Logo जेठ ३, २०७८ सोमबार


२२ औं मनमोहन स्मृति दिवस : गाउँ र सिंहदरबार जोड्ने लोकप्रिय कम्युनिस्ट प्रधानमन्त्री

काठमाडौं । नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा सादगी नेता मनमोहन अधिकारीको आज २२ औं स्मृति दिवस ।

कोरोना कहर र लकडाउनको कारण स्मृति दिवस औपचारिक कार्यक्रम गरी मनाउने अवस्था छैन् । तर विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमार्फत मनमोहन अधिकारीलाई सम्झिएका छन् । अधिकारीले मुलुक र कम्युनिष्ट आन्दोलनमा गर्नुभएको योगदान स्मरण गरिरहेका छन् ।

गरिब, निमुखा नेपालीको ह्रदयमा बस्न सफल मनमोहन अधिकारी इमान र निष्ठाका पर्याय बन्नु भएको छ । ‘मेरो सम्पूर्ण जीवन राष्ट्रलाई’ भन्दै जिन्दगी राजनीतिमै व्यतित गर्नुभएका अधिकारीको २०५६ सालको संसदीय निर्वाचनको क्रममा वैशाख १३ गते निधन भएको थियो । नेकपा एमालेको नौ महिने शासनकालमा अधिकारी आफ्नो गाउँ आफै बनाऔं, वृद्धभत्ता जस्ता लोकप्रिय र जनप्रिय कार्यक्रमबाट जनजनको मनमा स्थापित हुनुभएको थियो ।

२०४६ सालको आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहनुभएका अधिकारी त्यसबेला नेकपा (मार्क्सवादी) को अध्यक्ष हुनुहुन्थ्यो । बहुदलीय व्यवस्थाको आगमनसँगै नेकपा (माले) र मार्क्सवादीबीच एकता भयो । अधिकारी एकतापछि बनेको नेकपा (एमाले) को अध्यक्ष बन्नुभयो ।

२०५१ को मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दल नेकपा एमालेको तर्फबाट उहाँ प्रधानमन्त्री हुनुभयो । उहाँको नेतृत्वमा सरकार बनेको ९ महिनापछि अन्य पार्टीले समर्थन नदिएका कारण ढल्यो, जुन नेपालको इतिहासमा ९ महिने सरकारको रूपमा चिनिन्छ ।

जीवनशैली र योगदान

राजधानीको लाजिम्पाटमा जन्मनुभएका मनमोहन अधिकारी भारत बसाइका क्रममा कम्युनिस्ट आन्दोलनमा जोडिनुभयो । सन् १९३८ मा वाराणसी अध्ययन गर्नको लागि पठाइएका अधिकारीले भारत छोडो आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । भारत छोडो आन्दोलनमा सक्रियताका कारण ब्रिटिश सरकारले गिरफ्तार गरेर जेल पठाएपछि अधिकारीको अध्ययन बिचैमा रोकिन पुग्यो ।

भारतमा रहँदा भारतीय कम्युनिस्ट पार्टीमा सामेल हुनुभएका अधिकारी नेपाल फर्केपछि विराटनगरको एक कारखानामा काम गर्न थाल्नुभयो र ट्रेड यूनियनको नेता बन्नुभयो । सन् १९४९ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नेमध्येका एक मनमोहन बंगलादेशको स्वतन्त्रता आन्दोलनको क्रममा पनि पक्राऊ पर्नुभयो ।

सादगी जीवनशैलीका पर्याय मनमोहन कम्युनिष्ट नेता मात्रै नभइ एक प्रजातान्त्रिक योद्धा हुनुहुन्थ्यो । विश्वको इतिहासमा पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री भएपनि मनमोहनको जीवनशैली आम मानिसभन्दा पृथक थिएन । नेपालको इतिहासमा सबैले सधैं सम्झिने गरेको २०५१ को ९ महिने सरकारका दीर्घकालीन परिणामले नेपालीजनमा मनमोहनप्रतिको श्रद्दा कहिल्यै नमेटिने गरी बसेको छ ।

नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्तित्व अधिकारीको भूमिका २०४६ को जनआन्दोलनमा पनि अनुकरणीय रहेको छ । तत्कालिन समयमा नेकपा मार्क्सवादीका अध्यक्ष रहेका अधिकारी २०४७ मा नेकपा मालेसँग पार्टी एकीकरण पछि बनेको नेकपा एमालेको संस्थापक अध्यक्ष बन्नुभयो। अधिकारीले राजनीतिमा जीवनभर सादा जीवन र उच्च विचार अंगीकार गर्नुभयो र आफ्नो जीवन राष्ट्रलाई सुम्पनु भयो ।

लोकप्रिय सरकार

मनमोहन नेतृत्वको सरकारले सुरु गरेको र अहिले पनि चर्चामा रहने केही कामहरु छन् ।

सरकार गठन भएको २६ औं दिनमा ०५१ पुस ११ गते आर्थिक वर्षको बाँकी अवधिका लागि अर्थमन्त्री भरतमोहन अधिकारीले संयुक्त सदनमा बजेट पेस गर्नुभयो । सोही बजेटमार्फत पाँच जिल्लामा परीक्षणका रुपमा ७५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई जीवनयापन सुरक्षा कार्यक्रम सुरु भयो । प्रत्येक जिल्लाका पिछडिएका जनजाति समुदायका १०/१० छात्रछात्रालाई शैक्षिक सामग्री खरिद गर्न जनही रु ६ सय आर्थिक सहायता व्यवस्था गरियो । ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रम अन्तर्गत प्रत्येक गाविसलाई रु ३ लाख दिन थालियो ।

प्रतिनिधिसभा विघटन भएपछि अर्थमन्त्री भरतमोहन अधिकारीले ०५२ असार २ मा अध्यादेशमार्फत बजेट सार्वजनिक गर्नुभयो । सो बजेटमार्फत पनि उहाँले आफ्नो गाउँ आफैं बनाऔं कार्यक्रमलाई निरन्तरता दिनुभयो । ७५ वटै जिल्लामा ७५ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई रु एक सयका दरले ज्येष्ठ नागरिक भत्ता प्रदान गरिने व्यवस्था गरियो । विकासका लागि ’नौ स’ (साक्षरता, सुलभ, स्वास्थ्य, सिपमूलक तालिम र रोजगारी, सामुदायिक वृक्षारोपण, साना जलविद्युत विकास, साना घरेलु उद्योगहरु लगायत) अभियान सुरु गरियो ।

मनमोहनले ०५१ चैत २७ देखि पाँचदिने भारत भ्रमण गर्नुभएको थियो । भारतीय प्रधानमन्त्री पिभी नरसिंह रावसँगको भेटवार्तामा उहाँले सन् १९५० को सन्धि पुनरावलोकन, टनकपुरमा नेपालको हित प्रवर्द्धन जस्ता विषय उठाउनुभयो । त्यही छलफलमा उठाएका विषयकै कारण उहाँलाई अहिले पनि राष्ट्रवादी नेताको रुपमा सम्मान गर्ने गरिएको छ ।

आलोचकहरुले मनमोहन नेतृत्वको सो सरकारको कामलाई एमालेले पछिसम्म भजाएको टिप्पणी गर्छन् । तर उहाँ नेतृत्वको सरकार साँच्चिकै निष्कलंक रह्यो । कम्युनिस्ट सरकारले कसरी काम गर्छ भनेर नमुनाकै कामहरु देखायो । सामाजिक न्यायसँग सम्बन्धित कामहरुलाई प्राथमिकता दियो । १५ रुपैयाँको मसलन्द खर्च नभएका गाउँमा लाखौं रुपैयाँ गाउँगाउँमा पुगेपछि जनताले घरगाउँमा सिंहरदरबार आइपुगेको महसुस गरे ।

यी सबै देश र जनताको हितमा काम गर्न समर्पित प्रधानमन्त्री अधिकारीको व्यक्तित्व र जनताप्रेमी भावनाका कारण सम्भव भएको उनका प्रशंसकहरुको भनाइ छ । मनमोहन जति विनम्र र इमान्दार हुनुहुन्थ्यो त्यति नै आफ्ना कुरालाई प्रष्टसँग राख्न सक्ने खूबी पनि थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…