काेराेनाविरूद्धकाे ५० लाख खाेप किन्ने प्रक्रिया शुरू

काठमाडाैं । सरकारले थप ५० लाख डोज कोभिड १९ विरुद्धको खोप खरिदको प्रक्रिया शुरु गरेको छ । मंगलबार प्रतिनिधि सभाकोे शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा कोभिड-१९ खोप अभियानको सम्बन्धमा भएको छलफलमा बोल्दै सचिव अर्यालले सरकारले थप ५० लाख डोज खोप किन्नको लागि प्रक्रिया शुरु गरेको बताउनुभएको हो ।
हाल मन्त्रालयसँग रहेको खोप र बाँकी खोप खरिद गरी १ करोड १० लाख डोज खोप जम्मा गरी अर्को चरणको खोप अभियान सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्र रमन सिंहले आगामी दिनमा खोप अभियान जेष्ठ नागरिकबाट शुरु गर्ने बताउनुभयो । फ्रन्टलाइनमा काम गर्नेहरुलाई पनि कोभिड १९ को संक्रमणबाट बचाउनुपर्नेमा उहाँको जोड छ । ३ लाख डोज खोप यही साताभित्र आउने र थप १० लाख खोप १५ दिनभित्र आउने पनि उहाँले जानकारी दिनुभयो । तर एकैचोटी करोडको संख्यामा खोप आएमा राख्ने ठाउँ नहुन सक्नेपनि उहाँले बताउनुभयो ।
स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले कोभिड विरुद्धको खोपका कारण गम्भीर प्रकृतिका असरहरु देखा नपरेको बताउनुभयो ।
डा. शर्माले कोभिडविरुद्धको खोप स्तनपान गराइरहेको आमालाई पनि दिन मिल्ने बताउनुभयो । १८ वर्ष मुनिका बालबालिकाको उमेर समूहमा अध्ययन भएर तथ्यांक नआएको हुनाले खोप नदिइने उहाँको भनाइ छ । पहिलो खोप लगाएपछि गम्भीर प्रकारका असर देखा परेका व्यक्ति र गर्भवती महिलालाई पनि कोभिड विरुद्धको खोप नदिइने उहाँले जानकारी दिनुभयो ।