काठमाडौं । बिनाप्रमाण ४० वर्षदेखि भारतीय जेलमा रहेका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) शनिबार दिउँसो छुट्नुभएको छ । भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टर (सेन्ट्रल जेल) मा रहेका तिम्सिना कोलकता उच्च अदालतको आदेशबमोजिम आज छुट्नुभएको हो ।
४० वर्षपछि जेल बाहिरको संसार देख्दा..शनिबार दुर्गाप्रसादलाई लिन उहाँका भाइ प्रकाशचन्द्र दमदम सेन्ट्रल जेल पुग्नुभएको थियो । दुर्गाप्रसाद छुट्दै हुनुहुन्छ भन्ने थाहा पाएपछि केही भारतीय र नेपाली सञ्चार माध्यम पनि सेन्ट्रल जेल पुगेका थिए ।जेलमा रहेका आफ्ना मान्छे भेट्न, खाना खुवाउन आएका मानिसले आज कोही ठूलै नेता जेलबाट छुट्न लाग्दै छ कि भन्ने अनुमान लगाउँदै थिए । तर जब कुनै नेता नभएर एक साधारण मानिस जो निर्दोष भएर पनि जेलजीवन बिताइरहेको थियो र ४० वर्षपछि छुट्दै छ भन्ने थाहा भयो उनीहरु अचम्मित परे ।प्रहरीका अनुसार दुर्गाप्रसाद जेलमा रहँदा सँधै ‘रेशम फिरिरि....’ गीत गाइरहनुहुन्थ्यो । आज छुट्ने बेला पनि त्यहि गीत गाएर उहाँले प्रहरीलाई समेत भावुक बनाउनुभयो । उहाँलाई बिदाइ गरिरहँदा प्रहरीहरुमा जति खुशी देखिन्थ्यो उतिनै भावुकता पनि देखियो । केही प्रहरीले दुर्गाप्रसादलाई अंगालो पनि हाले ।दुर्गाप्रसादलाई जेलबाट बाहिर त निस्किनुभयो तर उहाँ अझै खुलेर कोहीसँग बोल्नुभएको छैन । चुपचाप महावाणिज्यदूतावासको गाडीमा चढ्नु भएका उहाँले बीच बाटोमा एकपट ‘हामी दार्जिलिङ जान लागेको हो’ भनेर सोध्नुभएको थियो । प्रहरीले समय समयमा उहाँलाई दार्जिलिङ लैजाने गरेको थियो । उहाँले त्यहि सम्झनुभयो क्यार ।दुर्गाप्रसाद महावाणिज्यदूतावासमा पुग्दा पनि सोफामा समेत टुक्रुक्क जेलमा झैँ बस्नुभयो । उहाँले बेलाबेला आफू निर्दोष भएको बताउनुहुन्छ । त्यसबाहेक अरु बोल्न चाहनुहुन्न । बाटोमा धेरै अनुरोध गरेपछि रेसम फिरिरि भन्ने गीत भने फेरि गाउनुभयो ।
यसरी परेका थिए दुर्गाप्रसाद जेलसन् १९८० मा दुर्गाप्रसादविरुद्ध आफ्नी पत्नी जनु गुरुङको हत्या गरेको आरोपमा दार्जिलिङका नैन घलेले प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले दुर्गाप्रदासलाई पक्राउ गरेको थियो । ‘मेरो श्रीमती जंगलमा दाउरा खोज्न गएकी थिइ । गाउँलेले तेरो श्रीमतीलाई जंगलमा कसैले हत्या गरेको छ भन्ने सुनेपछि म घटनास्थलमा पुगेँ । श्रीमतीलाई चिनेँ । उसको शरीर नांगै थियो । टाउको र देब्रे हात छिनिएको थियो । यो विषयमा सोधपुछ गर्दा गाउँमा इलाम बस्ने नेपाली केटो आएको थियो । त्यसको उमेर करिब २०–२२ को हुनुपर्छ । कालो वर्णको, काठे पाइन्ट र खैरो रंगको पुरानो ज्याकेट लगाएको, बिहान करिब ८–९ बजेतिर गाउँमा आएको रहेछ । त्यो केटोले आफ्नो नाम दीपक जैसी भनेको थियो ।’ जाहेरीमा भनिएको छ ।तर प्रहरीमा जाहेरी दिएपछि नैन घले अड्डा अदालतमा नगएको दाबी दुर्गाप्रदासका भाइ प्रकाशचन्द्रको छ । जाहेरी नै फर्जी रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘जाहेरीपछि नैन घले कतै फलोअप गर्न गएको देखिँदैन । त्यसकारण पनि यो आरोप फर्जी हो ।’
घरमा खुसियाली हराएको ४० वर्षपछि भारतमा जेल जिवन बिताइरहेको अवस्थामा भेटिएका इलामको माई नगरपालिका–१० का दुर्गाप्रसाद तिम्सिना घर आउने भएसँगै परिवारमा खुसि छाएको छ । बाल्यकालमै बेपत्ता भएका छोरा ४० वर्षपछि जिवित पाउँदा ८५ वर्षीया धनमाया तिम्सिना खुसी हुनुहुन्छ ।
