Logo असार १, २०७८ मंगलबार


दस्तावेज : मदन भण्डारी,नेपाली कार्लमाक्स र त्यो कालजायी भाषण (अडियोसहित)

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने हो भने, महाराजले पनि श्रीपेच उतारेर, सिंहासनमा राखेर, मैदानमा नेता भएर आउनुपर्यो। ताकि प्रतिद्वन्द्विता गर्न सकियोस्।’

यो चर्चित भाषण हो, जननेता स्व मदन भण्डारीको। काठमाडौं चाबहिलको चुनावी सभामा जब उनले यस्तो चर्को भाषण गरे, त्यो बेलाको समाज एक्कासी तरंगित भयो। दरबारमा त सानोतिनो भूकम्प नै गयो। ०४६ सालको ऐतिहासिक परिवर्तन अगाडि स्व भण्डारीलाई उनकै पार्टीका केही मान्छेले मात्र चिन्थे। जब बहुदल आयो र भण्डारी खुला जीवनमा प्रबेश गरे। उनको चर्चा ह्वात्तै बढ्यो। आफ्ना तार्किक भाषणमार्फत उनले सर्बसाधारणको माथिंगल नै घुमाई दिए।

उनको भाषण सुन्नका लागि भीड लाग्न थाल्यो। तत्कालीन समयमा राजालाई नै चुनौती दिन सक्ने प्रखर वक्ता भण्डारीको भाषण जादुमयी हुन्थ्यो। सरल, मिठासपूर्ण र अनुप्रासयुक्त। ठेट भाषासँगै कठोर राजनीतिक शब्दावली। तर, ती सर्बसाधारणसँग सम्बन्धीत हुन्थे। उनीहरूकै समस्या र समाधानका सुत्र पनि त्यसमा समेटिदा तालीका पर्रा छुटथे।

मदन मण्डारीले भाषणका बेला जनताकै कुरा गर्थे, जनताका कुरा नै सुन्दै हिँडथे । विश्व प्रसिद्ध अमरिकी पत्रिका न्यूजविकले त प्रसंशा गर्दै ‘कार्ल मार्कस लिभ इन’ नेपाल भनेरै उनको अन्तरर्वार्ता छापेको थियो । नेपालमा धेरै नेता जन्मिए तर न्यूजविकमा छापिने नेता मदन भण्डारी मात्रै हुन् ।

मदनको राजनीतिक यात्रा

विश्व कम्यूनिष्ट आन्दोलनले गम्भीर धक्का खाएको बेलामा उनले ‘जनताको बहुदलीय जनवाद’ सिद्धान्त प्रतिपादन गर्दै नेपाली राजनीतिमा नै कम्पन ल्याइदिए। २०२८ सालमा पुष्पलालसँग भेटेपछि राजनीतिमा लागेका उनी २०३५ सालमा स्थापना भएको नेकपा ९माले० को केन्द्रीय सदस्य बने।

२०४१ साल वैशाखमा भण्डारी पार्टीको पोलिटब्युरो सदस्य र २०४६ सालमा नेकपा ९एमाले० को चौथो महाधिवेशनमा महासचिव बने। २०४७ सालमा भूमिगत जीवनबाट बाहिर आई माले–माक्र्सवादी एकीकरणबाट उनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सबादी-लेनिनवादी) का महासचिव बने। २०४८ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तत्कालिन सभापति एवं अन्तरिमकालका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई परास्त गरी काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदा देशमा ‘जननेता’ भन्ने शब्दावलीसहित उनको उदय भएको थियो।

जेठ ३ को रहस्य उघ्रिएन

२८ वर्षअघि आजकै दिन अर्थात जेठ ३ मा एमालेका तत्कालिन महासचिव समेत रहेका भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रितको दासढुंगामा भएको एउटा रहस्यमय जीप दुर्घटनामा मृत्यु भएको थियो । एमालेलाई नयाँ दिशा र दृष्टि प्रदान गर्ने भण्डारी र कुशल संगठक आश्रितको मृत्यु हत्या हो वा दुर्घटना ? २८ वर्षसम्म पनि यो अहिलेसम्म रहस्यमै छ।

हाल एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल सम्झन्छन् :

