Logo बैशाख २८, २०७८ मंगलबार


बहस

एमाले कार्यकर्ता र समर्थक पार्टी गतिविधि पुरानै लयमा फर्किएको एमाले हेर्न लालायित देखिन्छन् । पुराना पदीय हैसियत बिर्सेर संयुक्त पार्टीको महासचिव विष्णु पौडेल एमालेको उपमहासचिव हुनुपर्ने छ भने माधव नेपाल वरिष्ठ नेता । नेताहरुको मन मिल्न केही समय लाग्ला तर मन सम्हालिएका कार्यकर्ताको सद्भाव र दबाबले दुईतिर फर्किएका नेताहरुलाई एक ठाउँमा अवश्य ल्याउने नै छ ।

–कुमार केसी

देश र जनताका लागि भनेर करिव चार दशक काँधमा काँध मिलाएर प्रतिकुल राजनीतिक अवस्थामा पनि पार्टीमा काम गरेका अझ भनौं पार्टी नेतृत्व सम्हालेका एमालेका खासगरी वर्तमान शीर्ष तहका नेताहरुले एक अर्कालाई आरोपप्रत्यारोप गरेर गाली गरागर गर्दा मन चिसो बनाएका लाखौँ एमाले कार्यकर्तामा फेरि त्राण थपिएको अवस्था छ । सत्ता र शक्ति आर्जन गर्ने लालसाले कुनै विधि र एकीकरणको प्रक्रिया नै नपुर्याएर माओवादीसँग एकीकरण गरेर बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफ्नै आन्तरिक विवाद र निर्वाचन आयोगको अनिर्णयका कारण चौबाटोमा गन्तव्यहीन अवस्थामा पुगेको थियो ।

सर्वोच्च अदालतले दुवै पार्टीलाई आ–आफ्नै मूल घरमा फिर्ता पठाएको छ र पार्टी कार्यकर्ताका मन सम्हालिएको देखिन्छ । यद्यपि यो निर्णय विवादरहित छैन भनिएको छ । यसको मूल्यांकन आगामी समयले गर्ने नै छ ।

गत आमनिर्वाचनको मुखमा आइपुग्दा अघिल्लो दिनसम्म सत्तोसराप गाली गरागर गर्ने एमाले र माओवादी पार्टी एकाएक कार्यगत एकता गरेर चुनावमा जाने र निर्वाचन लगत्तै पार्टी एकता गर्ने कुराले एमालेको पार्टी कार्यकर्ता पंक्तिमा केही खुसी र धेरै संसय त्यतिबेला नै देखा परेको थियो । पार्टीका मार्गदर्शक सिद्धान्त, विचार र न्यूनतम आगामी कार्यक्रम समेत छलफल नगरी निकै हतारमा एकीकरण भएकाले नेता र कार्यकर्ता तहमा भावनात्मक एकता हुन सकेको अवस्था थिएन । त्यसको प्रभाव पार्टी केन्द्र सञ्चालनमा अलमल, जिल्ला र स्थानीय तहमा अनिर्णित पार्टी एकता अनि जनवर्गीय संगठनको एकीकरणको रस्साकसीमा देखिन्थ्यो । स्वभावैले यसको प्रभाव प्रवासमा रहेका भातृ संगठन र समर्थकमा समेत परेको थियो ।

पार्टी केवल नौ सदस्यीय सचिवालय र उनन्तीस सदस्यीय स्याथी समिति सेरोफेरो सिमित देखिन्थ्यो भने नेताहरु सत्ता र अनेकन व्यक्तिगत स्वार्थमा लिप्त थिए । यद्यपि सबै नेता त्यस्ता थिएनन् । केन्द्रीय कमिटीका सदस्यले नियमित रुपमा हुनु पर्ने बैठक नबसेको कारण बैठकको सामाजिक सञ्जालमा माग गरेको देखिन्थ्यो । आफ्ना गुनासाहरु ठाउँ कुठाउँमा पोखिरहेका थिए भने धेरै केन्द्रीय कमिटीका सदस्यहरु जिम्मेवारविहीन जस्तै थिए । पार्टी केन्द्रमा भनौं वा सचिवालयमा पार्टीको कुनै नयाँ विचार, देश निर्माणको लागि राष्ट्रिय नीति निर्माण, सुशासन, गरिबी निवारणका कुनै दीर्घकालीन योजना र चुनाबी घोषणापत्रमा उल्लेख भएका समाजवाद उन्मुख कार्यक्रमबारे कहिल्यै छलफल भएन ।

एकातिर करिव दुई तिहाइको कम्युनिष्ट पार्टीको सरकार छ अनि जनताको न्यूनतम चाहना र आवश्यकता सम्बोधन गर्ने नीति तथा कार्यक्रम बन्न सकेन । प्रधानमन्त्रीमा केही गर्ने हुतहुती थियो तर योजनाबद्ध कार्यक्रम बन्न सकेन । पहिलो एक वर्ष सिंहदरबारमा रुमलिएको सरकार यसो गाउँतिर पुग्न सुरसार नहुँदै लोभ, दम्भ र घमण्ड भएका शीर्ष नेताहरुको तानातानले पखेटा हाल्यो ।

