होलीमा सार्वजनिक कार्यक्रम र भिडभाड गर्नेलाई कारबाही

अभिषेक सापकोटा
काठमाडौं । यसपालीको फागूपर्व अर्थात् होलीमा भिडभाड तथा सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । सार्वजनिक रुपमा फागूमा कार्यक्रम, भिडभाड वा कन्सर्ट आयोजना गरेमा आयोजकलाई कानुनी कारबाही हुने भएको हो ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले फागू पूर्णिमामा भीडभाड गरेर होली नखेल्न सार्वजनिक आग्रह गरिसकेको छ । त्यस्तै होलीको कार्यक्रम, भिडभाड वा कन्सर्ट गरेमा प्रहरीले कारवाही गर्ने महानगरीय प्रहरी परिसरका प्रमुख अशोक सिंहले बताउनुभयो ।
त्यस्तै गृह मन्त्रालयले सार्वजनिक ठाउँमा कार्यक्रम आयोजना गरेमा आयोजकलाई पक्राउ गरेर कारबाही गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिइसकेको छ । मानिस निस्केर भीड भएमा उनीहरुलाई सम्झाइ बुझाइ गर्न गृहको निर्देशन छ । तर, कार्यक्रम आयोजना गर्नेलाई संक्रामक रोग ऐन–२०२० अनुसार कारबाही गर्ने गृहले स्पष्ट पारेको छ ।
ऐनअनुसार आदेश अवहेलना गरेमा एक महिना कैद र एक सय रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ । सो ऐनले सरकारको काममा बाधा पुर्याउनेलाई ६ महिना कैद वा ७० हजार जरिवाना गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।
चैत १५ मा पहाडी र १६ मा तराईका जिल्लामा होली मनाइँदै छ । होलीमा भीडभाड हुन नदिन र जबर्जस्ती लोला हान्ने कामलाई रोक्न जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रहरीले माइकिङ गर्न थालेका छन् । काठमाडौं उपत्यकामा होलीमा हुनसक्ने, उश्रृंखल गतिविधि एवं भिड नियन्त्रण गर्न उपत्यकामा पाँच हजार प्रहरीसहित देशैभर आवश्यक मात्रामा प्रहरी परिचालन गर्ने सुरक्षा योजना प्रहरीको छ ।
जबर्जस्ती लोला हान्नेलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्ने प्रहरीले जनाएको छ । होलीमा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरु बढ्न सक्ने आंकलन गर्दै चेकजाँचमा कडाइ गर्ने प्रहरीले जनाएको छ ।