Logo बैशाख ३१, २०७८ शुक्रबार


कथा : भूकम्पको झड्का

-आश्विनी कोइराला

दुईवटा बियरलाई रंगीन पत्रिकामा बेरेर त्यसलाई कालो रंगको प्लास्टिकमा हालेपछि पसले मुस्कुरायो । ऊ पनि मुस्कुरायो तर पसले झैं उपहासले होइन, प्रेमले । वरपर हेर्यो र रातिहुँदी वियर किनेको कसैले देख्यो कि ? चनाखो भयो । आश्वास्त भएपछि पर्सबाट एक हजारको नोट दिदै भन्यो, ‘ह्याप्पी न्यू इयर ब्रो । कहिलेकाहिँ यसो मस्ती पनि गर्नुपर्छ ।’

यसो भन्दा ऊ मधुर धुनमा नाचे जस्तै गरि हल्लिरहेको थियो । उसको अस्थिरताले बेल्टमा बाँधेको स्टाइलिस किरिङ् छन्द्रङ छन्द्रङ बजिरहेको थियो । दुब्लो र अग्लो यो केटो बेला बेलामा यो पसलमा झुल्कने गर्छ र जहिल्यै दुई वटा बियर किन्ने गर्छ । न कम न ज्यादा ।

शुभकामना फर्काउनुको सट्टा पसलेले केही चेतावनीयुक्त शब्दमा भन्यो, ‘काठमाडौंमा कालो प्लास्टिक झोला ब्याण्ड भएको छ । लास्ट पिस मात्रै छ । तिमेर्का दिन सकिए, बुझ्यौ ?’ केटोले उसको चेतावनी सुन्दै पैसा फिर्ता लियो । त्यसपछि झोलालाई हेर्यो र ओठ लेप्रायो । पसलेले बुझ्यो, झोलालाई होइन, उसले प्लास्टिक बन्दको निर्देशन दिने सरकारको निर्णयलाई ओठ लेप्राएको हो ।

केटो पसलबाट निस्किएर अध्याँरोमा टोलाइरहेको मोटरसाइकल नजिक पुग्यो । निलो रंगको पल्सर अध्याँरोमा कालो देखिएकोले ऊ एकछिन अडियो । आफ्नै मोटरसाइकल हो भन्ने आश्वास्त भएपछि लेगार्डमा बियर झुण्ड्यायो । सिटमा बसेर मिररमा अडिएको हेल्मेट निकाल्दै सुकेको ओठ पुछ्यो । त्यसपछि कसैलाई फोन गर्यो र भन्यो, ‘‘कहाँ हो ?’

मोबाइलमा कसैले उसलाई ऊ जाने ठाउँको ठेगाना बताइदियो । मोबाइल राख्ने वित्तिकै मोटरसाइकल सेल्फ बटन थिच्यो । इन्जिन खचचचच ग¥यो तर स्टार्ट भएन । पुनः सेल्फ थिच्यो । फेरि खचचचच गर्यो र बन्द भयो । एकपल्ट रक्सी पसलेलाई हे¥यो र थोरै लजाउँदै ट्याङ्कीमा पेट्रोल भए नभएको अनुभव गर्न मोटरसाइकल हल्लायो । केही आश्वस्त भएपछि किक हान्यो । किक हान्ने वित्तिकै

मोटरसाइकल स्टार्ट भयो । एक–दुई पल्ट मोटरसाइकलको ह्यान्डिल बटारेर घुईं घुईं पार्यो र विजयी मुस्कानले रक्सी पसलेलाई हेर्यो । बल्भ सिधा उभिएको पसले अर्को ग्राहकसँग रक्सी बेच्दै रक्सी नखान उपदेश दिइरहेको थियो । उसले मोटरसाइकलाई अलिकति घुमायो । जब साइलेन्सर पाइप पसलको सिधा पर्यो भन्ने अनुभव भयो, उसले ह्याल्डीललाई बेस्सरी घँुई घँुई पार्यो । एक मुस्लो धुँवा रक्सी पसलतिर पसेपछि पसलेको गाली खानुअघि नै मोटरसाइकल बेपत्तासँग हुँइकायो ।

