Logo जेठ ३०, २०७८ आइतबार


बैंकहरुको नाफाको आधार, काेराेना महामारीमा पनि उच्च बृद्धि र त्यसप्रति सर्वसाधारणको बुझाई

–युवराज घिमिरे

पृष्ठभुमी
कुनै पनि नाफामुलक संस्था स्थापना गर्न लगानी गर्नु पर्दछ । संस्थामा लगानीकर्ताहरु एक वा एकभन्दा धेरै हुन सक्दछन् । लगानी कर्ताहरुले लगानी गरेको रकमको आधारमा उक्त संस्थामा उसको हिस्सा (शेयर) कति छ भनेर छुट्याउने गरिन्छ । एक जना मात्र लगानी कर्ता भएको संस्थाको शत प्रतिशत शेयर उसको मात्रेै रहेको हुन्छ भने एक जना भन्दा धेरै लगानीकर्ता हुँदा शेयरको मात्रा घट्दै जान्छ । संस्थाले लिने निर्णयहरुमा धेरै शेयर भएको व्यक्तिको प्रभाव स्वभाबैले धेरै हुने गर्दछ । संस्था संचालन गर्न शेयर सदस्यहरु मध्येबाट वा नियमानुसार अन्य सदस्यहरु समेत रहेको संचालक समिति गठन गरिएको हुन्छ ।

साधारणतया नाफामुलक संस्थाहरुको पुँजिको स्रोत शेयर धनिहरुले शेयरको रुपमा गरेको लगानी नै हो । त्यसैगरी संस्थाले संस्थागत रुपमा लिने ऋण सापटी पनि पुँजिको अर्को महत्वपूर्ण स्रोत हो । संस्थाले गरेको नाफा शेयर धनिहरुलाई बितरण नगरी बिभिन्न कोषहरु खडा गरी राख्ने पनि प्रचलन छ । त्यो पनि संस्थाको पुँजिको स्रोत हो। यि बिभिन्न प्रकारबाट पुँजि संकलन गरी लगानी गरेपछि त्यसबाट प्रतिफल (आम्दानी) प्राप्त हुन्छ । यसरी प्राप्त आम्दानीबाट संस्थाका कर्मचारीहरुमा हुने खर्च, संस्था संचालन खर्च, व्याज खर्च लगायतका सम्पुर्ण खर्चहरु कटृा गरी बाँकी रहेको आम्दानी नाफा हो । उक्त नाफाबाट सरकारलाई तिर्नु पर्ने कर तथा नियमानुसार बिभिन्न कोषहरुमा राख्नु पर्ने रकम राखिसकेपछि वांकी रहेको खुद नाफा शेयर लगानीकर्ताहरुलाई लाभांशको रुपमा वाड्ने गरिन्छ । शेयरमा गरिएको लगानीको वास्तविक प्रतिफल नै सोही लाभांश हो ।

बैंक र अन्य संस्थाहरु बिचको अन्तर
बैंक तथा बित्तीय संस्थाहरु पनि नाफामुलक संस्थाहरु नै हुन् । यिनीहरुको पुँजिको स्रोत पनि माथि उल्लेख गरिए जस्तै शेयर पुँजि, संस्थाले लिएको ऋण तथा बिभिन्न कोषहरुमा रहेको संचिती मौज्दात नै हो । तर त्यसको अलावा बैंकहरुले सर्बसाधारणबाट निक्षेप (बचत) को रुपमा रकम जम्मा गर्न पाउने बिशेष व्यवस्था रहेको हुन्छ । सोही व्यवस्थाको आधारमा बैंकहरुले लाखौं व्यक्तिहरुको अर्बौं रकम निक्षेपको रुपमा संकलन गर्न सक्दछन् । हुन त निक्षेप मागेको समयमा नै फिर्ता दिनु पर्दछ । तर एक जिवन्त अर्थतन्त्रमा निक्षेपको रुपमा रकम जम्मा गर्ने र निकाल्ने क्रम स्वाचालित रुपमा चलिरहने हुँदा बैंकहरुसंग जम्मा भएको निश्चित निक्षेप स्थायी पुँजिको रुपमा बैंकमा नै रहिरहने गर्दछ । सामान्य संस्थाहरुले शेयर पुँजि, ऋण तथा कोषहरुलाई मात्र पुँजिको रुपमा परिचालन गरेतापनि बैंकहरुले सो को अलावा उक्त रकम भन्दा कैयौं गुणा धेरै निक्षेपलाई पुँजिको रुपमा उपयोग गरिरहेका हुन्छन् ।

