Logo जेठ २, २०७८ आइतबार


तुवाँलाे र वायु प्रदुषण हट्न समय लाग्ने, सावधानी अपनाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा चैत १३ गते शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदुषणको स्तर केही समयसम्म रहन सक्ने देखिएको छ । वायु प्रदूषण मौसममा पनि भरपर्छ । मौसम यस्तै भइरहे केही समयसम्म प्रदूषण यस्तै रहने वा अझै खराबसमेत हुने सम्भावना रहेको विज्ञहरुले बताएका छन् ।

वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले यस्तो अवस्थामा सावधानी अपनाउन आग्रह गरेको छ । यसबाट जनस्वास्थ्यमा प्रतिकूल असर पर्नसक्छ । विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रस्वास सम्बन्धी विरामी र मुटुका रोगीहरु बढी प्रभवित हुने भएकाले विभागले विशेष सावधानी अपनाउन सबैमा अपिल गरेको छ ।

जल तथा माैसम पूर्वानुमान विभागका उपमहानिर्देशक इन्दुबिक्रम जोशीले सकेसम्म सबै उमेर समूहका नागरिकलाई सम्भव भएसम्म घर बाहिर नकिस्कन, निस्कनैपर्ने अवस्थामा विशेष सावधानी अपनाउन आग्रह गर्नुभयो । आगो बाल्दासमेत वायु प्रदूषण झनै बढ्ने भएकाले फोहर बाल्ने र खुलारुपमा आगो बाल्ने कार्य नगरिदिन, विद्युतीय सावारी साधन बाहेकका अन्य सवारी साधन कम प्रयोग गर्न विभागले आग्रह गरेको छ ।

चैत १३ गते शुक्रबारयता काठमाडौँ उपत्यकालगायतका स्थानको वायु प्रदूषण सूचक (एक्यूआई) ३०० को हाराहारी रहेको छ । विभागका अनुसार मानव स्वास्थ्यका लागि शून्यदेखि ५० सम्मको एक्यूआइ राम्रो, ५० देखि १०० सम्म सामान्य तथा १०० देखि माथिको तहलाई स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

प्रदूषणको प्रमुख कारण डढेलो

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको छ । अहिले नेपालको आकाशमा बाक्लो तुवाँलो लागेको छ । विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै तीन दिनदेखि नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको जानकारी दिनुभयो । उहाँका अनुसार मौसम सफा हुन डढेलो कहिले नियन्त्रणमा आउँछ भनेर अनुमान गर्न सकिने अवस्था छैन।

विभागकै मौसमविद् मञ्जु बासीले डढेलोका कारण वायुमण्डलमा असर परेको र बाक्लो तुवाँलो लागेको बताउनुभयो । “वायुमण्डल स्थिर छ, हावा तलमाथि भएको छैन त्यसैले उपत्यकाको आकाश बाक्लो तुवाँलोले ढाकेको छ । बेगले हावा चलेको भए तुवाँलो छरिन्थ्यो र विस्तारै आकाश खुल्ने थियो । त्यो देखिदैन मङ्गलबारदेखि काठमाडौंको आकाश खुल्ने अनुमान गरिएको छ”, उहाँले भन्नुभयो ।

अहिले काठमाडौँ उपत्यका पूरै तुवाँलोले ढाकेको र भिजिबिलिटी कम रहेको उहाँले जानकारी दिनुभयो । प्रदेश नं २, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशमा वायु प्रदूषण देखिएको छ । काठमाडौँ उपत्यका जस्तै अन्य उपत्यकामा पनि बढी असर रहेको मौसमविद् बासीको भनाइ छ। सोमबार साँझदेखि पश्चिमी वायु नेपालमा प्रवेश गर्ने भएकाले मङ्गलबारसम्म उक्त वायु काठमाडौँ प्रवेश गरेसँगै मौसममा केही सुधार आउने बताइएको छ ।

पश्चिमी वायुको प्रभावले वर्षाको पनि सम्भावना रहेकाले तुवाँलो हट्ने मौसमविद् बासीले बताउनुभयो । उहाँले तत्कालै ठूलो वर्षा र हावा हुरी चल्ने मौसमी प्रणाली नरहेकाले मौसम पूर्णरुपमा सुधार हुन अझै केही समय लाग्ने जानकारी दिनुभयो ।

अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन अपिल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि मौसममा आएको परिवर्तनसँग काठमाडाँै उपत्यकाभित्रको वायु प्रदूषण बढेकाले अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन सबैलाई अपिल गरेको छ । वायु प्रदूषणले स्वास्थ्यमा विविध स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकोले अत्यावश्यक कामवाहेक घर बाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न र शरीर पूरै ढाकिने गरी लुगा लगाएर मात्र निस्कन मन्त्रालयले आह्वान गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले वायु प्रदूषणले मानव स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन गम्भीर असर पर्न सक्ने सम्भावना रहेको जानकारी दिनुभयो । प्रदूषणले आँखा चिलाउने र पोल्ने, छाला चिलाउने, श्वासप्रश्वासमा गाह्रो हुने समस्या बृद्धि भएको छ । साथै दीर्घकालीनरुपमा मुटु र फोक्सोको समस्या बढ्ने, स्नायु प्रणालीमा असर पर्ने बालबालिकाको वृद्धिविकासमा असर गर्ने र क्यान्सरको समस्या हुने उहाँले बताउनुभयो ।

प्रदूषणबाट बच्नका लागि सावधानी अपनाउन आग्रह गर्दै उहाँले भन्नुभयो, “प्रदूषित वातारण थप बढ्न नदिन जिम्मेवार निकाय र व्यक्तिले गर्नुपर्ने भूमिका महत्वपूर्ण छ । यस्तो बेला अनावश्यक गाडी प्रयोग नगर्ने, बैकल्पिक ऊर्जाको प्रयोग बढाउने, प्रदूषण कम हुने अन्य बैकल्पिक उपाय अपनाउने, विकास निर्माणका काममा धुलो कम हुने उपाय अवम्बन गर्ने । त्यसो गर्ने सके बस्न योग्य वातावरण हुनेछ ।”

प्रतिक्रिया दिनुहोस्
विशेष

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…