स्पाइजेट विमानमा किन राखियो खलनायक सोनू सुदको तस्बिर ?

काठमाडौं । भारतीय घरेलु उड्डयन कम्पनी स्पाइस जेटले आफ्नो विमानमा बलिउड कलाकार सोनू सुदको तस्बिर राखेको छ । कम्पनीले स्पाइजेट बोइंग ७३७ मा अभिनेता सुदको सम्मान स्वरुप तस्बिर राखेको हो ।
विमानमा ठूलो तस्बिरसहित सोनुका लागि अंग्रेजीमा ‘ए सेल्यूट टू द सेविअर सोनू सूद’ अर्थात् ‘मसीहा सोनू सूदलाई सलाम’ लेखिएको छ ।
गत वर्ष कोरोना महामारीमा लाखौं मजदुर र बेवारिसे मानिसलाई बस, ट्रेन र हवाइजहाजबाट घर सित्तैमा पुर्याइदिएका अभिनेता सुदको समाजसेवाको कदर गर्दै विमानमा तस्बिर राखिएको कम्पनीले जनाएको छ ।
अभिनेता सुदले आफूलाई स्पाइस जेटले गरेको सम्मानप्रति खुशी व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत उनले कम्पनीप्रति आभार व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘यो मेरो लागि ठूलो सम्मान हो । यसले मलाई पुरानो कुराको याद दिलायो । जब म पहिलोपटक मुम्बई आएँ, त्यो बेला म एक अनारक्षित टिकटले यहाँ आइपुगेको थिएँ । अहिलेको सम्मानको खुशी म बताउनै सक्दिनँ ।’
सुदले दबांग, कंगफू याेगा, रमैया वस्तावलगायतका चलचित्रमा कलाकारकाे रूपमा अभिनय गरेका छन् ।