Logo बैशाख २८, २०७८ मंगलबार


कथा : बगान

–स्वप्निल नीरव

आमा भन्नुहुन्छ—तैंले अहिल्यै जिन्दगी बुझेको छैनस् । सायद त्यति नबुझेको हुँला । जति आमाले बुझ्नुभएको छ ।

तर नबुझेको चाहिं छैन । आमालाई यो बताउन जरुरी छ कि, म जिन्दगी बुझ्दछु । एक्लोपनको गहिराइ त झन कति कति बुझ्दछु । उमेरले हैन मान्छेलाई जिन्दगीले परिपक्क बनाउछ । यो पनि बुझेको छु । सम्बन्धको गहिराइ थोरै थोरै बुझ्दछु । सबैभन्दा धेरै त एक्लोपनको छट्पटी बुझेको छु । के म यति सरल विषय पनि नबुझुँला त ? एक्लोपन भन्ने यो विषय

मेरा लागि सबैभन्दा कठिन र सबैभन्दा मन नपर्ने विषय । तर कलेजको हरेक वार्षिकोत्वको निवन्ध लेखन प्रतियोगितामा यै विषयमा लेख्ने गर्छु ।

केही महिना अघिसम्म म साह्रै गम्भीर रिलेशनसीपमा थिएँ । तर उसका लागि सम्बन्ध नामको डोरी मात्र डोरी थियो । जहाँ जोसँग पनि बाँटिन सक्ने डोरी । गल्ती उसको हैन । सबैको सोंच सबैसँग कहाँ मिल्छ र ? ठीकै भयो चुँडियो त्यो डोरी । किन कि गहिराइ नै थिएन त्यो सम्बन्धमा । मैले पो जबरजस्ती गहिराइ खोजेको थिएँ । केही दिन खुब रोएँ । तर अचेल आँसु झर्दैन । उमेर छ, वैंश छ । केही गर्ने जोश छ । अब केही वर्ष पढाइमा ध्यान दिन्छु । आमाको रङ्गहिन जिन्दगी रङ्कग्याउने कोशिस गर्नेछु ।

मेरी आमा एउटा एनजिओमा काम गर्नुहुन्छ । कमाइ ठीक ठाक छ । पुख्र्यौली सम्पत्ति छ धेरै थोरै । माटाको पुख्र्यौली घर छ ।

काकाहरुले छुट्टिदा दया गरेर दिनुभएको त्यो घरको चोटा कोठा बिहान बिहानै लिपेर चिल्लो पार्नुहुन्छ । हामीलाई आमा छोरी कम र दिदी बहिनी ज्यादा भन्दछन् । भर्खर पैंतिस पुग्नुभयो । चौध वर्षको हुँदा म जन्मिएँ रे । अठारको हुँदा बा कायरले आत्महत्या गरे रे । बा मरेपछि सुरु भएको आमाको संघर्ष अझै जारी छ ।सुत्ने बेला एउटै कथा सुनाउनुहुन्छ । कसरी बाले एक्लैे छाडेर गए । अनि कसरी स्कूल पूरा गर्नुभयो । अनि कसरी कलेज हुँदै जागिरे जीवन तय गर्नुभयो ।

मेरी आमा कसैलाई प्रेम गर्नुहुन्छ । त्यो मान्छेको नाम हो विजय । तर अब केही दिनमा मेरी आमालाई भगाउने तयारी गरिरहेको छ । ऊ आमासँगै काम गर्छ दश वर्षदेखि । मान्छे ठीक ठाक छ । हेर्दा छिः भनिहाल्ने खालको छैन । राती राती आमा फोनमा कुरा गर्नुहुन्छ । म निदाए जस्तो गरिदिन्छु । अचम्म, पौने एक घण्टा कुरा गर्दा पनि कहिल्यै भन्नुहुन्न ‘म हजुरलाई माया गर्छु ।’एउटै कुरा भन्नुहुन्छ ‘सुत्नुहुन्न ? फोन राख्नु र सुत्नु ।’ फोन राखेपछि झुकेर मेरो निधारमा च्वाक्क म्वाइ खाएर भन्नुहुन्छ- ‘नानी तँ कहिले ठूली हुन्छेस् ?’ आमालाई कसरी भन्नु कि, म ठूली भइसके आमा ।

एकदिन यसै कुरै कुरामा भनिदिएँ— आमा म त केही वर्षपछि बिहे गरेर जान्छु । हजुर एक्लै हुन्छ । कोही खोज्दै गर्नु ।

