Logo बैशाख ७, २०७८ मंगलबार


जनता समाचारमा साेमवार प्रकाशित समाचार सार

जनतासमाचार डट्कममा साेमवार प्रकाशित समाचारकाे मुख्य अंशहरू :

१.सभामुख अग्नि प्रसाद सापकोटाले सर्वोच्च अदालतले पुन:स्थापित गरेको संसदलाई जीवन्त र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ। नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा) को तेस्रो स्थापना दिवसको अवसरमा साेमबार राजधानीमा आयोजित कार्यक्रममा सभामुख सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउन आफ्नो वुद्धि, विवेक, योग्यता र क्षमता सम्पूर्ण रुपले लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे हाे।

२.सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोकेको बताउनुभएको छ। सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले राजीनामाबाट रोक्ने काम सर्वोच्चको फैसलाबाट भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले राजीनामा नगर्ने स्पष्ट पार्नुभएको हो।

३.वरिष्ठ पत्रकार लालदेउसा राई इञ्जा दीर्घसेवा पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) को तेस्रो स्थापना दिवसको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली पत्रकारका ‘सम्मानित गुरु’का रुपमा रहनुभएका ८९ वर्षीय राईलाई ६५ हजार नगदसहित सम्मान गरिएको हो।

४.वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाह संस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ । सोमबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीमा युवा समावेशिता विषयक दुईदिने राष्ट्रिय गोष्ठिको उद्घाटन समारोहमा बोल्दै वन मन्त्री आलेले पशुपति आर्यघाटमा दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्दै वन तथा वातावरण मन्त्रालयले निशुल्क दाउरा उपलब्ध गराउने बताउनुभएको हो ।

५. शहरी विकास मन्त्री प्रभु साहले काठमाडौं र काठमाडौं बाहिरका स्मार्ट सिटीहरुलाई समानान्तर ढंगले अगाडि बढाइरहेको बताउनुभएको छ । सोमबार शहरी विकास मन्त्रालयमा काठमाडौंमा बन्दै गरेका तीन स्मार्ट सिटीको बारेमा जानकारी दिन आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री साहले काठमाडौंमा बन्ने चार स्मार्ट सिटीमध्ये तीन वटा स्मार्ट सिटीको काम अगाडि बढेको र काठमाडौं बाहिरका स्मार्ट सिटीहरुलाई पनि सँगै लान खोजिएको बताउनुभएको हो ।

६. प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ज्यान तलमाथि भएपनि पार्टी र आन्दोलन भएकाले देश र जनताको भविष्य अन्धकारमा जान नहुने बताउनुभएको छ । पोखरामा सोमवार आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको गण्डकी प्रदेश कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश र जनताको भविष्य निर्माणका लागि प्रतिक्रियावादीहरुसँग घुँडा टेक्नु नहुने बताउनुभएको हो।

७.नेपाल–भारत सीमामा सुरक्षाका लागि सातौं बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ । सूर्योदय नगरपालिकाको भारतीय सीमावर्ती क्षेत्रमा नेपालको बलियो उपस्थिति जनाउन बिओपी स्थापना गर्ने अभियान अन्तर्गत सातौं पोष्टको स्थापना गरिएको हो ।

८. इलाम नगरपालिका–२, सुम्बेकले किसानहरुलाई मिनी टेलर (कृषि औजर) मेशिन र टनेल वितरण गरेको छ । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले किसानहरुलाई मिनी ट्रेलर वितरण गरेर वितरण कार्यक्रमको शुरुवात गरेका थियाे ।

९.राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको बैठक फागुन २३ गतेका लागि आह्वान गर्नुभएको छ । मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको हो ।

१०.पछिल्लाे समयकी चर्चित गायिका अस्मिता अधिकारीले ‘टाढा भएपनि’ बाेलकाे गीतले १५ दिनमा एक करोड ‘युट्युब भ्युज’ पाएकाेमा खुशी व्यक्त गरेकी छिन्। नेपालमा छोटो समयमा करोड दर्शकको माया पाएका गीतमध्ये एक बन्न पुगेकोमा खुशी व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फत स्टाटस लेखेकी हुन् ।

११.प्रधानमन्त्री केपी शर्मा ओली पोखरा पुग्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा पुग्नु भएको हो । पोखरा पुग्ने क्रममा पोखरा विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वागत गर्नुभएको छ ।

१२.आगामी वर्ष अर्थात् विसं. २०७८ मा तीन वटा दशैं परेको छ । यो वर्ष चैत्रमा पर्ने दशैं गत असोजमा परेको मलमास (अधिक वर्ष) का कारण आगामी वर्ष वैशाख ७ गतेको परेकाले २०७८ सालमा तीन वटा दशैं पर्ने भएको हो । विसं. २०७८ वैशाख ७ गते मंगलवार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

१३.बलिउड अभिनेता अमिताभ बच्चनले आँखाको अप्रेसन गराएका छन् । बच्चनले ७८ वर्षको उमेरमा लेजर अप्रेसन गरेको बुझिएको छ । शनिबार उनले आफ्नाे स्वास्थ्यअवस्थाबारे समाजिक सञ्जाल फेसबुकमार्फत अप्रेसन गर्नुपर्ने मेडिकल कन्डिसन रहेको जानकारी गराएका थिए । तर अप्रेसनको कारण भने खुलाएका थिएनन् ।