जुन रफ्तारमा रक्सी पसलबाट निस्किएको थियो, त्यहि शैलीमा करिव स्पिड राइडरले प्रतिस्पर्धा गरेझैं उसको मोटरसाइकल अरुलाई पछि पार्दै कुदिरह्यो । उसको स्पिड देखेर अरु सवारीधनी उसलाई पुलुक्क हेर्थे र मनमनै गाली गर्थे । ऊ यी मान्छेहरुका मनोभाव नबुझ्ने कहाँ हो र ? तै पनि सबै कुराबाट बेखवर झैं उसको गति बढिरह्यो । केहीबेर कुदाएपछि, अलिकति अँध्यारो गल्लीमा झरेपछि उसको स्पिड केही कम भयो । फराकिलो आँगन भएको घरको गेटअघि पुगेपछि उसले मोटरसाइकल रोक्यो । गेट खोल्यो र आफ्नो बहान डोहोर्याउदै  घरभित्र पस्यो । झलमल्ल बत्ति बलिरहेको आँगनमा केही मोटरसाइकलले उसको मोटरसाइकललाई पर्खिरहेका थिए ।

पहेँले रंगको एउटा बाइकलाई आफ्नो बाइकको छिमेकी बनायो र बियरको झोला बोकेर माथि उक्लियो । भित्र कतै संगीतको धुन बजिरहेको थियो । ऊ उक्लिदै गएपछि संगीत पनि चर्को हुँदै गएको उसको कानले महसुस गर्यो ।

‘‘‘ह्याप्पी न्यू इयर गाइज ।’ ढोका खोलेर उसले संगीत भन्दा चर्काे आवाजमा हाँस्दै भन्यो, ‘‘‘यसो कहिलेकाहीँ त मस्ति गर्नुपर्छ नि है ।’ यसो भन्दै गर्दा उका दुबै हात आत्म समर्पण शैलीले माथि उठेका थिए ।

संगीतसँगै हल्ला गरिरहेका केही पुरुष–महिलाको आवाज शान्त भयो र उनीहरुको मुख ढोका तिर फर्कियो ।

‘‘‘ह्याप्पी न्यू इयर यार, तर आज ११ गते भैसक्यो । विस गर्न ढिला भएन ?’ केही मोटो केटो उसको नजिक आयो र उसले बोकेको प्लास्टिक लियो । अरुले ल्याएका बियर र ह्विस्कीका बोतलले उसले ल्याएका

बोतललाई पर्खिरहेका थिए । दुई बियर त्यो कुनामा उभिएपछि अरु मादक पदार्थहरु मुस्कुराए ।

‘‘‘नयाँ वर्षपछिको पहिलो भेट । सेलिब्रेसनको निहुँ यो भन्दा अरु के हुन सक्छ ? होइन त सुके ।’ अर्को साथीले उसलाई धाप मा¥यो र डान्स फ्लोरमा तान्यो । त्यसको टिसर्ट पसिनाले राम्रैसँग भिजेको थियो । सायद, यतिखेरसम्म नाचिरहेको थियो ।

अर्को गीत सुरु भयो । अरु थाकिसकेका थिए । ऊ फ्लोरलाई भत्काउँला झैँ गरेर नाच्न थाल्यो । केही अरु उसलाई साथ दिन थाले । नाच्दै गर्दा एउटी युवतीले उसलाई एउटा वियर दिदै भनि, ‘‘‘पहिले पिऊ यार, नाच्न के को हतार ? पूरा रात बाँकी छ ।’ हर्हराउँदै मिठो अत्तर उसको नाकसम्म पुग्यो । सुन्दरीको सौन्दर्य यसै पनि आह्लादित पार्ने खालको थियो र ड्रेसअपमा एक प्रकारको मादकता । नाईं भन्नै सकेन ।

पहिले युवतीको हातबाट बियरको ग्लास लियो । त्यसपछि जुन हातले ग्लास समाएकी थिई, त्यही हातको सहायताले ऊ स्टेजबाट ओर्लियो । युवतीले तान्दै सोफासम्म ल्याई, जहाँ उसको वाइन ग्लास स्व्ोत रुपमा उभिरहेको थियो ।

‘खै तिम्रो स्पेसल साथी ?’ उसले हातलाई विस्तारै छाडिदियो तर मन नलागी नलागी ।

‘को ?’