बैंकहरुको प्रमुख लगानीको क्षेत्र ग्राहकहरुलाई उपलब्ध गराउने कर्जा सापट हो । अर्थतन्त्रमा आर्थिक गतिबिधिरुमा बृद्धि हुँदै जाँदा उद्योग व्यापार तथा व्यवसायहरुको लगानीमा बृद्धि हुन्छ । उक्त प्रयोजनको लागि उद्योगी व्यवसायिहरुले बैंकबाट ऋण लिने गर्दछन् । व्यवसायबाट जति बढी मुनाफा प्राप्त हुन्छ त्यति नै व्यवसायमा लगानी बढ्छ र कर्जाको माग पनि सोही अनुसार बढ्दै जान्छ । सामान्यतया ऋणको व्याजदर सस्तो हुँदा कर्जाको माग बढ्ने गर्दछ भने व्याजदर बढ्दा कर्जाको माग घट्ने गर्दछ । तर कर्जाको मागलाई व्याजदरको साथ साथै लगानीमा प्राप्त हुने प्रतिफलले पनि प्रभाव पार्दछ ।

बैंकहरुको नाफाको आधार
बैंक तथा बित्तिय संस्थाहरुको नाफाको प्रमुख आधार खुद व्याज आम्दानी हो । बैंकहरुले निक्षेप संकलन गरे वापत निक्षेप कर्तालाई व्याज दिने गर्दछन् भने कर्जा प्रवाह गरे वापत ऋणीहरुसँग व्याज लिने गर्दछन् । कर्जामा लिने र निक्षेपमा दिने व्याजदरको अन्तरलाई स्प्रेड दर भनिन्छ । स्प्रेड दर बढी हुंदा खुद व्याज आम्दानी धेरै हुन्छ भने स्प्रेड दर कम हुँदा खुद व्याज आम्दानी पनि घट्छ । बैंक तथा बित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले बैंकहरुको स्प्रेड दर तोकिएको भन्दा धेरै गर्न नपाईने गरी अधिकतम सिमा निर्धारण गरीदिएको छ । तसर्थ बैंकहरुले कर्जामा लिने र निक्षेपमा दिने औषत व्याजदरको अन्तर ने.रा. बैंकले तोके भन्दा बढी हुने गरी निर्धारण गर्न पाउँदैनन्।

सामान्यतया लगानी योग्य कोषको लागत र कर्जाको जोखिमको आधारमा कर्जाको व्याजदर निर्धारण हुने गर्दछ । लगानी योग्य कोषको लागतलाई आधार दर (बेस रेट) ले प्रतिबिम्बित गर्दछ । आधार दरको प्रमुख हिस्सा निक्षेपको व्याजदर हुने गर्दछ । कर्जाको जोखिमलाई प्रिमियम दरले प्रतिबिम्बित गर्नु पर्ने व्यवस्था ने.रा. बैंकले गरेको छ । तर कर्जाको जोखिमलाई मापन गर्ने कुनै बैज्ञानिक आधार छैन । त्यसको फाईदा उठाउँदै बैंकहरुले ग्राहकहरुसँग मनोमानी ढंगले प्रिमियम लिने गरेका छन् । हुन त नेरा बैंकले तोकिएको सीमाभन्दा बढी प्रिमियम दर लिन नपाउने व्यवस्था गरेको छ । तर प्रिमियम दर तोक्ने अधिकार बैंकहरुलाई नै छोडिदिएको र बैंकहरुले कुनै निश्चित आधार बिना नै प्रिमियम दर निर्धारण गर्दा यसले बजार बिकृत बनाउनुका साथै साना र पहुँच बाहिरका ऋणीहरुलाई ठुलो मर्का पर्न गएको छ ।

कमिशन तथा शुल्क बैंकरुको आम्दानीको अर्को महत्वपूर्ण स्रोत हो । कर्जा लगानी गर्दा, नबिकरण गर्दा, एक बैंकबाट अर्को बैंकमा कर्जा सार्दा (स्वाप गर्दा) अथवा किस्ता बन्दीका कर्जाहरु समय अगाबै भुक्तानी गर्दा बैंकले शुल्कहरु लिने गर्दछ । बैंक ग्यारेण्टी, एलसी (प्रतित पत्र) जस्ता गैर कोषमा आधारित सेवाहरु प्रवाह गर्दा पनि बैंकले कमिशन लिन्छ । त्यसैगरी बिभिन्न इलेक्ट्रोनिक बैंकिङ सम्बन्धि सेवाहरु, बिप्रेषण, लकर लगायतका सेवाहरु प्रदान गरेवापत पनि बैंकले कमिशन लिने गर्दछ । बैंकहरु बिचको प्रतिश्पर्धाको आधारमा बजारले नै व्याजदर तथा कमिशन दरहरु निर्धारण गर्नु पर्ने खुला अर्थतन्त्रको सुन्दरता भए तापनि नेपालमा बैंकहरुले ग्राहकहरुको बजार अनबिज्ञता र बाध्यताको फाईदा उठाउँदै उच्च दरमा व्याज, कमिशन तथा शुल्कहरु लिने प्रबृत्ति बढेकाले पछिल्लो समय नेरा बैंकले कतिपय व्याजदर तथा शुल्क निर्धारणमा अधिकतम सीमा कायम गरिदिएको छ ।

