सिन्धुपाल्चोक एमाले पार्टी कार्यालय पुन: सञ्चालन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक एमाले पार्टी कार्यालय पुन सञ्चालन भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटन भई नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र नै कायम भएपछि जिल्लामा एमालेले पार्टी कार्यालय पुन: सञ्चालन गरेको हो ।
मंगलबार सिन्धुपाल्चोकको सदरमुकामस्थित नेकपाको बोर्ड झिकेर नेकपा एमालेको बोर्ड राखिएको छ ।
सदरमुकामस्थित पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरू भेला भएर नेकपा एमालेको बोर्ड राखेका हुन् । बोर्डसँगै एमाले कार्यालय स्थापना गर्न एमाले नेता एवं पूर्व सांसद कृष्णराज श्रेष्ठ, नेता हस्त पण्डित, बालकृष्ण देउजा लगायतका नेताहरु चौतारास्थित पार्टी कार्यालयमा उपस्थित भएका थिए ।
ओली पक्षका नेताहरु एमालेको जिल्ला पार्टी कार्यालय पुन:स्थापनामा जुटेपनि यसअघि ओलीको कदमविरुद्ध उत्रिएका एमाले नेताहरु भने कार्यक्रममा सहभागी भएनन् । कार्यालयको चाबी माग्दा नदिएपछि कार्यालय पुन: स्थापनाका लागि गएका नेता कार्याकर्ताले प्रहरीकै रोहबरमा ताला फोरेर नयाँ ताला लगाइदिएको छ ।
‘चाबी माग्दा हामीलाई दिइएनन्, प्रहरीकै रोहबरमा ताला फोरेर साईनबोर्ड फेरेका छौँ’, एमालेका पूर्व जिल्ला अध्यक्ष एवं नेता हस्त पण्डितले भन्नुभयो । अदालतकाे फैसलापछि एमाले पुन:स्थापना भएकाले एमालेका सम्पूर्ण नेता तथा कार्यकर्ता एक ढिक्का भई अढी बढ्न पण्डितले आग्रह गर्नुभयो ।
पार्टी एकीकरणपछि नेकपा एमालेको जिल्ला कार्यालयलाई नै नेकपाले कार्यालय बनाएको थियो ।