‘को हुन्छ तिम्रो स्पेसल, त्यही शैलेस ।’

‘इनोफ यार, उ मेरो साथी नै होइन, स्पेसल त परको कुरा ।’

‘तिम्रो अघि–पछि देखिन्थ्यो त सधैं ।’

‘म पनि उसलाई सधैं मेरो अघि–पछि देख्थेँ ।’
दुबै हाँसे ।

‘बाबाले राखिदिएको बडिगार्ड थियो । किनभने ऊ सधैं फस्ट आउँथ्यो ।’

‘ओके, तिम्रो बडिगार्ड हुन फस्ट आउनु पर्दोरैछ ।’

‘क्लास टप भएर पनि हुँदैन । सरकारी जागीर हुने इच्छा भएको हुनुपर्छ । चाहे त्यो मान्छे जनि बेबकुफ नै किन नहोस् ।’

‘हुँ । इन्ट्रेस्टिङ् यार । तिम्रो मनमा शैलेस यसरी बसेको छ भन्ने कल्पना नै गरेका रहेनछौं ।’

‘केवल तिमीले । अरु साथीहरुलाई थाहा छ ।’

‘ओहो, म बेबकुफ पो भएको रहेछु ।’

‘हो, यो सब्जेक्टमा सधैं फेल हुन्छौं । तिमी यसरी फेल भएको मन पर्दैन ।’

‘प्यारी स्विटी, पास हुन के गर्नुपर्छ ?’ उसले युवतीको ओठ पुछिदियो, जहाँ एक थोपा वाइन झुण्डीरहेको थियो ।

‘अब ग्राजुएसनका ४ वर्षसम्म सधैं फस्ट आउनु पर्छ ।’

‘तर म सिभिल सर्भेन्ट बन्न चाहन्न ।’

‘के बन्न चाहन्छौ ?’

‘हलिउड एक्टर ।’

युवती वाइनको ग्लास रित्तयाउँदै थिई । उसको हलिउड सपना सुनेर मज्जाले हाँसी । टेवलमा फर्कदै गरेको खाली वाइनको ग्लास पुर्लुक्क लड्यो ।

‘हाम्रो प्राइम मिनिस्टर जस्तो ? ऊ पनि हलिउड एक्टर बन्न चाहन्थ्यो रे ।’ उसको हाँसो रोकिएन ।

‘नपत्याएको ? कालो गगल्स लगाएको बेला हेर त, हाम्रो प्राइम मिनिस्टर हलिउड हिरो जस्तै देखिन्छ ।’

केटोले पछाडि कलरमा झुण्डिएको गगल्स लगायो र भन्यो, ‘…अनि म पनि ।’

युुवतीले उसको छातिमा भुक्क हिर्काई ।

‘यु आर गुड बोइ ।’

‘तर तिम्रो बाउको विचारमा म गुड बोइ होइन । मलाइ सबै थाहा छ ।’

‘हो, तिमीसँग हिडेको उहाँलाई मन पर्दैन । तिमी हाम्रो टोलको सबैभन्दा बिग्रेको केटो रे ।’ युवती उठी र वाइनको बोतल लिएर आई । फेरि के सोची कुन्नी, कुनामा उँघिरहेको वियरको बोतल लिएर आई र उसको ग्लासमा खनाइदिई ।

‘तिमी किन राम्रो बन्दैनौ त । राम्रो बनेर देखाइदेऊ न । प्लीज ।’

‘राम्रो हुन सिकाइदेऊ न त ।’ उसले केटीको हात उठायो र चुम्यो ।

‘अब कलेजमा फस्ट आइदेऊ, लोकसेवाको तयारी सुरु गर । त्यति भए पुग्छ ।’

‘त्यसो भए, मलाई राम्रो हुनुछैन । बाई ।’

केटो जुरुक्क उठ्यो र गिलासमा रहेको सबै वियर घटघट पार्यो । ग्लासलाई टेवलमा बजारेर डान्स फ्लोरमा गयो । त्यहाँ दुईवटी केटी नाचिरहेका थिए । उनीहरुको बीचमा पसेर साथ