निधन हुनुभन्दा ठीक पहिले अरू कोही नेतासँग उहाँको संवाद भएको सायद थिएन होला। मदनले आफ्नो कार्यक्रमको जानकारीका विषयमा मसँग कुराकानी गर्नुभएको थियो। नेकपा एमालेको महासचिवका रूपमा १५ दिनको कार्यक्रम लिएर उहाँ देशका विभिन्न ठाउँमा निस्किनु भएको थियो। मुलुकमा नेपाली कांग्रेसको सरकार थियो। त्यसको ज्यादती र स्वेच्छाचारिताका विरुद्धमा उहाँले पार्टी कार्यक्रम लिएर देशका विभिन्न ठाउँमा जाँदै हुनुहुन्थ्यो। कार्यक्रमका दौरान कुन दिन कहाँ पुग्छु भनेर उहाँले गरेको टिपोट मलाई दिनुभएको थियो। मसँग दुई घन्टाजति कुरा गरेरै उहाँ पोखराको कार्यक्रममा जानु भएको थियो। भोलिपल्ट पोखराको कार्यक्रम उद्घाटन गरेर उहाँ हिँड्नुभयो।

मैले आजका दिनसम्म पनि एउटा कुराको जबाफ पाउन सकेको छैन, उहाँको पोखराबाट (२०५०, जेठ) ३ गते नै हिँड्ने योजना कसरी बन्यो ? त्यसदिन हिँड्ने कार्यक्रम नै थिएन। ४ गते मात्र हिँड्ने योजना थियो। किन हिँड्नुभयो ? म त्यसबेला पार्टी कार्यालयको सचिव थिएँ। त्यसकारण पनि उहाँले मलाई आफ्नो सबै योजनाको फेहरिस्त दिनुभएको थियो। गणेशमानजीहरूले मलाई सम्पर्क गर्न खोज्छन्, मैले तपाईको नम्बर दिएको छु। फोन आएपछि म योयो ठाउँमा हुन्छु तपाईंले जानकारी दिनुहोला भनेर मलाई भन्नुभएको थियो।

चाबहिलको चुनावीसभामा मदनले गरेको कालजायी भाषणको केही अंश :

हामीले त यो भनेका छौं जुन त्रिपक्षीय सम्झैता हो, त्यो त्रिपक्षीय सम्झौतालाई पालन गरेर ढुक्कसँग कुनै हात नलम्काइकन, आँखा नचम्काइकन राजा यदि बसिरहन्छन् भने अहिले हामीलाई केही आपत्ति छैन् । राजा मान–सम्मान पाएर बसिरहुन् । यो कुरा सुन्दाखेरी, यो कुरालाई हामीले बाहिर अभिव्यक्त गर्दाखेरी धेरै ठाउँबाट हाम्रा केही कम्युनिष्ट आन्दोलनभित्रकै मित्रहरूले हामीलाई भनेका छन्– यिनीहरू त राजावादी भए ।

अब मैले यसको धेरै ठाउँमा खण्डन गरेको छु र म यहाँ पनि दुई शब्द के राख्न चाहन्छु भने अहिलेको यो शक्ति–सन्तुलनको स्थितिमा, वर्गसंघर्षको स्थितिमा राजाले शान्तिका साथ हकअधिकार र राजनीतिक अधिकारका कुराहरू जनतालाई सुम्पिएर मानसम्मानको उपभोग गर्दै त्यस ढंगले बसिरहन्छन् भने अहिलेलाई हामीलाई कुनै आपत्ति छैन भनेका हौं र यो भन्दाखेरी अर्थात् राजासँग सम्झौता गर्दाखेरी हामी अराजावादी भएका छैनौं, हामी राजावादी होइनौं । नोट गरेर राखे हुन्छ पत्रकार बन्धुहरूले, कृपा गरेर यो लेखिदिए हुन्छ कि यो एकीकृत पार्टी राजावादी पार्टी होइन, राजालाई मान्ने हाम्रो राजनीतिक विश्वास होइन । राजालाई मान्नु बाध्यता हो । अहिलेको स्थितिको यो कुरा नारायणहिटीले पत्तो पाए पनि केही बिग्रँदैन । तर मेरो बुद्धिजीवीहरूलाई अनुरोध, पत्रकारहरूलाई एउटा अनुरोध छ कि कुरा के भने तपाईंहरूले कहिल्यै राजा वीरेन्द्रलाई मौका पाएर सोध्नुभएको छ रु कि महाराज नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्सवादी लेनिनवादीप्रति महाराजको के धारणा छ ?

