Logo जेठ ३०, २०७८ आइतबार


कोरोना संक्रमित बिरामी र कुरुवालाई २० रूपैयाँमा खाना

नेपालगञ्ज । जिल्लास्थित भेरी अस्पतालमा उपचारको लागि आएका कोरोना सङ्क्रमित बिरामी र कुरुवालाई २० रूपैयाँ मै खाना उपलब्ध भएपछि राहत मिलेको छ । अस्पताल परिसरमै प्रतिछाक २० रूपैयाँमा खाना उपलब्ध भएपछि बिरामी कुरुवालाई होटल खोज्दै हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि आउने बिरामी र कुरुवाका लागि श्री सुन्दरकाण्ड मित्र मण्डलले अञ्जनी माता रसोइका नामबाट साँझ–बिहान दुवै छाक खाना खुवाउन शुरु गरेको छ । बिहानको छाकमात्रै २० रूपैयाँमा खाना खुवाउँदै आएकामा निषेधाज्ञाका कारण अस्पताल परिसरका होटल बन्द भएकाले अस्पतालमा आउने बिरामी तथा कुरुवाको समस्यालाई मध्यनजर गरेर साँझको पनि खाना खुवाउन शुरु गरिएको सुन्दरकाण्ड मित्र मण्डलका संरक्षक विजय गुप्ताले बताउनुभयो ।

उहाँका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाले मासिक ५० हजार सहयोग गर्न थालेपछि श्री सुन्दर काण्ड मित्र मण्डल अञ्जनी माता रसोइले गत कात्तिकदेखि भेरी अस्पतालमा बिरामी र कुरुवाका लागि लक्ष्य गरेर २० मा बिहानको खाना खुवाउन शुरु गरेको थियोे । पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण फेरि बढ्न थालेपछि बेलुकाको खानासमेत खुवाउन थालिएको होे । अञ्जनी माता रसोइको अनुरोधका आधारमा नेपालगञ्ज उपमहानगरपालिकाले पछिल्लो समय मासिक रु एक लाख उपलब्ध गराउन थालेको छ । उपमहानगरपालिकाले सहयोग बढाएको र अन्य सहयोगी मनहरूबाट पनि सहयोग उपलब्ध हुन थालेपछि रसोइमा यही मङ्गलबारदेखि बेलुकाको खानासमेत रु २० मा उपलब्ध गराउन थालिएको छ । यसअघि बिहानको खाना रु २० र बेलुकाको खाना रु ८० प्रतिछाक रहेको थियो ।

कोभिड–१९ का बिरामीको उपचार केन्द्र बनेको भेरी अस्पतालमा पश्चिम नेपालका विभिन्न जिल्लाबाट दैनिक सयौँ व्यक्ति उपचारका लागि आउने गरेका छन् । अस्पतालमा उपचाररत बिरामी र कुरुवालाई लक्ष्य गरेर रु २० मा खाना खुवाउन थालिएको मित्र मण्डलका व्यवस्थापक जितेन्द्रबहादुर सिंहले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले पनि यही रसोइमा खाना खाने गरेका छन् । खाना खान आउनेको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । दैनिक ४०० जनालाई खाना खुवाउन सक्ने गरी व्यवस्थापन मिलाइएको छ ।

रु २० मा दाल, भात, तरकारी दिने गरिएको छ । बिरामीका लागि बोतलको पानी उपलब्ध गराउने गरिएको छ । सस्तोमा स्तरीय खानासँगै सरसफाइमा समेत विशेष ध्यान दिइएको व्यवस्थापक सिंहले बताउनुभयो । अस्पताल हाताभित्रै सस्तोमा खाना खान पाएपछि बिरामी र कुरुवालाई ठूलो राहत मिलेको छ । कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी सरसफाइमा ध्यान दिनुका साथै तातोपानीले भाडा धुने गरिएको छ । प्रत्येक टेबलमा खाना खाएर मान्छे गएपछि टेबल अनि कुर्सीमा स्यानिटाइज गर्ने गरिएको व्यवस्थापक सिंहले जानकारी दिनुभयो ।

अस्पतालमा उपचारका लागि आएका बिरामी र कुरुवालाई रु २० मा राम्रो खाना खुवाउनु सामाजिक कार्य भएको भन्दै यसमा स्थानीय सरकारबाट सक्दो सहयोग गरिएको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो । कोरोना महामारीको बेला अस्पताल परिसरमै सस्तो दरमा खाना खुवाउने कार्यले बिरामी र कुरुवालाई ठूलो राहत पुगेको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिनुभयो । अञ्जनी माता रसोइले व्यवस्था गरेको रु २० मा खानाले बिरामीसँगसँगै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई समेत राहत पुगेको उहाँको भनाइ छ । उक्त अभियानमा उपमहानगरपालिकासहित विभिन्न मनकारी सङ्घसंस्था र व्यक्तिले नगद तथा खाद्यान्न सहयोग गर्दै आएको मित्र मण्डलका प्रवक्ता विमल चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…