१४.नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्दोलनरत पक्षले पार्टी स्थायी कमिटी र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । सोमबार बिहान सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बसेको सचिवालय सदस्यहरूको बैठकले प्रतिनिधि सभा पुनर्स्थापना भएपछिको अवस्थाबारे छलफल र निर्णय गर्न दुबै बैठक बोलाउने निर्णय गरेको हो । 

१५.सोमवारदेखि यस वर्षको जाडोयाम समाप्त भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् सोमवारदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ शुरु भएको जनाएको छ । अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ ।

१६.पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलाई क्यान्सर नभएको पुष्टि भएको छ । उहाँको न्युरो इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकहरुले बताएका हुन् । चिकित्सक टोलीले बायोप्सी, डीओटीए एनओसी परीक्षण, इन्डोस्कोपिक अल्ट्रासाउन्ड, पीईटी सीटी स्क्यानसहित अन्य परीक्षणपछि ट्युमरमा क्यान्सर नभएको पुष्टि गरेको हो ।

१७.नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्दोलनरत पक्षको सचिवालय बैठक सिंहदरबारमा बसिरहेको छ । संसदीय दलको कार्यालयमा जारी बैठकमा संसद् बैठकको मिति नजिकिदै गएका बेला कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भैरहेको एक नेताले बताए । बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी हुनुभएको छ ।

१८. संसदको असंवैधानिक विघटनपछि सरकारले घोषणा गरेको निर्वाचनमा बढी अग्रसर बनेको तर नेकपाको विवाद निरुपणमा ध्यानै नदिएको निर्वाचन आयोगको अकर्मन्यतामाथि पछिल्लो समय सर्वत्र चासो बढेको छ । नेकपा अनौपचारिक विभाजन भएको र आधिकारिकताको लडाइँ शुरु भएको ७० दिन बित्दासमेत आयोगले कुनै निर्णय गर्न नसकेर आफ्नो अकर्मन्यता पुष्टि गरिरहेकाे हाे ।

१९.भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले कोरोना विरुद्धको खोप लगाएका छन् । दोस्रो चरणको खोप अन्तर्गत अभियान शुरु भएकै दिन सामेबार प्रधानमन्त्री मोदीले खोप लगाएका हुन् ।

२०.इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले शानदार जित निकालेको छ । आइतबार राती भएको खेलमा टोटनहमले बर्नलीलाई ४-० गोलले हराएको हो । टोटनहमको जितमा ग्यारेथ बेलले दुई गोल गरे । ह्यारी केन र लुकास मौर्राले एक एक गोल गरे ।

२१.म्यानमारमा फेसबुकमा स्टाटस लेखेका इन्जिनियरको गोली हानी हत्या भएको छ । यंगुनमा एक जना इन्टरनेट नेटवर्क इन्जिनियर नि नि याङ ह्टेट नाइङ प्रहरीले चलाएको गोलीबाट मारिएका हुन । उनले अघिल्लो दिन फेसबुकमा ‘संयुक्त राष्ट्र संघलाई सैनिक सरकारविरूद्ध कदम चाल्न कतिको ज्यान जानुपर्ने’ हो भनेर लेखेका थिए।

२२.नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता दामोदर अर्यालले आफूले केपी ओली ‘आई लभ यू’ भन्न नसकेकाे बताउनुभएकाे छ । आफ्ना केही शुभचिन्तकले तिमीले केपी किन छौड्यौ भनेर प्रश्न गरिरहेको उल्लेख गर्नुहुँदै अर्यालले आफूले केपीलाई त्यागेकाे नभई जनताको बहुदलीय जनबादको मृत्युपत्रमा हस्ताक्षर गर्ने केपी ओली त्यागेको बताउनुभएको हाे ।

२३.फेवातालको चारकिल्ला कायम गरिएको छ । तालको चारकिल्ला कायम हुन नसक्दा बढ्दो अतिक्रमण हटाउन समस्या भएपछि गण्डकी प्रदेश सरकारले गठन गरेको ‘चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समिति’को प्रतिवेदनका आधारमा चारकिल्ला कायम गरिएको छ।

२४. विश्वभरमा नौं करोड दुई लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । सोमबार बिहानसम्ममा नौं करोड दुई लाख २७ हजार एक सय २० जना संक्रमित कोरोनामुक्त भएका हुन् । हालसम्म विश्वमा ११ करोड ४६ लाख ७१ हजार सात सय ५३ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २५ लाख ४२ हजार पाँच सय ३४ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड १९ लाख दुई हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

२५.महानगरीय ट्राफिक प्रहरी महाशाखाले घुस लिन नमान्ने प्रहरीलाई सम्मान गरेको छ । महाशाखाले कुशल जिम्वेवारी निर्वाह गर्ने एक प्रहरी निरीक्षकसहित १८ ट्राफिक प्रहरीलाई सम्मान गरेको हो । महाशाखाले आइतबार एक कार्यक्रमकाबीच सम्मानित नगदसहित वृत्ति विकासमा सहयोग हुने गरी अभिलेखमा जनाइने गरी पुरस्कृत गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सरेको छ । बैैशाख २५ देखि २८ गतेसम्म तय भएको महाधिवेशन जेठमा…

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।