‘ओली यस्तो निरंकुश बन्लान भन्ने कहिल्यै सोचेको थिइनँ’

काठमाडौं । नेकपा (एमाले) का पुराना नेता प्रदीप नेपालले आफुले प्रधानमन्त्री केपी शर्मा ओली अहिले देखिएजस्तो निरंकुश बन्लान भन्ने कहिल्यै नसोचेको बताउनु भएको छ । आफू र अर्का नेता मुकुन्द न्यौपानेको मेहेनतबाट ओलीलाई अध्यक्ष जिताइएको स्मरण गर्नुहुँदै नेता नेपालले ओली प्रवृत्तिका कारण उनलाई हिजो साथ दिएका नेताहरुले साथ छोड्दै गएको उल्लेख गर्नुभयो ।
जनता टेलिभिजनको साप्ताहिक कार्यक्रम ‘द भ्यू विचार मन्थन’ मा आफ्नो धारणा राख्ने क्रममा पूर्वमन्त्री समेत रहनुभएका नेपालले भन्नुभयो, ‘ओलीले आफ्ना मान्छे घटाउने काम मात्रै गरिरहेका छन् । उहाँको साथमा कोही नरहने देखिन्छ । यस्तै तरिका हो भने तपाइँसँग कोही पनि रहन्नन भनेर उहाँलाई नै भनेको छु ।’
एमालेमा उत्पन्न पछिल्लो विवादमा नेता माधवकुमार नेपालको पनि उत्तिकै कमजोरी रहेको नेपालको भनाइ छ । ‘पार्टीको अध्यक्ष जो कोही हुन सक्ने र बनेपनि एमालेको मुख्य नेता त माधव हुन नि ? तर उनले त्यो भूमिका निर्वाह गर्न सकिरहेका छैनन्’ नेपालले भन्नुभयो, ‘माधवले ओलीलाई सच्याउने तिर लाग्ने भन्दा प्रचण्डसँग मिलेर गल्ती गरे ।’ माधव नेपाल र केपी ओली नमिले एमाले विसर्जन हुने र यो कुरा सबैभन्दा बढी ओलीले बुझ्नुपर्ने नेपालको भनाइ छ ।
एक अर्को प्रश्नमा नेपालले राजनीतिमा चुनाव चिन्हले खासै फरक नपार्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ओलीले शूर्य चिन्ह लिँदैमा केही फरक पर्दैन । उनको जनाधार छैन् । माधव नेपालको जनाधार छ । हामीले पद्मरत्न तुलाधरलाई जिताउन शूर्य चिन्ह लिएका हौं । अरु कुनै चिन्ह पनि लिन सकिन्थ्यो । पार्टी चिन्हले बनाउने पनि होइन । काम गर्ने नेताहरुले बनाउने हो । पार्टीको काम गर्ने नेता भनेको माधव नेपाल नै हुन ।’
एमालेमा आज समस्या आउनुका पछाडि नेताहरुले मार्क्सवादको सट्टा सर्वसत्तावाद मात्रै बुझ्नु रहेको नेपालको विश्लेषण छ । ‘यिनिहरुले नपढेकोले मार्क्सवाद बुझेनन् । सर्वसत्तावाद मात्रै बुझे’ उहाँले भन्नुभयो ।
नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आज जनताको बहुदलीय जनवादको जति कुरा गरेपनि त्योसँग उनको काम नमिल्ने प्रष्ट्याउनु भयो । जर्मनीमा समाजवाद भन्दाभन्दै हिटलर जन्मेको उल्लेख गर्नुहुँदै नेपालले नेपालमा जबज भन्दैभन्दै ओली निरंकुशता जन्मिने खतरा बढेको संकेत गर्नुभयो ।