Logo बैशाख ७, २०७८ मंगलबार


नयाँ सरकार निर्माणमा कांग्रेस तटस्थता बाधक हुने संकेत

नरेश न्यौपाने
काठमाडौं । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेलगत्तै नेकपाको प्रचण्ड–नेपाल समूह नयाँ सत्ता समीकरणको गृहकार्यमा जुटेको छ । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा विभाजनले वैधानिकता नपाउँदासम्म तटस्थ बस्ने निर्णय लिएको छ । साथै कांग्रेसको अलमल र तटस्थताकै कारण नयाँ सरकार निर्माणबारे निर्णायक छलफल प्रारम्भ हुन सकिरहेको देखिँदेन ।

यतिबेला निर्वाचन आयोगले नेकपा विवादबारे गम्भीरता नदेखाएको अवस्थामा कांग्रेस कहिलेसम्म अनिर्णित बन्छ वा कांग्रेसले लिने नयाँ निर्णय के हुन्छ ? भन्ने प्रश्न नेपाली राजनीतिको पेचिलो प्रश्न बनेको छ । सबैभन्दा महत्वपूर्ण विषय सरकार निर्माणका लागि नयाँ समिकरण बनाउन कांग्रेसले संस्थागत रूपमा नेकपा विभाजनको वैधानिकता खोजिरहेको बताउन थालेको छ ।

उसो त नेकपाको वैधानिक विभाजन बाँकी रहेकै बेलामा कांग्रेस शीर्ष नेताहरू भावी सरकार गठनलाई लिएर अनौपचारिक संवादमा भने जुट्न थालेको पाइएको छ । निर्वाचन आयोगले नेकपा विभाजनको मुद्दा नटुंग्याए पनि संसदमा अविश्वासको प्रस्ताव अघि बढ्दा कांग्रेस निर्णयविहीन बस्न नसक्ने हुनाले पनि नयाँ सरकारबारे कांग्रेसमा सुशुप्त बहस प्रारम्भ भएको हो ।

पार्टी सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरु भने नेकपा विभाजनले तत्कालै वैधानिकता नपाउने र कांग्रेसले पनि निर्णय नलिए त्यसको सीधा लाभ प्रधानमन्त्री ओलीलाई हुने अवस्थालाई नजिकबाट नियालिरहेका छन् । यसर्थ कांग्रेसले दुवै समूहसँग सत्ता समिकरणका लागि समानान्तर छलफल चलाइरहेको बुझिन्छ । खासगरी सभापति देउवाले नेकपाका दुवै समूहलाई नचिढाइ कुनैसँग पनि दूरी नघटाउने र आफू अनुकुल बनाइराख्ने रणनीति अपनाइरहेको देखिन्छ । उता नेकपाको प्रचण्ड–नेपाल समूहले देउवालाई भावी प्रधानमन्त्री बनाउन आफ्नो समूह तयार रहेको सार्वजनिक रूपमै बताउन थालेको छ । तर अब बन्ने सरकारबारे स्वयं कांग्रेसभित्रै भने एकरुपता छैन् ।

नेकपा विभाजन नभए पनि संसदको निर्णायक शक्ति भने कांग्रेस बनिसकेको छ । तर गएको वैशाखमै ओली सरकारले शासन गर्ने आधार गुमाइसकेको निष्कर्ष निकालेको कांग्रेसले अहिलेसम्म पनि आफ्नो राजनैतिक कित्ता क्लियर पार्न सकिरहेको छैन । राजनीतिक रुपमा ओलीको संसद विघटनको कदमलाई बेठिक भनिसकेको कांग्रेसले जसरी नयाँ समिकरण बनाउन अग्रणी भूमिका खेल्नुपर्थ्यो, त्यो आजसम्म पनि शुरु भएको छैन ।

शीर्ष नेताहरूका आ-आफ्नै दाउ

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले नेकपाको विवादमा कुन पक्षसँग सहकार्य गर्ने भन्नेबारे कांग्रेसले तत्काल निर्णय नगर्ने बताउनुभएको छ । नेकपा विवादका कारण देशमा सुरु भएको नयाँ राजनीतिक समिकरणमा कांग्रेस निर्णायक अवस्थामा देखिएको अवस्थामा महामन्त्री डा. कोइरालाले कांग्रेस अहिले कसैको पक्षमा नरहेको प्रष्ट पार्नुभएको हो ।

सरकारमा जानै परे आफ्नै नेतृत्वको सरकार बनाउने सभापति देउवाको चाहना छ भने अर्कोतिर संसदको सबैभन्दा ठूलो शक्ति प्रचण्ड- नेपाल समूह बनिरहँदा देउवाको ओलीसँगको घनिष्ठताका कारण नयाँ समिकरण बनाउन कांग्रेसले अलमल गरिरहेको देखिन्छ । देउवानिकट एक केन्द्रीय सदस्य भन्छन्, ‘नेकपा विभाजन स्पष्ट नभएसम्म कांग्रेसले निर्णय नलिने, तर सरकारमा जानु परे आफ्नै नेतृत्वमा जाने सम्भावना छ ।’

‘गएकाे निर्वाचनमा जनताले कांग्रेसलाई प्रतिपक्षी पार्टीको म्यान्डेट दिएका छन् । हामी त्यही भूमिकामा छौँ । अब पाँच वर्ष कुर्न कुनै आपत् छैन,’ ति केन्द्रीय सदस्य भन्छन् ‘तर नेकपाले सरकार चलाउन नसक्ने र सत्तामोहकै कारण झगडा गरेर विभाजनसम्म पुग्ने अवस्थामा कांग्रेसबाहेक सरकार नै नबन्ने भयाे भने  हामी सरकारमा जान्छौँ, तर आफ्नै नेतृत्वमा मात्रै सरकारमा जान्छाैँ ।’

यसरी संसद पुनर्स्थापनापछि हौसिएको राजनीति कांग्रेस नेताहरुका अलग-अलग अभिव्यक्ति, बुझाई र हतारमा निर्णय गर्दा परिस्थिति झन् बिग्रिन सक्ने भयका कारण सकारात्मक दिशा समात्न सकिरहेको छैन । संसदमा सरकार निर्माणको प्रक्रिया नै अघि नबढी निर्णय गर्दा अपरिपक्व हुन सक्ने देखिएकाले हतारमा निर्णय गर्न नहुने वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाइ छ । सकेसम्म (प्रचण्ड–नेपाल र ओली समूह) मिलेर आए राम्रो हुने पौडेलको तर्क छ ।

सभापति देउवाको नेकपाका दुवै समूहसँग टाढा नहुने र सके आफ्नै नेतृत्वमा सरकार बनाउने दाउ, महामन्त्री डा. कोइरालाको सरकार भन्दा पार्टी महाधिवेशनमा केन्द्रीत हुनुपर्ने अडान र वरिष्ठ नेता पौडेलको नेकपा फेरि मिलेर सरकार बनाउँदा सत्तामा देउवा जान नपाउने र सोही कारण महाधिवेशनको नतिजा आफ्नो पोल्टामा पार्न सकिने आँकलनजस्ता आतमगत बुझाइका कारण सरकार निर्माणका लागि नयाँ समिकरण बन्नमा ढिलाई हुने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।