Logo बैशाख २८, २०७८ मंगलबार


पर्यटकमाथि चियाबगान सञ्चालकको दुर्व्यवहार

ऋषि खतिवडा
काठमाडौं । इटहरीका उमेशकुमार तामाङको टिम नयाँ वर्षलाई उल्लासमय मनाउन सिन्धुपाल्चोकको प्रशिद्ध पर्यटकीय स्थल भोटेचौर पुगे । त्यहाँ चियाबारी छ, ‘मिनि इलाम’ भनेर नाम कमाएको छ । तर त्यहाँ पुग्दा उनले सोचे जस्तो खुशी पाएनन् । बरु दुःख र दुर्व्यवहार मात्र सहनु पर्यो । ‘एभरेष्ट टि गार्डेन’ का कर्मचारीहरुले तामाङ र उनको टिमलाई चियाबारीको बाटो प्रयोग गरेकै कारण दुर्व्यवहार गरेका हुन् ।

‘नयाँ ठाउँ जाँउ भनेर चियाबारी पुगियो तर हामीलाई त्यहाँ तथानाम गाली र अपशब्द प्रयोग गरियो’ तामाङले भने, ‘चियाबारीमा पर्ने सार्वजानिक बाटोबाट हामी फोटो खिच्दै थियाैँ, त्यहाँका कर्मचारीहरुले हामीलाई सुन्नै नसकिने शब्दले गाली गरे।’

चियाबारीमा प्रवेश गरेको नाममा आफूहरु अपहेलित हुनु परेको तामाङको गुनासो छ । ‘त्यहाँ कुनै सूचना पनि थिएन, नयाँ वर्ष मनाउन गएका सबै पर्यटक खल्लो मन गरेर फर्किए’ उनले भने ।

मेलम्ची नगरपालिका–२ मा पर्ने चिया बगान सञ्चालकको दादागिरीका कारण बदानाम हुँदै गएको स्थानीय पनि बताउँछन् । सोही क्षेत्रका वडा सदस्य नगेन्द्र खतिवडाका अनुसार यो क्षेत्रको समस्या धेरै अघिको हो । ‘पर्यटकहरुलाई गाली गर्ने, सार्वजानिक बाटो छेक्ने लगायतका अवैध काम भइरहेको छ । हामी निरीह जस्तै भएका छौँ’ खतिवडाले भने, ‘सञ्चालकसँग धेरै पटक मिटिङ बसियो तर सुनुवाई भएन।’

स्थानीयलाई नै प्रयोग गरेर सञ्चालकले पर्यटकमाथि दुर्व्यवहार गरेको बताउँदै उनले गाउँलाई बदनाम गराउने खालका हर्कत बन्द गर्न आग्रह गरे।

केहो विवाद?

२०५२ सालदेखि नै उक्त क्षेत्रमा चियाको खेती गरिँदै आएको छ । शिवपुरी राष्ट्रिय निकुञ्ज सँगै जोडिएको उक्त क्षेत्रमा चिया उत्पादन विस्तारै बढ्दै गयो। उद्योग संचालकले स्थानीयसँग भाडामा जग्गा लिई खेती शुरु गरेका थिए । करिब ८ सय रोपनी जग्गा सञ्चालकले निकै सस्तो मूल्यमा भाडामा लियो। नजिकै रहेको शिवपुरी राष्ट्रिय निकुञ्जबाट आउने बँदेल लगाएका जंगली जनावरले अन्नबाली सखाप पार्ने हैरानीबाट मुक्त पाइने भएपछि स्थानीयले पनि सहजै जग्गा भाडामा दिए।

त्यसको फाइदा भने सञ्चालकले लिइरह्यो। उत्पादनको २० वर्षसम्म पनि स्थानीयले उक्त जग्गाको भाडा पाएनन्। त्यसबीचमा सडकको सहज पहुँच, सूचना प्रविधिको विकास तथा सामाजिक सञ्जालबाट उक्त क्षेत्रको तीव्र प्रचार भयो। राजधानीबाट ३० किलोमिटर नजिक, एकदिन मै पुगेर फर्किन सकिने, शान्त एवं मनोरम तथा इलाम चियाबारीको झल्को मेट्ने भएकाले आन्तरिक पर्यटकको रोजाईमा उक्त क्षेत्र
पर्दैगयो। पर्यटकको तीव्र आगमनले स्थानीय स्तरमा रोजगारी वृद्धि हुँदै गयो। होटल व्यवसायदेखि साना लगानीका व्यवसायीहरुको आयस्तर समेत वृद्धि हुँदै गएको थियो। तर ७१ साल पछि त्यस क्षेत्रको उज्यालो कथामा कालो दाग लाग्दै आयो।

