इन्द्रसरोवरमा लुकेको मन लोभ्याउने झरना (फोटोफिचर)

हनिशराज पन्त/जनतासमाचार
मकवानपुर । इन्द्रसरोवरको पश्चिमी क्षेत्रमा अवस्थित महाभीर झरना आन्तरिक पर्यटका लागि एक अर्को गन्तव्य बन्दै गएको छ । खासै चर्चामा आउन नसकेको महाभीर झरनाले यति बेला विस्तारै पर्यटक बटुल्न थालेको छ ।
कुलेखानीबाट डुंगाको यात्रापछि आधा घण्टा हिँडेर पुगिने यस झरनाले जो कोहीलाई पनि आकर्षित बनाउँन सक्छ । यस ठाउँमा कच्ची बाटो हुँदै गाडीमा समेत पुग्न सकिन्छ । तर गाडीको बाटो टाढा पनि हुने र डुंगाको यात्रा रमाइलो हुने भएकाले अधिकांश मानिस डुंगा हुँदै पैदल यात्राबाट यहाँसम्म पुग्ने गरेको पाइन्छ ।
सुन्दर, आकर्षक र कुलेखानी ताल नजिकै भएपनि कुलेखानीसम्म घुम्न पुगेका सबै मानिसलाई भने यसको बारेमा खासै जानकारी नभएका कारण पनि महाभीर झरना चर्चामा आउन नसकेको हो । झरना, खोला, जंगल लगायतका प्राकृतिक ठाउँमा मानिस घुम्न र रमाउन चाहन्छन् । काठमाडौं उपत्यकाबाट यति नजिकै रहेको महाभीर झरना प्रचार-प्रसारको अभावका कारण नै आन्तरिक पर्यटकबाट ओझेलमा परिरहेको छ ।