बैंक तथा बित्तिय संस्थाहरु बिश्वासले चलेका संस्थाहरु हुन् । न्यूनतम पुँजि ८ अर्व तोकिएका वाणिज्य बैंकहरुमा बिश्वासकै आधारमा सर्वसाधारणहरुले त्यो भन्दा कैयौं गुणा बढी रकम जम्मा गरेका छन् । त्यसैले बैंकहरु प्रति सर्वसाधारणहरुको बिश्वास जगाईराख्नु र त्यसलाई टिकाई राख्नु बैंक स्वयंको दायित्व हो । वित्तिय क्षेत्रमा कुनै एउटा बैंकले गरेको कमजोरीको कारण उक्त बैंक माथि सर्बसाधारणको बिश्वास गुमेमा त्यसको असर सम्पूर्ण बैंकिङ क्षेत्रको साथसाथै सम्पुर्ण अर्थतन्त्रमा पर्दछ । तसर्थ नेरा बैंकले बैंकहरु माथिको सर्ब साधारणहरुको बिश्वास गुम्न नदिन बिभिन्न नीतिगत व्यवस्थाहरु गर्नुको साथै त्यसको शुक्ष्म निगरानी पनि गरिरहेको हुन्छ ।

बैंकहरुले निक्षेपको रुपमा संकलन गरेको रकम मागेको बखत तुरुन्तै भुक्तानी गर्नु पर्ने हुन्छ भने कर्जाको रुपमा लगानी गरेको रकम तोकिएको समयाबधि भन्दा अगाडि असुल गर्न सकिदैन । तसर्थ बैंकले संकलन गरेको सम्पुर्ण निक्षेप कर्जाको रुपमा लगानी गर्न नपाउने व्यवस्था नेरा बैंकले गरेको छ । गत आर्थिक बर्षसम्म निक्षेपको ८० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेकोमा कोभिड १९ को प्रभावलाई मध्य नजर गर्दै पछिल्लो समय ८५ प्रतिशत पुर्याईएको छ । जसलाई निक्षेपमा कर्जाको अनुपात (CD ratio) भनिन्छ । CD ratio कम हुंदा त्यस बापतको रकम अल्पकालिन क्षेत्रमा लगानी गर्नु पर्ने तथा नगदको रुपमा धेरै रकम निष्कृय बस्ने हुँदा त्यसले नाफामा प्रतिकुल प्रभाव पार्दछ ।

महामाारीको प्रभावमा नाफाको अवस्था
पछिल्लो समय कोभिडको महामारीले बिश्व आक्रान्त बनेको बेला नेपाल पनि २०७६ चैत्र देखि त्यसको चपेटामा परेको छ । बन्दाबन्दीको कारण अर्थतन्त्र पुर्ण रुपमा चलायमान हुन सकेको छैन भने नाफा मुलक संस्थाहरुको नाफामा निकै ठुलो गिरावट आएको छ । त्यसले रोजगारीमा नकारात्मक प्रभाव पार्दै गत आवमा अर्थतन्त्रको बृद्धिदर ऋणात्मक बनाएकोमा यस आवमा पनि आर्थिक बृद्धिदरमा उल्लेख्य सुधार हुने अवस्था देखिदैन । तर पनि सम्पूर्ण अर्थतन्त्रको प्रतिबिम्बको रुपमा रहेका बैंक तथा बित्तीय संस्थाहरुको नाफा भने यस अवधिमाा उल्लेख्य बढेको देखिन्छ । आब २०७६।०७७ को तेस्रो त्रैमास अर्थात २०७६ चैत्र मशान्तसम्म कोभिड १९ को असर खासै परेको थिएन । अर्थात बैंकहरुले आब २०७६।०७७ को चैत्रसम्म सामान्य अवस्थामा नै कारोबार गरिरहेका थिए । तत् पश्चात यस आबको चैत्र मशान्तसम्म अर्थतन्त्रमा कोभिडको नराम्रो प्रभाव परेको छ । यति हुँदा हुँदै पनि २०७६ चैत्र मशान्तको तुलनामा २०७७ चैत्र मशान्तमा बैंकहरुले गरेको कारोबारको बृद्धि साथ साथै नाफाको बृद्धि उल्लेख्य रहेको छ ।

यहाँ केही वाणिज्य बैंकहरुको तथ्यांङ्कलाई नमूनाको रुपमा लिई विश्लेषण गर्ने प्रयास गरिएको छ ।

