गलत नियतबाट ‘सूचनाको हक’ दुरुपयोग नगराैं : सञ्चारमन्त्री

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सूचनाको हकको दुरुपयोगलाई रोक्नुपर्ने बताउनुभएको छ । सोमबार राष्ट्रिय सूचना आयोगले गरेको विभिन्न भाषाका सञ्चारकर्मीहरुसँग सूचना को हक सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपालमा गलत नियतबाट सूचनाको हकको प्रयोग गरिएकाले दुरुपयोगलाई रोक्नुपर्ने बताउनुभएको हो ।
सूचनाका हकका अभियन्ताहरुले नै सूचना लुकाउने गर्नाले समाजमा सूचना प्रवाह हुन नसकेको पनि उहाँको भनाइ छ । सूचनाको हकको प्रयोगको नाममा समाजमा विकृति, विसंगति तथा अराजकता ल्याउने र ठगी गर्ने गरिएको भन्दै यस्तो परिस्थितिको अन्तय गरिनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जो सूचनाको हकको अभियन्ता हुन्छन् । उसले नै सूचना लुकाइरहने काम अब नहोस् । देख्दा अभियन्ता देखिने जसले अत्यन्तै परिवर्तन र अधिकारमुखी कुरो गर्ने तर ऊ आफैँले त्यो अधिकार र व्यवहारमा नदेखाउने,जसले गर्दा हाम्रो समाज अझै पछि पर्नुपरेको छ।’
सही भन्दा गलत नियतले सूचना प्रवाह गरेकाे र समालले पनि गलत सूचना सही मानेकाे बताउँदै मन्त्री गुरूङले भन्नुभयाे, ‘सही नियतबाट होइन, गलत नियतबाट मात्रै सूचनाको हक प्रयोग गरिरहेको हामीले देखिरहेका हुन्छौं। केही व्यक्तिहरु खाली सूचनाको हक प्रयोग गरेर कसलाई मुद्दा हाल्नको निम्ति मात्रै त्यसको खेती एउटा पंक्तिमा त्यस्तो पनि देख्छु । उसको काम नै सूचनाको हक प्रयोग गर्ने अनि कसको निम्ति मुद्दा हाल्ने भनेर मात्रै हिडिरहेका छन्। अनि उसलाई मुद्दा हाल्ने, बार्गेनिङ गर्ने । सूचना प्राप्त गरेपछि बार्गेनिङ गर्ने र लेनदेनको कुरा गरेर एकथरीको त्यस्तो खेती गर्ने । यो खेतीको व्यवसायमा लागेका व्यक्तिहरुको पहिचान गरेर यस्ता विचौलियाहरुलाई पनि व्यवस्थापन गर्नुपर्यो । समाजमा जहिल्यै विकृति ल्याउने, बिसंगति ल्याउने, समाजमा अराजकता ल्याउने अनि ठगी गर्ने । सूचनाको दुरुपयोग गरेर व्यक्तिहरुलाई आर्थिक लेनदेनको बार्गेनिङ गर्ने यो परिस्थितिको हामीले अन्त्य गर्नुपर्छ ।’
मन्त्री गुरुङले सञ्चारकर्मीहरुले पनि सकारात्मक सूचना दिनेभन्दा पनि समाजलाई अप्रिय घटना घटाउने खालका सूचना दिने र व्यक्तिको सूचनालाई मानव अधिकार विपरित प्रयोग गर्ने गरेकाले त्यसलाई पनि अन्त्य गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘कतिपय सञ्चारकर्मीहरुको पनि त्यही पेशाहरु हामी देखिरहेका छौँ । सञ्चारकर्मीहरुले पनि असल सूचना दिने, सकारात्मक सूचना दिने, समाजलाई रुपान्तर गर्ने काममा होइन । समाजलाई त्रसित बनाउने, समाजलाई अप्रिय घटना घटाउनको निम्ति सूचना दिने र कोही व्यक्तिको सूचनालाई, सूचनाको हकलाई पनि मानव अधिकार बिरोधीको रुपमा पनि प्रयोगहरु भएको छ । यस्तो कुरालाई कसरी अन्त्य गर्ने ? यो कुरोप्रति हामीले राष्ट्रिय सूचना आयोग सचेत रहोस्,जिम्मेवार रहोस्, अत्यन्तै पारदर्शी बनाओस् । समाजलाई उत्तरदायी, जवाफदेही बनाउने, जिम्मेवार बनाउने काममा राष्ट्रिय सूचना आयोगले आफ्नो कदमहरु अगाडि बढाओस् ।’
मन्त्री गुरुङले सूचनाको हकको गलत प्रयोगप्रति राष्ट्रिय सूचना आयोग सचेत रहनुपर्ने बताउनुभयो । समाजलाई उत्तरदायी, जवाफदेही र जिम्मेवार बनाउन आयोगको भूमिका हुनुपर्ने उहाँको भनाइ छ ।