आमाले आँखा चिम्लेर थप्पड हान्नुभयो । एक डेढ घण्टा त गाला सुन्निएर रातो भइरह्यो । फेरि फेरि दोहो¥याएर आमासँग त्यस्तो कुरा गर्ने हिम्मत पनि आएन । तर आमा यसरी एक्लै छट्पटाएको, उमेरमै रंगहीन भएर बाँचेको देख्न म सक्दिनँ ।

पहाड जस्तो जिन्दगी चढेर छोरीलाई माथि उठाउने हिम्मत छ आमासँग । तर आफ्नो जिन्दगीको बारेमा सोंचेर एउटा निर्णय लिन सक्ने क्षमता छैन । आमा त्यही फूलमा पर्नुहुन्छ जो फुल्ने हिम्मत त गर्छ । तर भमराको नजिक गएर साउती मार्दै भन्न सक्दैन— अनुमति बिना रस चुस्ने कोशिस नगर । मलाई फुलिरहनुछ । र, मेरो सौन्दर्य अनि वैंश जोगाएर राख्ने भमराको लागि तिमी जस्ता हजार भमरासँग लड्नुछ ।

फिल्डमा जाँदा विजयसँग कतै एकान्तमा झोला बिसाएर गफिन आमालाई पनि त मन लाग्दो हो । त्यो गण्डकी पारिको खुल्ला चौरमा बसेर भन्न मन लाग्दो हो— विजय हजुर हुनुहुन्छ र पो यो प्रकृति मौसम प्यारो छ । त कहिले रातीमा साउती मात्रै तातो तातो स्वास छाडेर भन्न मन लाग्दो हो—धन्यवाद मेरो जिन्दगीमा सामेल हुनुभएकोमा ।

एकरात म साथीकोमा गएको थिएँ । साथीको दिदीको बिहे थियो । आउन अबेर भयो । राती नौ बजेतिर फर्कदा आमालाई बार्दलीमा भक्कानिएर रोएको पाएँ । राती आमा सुतेपछि मोबाइलमा एउटा म्यासेज देखेँ विजयको । लेखिएको थियो, अब त केही सोंच्ने बेला भएको छ । बाले अब यसपालि पनि बिहे नगरे घर बस्न दिनुहुन्न । मलाई केटी खोजिदेऊ ।

मैले जवाफ पठाएँ, ‘‘हजुर मसँग बिहे गर्नुहुन्छ ? म तयार छु ।’

तत्काल फोन आयो । आमा ब्युँझनुभयो । र, फोन उठाउनु भयो । के के कुरा भयो म जान्दिनँ । तर फोन राखिसकेपछि आमाले मलाई गाली गर्दै भन्नुभयो— बाठो हुन्छेस् ? के म्यासेज लेखेर पठाको तैंले ? के हो त्यो बिहे भनेको ? कसरी हुन्छ बिहे ? कोसँग हुन्छ ? अनि कतिखेर गरिन्छ बिहे ?

मैले भनेँ— सारा दुनियाँलाई थाहा छ त हजुर र विजय अंकलबच िकति गहिरो सम्बन्ध छ भनेर । यो भनिराख्नुपर्ने कुरा हो र ? अनि त्यो अंकलले कसरी भन्न सकेको त केटी खोज्न भनेर ।

विवाद अरु लम्ब्याउनु भएन । तर त्यसदिनबाट विजयको कुरा आउनासाथ आमा भन्नुहुन्छ— तैंले अहिल्यै जिन्दगी बुझेको छैनस् ।

सम्बन्धका तीता टर्रा नमिठा मेल अमेल त भन्न सक्दिन । तर सम्बन्धको आवश्यकतालाई नकार्न म कहाँ सक्छु ? उमेरमै वैंश त्यसै ओइलाएर मर्दै मर्दै बाँचेको देख्न म कसरी सक्छु ? मेरो हरेक पीडा हाँसो आँसुमा आमा मेरो साथ रहनुहुन्छ । म कसैसँग गहिरो प्रेममा परुँ । जोसँग मेरो सम्बन्ध गाँसिन्छ ऊसँग विचार भावना मिलोस् भनेर आमा प्रार्थना गर्नुहुन्छ । त म यो कामना किन नगरुँ कि, मेरो आमाको जिन्दगीमा पनि साँचो प्रेम होस् । ठान्नेहरु ठान्लान् मायाकी आमाले आफ्नो यौवन लोग्नेको नाममा साँचेर बाँच्न सकिन । या यसो पनि भन्लान् छोरीको बिहे गर्ने बेलामा तरुनी भई । भन्नेको मुखमा बुजो लाउन सकिन्न क्यारे ।