यहाँ नमुनाको रुपमा सात वटा वाणिज्य बैंकहरुलाई लिईएको छ । जसमा सरकारी बैंक (राबा बैंक), निजी स्तरमा स्थापित पुरानो बैंक (नबिल बैंक), उत्साहजनक रुपमा मर्जरमा गएको बैंक (ग्लोबल आईएमई बैंक), पछिल्लो समयमा आक्रमक रुपमा बजार बिस्तार गरिरहेको बैंक (एनआईसी एशिया बैंक) र अन्य बैंकहरु (प्राईम बैंक र प्रभु बैंक) रहेका छन् । यी बैंकहरुको केहि सिमित तथ्यांङ्कहरु बिश्लेषण गर्दा यस अवधिमा निक्षेप तथा कर्जा दुबैको बृद्धिदर धनात्मक रहेको छ । निक्षेप तथा कर्जामा बृद्धिदर राबा बैंकको सबै भन्दा कम क्रमशः ४ प्रतिशत र ११ प्रतिशत तथा एनआईसी एशिया बैंकको सबै भन्दा धेरै क्रमशः ३७ प्रतिशत र ५५ प्रतिशत रहेको छ । खुद व्याज आम्दानीमा बृद्धि भने प्राईम बैंकको सबैभन्दा धेरै ३२ प्रतिशत रहंदा राबा बैंकको भने ९ प्रतिशतले ऋणात्मक रहेको देखिन्छ । उक्त अबधिमा सात बटै बैंकहरुको आधार दर घटेको छ भने नाफाको दर सातै बैंकहरुको बढेको छ । राबा बैंकको खुद नाफामा सबैभन्दा कम ८ प्रतिशतले बृद्धि हुंदा एनएमबि बैंकको सबै भन्दा बढी ८८ प्रतिशतले बृद्धि हुन पुगेको छ ।

हुन त बैंकको खुद नाफालाई आम्दानीको साथ साथै त्यसको खर्चले पनि निर्धारण गर्दछ । संचालन खर्च उच्च रहेमा आम्दानी धेरै हुँदा हुँदै पनि खुद नाफा थोरै हुन सक्दछ । त्यसै गरी लगानी गरिएका कर्जाहरको गुणस्तर घट्दै गएमा (खराब कर्जामा बृद्धि भएमा) त्यसका लागि गर्नु पर्ने व्यवस्था (provision) बढाउनु पर्ने हुँदा र खराब कर्जा असुल भएमा वा असल कर्जामा बर्गिकृत भएमा त्यसले गैर संचालन आम्दानीमा प्रत्यक्ष प्रभाव पार्दछ ।

बैंकको नाफा प्रति सर्बसाधारणको बुझाई
तर वर्तमान सन्दर्भमा खाद्य, औषधीजन्य, ग्यास र जलबिद्युत जस्ता सिमित क्षेत्रका उद्योग व्यवसाय बाहेक अर्थतन्त्रका अन्य सम्पुर्ण उद्योग व्यवसायहरुमा प्रतिकुल प्रभाव परिरहँदा तिनै क्षेत्रहरुमा लगानी गरेका वाणिज्य बैंकहरु मध्ये एभरेष्ट, सेन्चुरी, स्टाण्डर्ड चार्टण्ड, एसबिआई र हिमालयन बैंक बाहेक अन्य बैंकहरुले नाफाको दरलाई धनात्मक बनाउन सक्नु र त्यसमा पनि केहि बैंकहरुले त नाफामा ५० प्रतिशत भन्दा धेरैले बृद्धि गर्नु आम सर्बसाधारणको बुझाईमा सामान्य मान्न सकिदैन । पछिल्लो समयमा बैंक तथा बित्तीय संस्थाहरुलाई सर्बसाधारणहरुले नव सामन्तको रुपमा बिश्लेषण गर्न थाल्नु र यस्तो असहज परिस्थितीमा पनि बैंकहरुको नाफामा अस्वभाविक बृद्धि हुनुमा कुनै समानजस्यता छैन भन्न सकिदैन ।

बैंकहरुको दायित्व
आफ्ना ग्राहक तथा आम सरोकारवाला (stakeholder) हरुलाई आश्वस्त पार्न पनि बैंकरुले आफ्नाे नाफाको आधारहरु खुलाउन जरुरी हुन्छ भने नियामक निकायको हैसियतले नेपाल राष्ट्रिय वाणिज्य बैंकले पनि उचित मापदण्डहरु लागू गर्दै आवश्यकतानुसार बिशेष अनुगन पनि गर्दै जानु पर्ने देखिन्छ ।

(माथि उल्लेखित तथ्यांङ्कहरु सम्बन्धित बैंकहरुको वेब साइटबाट लिइएको हो ।)

(लेखक राष्ट्रिय वाणिज्य बैंकका प्रवन्धक हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…