ । मृत्यु हुनेमा जेलका निर्देशक समेत रहेको सञ्चार सचिव फ्रन्टज एक्सान्तुजले शनिबार जानकारी दिनुभयो । जेलमा झण्डै चार सय कैदी रहेकाे बताइएकाे छ ।

१२. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्बाङ्ले संसद पुन:स्थापनापछि सरकार झन् बलियो भएको बताउनुभएको छ । नेकपा ओली समूह निकट सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्बाङ्ले संसद विघटन हुँदा कामचलाउ हुनुभएका प्रधानमन्त्री ओली पुन:स्थापनापछि दह्रो भएको बताउनुभएको हो ।

१३.हाइटीमा जेलबाट शुक्रबार दुई सयभन्दा बढी कैदी भागेका छन् । भाग्ने क्रममा भएको झडपमा परी कम्तीमा २५ जनाको मृत्यु पनि भएको छ । मृत्यु हुनेमा जेलका निर्देशक समेत रहेको सञ्चार सचिव फ्रन्टज एक्सान्तुजले शनिबार जानकारी दिनुभयो । जेलमा झण्डै चार सय कैदी रहेकाे बताइएकाे छ ।

 १४.फेदाप गाउँपालिका–२ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा आज बिहान आगलागी भएको छ । आगलागीमा परी एक करोड बढीको विद्यालयको सम्पत्ति जलेर नष्ट भएको छ । विद्यालयको प्रशासनिक भवनमा बिहान करीब तीन बजेदेखि आगलागी शुरु भएको विद्यालयका प्रधानाध्यापक कूलप्रसाद दुलालले जानकारी दिनुभयो। आगलागीमा परी विद्यालयको प्रशासनिक भवनसहित अन्य भौतिक संरचना पूर्णरुपमा जलेर नष्ट भएको छ।आगलागी हुनुका कारण विद्युत् सर्ट हुनसक्ने प्रअ दुलालले बताउनुभयो ।

१५.नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न पाकिस्तान लागेका छन् । उनले लाहोर कलन्दर्सबाट प्रतियोगिता खेल्नेछन् । लामिछानेका व्यवस्थापक रमन शिवाकोटीका अनुसार शुक्रबार साँझ मात्र सन्दीपले पिएसएल खेल्ने पक्का भएको हो ।लामिछानेलाई राशिद खानको ठाउँमा बाँकी खेल खेलाउने लाहोर कलन्दर्सले निर्णय गरेको हो । 

१६.हिजोसम्म बर्थिङ सेन्टरको अभावमा पश्चिमी पर्साका सुत्केरी अभाव र प्रश्रव पीडा खेपी रहेकामा अब आफ्नै गाउँमा बर्थिङ सेन्टर स्थापना भएपछि छिपहरमाई गाउँपालिकाका महिलामा खुशी छाएको छ । सुत्केरी गराउन भारतको बेतिया, मोतिहारी, रक्सौलको डंकन अस्पताल तथा वीरगञ्जका अस्पतालमा जानुपर्ने बाध्यता रहेकामा अब यहाँका महिला आफ्नै गाउँघरमा बर्थिङ सेन्टर स्थापना भएपछि सुरक्षित तरिकाले सुत्केरी गराउन पाउँदा खुशी भएको वडा नं २ भेरिहर्वाका कमल दासको भनाइ छ ।

१७.किशोरीसँग विवाह गरेको अभियोगमा बेहुला पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिका–१६ लक्ष्मीनारायण टोलकी १७ वर्षकी किशोरीसँग विवाह गरेको अभियोगमा १९ वर्षीय बेहुला र उनका बाबु शुक्रबार पक्राउ परेका हुन् । लक्ष्मीनारायण टोलमा विवाह भइरहेको सूचनाको आधारमा किशोरीको घरमा पुगी सोधपुछ गर्दा नेपाल सरकारले निर्धारण गरेको उम्मेरभन्दा कम उमेरकी किशोरीको विवाह भएको पाइएपछि बालविवाहसम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि बेहुला र उनका बाबुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिनुभयो ।

१८. सायद मुलुकमा कम्युनिष्ट पार्टीले दुई तिहाई नजिकको जनमत प्राप्त गरी सत्ताको साँचो समाउन पुग्दा सबैभन्दा धेरै खुशीयाली महोत्तरीको बर्दिवासस्थित ‘आधारशिला कम्युन’ मा छायो होला । १८ वर्ष अघिदेखि सामूहिकताका रमाइरहेको आधारशिला परिवारले सत्तामा कम्युनिष्ट पार्टीको हस्तक्षेपकारी भूमिका बढेकोले मुलुकभरी समानताको कल्पना गर्नु र आफैमा रमायो होला ।

 १९.नेपाल विद्युत प्राधिकरणले उपत्यकाका विभिन्न स्थानमा ६ घण्टा विद्युत कटौति गर्ने भएको छ । मर्मत सम्भारका लागि भन्दै नियमित विद्युत कटौति गर्दै आएको प्राधिरणले आज पनि कटौति हुने जनाएको छ ।

२०.आज देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ । दिँउसो देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

२१.शनिबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पनि फरक–फरक विषयका समाचारलाई महत्वका साथ छापेका छन्। पत्रिकाहरूमा नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ: डा. झा, प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा रनेपालमै उत्पादन भएको धानको भात खाँदैनन् नेपाली लगायतका शीर्षकमा प्राथमिकताका साथ समाचार सम्प्रेषण गरेका छन्।

२२.वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मानसिक तथा शारीरिक स्वास्थ्यका लागि खेलकूद आवश्यक पर्ने बताउनुभएको छ । हेटौंडाको हुप्रचौरमा शुक्रबारबाट शुरु भएको मेयरकप फुटबल प्रतियोगिता उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले सरकारले हरेक स्थानीय तहमा रंगशाला निर्माण गर्ने अभियानलाई प्राथमिकतामा राखेको जनाउँदै अन्तर्राष्ट्रियस्तरका खेलमैदानहरु निर्माण गरेर अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरु गर्नसके आर्थिकरुपमा समेत फाइदा पुग्ने बताउनुभयो ।

२३.चर्चित नायक पल शाह, उनका मेनेजर कृष्णप्रसाद जोशी र पीडित भनिएका चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानबीच मिलापत्र भएको छ । इलाका प्रहरी कार्यालय धरानमा शुक्रबार साँझ सहमति भएको हो । प्रधानले आफूमाथि हालपात भएको भन्दै बिहीबार शाह र जोशीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।