केही महिना अघिको कुरा हो । काकाको घरमा हामी आमा छोरीलाई खान बोलाइएको थियो । खास कुरा गर्न परे काका यसै गर्नुहुन्थ्यो । खाना खाने बाहनामा मनको कुरा राख्नुहुन्थ्यो । आमा र मलाई संस्कार र रीतिरिवाजका थुप्रा कुरा सुनाउनुहुन्थ्यो । कहिले काँही त चेतावनी पनि दिनुहुन्थ्यो कि, म आमाकी छोरी हैन बाले पालेको संस्कारी छोरी बनुँ । मलाई काकासँग सोध्न मन थियो— बाले मलाई पाल्नुभएको भए म कस्ती हुन्थेँ हुँला काका ? तर कहिल्यै सोध्ने हिम्मत भएन ।

आठ बजेतिर काकाको घरमा पुग्यौं । काका पर्नुभयो लाहुरे । गाउँभरिको सुब्दार बा । घरको भित्तादेखि लिएर आँगन, पिंढी सबै एकदमै ब्यवस्थित ढंगले सिंगारिएको । ब्यवस्थित गरी पूmलहरु रोपिएका । खानाको टेबल भान्छा सबै उस्तै ब्यवस्थित । यवस्थित त हाम्रो भान्छा पनि हुँदैन । आमा दिनहुँ चुल्हो लिप्नुहुन्छ । साह्रै आकर्षक ढंगले सामानहरु सजाएर राख्नुभएको छ । तर काकाको भान्छाको अगाडि हाम्रो माटाको घरको भान्छा तुलना हुन सक्दैनथ्यो ।

काकाले लाहुरे रम गिलासमा खन्याउनुभयो । काकी आमा र काकाले पिउदै गफ गर्न थाल्नुभयो । कुरा घुम्दै फिर्दै विजयसम्म पुग्यो । आमाको अनुहारको रङ उड्यो । शिर निहुराएर काकाको कुरा सुनी बस्नुभयो । कुरा खास नयाँ थिएन । कुरा त्यै पुरानै हो । गाउँभरि मायाकी आमा र विजयको प्रेमको खुब चर्चा छ । अब बुढी भइस् थपक्क छोरीको बिहे गरिदे । र, नातिनातिना खेलाएर बस् ।

हैन मान्छेलाई यति धेरै चासो किन ? कसैको निजी जिन्दगीमा कसले के गर्दैछ भनेर किन यति निगरानी गर्नुपरेको ? हाम्रो घरमा भरे खाने चामल छ छैन पत्तो नहुनेहरु पनि मेरी आमा र विजयको सम्बन्ध पत्तो कसरी लगाउछन् ? मेरी आमाले त भन्नुभएकै छ वहाँहरु बीच त्यस्तो सम्बन्ध छैन भनेर । ठीक छ प्रेम गर्नुहुन्छ । यो कुरा मलाई राम्रोसँग थाहा छ । तर यो गाउँ अनि काकाहरुले भन्नुभए जस्तो गलत भएकै के छ ? घर बिगारेर छोरीको भविष्य डामाडोल पारेर विजयको पछि लाग्नु भएको छैन । फिजिकल भइहाल्नु भएको छैन । भइहाल्यो भने पनि मेरो नजरमा त त्यो गलत छैन ।

मैले भनेँ— काका त्यसो हो भने आमा र विजय अंकलको बिहे गरिदिनुस् ।

काकाको रमले रात्तिएका आँखा अझ राता भए । आमाको आँखा पनि उस्तै । मलाई खाउँला भैm गरेर हेर्दै भन्नुभयो—चुप लाग ।

काका रिसाउदै बोल्नुभयो—यस्तै हुन्छ बिना बाउ हुर्र्किएको छोरी ।

अब जवाफ दिने पालो मेरो थियो । भनेँ— काका हजुरको दाइ मलाई पाल्न सक्ने भए झुण्डेर मर्ने थिएन । मेरो र मेरी आमाको बारेमा सोंचेको भए एउटी ठकुर्नी केटीले धोका दिएको निहुँमा आत्महत्या गर्ने थिएन । यस्तो काँतर बा ज्युँदो रहेको भए पनि मलाई पाल्नु त मेरै आमाले पथ्र्याे ।