नेकपाको केन्द्रीय कमिटीको कता हो कता सचिवालयको समेत बैठक बस्न नसक्ने अवस्था सृजना भयो । बैठक बसीहाले पनि आरोपप्रत्यारोप अनि १९ पेज र ३८ पेजका युद्धहरु चले । प्रधानमन्त्रीले पनि पार्टी सल्लाहबिना आफूलाई प्रस्तुत गर्न थाले । अर्का पक्षले आफ्नो बहुमतको दम्भ देखाउन थाले । प्रतिनिधि सभा विघटन र अविश्वाशको प्रस्ताव पेश यसको चरम उत्कर्ष थियो ।

यसरी करिब तीन करोड जनताको भाग्य भविष्यको निर्माण गर्ने अभिभारा बोकेको सरकार र त्यसलाई चलाउने विशाल कम्युनिष्ट पार्टी नै चौबाटोमा आइपुग्यो । त्यसपछिका दुवै गुटका गाली गलौजका शब्दावली, एकले अर्कालाई खुइल्याउन गरेका हर्कतहरु सबैका सामु छर्लङ्ग छ । कुनै राम्रो निर्देशकले त्यसमा छायांकन गर्यो भने निकै धेरै दर्शकले एक पटक हेर्ने सत्य घटनामा आधारित फिल्म बन्ने छ ।

त्यस्तै एउटा अनुसन्धाताले त्यसबेला प्रयोग गरिएका असहिष्णु वाक्यहरु संकलन गरेर विश्लेषण गर्यो भने अचम्मको नतिजा निकाल्ने छ । दुवै गुटका नेताहरुले कोरोना माहामारीले संसार लकडाउनमा रहेको बेला देशव्यापी रुपमा लाखौँ कार्यकर्ता परिचालन गरेर अर्को अद्भुत नमुना पेश गरेका थिए । आफ्नो गुटका नेतालाई देवत्वकरण गर्ने र अर्को गुटका नेतालाई सकेसम्म नंग्याउने कार्यकर्ता पनि यो पार्टीको अवसानमा उत्तिकै जवाफदेही छन् तर पनि पार्टी कार्यकर्ताको निकै ठूलो हिस्सा यी सबै गतिविधिबाट पटक्कै सन्तुष्ट थिएन ।

एउटा ठूलो पार्टीका केही नेताहरुको अकर्मन्यताको कारण देशको राजनीतिले निकास नपाइरहेको बेला सर्वोच्च अदालतले निवेदकको माग दाबीभन्दा केही माइल टाढा पुगेर पार्टी छुट्याउने जुन निर्णय गरेको छ त्यसले खासगरी एमालेका कार्यकर्ता र समर्थकहरुमा उत्साह थपिएको देखिन्छ । धेरै कानूनविद् र राजनीतिक पार्टीहरुले समेत सर्वोच्चको निर्णयको आलोचना गरेको पनि पाइयो । सर्वोच्चको यो निर्णय छुटै चर्चाको विषय बन्ने नै छ तर अहिले उही पुरानै पार्टी यथावत हुने कुराले खासगरी एमाले कार्यकर्ता पंक्ति निकै खुसी भएको देखिन्छ ।

सर्वोच्च अदालतको निर्णयसँगै दिपावली गर्नु र धुम्बाराही कार्यालय र धेरै जिल्लाहरुका पार्टी कार्यालयमा एमालेको बोर्ड पुनर्स्थापना गर्नुले यही कुरा संकेत गर्छ । एमाले कार्यकर्ताले नेतृत्वलाई सँधै लगाम लगाउने हैसियत राख्छन् जुन कुरा गत महाधिवेशनमा केपी ओली र माधव नेपालले दुई समूह बनाएर मतपत्रमा समेत स्पष्ट दुई सुची बनाएर निर्वाचन गर्दा पनि दुवै समूहबाट झन्डै बराबर नेताहरु निर्वाचित गरेर आफूलाई विवेकशील प्रमाणित गरेका थिए । ती कार्यकर्ताका मन यतिबेला सम्हालिएका देखिन्छन् जुन स्वाभाविक हो ।

आपसी गालीगलौज, भद्धा मजाक र सीमा नाघेर सार्वजनिक रुपमा गरिएका टीकाटीप्पणीले यतिबेला नेताहरुका आ–आफ्ना मन चिसिएका छन् । पार्टी केन्द्रदेखि वडा तहसम्म, प्रदेशदेखि प्रवाससम्म समानान्तर जस्तै संगठन बनेका छन्। पार्टी पुरानै लयमा फर्किन, नेता कार्यकर्ताका मनहरु माझिन र पहिलेकै हार्दिकतामा पुग्न केही समय अवश्य लाग्ने नै छ। कानूनी हिसाबले पार्टी पुरानै अवस्थामा आइपुगेको छ । आगामी पार्टी गतिविधि सबै एकैसाथ गर्नुछ उनीहरुलाई।

एमाले कार्यकर्ता र समर्थक पार्टी गतिविधि पुरानै लयमा फर्किएको एमाले हेर्न लालायित देखिन्छन् । पुराना पदीय हैसियत बिर्सेर संयुक्त पार्टीको महासचिव विष्णु पौडेल एमालेको उपमहासचिव हुनुपर्ने छ भने माधव नेपाल वरिष्ठ नेता । नेताहरुको मन मिल्न केही समय लाग्ला तर मन सम्हालिएका कार्यकर्ताको सद्भाव र दबाबले दुईतिर फर्किएका नेताहरुलाई एक ठाउँमा अवश्य ल्याउने नै छ ।

(लेखक एमाले सम्बद्ध प्रवासी नेपाली मञ्च युकेका उपाध्यक्ष हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …