चालिसमा एक, दुई सयमा तीन !

काठमाडौं । महाशिवरात्रिको अवसरमा हिन्दू धर्मावलम्वीहरुका आराध्यदेव भगवान शिवको पूजा तथा आरधना गर्नका लागि पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको भीड लागेको छ ।
एकातिर शिवजीको दर्शनका लागि श्रद्धालुहरु बिहानैदेखि लाइनमा बसिरहेका छन् भने श्लेषमान्तक वन तथा मृगस्थलीको छेउछाउमा बाबाजीहरु चिलिमबाट गाँजाको सर्को तान्दै युवापुस्तालाई शिवजीको बुटी भन्दै गाँजा बेचिरहेका छन् ।
बाबाजी भन्दैछन्, ‘चालिसमा एक, दुई सयमा तीन ।’ त्यस्तै केही युवा बाबाहरू पनि गाँजा बेचिरहेका देखिन्छन् ।
गाँजाले भरिएको एक खिल्ली चुरोट चालिस रुपैयाँमा र दुई सयमा तीन पोका गाँजा खरिद गर्न तँछाडमछाड गरिरहेका छन् युवाहरु ।
गाँजाका पोका बिक्री गरिरहेका बाबाहरूकै छेउछाउमा प्रहरी देखिन्छन् तर कुनै प्रतिक्रिया जनाउँदैनन् । शिवजीको नाममा गाँजा खरिदबिक्री हुँदा पनि प्रहरी भने रमिते मात्रै भएको देखियो ।
भारतबाट आएका साधुसन्तहरुले गाँजा बिक्री गर्ने यो पहिलो घटना भने होइन । हरके वर्ष यस्तै घटना दोहोरिन्छ । तर सम्बन्धित निकाय भने मौन बसेको देखिन्छ ।