आमा चिच्याउनुभयो— चुप लाग् ।

तर म खुब तातिएको थिएँ । बोल्दै रहेँ— मलाई बासँग खुब धेरै गुनासो छ । मेरी आमा हुँदा हुँदै त्यो ठकुर्नीसँग जोडिने हिम्मत कहाँबाट आयो । ठीक छ, आमा बाबीच राम्रो तालमेल थिएन होला । तर सम्बन्ध पुरै तोडेर, मेरी आमालाई त्यागेर ठकुर्नीलाई अंगाल्न सक्नुपथ्र्याे नि । घर की श्रीमती छाडेर प्रेम गर्ने हिम्मत गर्नेले ठकुर्नीका लागि केही गर्ने हिम्मत त गर्नुपथ्र्यो नि ।

आमाले मेरो ढाडमा हान्नुभयो । र, हातमा समाएर घरमा ल्याउनु भयो । घरमा आएर फेरि भनेँ— हजुर बिहे गर्नुस् विजयसँग । दिनरात रोएर वैंश त्यसै खेर फालेर हुनेवाला केही पनि छैन । जिन्दगीमा अरुलाई पनि नरुवाउनु । आपूm पनि खुसी रहनु । दुःखी रहेर सँधै टाउको समाएर बसेर केही हुनेवाला छैन ।

आमा मलाई गर्लम्म अंगालो हालेर रुँदै बोल्नुभयो— यस्तो कुरा नगर नानी । तँ भएर मात्र बाँचेको हूँ । नत्र म पनि तेरै बा जस्तो झुण्डेर मर्थेँ । तँ छस् मलाई यति भए पुग्छ । तँ माया गर कसैलाई । ऊसँग तेरो साह्रै गहिरो प्रेम होस् । यति भए मलाई पुग्छ ।तँ जति माथि उड्छस् उड् । म थाम्छु तँलाई । तर मेरो र विजयको कुरा नगर् । मलाई यत्तिकै मर्न मञ्जुर छ ।

‘यस्तो कुरा नगर्नु आमा । यस्तो चालले त हजुर अघि पनि बढ्नुहुन्न । उल्टो आफूलाई गलाउने र दुखाउने काम मात्र हुन्छ । एकचोटि विजयसँग कुरा गरेर हेर्नु । उहाँले के भन्नुहुन्छ उहाँको मनसाय बुझौं । ठीक छ उहाँलाई हजुर मनपर्दैन भने म हजुरलाई कहिल्यै बिहे गर्ने दबाब दिन्न ।’

भोलिपल्ट विजयसँग भेटेर भनेँ— के हजुर मेरी आमासँग बिहे गर्नुहुन्न ?

मेरो ठाडो प्रश्न सुनेर विजय हाँस्यो मात्रै । मैले भनेँ— ‘मेरी आमाको बारेमा हजुरको के विचार छ ?

‘तिम्रो आमालाई म मन पर्दैन त ।’

म चौपट्ट खुसी भएँ । घर आएर आमासँग भनेँ— हामी केही दिनका लागि पोखरा जाऔं ।

आमाले स्वकृतिमा टाउको हल्लाउनुभयो । तर जब मैले विजयलाई पनि लिएर जाऔं भने । तब भने आमाले महाभारत सिर्जना गर्नु भयो । मैले आमासँग भनेँ— ‘आमा हजुर आफ्ना लागि बाँच्ने हो । मेरो बारेमा सोचेर बस्नु जरुरी छैन । बिहे गर्नुस् । दुईचार महिना या वर्ष मान्छेहरु कुरा काट्लान् । पछि यही गाउँलेले हजुर र विजयको प्रेमलाई उदाहरणको रुपमा पेश गरेर भन्नेछन् ‘माया गर्ने भए विजय र ममताले जस्तो नछुट्ने र नदुख्ने माया गर’ ।

विजयले फकाओस् अनि मेरी आमाले इन्कार गरोस् यस्तो पनि हुन्छ ? हामी पोखरा जाने भयौं । आमाले स्विकृति जनाउनु भएको त्यो रात हामी पटक्क निदाएनौ । आमाले भन्नुभयो— माया तँ जान्ने भइस् । तर तैंले अहिल्यै जिन्दगी बुझेको छैनस् । जिन्दगीमा धेरै उतारचढावहरु ऋाउन बाँकी नै छ । यसका लागि तँ अब तयार हुनुपर्छ । म बिहे गरेर विजयसँग जान्छु । तँलाई सँगै लैजान सक्दिनँ ।