अब यो मेरो प्रश्न सुन्दा धेरैलाई यसले बडो अचाक्ली र नहुने खालको प्रश्न गर्यो भन्ने पनि त मनमा लाग्ला । किन ? हामी दुइटा राजनीतिक पक्षहरू, दुइटा राजनीतिक शक्तिहरू, राजा एउटा शक्ति हो र कम्युनिष्ट अर्को शक्ति हो । अनि त्यसमा के त्यस्तै नियतिले निश्चित गरेको छ कि हामीले नै राजाप्रति जम्लाहा हात गरेर उभिनु परोस् र राजाले चाहिं हामीसँग जम्लाहा हात गर्नु नपरोस् । त्यसो हुँदा यो पारस्परिक सवाल हो ।

अहिले त राजाले पनि हामीलाई समाप्त पार्न चाहेका थिए, सकेनन् । सकेको भए राजाले हामीलाई यस ढंगले मैदानमा आउन दिने थिएनन् । धेरै त उनले समाप्त पनि पारे र कुनै पनि फटाहाले राजाको अनुकम्पाद्वारा यो प्रजातन्त्र आएको छ भनेर प्रचार गर्छ भने गर्दै रहोस् । चैत २७ गते गिरिजाबाबुको पनि त्यस्तै भनाइ थियो ।

तर पनि दुनियाँलाई थाहा छ कि २०४६ साल फागुन ७ गतेदेखि चैत २६ गतेसम्म यहाँ सयौं आन्दोलनकारीहरू जुन हताहत हुनुप¥यो, त्यो अरू कसैको आदेशले होइन, त्यो मरिचमानको कुनै त्यस्तो बुता थिएन कि मान्छे मार्न आँट गरोस् त्यसले ।

त्यो त महाराजाको कृपा हो भन, यत्रो घोडामा सवार भएर, मदले मात्तिएर, आँखा चिम्लिएर तीस हजारभन्दा बढ्ता मान्छेहरू मारेर भए पनि पञ्चायतलाई जोगाउनुपर्छ भनेर भन्ने महाराज र महारानीहरू घोडाबाट ओर्लिएर आन्दोलनकारीहरूसँग सम्झैता गर्न आउनुप¥यो । महाराजले, बादशाहले घोडाबाट ओर्लिएर जम्लाहा हात गर्नुपर्‍यो ।

त्यसो हुँदा यो अनुकम्पाले आएको प्रजातन्त्र होइन र अब पनि यो थाहा पाएर केही बिग्रिँदैन । तर मैले भन्न खोजेको कुरा के हो भने यो बाध्यताको कुरा हो की हामीले यसबेला राजासँग सम्झौता गर्नुपर्यो र अब यो बाध्यतापूर्वक नै सम्झौता गरिए, भए पनि हामी फेरि वचनबद्धताप्रति इमानदार भएर उभिन चाहन्छौं ।

मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज । हात नलम्काइबक्स्योस् । आँखा नचम्काइबक्स्योस् । आफ्ना सण्डमुण्डहरूलाई नचलाइबक्स्योस् । र, यदि सण्डमुण्डहरूलाई नै चलाउने हो भने, यदि सण्डमुण्डहरूलाई नै अगाडि लिएर आउने हो भने महाराजले पनि श्रीपेच उतारेर, सिंहासनमा राखेर, मैदानमा नेता भएर आउनुपर्‍यो ताकि प्रतिद्वन्द्विता गर्न सकियोस् । यसो भएको हुनाले यो त बाध्यताको कुरा हो र यदि अघि मैले अनुरोध गरें, यहाँहरूसँग कि राजासँग प्रश्न गर्ने हो भने मलाई लाग्छ, शायद राजाले पनि भन्नेछन् कि यो त एउटा बाध्यताको कुरा हो, म त कहाँ कम्युनिष्ट मान्छु र रु यसो हुनाले यो पारस्परिक कुरा हो ।

यस्तो थियो मदनको त्यो भाषण (अडियो) :

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…