तोरी बेच्न गएका दुर्गाप्रसाद ४० वर्षपछि फर्कँदै२०३७ साल माघमा पुरानो घर साविकको एकतप्पा गाविस हाल फाकफोकथुम गाउँपालिकाबाट मंगलबारे बजारको बुधबारे हाटमा तोरी बेच्न गएको छोरो जिउँदै आउला भन्ने धनमायाको मनमा छँदै थिएन । तर छोरो जिउँदै रहेको र घर आउने भएसँगै खुसी हुनुभएको हो । उहाँ भन्नुहुन्छ, ‘कमाउनका लागि घरबाट हिनेको छोरो घर आउँदा बुडेसकालमा आफूलाई साहार भएको हुनेभएको छ ।’ उहाँको भनाइसुन्दा जेल भनेको सजाए दिने ठाउँ भन्ने छैन । धनमायाको बुझाईमा जेल भनेको भारतमा आफ्नो छोराले पैसा कमाउन काम गर्ने ठाउँ सम्झेर छोरो ४० वर्षपछि सम्पति कमाएर घर आउने आशामा हुनुहुन्छ । छोराले पैसा कमाएको छैन त्यसै घर फर्कँदैछ भन्दा धनमाया गईले हानेपछि एउटा हात गुमेको आफू काम गर्न नसक्ने भन्दै बाँच्नको लागि सहयोगको अपेक्षा गर्नुहुन्छ ।दुर्गाप्रसाद हिँहेपछि एकतप्पामा भएको जग्गा १० हजारमा बेचेर माई नगरपालिकाको चिसापानिमा आएर बसेको धनमायाँ बताउनुहुन्छ । तोरी बेच्न बजार गएका दुर्गाप्रदास चार दशक कहाँ, कुन अवस्थामा थिए भन्ने कसैले सुइँको पाएनन् । २०६९ सालमा ‘दीपक जैसी तिम्सिना’ ले पठाएको पत्र घरमा आयो । पत्रमा आफू संगम जेलमा रहेको उल्लेख थियो तर त्यो चिठी दुर्गाप्रदासले नै पठाएका हुन् भन्ने परिवारलाई विश्वास भएन । तैपनि आएको चिठीको व्यहोराअनुसार खोजतलास गर्दा केही सूचना मिल्यो कि उहाँ पक्कै भारतको कुनै स्थानमा जेलमै हुनुहुन्छ । तर कसरी, किन, कहिलेदेखि उहाँ जेल पर्नुभयो, अहिले उहाँ कहाँ हुनुहुन्छ भन्ने यकिन गर्न पत्र आएको मितिले आठ वर्ष लाग्यो र जेलमा पुगेर परिवार भेटेर आए ।
भाइको छोरा पहिलोपटक भेट्न जाँदा...ठूलो बुबा भेट्न जानुभएका दुर्गाप्रसादका कान्छो भाईका छोरा गोपाल तिम्सिना भन्नुहुन्छ, ‘भाषा पनि बिर्सिनुभयो होला भन्ने लागेको थियो तर कान्छो भाईको नाम केहो भन्दा धर्मे भन्नुभयो, माईलोको नाम के हो भन्दा केदारनाथ भन्नुभयो, अनि दिदी भन्दा दिदी पनि भन्नुभयो र आमाको भिडियो देखाउँदा हाँस्नुभयो । नेपाल जानुहुन्छ भन्दा जान्छु अहिलै जान्छु भनेपछि पहिलो पटक ठूलोवूवा देखेको मलाई साह्रै नराम्रो लाग्यो । मेरो आँखामा आँशु आयो ।’दुर्गाप्रसादको परिवारको वर्षाैंको प्रयास र विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोगमा उहाँसम्म पुग्न सफल भएका तिम्सिना परिवारलाई भने के कारणले जेल परे भन्ने पत्तै छैन । तर हिँडेपछि दार्जिलिङको चिया कमानमा काम गरेको, त्यहाँ काम गर्दा उहाँलाई एक महिलाको हत्या अभियोग लागेकोसम्म परिवारले पत्ता लगायो । हत्याको अभियोग थियो भन्ने त थाहा भयो तर हत्या उहाँले गरेको वा अरू कसैले गरेको हत्यामा उहाँ फसेको भन्ने पत्तै छैन ।
परिवारको अवस्था२०१७ सालमा जन्मिनुभएका दुर्गाप्रसादका बुबाको २०२४ सालमा निधन भयो । त्यसपछि गाईले हानेर आमा धनमायाको दाहिने हात छिन्यो । धनमायाँका चार छोरा तीन छोरी मध्ये दुई छोरा र एक छोरीको मृत्यु भइसकेको छ । भएका दुई छोरा र एक छोरी पनि मानसिक रोगको कारण अस्वस्थ छन् । जेल बस्नुभएका दुर्गाप्रसाद मानसिक रोगको चपेटामा हुनुहुन्छ । घरमा रहेका कान्छा छोरा पनि मानसिक रोगको औषधि खाइरहेको उहाँका छोरा गोपाल बताउनुहुन्छ । धनमायँकी छोरी पनि मानसिक रुपमा अस्वस्थ हुनुहुन्छ । उहाँ पनि घरमा बस्नुहुन्न । बारीमा पकाउने खाने र मान्छे गए भाग्ने गर्नुभएकी उहाँ बेलुका चाँहि सुत्न घरमा आउने भदा गोपाल बताउनुहुन्छ ।
दुर्गाप्रसादलाई छाेड्न अदालतले दिएकाेआदेश पीडीएफमाhttps://hindi.livelaw.in/pdf_upload/nepali-man-release-calcutta-high-court-390735-390764.pdf?fbclid=IwAR0zBc1-sWvJp9INZa5vE1VS69qCFYXleNOwzEipivmnmjp9vdfWFMu_LB4इलामबाट भागीरथ भण्डारीको सहयोगमा