एभरेष्ट टि गार्डेनमा मोहन गिरी सञ्चालकका रुपमा प्रवेश गरेपछि उक्त क्षेत्रले बदनामी कमाएको स्थानीयको आरोप छ। भाडामा रहेको उक्त जमिनलाई गिरीको कम्पनीले खरिद गर्यो। जबकी त्यती बेलासम्म पनि स्थानीयले उक्त जग्गाको भाडा समेत पाएका थिएनन्। जग्गा खरिद गर्न कम्पनीले अनेकौं प्रपञ्च समेत रचेको स्थानीय बताउँछन्। ०७२ सालको विनाशकारी भूकम्पले तहसनहस पारेको उक्त क्षेत्रका बस्ती चिया कम्पनीले निर्माण गरिदिने उधारो योजना अघि सार्यो। भूकम्पले त्यतीबेला घर मात्रै ढलेको थिएन, स्थानीयको मन पनि भत्किएको थियो।

कम्पनीले आफ्नै खर्चमा पूरा बस्ति नै निर्माण गर्ने आश्वासनले स्थानीय निकै खुशी थिए। र, त्यही आश्वासनको आधारमा चिया कम्पनीले धेरै स्थानीयको जग्गा खरिद गर्न सफल पनि भयो। कम्पनीले आफ्नो स्वार्थ पूरा गर्दै गयो तर स्थानीयलाई दिएको आश्वासन, आश्वासनमै सिमित
राख्यो। यता कम्पनीले स्थानीय राजनीतिक दलको आडमा पर्यटन क्षेत्रका सिमाहरुलाई भने साँघुरो बनाउँदै लग्यो। त्यसैकारण पनि खोलिएका होटेल, रिसोर्टहरु सुक्दै गए, स्थानीय स्तरमा भएका उत्पादनहरु बिक्री हुन छोडे, धेरैले रोजगारी गुमाए। मिनी इलामको नामले चर्चित हुँदै गर्दा कम्पनीले उक्त क्षेत्रलाई निजी बनायो। निजी जग्गामा कम्पनीको अधिकार हुनु स्वभाविक हो तर चियाबारी क्षेत्रमा रहेका सार्वजानिक बाटो समेत कम्पनीले हस्तक्षेप गरेको पर्यटक तथा स्थानीयको आरोप छ।

यो पिकनिक खाने ठाउँ हैनः सञ्चालक गिरी

यस विषयमा जनतासमाचारसँग सञ्चालक गिरीले राखेको धारणा, ‘हामी अर्गानिक चिया बगान निर्माणको चरणमा छौ। त्यही भएर चियाबारीमा प्रवेश रोकेका हौं । त्यहाँबाट अहिले पनि वार्षिक १४ ट्रक फोहोर संकलन हुन्छ। हामीले कृषि व्यवसाय र उद्याम गरेका हौं । यो पिकनिक खाने थलो हैन। केही दिन अघि डढेलो लागेर चियाबारी नष्ट हुने अवस्था आयो। घुम्न जाने र आगो लगाइदिने प्रवृति पनि देखियो। अहिले चियाबारीको बारे सोसल मिडियामा जे लेखेपनि सजिलो भएको छ। तर पर्यटकलाई दुव्र्यवहार भयो भन्ने लाग्दैन मलाई। हामीले सार्वजानिक बाटो रोकेका छैनौँ । यो वाइयात कुरा हो त्यही भएर म फोनमा कुरा गर्न चाहन्न, भेटेर कुरा गर्दा हुन्छ। पर्यटकलाई दुव्यबहार भएको जानकारी मलाई छैन, र सार्वजानिक बाटो रोकेको भए प्रमाण लिएर आए हुन्छ । अब हाम्रो चियाबारीलाई प्रमोट गर्नु आवश्यक छैन, दुईचारवटा टिकटक बनाएर प्रोमट गर्नु छैन। हामीले लगानीको सुरक्षा गर्नुछ। ’

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …