Logo असार १, २०७८ मंगलबार


रिसाउने बानी

रिस हामी मानव जातिको ठूलो शत्रु नै हो । समाजमा हुने साना झगडादेखि लिएर संसारमा भएका ठूला झगडासम्मको कारण मानिसको रिस नै हो । रिसले कसैको पनि कल्याण गरेको इतिहास छैन । त्यसैले समाजमा प्रसन्न भएर, सबैसँग मिलेर बाँच्न रिसाउने बानी त्याग्नै पर्दछ ।

–ध्रुवनारायण जोन्छे
व्यक्ति–व्यक्ति पिच्छे विचारधारा र सिद्घान्त पनि फरक–फरक भएअनुरूप मान्छे–मान्छे पिच्छे त्यसको बोलीचाली, बानी व्यहोरा पनि फरक–फरक हुन्छ नै । प्रत्येक व्यक्तिको आ–आफ्नो विचारधारा, बानी, व्यहोरा पनि फरक हुने भएकोले सबै मानिसको एउटै स्वभाव हुन्छ भन्न सकिन्न, बेग्लै हुन्छ नै ।

मानिसका आन्तरिक तथा बाह्य गुणहरूमध्ये रिसाउने बानी पनि एक हो । अप्ठेरो समय र विषम परिस्थितिमा नपरिकन कोही पनि रिसाउँदैनन् । तर पनि सानोतिनो कुरै कुरामा वा खुशी भएको कुरा त्यसबेलाको अनुहार र बोलीचालीबाट थाहा भैहाल्छ । अक्सर गरेर रिसाएको अवस्थामा कुनै पनि व्यक्तिको आँखा ठूल्ठूला भई अनुहार पनि रन्केको हुन्छ, कालोनिलो भएको हुन्छ भने बोलीवचनमा पनि खस्रोपन आइहाल्छ ।

यसरी कुनै पनि व्यक्तिको भित्री हृदयमा चोट परेर असह्य भएपछि मात्र रिसाउने गर्दछ । रिसाएको अवस्थामा त्यस व्यक्तिको मानसिक सन्तुलन पनि बिग्रिन पुग्छ । रिसले मानिसको आन्तरिक तथा बाह्य व्यवहारमा असन्तुलन ल्याइदिन्छ । जसको फलस्वरुप उसले के गर्न लागेको छ भन्ने कुरा नै बिर्सन्छ । यस प्रकार मानसिक तनाव तथा शारिरीक रूपमा पनि केही क्षण, केही मिनेट एवं घण्टाको लागि रिसले जनमानसमा भयावह दृश्य नै देखाइदिन्छ ।

अतः रिसाउने गर्नाले ब्लड प्रेसर बढ्ने, मानसिक असन्तुलन भै स्वभावमा समेत परिवर्तन ल्याइदिने भएकोले सानोतिनो कुरामा वा क्षण–क्षणमा रिसाउने बानी राम्रो होइन । रिसाउने गर्नाले अनाहकमा कयौ मानिस चिढिन सक्छन् । रिसाउने बानी मानवीय स्वभाव र प्राकृतिक नियमको विपरीत पनि छ । प्रकृति रिसाएपछि पनि एउटा न एउटा अनर्थ भैहाल्छ । त्यस्तै तपाईं हाम्रो रिसाउने बानीले कसैको भलो गर्दैन । रिसले सम्बन्धहरू बिग्रिएका छन्, बनेका छैनन् । रिसको आगोमा माया, प्रेम, सद्भाव जलेर खरानी बन्न पुग्दछ । अतः हामीमा यदि आफ्नै स्वभाव त्यस्तो छ भने होसियारपूर्वक अरूप्रति असल व्यवहार गर्नु आवश्यक छ ।

यदि तपाईमा त्यस्तो रिसाउने बानी छ भने त्यसलाई तुरून्तै हटाउने कोशिस गर्नुहोस् । छिन–छिन वा पटक–पटक नचाहिँदो काममा पनि रिसाउने गर्नाले कसैको भलो गर्दैन । त्यसकारण त्यस्तो बानी तुरून्तै हटाउनैपर्छ किनभने जहाँ रिस उत्पन्न हुन्छ, त्यहाँ बिनासको कारणले ठाउँ ओगटिहाल्छ । जहाँ विनास हुन्छ, त्यहाँ अवश्य पनि नराम्रो नतिजा निस्कन्छ । यसैले रिसाउनु वास्तबिक जीवनको लक्ष्य वा उद्देश्य पनि होइन । बरू वास्तबिक जीवनको लक्ष्य भनेको संयम हो । संयमले जीवनलाई सही गोरेटोमा, सही मार्गदर्शन प्रकट गराइदिन्छ । जीवनको मोडमा आइपर्ने उकाली, ओराली, गोरेटाहरू संयमी भै पार गर्दै आफ्नो लक्ष्यमा पुग्न सक्नु नै मानव जीवनको मूल मन्त्र हो । यसैले भनिएको पनि छ, “संयम नै जीवन हो ।” (संयमः खलु जीवनम् !)

आजकाल कुनै व्यक्ति होस् वा मुलुक नै किन नहोस् सबै क्षेत्रमा आत्मनिर्भर हुन सकेको छैन र सक्दैन पनि । हरेक व्यक्ति सबै क्षेत्रमा उत्तिकै निपूण पनि हुँदैन । यस उसले आफूले जानेका र सिकेका कुरा, अरूलाई सिकाउनैपर्छ र आफूले पनि नजानेका तथा नबुझेका कुराहरू अरुबाट सिक्न जरुरी छ तब मात्र वास्तबिक जीवनमा ज्ञानगुण तथा अन्य कार्यको आदानप्रदान राम्रै तवरले हुन्छ । रिसाउने बानीले गर्दा त्यस्तो आदानप्रदानको सम्बन्ध एक किसिमले बिग्रिहाल्छ ।

बढी रिसाउने बानीले आफू घमण्डी र जिद्दी स्वभावको हुनजान्छ जसले गर्दा अरू व्यक्तिले पनि फलानो मान्छे तः ज्यादै छुच्चो र घमण्डी रहेछ भनेर टिकाटिप्पणी गर्न थाल्दछन् । राम्रो व्यक्ति भए पनि एक छिन वा एक मिनेटको रिसले गर्दा नराम्रो बन्न पुग्छ । रिसाउने बानीलाई घटाउनको निम्ति संयमी हुनु अत्यावश्यक छ । कथंकदाचित त्यस्तै रिसाउनुपर्ने परिस्थिति तथा अवस्था नै आइपर्यो भने एक छिनको लागि त्यस ठाउँबाट अन्तै गैदिनु बेश हुन्छ ।

असह्य बेदनाले रिस उठेको बेला मनमनै एकदेखि सयसम्म गन्नु (गन्ती गर्नु) हितकर हुन्छ अथवा मुखमा कुनै चिज (खानेकुरा जस्तै : चकलेट, चुइगम, सुपारी, ल्वाङ्) सुकुमेल राखिहाल्नु आवश्यक हुन्छ किनभने मुखमा केही चीज पर्नाले कुनै पनि व्यक्तिको ध्यान आफ्नो मुखमा भएको चीज पर्छ । ऊ चपाउनमा व्यस्त हुन्छ जसको फलस्वरुप सिर्जना हुन लागेको अप्रिय एवं उत्तेजित वाताबरण शान्त भैदिन्छ ।

यस कारण उत्तेजित वाताबरण तथा परिस्थितिमा सकेसम्म सबैले वा आफूलाई संयममा राख्न प्रयास गर्नुपर्छ र जतिसुकै आफ्नोलाई कुभलो चिताउने तथा बिगार्न खोज्ने व्यक्तिसित पनि मित्र बनेर आफूलाई कुभलो गर्ने व्यक्तिसित समेत अनुहारमा प्रसन्नता ल्याई राम्रो व्यवहार गरेमा त्यस व्यक्तिको हृदयमा अवश्य पनि त्यसको प्रतिफल परिहाल्छ र ऊ सोच्न बाध्य हुन्छ ।

अर्काको कुभलो चाहने व्यक्तिले मनमनै सोचिहाल्छ, “मैले अनाहकमा त्यस व्यक्तिको कुभलो चिताएछु । मैले उसलाई व्यर्थैमा गाली गरेछु, निच देखाउने कार्य गरेछुँ । मैले उसको कुभलो गर्दागर्दै पनि उसले मसित त झन् राम्रो पो व्यवहार गर्न थालेछ । आखिर किन ? आखिर किन मेरो मन अरूलाई निच देखाउने कुरामा लाग्यो । मानिस भएर मैले मानवताको पाठ सिक्न सकिनँ । मानवलाई मानवीय तवरले व्यवहार गर्न सकिन । यस कारण आफैलाई धिक्कार छ । मैले पनि अर्काको कुभलो चिताउन र गर्न नहुने बेठीक हुने काम गर्नुछैन । अन्ततोगत्वा अबदेखि बिना अर्थ नै रिसाउनु हुन्न भन्ने कुराको बारेमा सोच्न मलाई बाध्य बनाइदियो ।”

अर्कोलाई निच र कुभलो चिताउने व्यक्तिको मगज हरहमेशा नचाहिँदो कुरामै केन्द्रित हुन गई त्यस व्यक्तिलाई बाहिरबाट हेर्दा प्रसन्न देखिए तापनि वास्तबमा मानसिक तथा आन्तरिक पक्षबाट सँधै असन्तुष्ट भइ शान्ति भनेको कहिल्यै हुँदैन । आफ्नै संकुचित सोचविचारमा अल्झिन पुगिन्छ । यसको ठीक विपरित अर्काको सँधै भलो चिताउने र नयाँ नयाँ कुरा सिक्नमा तन, मन, समय र चित्त लगाउने व्यक्तिको ध्यान हरदम सृजनात्मक कार्य तथा प्रतिभातर्फ लम्किरहेको हुन्छ ।

अतः जसरी ‘मनले चिताएको काम, वचनले पोख्दा र अर्काले लक्षित गरिएको कामको जुन सिद्घी हुँदैन ।’ (मनसा चिन्तितं कार्य वचना न प्रकाशयेत्, अन्य अक्षित कार्यस्य यतः सिद्घिर्न जायते) ठीक त्यसै गरी रिसाएर थालनी गरिएको कार्यबाट पनि सिद्घी प्राप्ति हुँदैन । यसैले आफूले थालनी गर्न लागेको कार्य पूरा नहोउन्जेल प्रकासमा नल्याए जस्तै रिसाउने बानीको बदला मिठास र हंशमुख भै गरिएको व्यवहार तथा कार्यबाट पनि सिद्घी प्राप्ति हुन्छ ।

अतः तपाई, हामी, सबैले एकचोटी आफैले आफैलाई नियालेर हेरौं र यदि हाम्रो विचार तथा कार्यक्षेत्र अनावश्यक विषयमा केन्द्रित भएको रहेछ भने तुरून्तै आजैदेखि सिर्जनात्मक कार्यमा आफूलाई मोडौ । यसको अलवा पटक्कै पिच्छे तथा स–साना कुरामा तुरून्तै रिसाइहाल्ने बानीलाई पनि आजैबाट चटक्कै छोडिहालौं किनभने रिसाउने बानी राम्रो होइन । रिसले आपसमा वैमनश्यता बढाउने काम कात्र गर्दछ । यसले झगडाको बिउ रोप्दछ, त्यही झगडालाई मलजल पनि गर्दछ । घृणाको ठूलो वृक्ष बनाउँछ रिसले ।

रिस हामी मानव जातिको ठूलो शत्रु नै हो । समाजमा हुने साना झगडादेखि लिएर संसारमा भएका ठूला झगडासम्मको कारण मानिसको रिस नै हो । रिसले कसैको पनि कल्याण गरेको इतिहास छैन । त्यसैले समाजमा प्रसन्न भएर, सबैसँग मिलेर बाँच्न रिसाउने बानी त्याग्नै पर्दछ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…