दिन थाल्यो । गीत बजिरहेको थियो, ‘उध्रेको चोली छ है त्यै पनि लाइन्छ…।’

केटीले बाँकी रहेको वाइन रिसले स्वाट्ट पारी । त्यसपछि खुट्टा बजार्दै स्टेज चढी र केटालाई तान्दै झारी । ‘‘‘मेरो ड्याडले तिम्रो बारेमा जे सोच्छ, बिल्कुल ठिक सोच्छ । ही इज राइट ।

तिमी एक नम्बरको गुन्डा हौ ।’ उसले केटोलाई त्यहि सोफामा ल्याएर थचार्दै भनी, ‘‘‘मेरो ड्याडले पुरै मिनिस्ट्री हाँकेको छ । मेरो बारेमा जे सोच्छ, राम्रो सोच्छ । तिमी थुक्न लायक पनि छैनौ ’

‘देश नै हाँक्छ होला तर मेरो बारेमा केही जान्दैन । र, मलाई नबुझी गुण्डा भन्ने अधिकार न तिमीलाई छ न तिम्रो बाऊलाई ।’

‘अहो, त्यसो भए यहाँलाई के भन्नु पर्यो, श्रीश्री रबीशंकर ?

‘रबीशंकर कालो छ, म गोरो छु ।’

‘त्यसो भए आमीर खान भन्नुपर्यो ?’

‘उसले डिभोर्स गर्यो । अहिले किरणलाई विहे गरेको छ । म स्कुल देखिको साथीसँग विहे गरेपछि डिभोर्स गर्न चाहन्न ।’
‘के हिटलर भन्नुपर्यो ?’

‘ऊ चित्रकार बन्न चाहन्थ्यो । उसलाई आर्ट स्कुलले एड्मिसन दिएन । यहि रिसमा हिटलर बन्यो । र, प्लीज मलाई हिटलर बनाउने प्रयास नगर । म हलिउड…।’

केटो बोल्दा बोल्दै उसले मुख थुनिदिई र उसमाथि चढी ।
‘आइ कान्ट लिभ विदाउट यु, किल मी …।’

००००

रातभार पार्टी चल्यो र सँगै चल्यो ती दुईको रोमान्स । विहान चार बजे, नृत्य र नशाको थकानमा कोही बरण्डामा, कोही बुईंगल र कोही छतमा सुते । घरबेटी देश बाहिर बस्थे र मुख्य ढोकाहरु बन्द थिए । एकजना मोटे केटा यो घरको संरक्षक थियो । उसैको प्रायोजनमा शुक्रवारको त्यो साँझमा पार्टी सुरु भएको थियो र विहानतिर अन्त्य भएको थियो । यसपछि केही घरतिर लागे, बाँकी जताततै सुते । चर्को घाम लागिरहँदा पनि एक अर्कामाथि खुट्टा चढाएर उनीहरु मस्त घुरिरहेका थिए । को केटा, को केटी त्यति भेउ नपाइने गरि । सायद थकान र निन्द्राको बीचमा मानिस जेन्डरको चेकपासभन्दा माथि उठ्छ । ।

११ बजेर ५० मिनेटमा उसको निद्रा खुल्यो । आँखा मिचेर टुक्रुक्क बस्यो र वरपर आँखा डुलायो । पर, त्यही सोफामा, जहाँ उनीहरु प्रेमिल भएका थिए, त्यहाँ स्विटी असरल्ल लडिरहेकी थिई । ऊ विस्तारै आँखा मिच्दै सोफामा बस्यो र एक क्षण उसको सेतो टिसर्ट र सेतो टिसर्टबाट मधुरो देखिएको कालो ब्रालाई हेर्यो र घुटुक्क थुक निल्यो ।

टिसर्ट मिलाई दिए जस्तो गर्यो तर उसको आँखाले त्यो कालो कपडा छोड्नै मानेन ।

‘लभ यु स्विटी, माफ गर । तिमीले भनेजस्तो म सिभिल सर्वेन्ट हुन सक्तिनँ । मलाई गुण्डा नै रहनदेऊ ।’

उसले सोफा तल झरेको हात उठायो र चुपुक्क माया गर्यो ।

ठिक यहि बेला स्विटीको आँखा खुल्यो । ऊ शान्त स्वरमा आँखा मिच्दै उठी र सोफामा ढल्केर उसलाई हेरी । मुसुक्क हाँसी र उसको छातिमा अडेस लागी ।

दुबैले घडी हेरे ।

११ बजेर ५५ मिनेट गएको थियो ।

‘अहिले मलाई के ग¥यौ ? म झण्डै तर्सिएँ ।’ स्विटीले मुन्टो उठाएर उसलाई आँखा तरि ।
‘माया गरेँ । सबैतिर ।’

‘ह्वाट डु यु मिन सबैतिर ?’

‘सबैतिर मतलब सबैतिर ।’

‘बुलसिट ।’ स्विटीले जुरुक्क उठेर उसलाई मुड्कीले हिर्काइ । त्यसपछि खुट्टा बजार्दै बाथरुमतिर लागी । बाथरुम ठिक अघिल्तिर पल्लो कुनापट्टी थियो । ऊ मुस्कुराउँदै स्विटी गएको हेरिरह्यो । बाथरुम बन्द गर्न फर्किएका बेला स्विटीले भनी, ‘‘‘यता नहेर तिम्रो आँखा यो भित्ता छेड्ने खालको छ ।’

‘मेरो आँखामा होइन, यो गगल्समा त्यो शक्ति छ । यो लगाएपछि त्यो वालभित्र तिमीले के के गर्छौ सबै थाहा पाउँछु ।’

‘छि, घिनास्ट ।’

‘प्रेममा सबै जायछ छ, डियर स्विटी ।’

‘नो चान्स । सँगै नुहाउने सपना नदेख ।’

‘म सपनामा होइन, विपनामा विश्वास गर्छु ।’

स्विटीले ओठ लेप्राउँदै ढोका बन्द गरी । उ सोफाबाट उठेर लामो आङ् तान्न थाल्यो ।

ठिक यति बेला पुरा नेपाल हल्लिन थाल्यो । मानिसहरु आत्तिएर रुन थाले । पहाड–मधेस हल्ला गर्न थाल्यो । धरहरा ढल्यो, वसन्तपुर दरवार स्क्वायार चरक्क चर्कियो । घरहरु पिङ् झैं मच्चिन थाले । पहाडका टाकुराहरु चिरा परे । कोकोहोलो गर्दै मानिस सडकमा आए । हेर्दैहेर्दा घरसँगै हजारौं मानिस ढले । लाखौं घर चर्किए । एकै क्षणमा महाप्रलय आयो र मानिसको सातो लिएर गयो । करिब ३० सेकेन्डका लागि समयले एउटा यस्तो त्रासदी दिएर गयो, जसलाई वर्षौवर्ष पूर्न सकिन्न । त्यहि भयावह यो घरलाई पनि दिएर गयो । यो पार्टी र पार्टीका सदस्यलाई पनि ।

१२ बजेर ५ मिनेटमा सबै युवा घर छाडेर गल्लीमा आइपुगेका थिए । निदाएकै अवस्थामा सबै दगुर्दै तल झरे । को कहाँ के गर्दैछ, कसैको होश थिएन ।

बाहिर आएर सबैले देखे, त्यो भव्य घरका पश्चिमतर्फको भाग एकतल्ला धसेको थियो । यस्तो घरबाट सकुशल वाहिर निस्कन सफल भएकोमा सबै आश्चर्य हुँदै खुसी थिए ।

‘हामी भाग्यले घर तल आइपुग्यौं, बाहिर आइपुग्यौं ।’ उनीहरु कराइरहेका थिए ।

तर उनीहरुलाई थाहा थिएन, उनीहरु मध्ये केवल दुई जना घरमाथि थिए ।

एकजना स्विटी, जो बाथरुममा चिर निन्द्रामा थिई । एकजना ऊ अर्थात यो कथाको नायक, जो खिड्की लगाएको बाथरुमको ढोका फुकाल्न जोड जोडले हिर्काउन खोजिरहेको थियो तर सकिरहेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…