Logo असार ४, २०७८ शुक्रबार


ओलीले पार्टीका कुन अधिकार आफूमा किन केन्द्रीकरण गरे ?

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) भित्र विवाद उत्कर्षमा पुगेकै वेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केही महत्वपूर्ण अधिकार आफूमा केन्द्रित गर्नुभएको छ ।

सर्वोच्च अदालतको फैसलाबाट एमाले ब्युँतिएपछि पार्टी विवाद घट्नुको सट्टा बढीरहेको भएपनि ओलीले आफू पक्षीय नेता र सांसदहरुको बैठक बोलाएर अधिकारको केन्द्रीकरण गर्नुभएको हो ।

पार्टीभित्र जारी विवाद समाधान नहुँदै ओलीले पार्टी र संसदीय दलको अधिकार आफूमा केन्द्रित गर्नुभएको छ । सत्ता सञ्चालनमा अधिनायकवादी शैली अपनाएको आरोप खेपिरहनुभएका ओलीले पार्टी र संसदीय दल दुवैमा केही महत्वपूर्ण अधिकार आफूमा केन्द्रित गर्नुभएको हो ।

ओलीमा केन्द्रीत मुख्य अधिकार र यसो गर्नुका कारण :

१.केन्द्रीय कमिटी आयोजक कमिटीमा रूपान्तरण

नेकपा एमालेको पछिल्लो महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरिएको छ ।

आयोजक कमिटीको अध्यक्षमा ओली र महासचिवमा ईश्वर पोखरेललाई मात्रै कायम राखिएको छ भने निर्वाचित अन्य सबै पदाधिकारीलाई सदस्य बनाइएको छ ।  पार्टीको केन्दीय कमिटी, स्थायी कमिटी र पोलिटब्यूरोमा नेपाल-खनाल समूहको बहुमत भएको र आफ्नो अल्पमत रहेका ओलीले अर्को पक्षसँग संवाद नगरी एकलौटी गर्नुभएको हो ।

अर्को पक्षसँग संवाद गर्दा सबै तहमा अल्पमतमा रहेकाले आफू अनुकूल निर्णय गर्न नसकिने बुझाइबाट यस्तो निर्णय गरेको देखिन्छ ।

२. संसदीय दलको विधान फेरेर स्पष्टीकरण सोध्न सक्ने अधिकार

संसदीय दलको विधानमा दलको नेताले दल, पार्टी र देशविरुद्ध कुनै गतिविधि गर्ने सांसदलाई स्पष्टीकरण सोध्न सक्ने अधिकार थपिएको छ ।

यसबाट ओलीले चाहेको सांसदलाई जतिखेर पनि स्पष्टीकरण सोध्न सक्ने हुनुभएको छ । जुन व्यवस्थासहितको विधानलाई केन्द्रीय कमिटीबाट पारित गरिएको भनिएको छ । तर केन्द्रीय कमिटीमा ओली अल्पमतमा छन् ।

एमालेका एक नेताका अनुसार ओलीले यसरी अधिकार आफूमा लिनुमा कारण चाहिँ नेपाल-खनाल समूहमा लागेका नेताहरुलाई कारबाहीको डर देखाउने, आफ्नो पक्षमा लाग्न दबाब सिर्जना गर्ने, नमान्ने सांसदलाई पदबाट मुक्त गर्ने र संसदीय दलमा आफू अनुकूल निर्णय लिने हो ।

३. स्पष्टीकरण चित्तबुझ्दो नआए कारबाही गर्ने अधिकार

विधान परिवर्तन गरेर स्पष्टीकरण सोध्ने अधिकार लिनुभएका ओलीले स्पष्टीकरण चित्तबुझ्दो नदिने सांसद वा नेतालाई कारबाही गर्ने अधिकार पनि आफैले लिनुभएको छ ।

यस्तो विधान पारित गरे लगत्तै उहाँले केन्द्रीय कमिटीबाट वरिष्ठ नेता माधव नेपालसहित उपाध्यक्ष भीम रावलसहित सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी हितविरुद्ध तथा नेतृत्वलाई कमजोर पार्ने काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरिसक्नु भएको छ । स्पष्टीकरण चित्तबुझ्दो नआए कारबाही हुने बैठकमै जानकारी गराउनु भएको छ ।

ओलीले यो अधिकार आफूमा लिएर कारबाही थालिने सन्देश दिनुको कारण चाहीँ पार्टीको नेपाल-खनाल पक्ष आफूसँग कुनै हालतमा मिल्ने छाँट नदेखिएको बरु आफूलाई पार्टी नेतृत्व र प्रधानमन्त्रीबाट च्युत गर्न लाग्ने विश्लेषण रहेको देखिन्छ । त्यस्तै, यसो नगर्ने हो भने पार्टीमा अर्को पक्ष हावी भइरहने ओलीको आँकलन पनि हुनसक्छ ।

४.समानुपातिक सांसदमाथि कारबाही गर्ने अधिकार

संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्दसूचीमा रहेको नाम हटाउने, थप्ने या हेरफेरको सबै अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गरिएको छ ।

यसले खनाल–नेपाल समूहका समानुपातिक सांसदमाथि कारबाही सहज हुने ओलीको विश्लेषण छ । कारबाहीकाे डरले अर्को पक्षका सांसद आफ्नो पक्षमा लाग्ने विश्लेषणबाट यस्तो निर्णय लिइएको अनुमान गर्न सकिन्छ ।

५.नेता–कार्यकर्ताकाे मनोनयन र कारबाहीको अधिकार

पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीका सदस्यको मनोनयन, कारबाही तथा बिदाइको अधिकार पनि अध्यक्ष ओलीमा केन्द्रीत गरिएको छ ।

जसबाट नेपाल-खनाल समूहका नेता–कार्यकर्तामाथि कारबाही सहज हुने आँकलन गरिएको छ । यसरी अधिकार लिँदा आफूलाई मन परेको मानिसलाई कमिटीमा राख्ने र मन नपर्ने र विरोधीहरुलाई हटाउन सकिने बुझाई देखिन्छ ।

६.राज्यका आधिकारिक निकायसँग समन्वयको एकल अधिकार

ओलीले राज्यका आधिकारिक निकायसँग समन्वय गर्ने एकल अधिकार पनि आफूमा समाहित गर्नुभएको छ ।

पार्टीमा विभाजनको प्रष्ट संकेत देखा परेको र नेपाल-खनाल समूहले निर्वाचन आयोगदेखि सबै निकायमा आधिकारिकता दावी गर्ने विश्लेषणसहित यो अधिकारको केन्द्रीकरण गरिएको देखिन्छ ।

सर्वोच्च अदालत, निर्वाचन आयोग वा अन्य आधिकारिक निकायमा पार्टीका तर्फबाट गर्ने सबै कामका लागि पार्टी अध्यक्षका रुपमा ओली आफैले अख्तियारी लिनुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…