आमाले यसो भनिरहँदा मन अमिलो भयो । एक मन त लाग्यो— आमासँग टाढिएर बाँच्न सक्दिन । बरु आमालाई बिहे गर्नदेखि रोकूँ । मन त हो । आमाको जिन्दगी प्रेमले रङ्याउने सोंच एकाएक धरासयी भएर गए । तर म यति स्वार्थी बन्न सक्दिनथेँ । सुस्तरी भनेँ— आमा हजुरको जिन्दगी प्रेमले रङिनुपर्छ । हजुर खुसी रहनुभयो भने पो अरुलाई खुसी पार्न सक्नुहुन्छ ।

त्यसो भनेर म बिछ्यौनामा पल्टिएँ । आमा झ्यालैनेर बसेर विजयसँग कुरा गर्दै भन्नुभयो— मलाई मायाको साह्रै चिन्ता छ विजय । म यसलाई छोडेर गएको दिन यो हावा कता कता जान्छे होला । साह्रै चञ्चल छे । यो नगर त्यो नगर भनेर सम्झाइरहनुपर्छ । कतै गहिरो खाल्डोमा गएर खस्छे कि भन्ने डर लाग्छ ।

मेरा आँखाबाट टुर्लुक्क आँसु खसे । आमाहरु यस्ता किन हुन्छन् ? आफू रोएरै जीवन काट्न तयार । तर छोराछोरीलाई हँसाउन पाए हुन्थ्यो भनेर सोंच्छन् । आमाहरु यति त्यागी किन हुन्छन् ? छोराछोरीसँग अलग्गिन नसक्ने गरी किन जोडिन्छन् ?

पर्सिपल्ट पोखरा पुग्यौं । सिमसिम पानी, पोखराको प्रकृति र मेरी आमाको आँखामा देखिएको सन्तुष्टिले मलाई साह्रै तृप्त बनायो ।

हप्तादिनको पोखरा बसाइपछि घर फर्कियौं । गाउँले छिमेकी काका कसैलाई पनि हामीसँगै विजय पनि पोखरा गएको कुरा पत्तो भएन । आमा भर्खर झरीमा निथ्रुक्क भिजेको पहाड जस्तै साह्रै सुन्दर देखिनु भएको थियो । यो त विजयको प्रेमको असर थियो । आमाको सन्तुष्टि देखेर म साह्रै पुलकित भएँ । पतझड आमाको जिन्दगीमा हरियाली वसन्त देख्ने म कम भाग्यमानी हुँला र ?

अचेल गाउँ सुनसान छ । कारण, आमा र विजयको चर्चा छैन । तर एकदिन आमा र विजय भागेको दिन यो गाउँ अनि काकाहरु उर्लनेछन् साउनको काली बनेर । त्यतिबेला म अक्करे पहाड बनेर भन्नेछु— काका बाउ बिना पालिएकी यो केटीको दम देख्नुभयो ? बाले पालेको भए ममा यति हिम्मत आउँथ्यो होला र ?

हो, काकाहरुको स्वाभिमानमा चोट पुग्ला । तर ती दुईलाई मिलाउनु नै छ । श्रीमान मरेकी युवती पलपल रुखिदै बस्नुपर्छ भन्ने के छ ? मेरी आमाको पनि मन छ । फूल बनेर मुस्कुराउने चाह छ । अब कसैले तँ तेरो छातीमा फुलेको सयपत्री हेर्दै चित्त बुझा भनेर आमाको निर्णय बदल्न खोज्ला । तर म त्यसो हुन दिने छैन । म भन्नेछु— आमा हजुर बगान हुनुहुन्छ । अब विजय माली बनेर आओस् र हजुरको जिन्दगीमा एउटा सुन्दर गुराँस रोपोस् । तब हजुर पूर्ण देखिनु हुनेछ ।

कसैले ठानुन्, माया पागल भई । ठूला ठूला आदर्शका कुरा गरी । ठान्नेहरु ठानी रहुन् । कसैलाई रुवाउनु पनि छैन । रोइ रोइ बाँच्नु पनि छैन । मलाई हाँस्नुछ, मेरी आमालाई हँसाउनु छ । मलाई यो पनि थाहा छ, अब म सक्षम हुनुपर्छ । परिपक्का भएर देखाउनुपर्छ । ताकि आमाको ध्यान विजय र आफ्नो भविष्य भन्दा ज्यादा मतिर नमोडियोस् । आमाको खुसीको ख्याल गर्नु मेरो कर्तब्य हो । यतिञ्जेल म भनेर पूरै जिन्दगी समपर्ण गर्न सक्ने आमाका लागि यति त गर्नसक्छु नि । यो समाज आफन्तले के भन्छन् भनेर किन डराऊँ म ? आमाको खुसीको कुरा छ यहाँ । डराएर भाग्न कहाँ सक्छु ?

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …