Logo असार १, २०७८ मंगलबार


त्यो मध्यरातमा कल पिकअप नभएको भए !

–विजय पाण्डे

आजको युगमा कल्पना पनि गर्न सकिदैन, मोबाइल विनाको जिन्दगी । सम्पर्कको पर्याय, दस्तावेज सुरक्षित गर्ने आपतकालीन कार्यालय, विधार्थीलाई किताब-कापी, सोधकर्ताको निम्ति एक श्रोत, मनोरन्न्जनको  साधन, सामाजिक सञ्जालको ब्रह्माण्ड, जीवन जिउने तरिकाको एक साधन बनेको छ, व्यक्तिहरुको  २४ घन्टा  मोबाइलमा नै  आश्रित बनेकोछ भन्दा फरक नपर्ला ।

निन्द्रा लगाउन होस् या निदाएपछी जगाउन । व्यक्तिमा ब्याकुल र उद्वेलित दुवै निम्त्याउने साधन हो मोबाइल । खोजेको पाउँने  र पाएको गुमाउँने  कारण  पनि हो मोबाइल । व्यक्तिले यसको उपयोग कसरि गर्छ, त्यसमा भर पर्छ ।

कोभिड १९ को महामारीमा यसको उपयोग संवेदनशील  भएको  छ । यस्तो परिस्थितिमा मोबाइलको प्रयोगले निम्त्याउने  परिणामको हरेक पक्षलाइ जिम्मेवारीपूर्वक विचार गर्न जरुरी छ । कसैको मोबाइलको  घन्टी सहयोगको आह्वान हुन् सक्छ, हाम्रो  सानो उत्तर पनि उसलाई  ठूलो सहयोग हुन् सक्छ  ।

म कल्पना पनि गर्न सक्दिन । यदि  उनले मेरो फोन नउठाएको भए त्यसको परिणाम के हुने थियो ? उनको त्यो २ शब्दको उत्तर  छटपटाइरहेको  पानी बिनाको माछालाई समुन्द्र मिले जस्तो भयो । यो पंक्तिकारले पछाडी फर्केर हेर्दा त्यो घटनाक्रम यस्तो  थियो ।

मेरो मोबाइलमा  मामालाई सन्चो नभएको कल आयो । कोभिडको परिक्षणले पोजिटिभ  देखियो । कोभिड उपचारका लागि स्थानीय  सरकारी अस्पतालमा  पुराइयो । अस्पतालमा बिरामीको  चाप  थियो । यत्तिकैमा  शुभेच्छुकहरुले  इमर्जेन्सी वार्ड अगाडी  बरन्डामा  अक्सिजन लगाएर राखेको अवस्थामा मोबाइलले तस्बिर लिए । सामाजिक सञ्जालमा त्यो तस्बिर छरियो । थुप्रै टिप्पणी आए । नगरपालिकाका वार्ड अध्यक्षले बेड  नपाउने  अवस्था भए आम नागरिकको के हुन्छ होला ?

तर, एकछिनपछि  बिरामी क्याबिनमा  उपचार गराउदै  थिए । अग्रपंक्तिमा जोखिम उठाएर कार्यरत  नर्सहरु गुनासो गर्दै थिए,  “त्यत्तिकै  फेसबुकमा राखेर दवाब सिर्जना गराउनु  भयो । ”म गुनासो सुनिरहेको थिएँ । वास्तविकता त अस्पतालमा बेड व्यवस्था भइरहेको नै थियो । उपचारमा  डाक्टर, नर्सहरु इमान्दारीपूर्वक कार्यरत  नै थिए ।

बिरामीलाई  अन्य मृगौला, रक्त चाप, मधुमेह जस्ता दीर्घ रोगहरु पनि थिए । भिम अस्पतालको ३ दिनको उपचारपछि चिकित्सकको सल्लाह अनुसार थप सुविधा सम्पन्न अस्पतालमा स्थान्तरण गर्नुपर्नेभयो । बैशाखको अन्तिम सातातिर कोभिड्को बिरामीकोलागि सरकारी होस् वा निजी अस्पतालमा बेड पाउन त्राहित्राही  थियो । अक्सिजनको चरम अभाव  थियो ।

काठमाडाैं  एक सरकारी अस्पतालमा बेड  व्यवस्था भएको जानकारी आयो । वेडको  समन्वय गरेका सहयोगीलाई  सोधे,  “हजुरले राम्रोसँग बुझ्नु  भएको छ नि, ? वेड  निश्चित भएन भने दु:ख  पाइन्छ । “सहयोगीले विश्वस्त भएर भन्नुभयो -”उहाँले  आफै मोबाइलमा कल गरेर बोलाउनुभएको हो, बरु बिरामीलाई  चाँडै लैजाने व्यवस्था गरौँ ।” काठमान्डौमा बेडको  व्यवस्था गर्ने  व्यस्त जिम्वेवार  व्यक्ति हुनुहुन्थ्यो । मैले आफैले कल गरेर  थप बुझ्न जरुरी लागेन।

चितवनको एक निजी अस्पतालमा  पनि सम्पर्क भएको थियो,मेरो ।“ बीमारीको अक्सिजन स्यचुरेसन सन्तोषजनक भएकाले बिरामीलाई  भर्ना गर्न सकिन्छ । तर, बिरामी हेरिरहेको त्यहाँको चिकित्सकसँग यहाँको बिरामी हेर्ने चिकित्सक बीच  मोबाइलमा कुरा गराएर मात्र ल्याउनु होला ।” अस्पतालको जिम्वेवार   व्यक्तिले मलाई भन्नुभएको थियो । हरेक दृष्टिले चितवन भन्दा  पाटन अस्पताल नै सुबिधा हुने बुझेँ ।

तयारी गर्दागर्दै  साँझ ६ बज्यो । बिरामी मामा, कुरुवा माइजू र म एम्बुलेन्समा बस्यौं । म अगाडि बसेँ । आमाले  आँशु  झार्दै घरको छतबाट एम्बुलेन्सको झ्यालभित्र अक्सिजन लगाएर पल्टिएको  भाइलाई  नियाल्दै हुनुहुन्थ्यो ।

एकातर्फ आफ्नै भाइ  जोखिममा, अर्कोतर्फ कोभिड संसारको जोखिममा  होमिन जान लागेको आफ्नो एक्लो छोरो । आमा र दिदीको भूमिकामा रहेकी तिनको  कोमल मनलाई मैले राम्रैसंग पढेँ । आज धेरैका घरमा यस्ता अप्ठ्यारो परिस्थिति सिर्जना  भएको छ । कसैले निर्वाह गर्छन्, कसैले चाहेर पनि गर्न सक्दैनन् ।

यस्तो यात्रामा  मोबाइल  दुरुस्त हुनुपर्छ । धेरै व्यस्त हुनु पनि हुदैन । यत्तिकैमा काठमान्डौवाट  फोन आयो । “हजुरहरु कहाँ आइपुग्नुभयो ? राम्रोसँग   आउनुहोला, बिरामीको  लागि बेडको  व्यवस्था भएकोछ ।

एम्बुलेन्समा यात्रा गरे पनि म खुशी थिएँ । चालकले  मलाई  हिड्नु अगाडि भनेका थिएँ । बेडको निश्चिन्त  गर्नु है ! मैले धेरै बिमारी  अस्पताल पुराएर फर्काएको छु । उहाँको  कल आएपछि मैले चालकलाइ सुनाएँ,  “मेरो मान्छेको कल आएको हो , उहाँ  झुठो बोल्नु हुदैन । नहुने कुरा पहिल्यै नै  हुदैन भन्नु हुन्छ ।”

भैरह्वावाट एकजना शुभेच्छुकको  मोवाइलमा कल आयो । “बिमारीको लागि उहाँले वेडको व्यवस्था गरिसक्नु भएको छ, चिन्ता नगर्नु । म अझै ढुक्क भए, शिघ्र भन्दा शिघ्र अस्पताल पुरयाउन आतुर थिएँ । चालकलाइ अनुरोध गरें, “हजुरको  मोवाइलमा धेरै कल आउदो रहेछ, जरुरी मात्र पिकअप गर्नु है । यसले अप्ठ्यारो हुन् सक्छ ।” त्यसपछि उनले जरुरी कल मात्र उठाए ।

राती ११ बज्दै थियो । राजधानी प्रवेश गर्न उकालो चढ्दै थियौं । मोवाइलमा म्यासेज आयो, डाक्टरको नाम । एकैछिनमा कल पनि आयो । पाटन अस्पतालको इमर्जेन्सी ड्युटीमा रहेका डाक्टरसँग सम्पर्क गर्नुहोला ।

आहा ! मोबाइल , तिमीले  गर्दा कति सहज भएकोछ ।  मोबाइलमै कुरा भएर त बेडको सुबिधा मिल्यो होला । मोवाइल हुदैनथ्यो भने छिनछिनमा कसरी अवस्था बुझ्न सकिन्थ्यो र ! मनमनै मोबाइललाई  धन्यवाद दिए । चालक पनि घरमा श्रीमतीलाई पुगेनपुगेको खबर दिदै थिए । म पनि  उहाँसँग मोबाइलमा  नियमित सम्पर्कमा थिएँ । उहाँले  बिमारी  अस्पताल भर्ना गरेर ढुक्क भएर मात्र सुत्ने सोच्नुभएको रहेछ ।

उकालोमा जामका कारण १२.३० मा अस्पताल पुग्यौं । पाटन अस्पतालको गेटमा पालेले सोधे “ के बिमारी हो ?” चालकले कोभिड भने । मैले सोचें, इमर्जेन्सीमा लानु छ भन्नु पर्ने थियो कि ।

सिमसिमे  पानि परिरहेको थियो । चिसो थियो । अध्याँरो थियो । कतैकतै मात्र मन्द उज्यालो देखिन्थ्यो । अस्पतालमा कुनै चहलपहल थिएन । मैले कल्पना गरेको भन्दा फरक अवस्था देखेँ, अनुमान लगाउन सकिन , यस्तो महामारीमा यति शान्त, किन ? सायद  रात्रि भएर होला । कोभिड विभागतर्फ गएर सोधेँ, उत्तरले  म झंसङ्ग भएँ ।

उहाँलाई  मोबाइलमा कल गरे , कोभिड तर्फ हजुरले भनेको डाक्टरले केही भन्नुभएको रहेनछ, अक्सिजन पनि उपलब्ध छैन । अहिले  भर्ना पनि हुन सक्दैन भन्छन त । उहाँले  भन्नुभयो, ”इमेर्जेंसिमा सम्पर्क गर्नु , त्यहाँ भनेको हुनुपर्छ ।’

एम्बुलेन्समा बिमारी राखेर म इमेर्जेम्सी वार्डभित्र पसेँ । सेवामा रहेका चिकित्सकलाई सोधेँ । फलाना डाक्टरले भैरहवाको बिरामीको  बारेमा केही भन्नु भएको होला । उत्तरमा केही थाहा छैन भन्ने आयो ।

अब मेरो होसहवास  सबै उड्यो । तुरुन्त कल गरें । उहाँको  कुरा सुनेपछि झनै स्तब्ध भएँ । म अवाक् भएँ । ति डाक्टरले मोवाइल उठाएका नै  छैनन् , के गर्ने होला ?  मैले के भनु ? यति मात्र जवाफ फर्काए । वरिपरि झनै अन्धकार देखेँ । फेरि कोसिस  गर्छु भन्दै कल राख्नुभयो । म आत्तिएर, फेरि कल गरें । उहाँ  भन्दै हुनुहुन्थ्यो । बिमारीलाई भोलि बिहानसम्म एम्बुलेन्समा नै राख्न सकिन्छ कि ? कोभिड नभनी इमेर्जेंसिमा  सिधै लानुपर्ने थियो कि, तर उहाँलाई थाहा छ म झुटो बाेल्दैन मेरो ! जना बिमारीको कारण धेरैलाई जोखिम हुन् सक्छ भने म त्यसो गर्दिन । एम्बुलेन्समा ५/६ घन्टा कसरी राख्ने, यो सम्भव थिएन । एम्बुलेन्स चालक सिटमै निदाएका थिए । धेरै दिनबाट सुतेको छैन भन्दै पनि थिए । मामाले सोध्नुभयो, के भयो ?  मसँग उत्तर थिएन ।

उहाँले  पुन:  कल गर्नुभयो । “खोज बिन गर्दा पनि डाक्टर सम्पर्कमा आउन सकेनन । अघि ११ बजे  सम्म तमोबाइलमै  सम्पर्कमा  थिए ,अहिले घन्टी जान्छ कल उठ्दैन ।” यो सुनाउनुभयो ।

मेरो अगाडी सिनेमाको दृश्य जस्तो अवस्था आएको थियो । अस्पताल अगाडी  सडकको बीचमा मध्यरातको सुनसान एकान्तमा   बेसहारा भएर  रुने ,चिच्याउने र गुहार माग्ने बाहेक केहि थिएन । सिनेमाको कथा  जस्तो मेरो व्यथा  थियो । सिनेमा र यथार्थ जीवन फरक हुन्छ ,त्यसो गर्न सक्दैनथें Ιहिम्मत हारेको थिइन ।

रातिको १ वज्दै थियो । चितवनका आफन्त मित्रलाई  मोबाइलमा  कल गरें । जसले पुरानो चितवन मेडिकल कलेजमा बेडको व्यवस्था गराएका  थिए । मोबाइलमा  गएको हरेक घन्टीसँग  मेरो श्वाशको गति बढ्दै थियो । कल उठ्छ या उठ्दैन  ? कतै फोन साइलेन्स मोडमा त छैन ? फोन उठेपनि अस्पतालमा वेड पाउँछु  या पाउदिन  ?  नभए म के गर्छु होला ? फोन मात्र उठोस् , मित्रले जसरि पनि गर्नुहुन्छ मलाई विश्वाश  थियो, मित्रको  क्षमतामा ।

बर्षाको पानीले भिजेको मेरो अनुहारमा चिटचिट  पसिना आएको थियो । पसिनाले निधार र हातका हत्केला र खुट्टाका पैताला भिजेका थिए । मेरा मन र शरीरका अंगअंगमा उठेका दु:खद समवेदना मैले अनुभूत गरिरहेको थिएँ । मुटुको धड्कनले गति लिदै थियो । खुट्टा लगलगी काँपिरहेको  थियो । एम्बुलेन्स देखि अलि दुरीमा  रुखको ओत लिएर  घन्टी गएको हेरी रहेको छु । मोवाइलमा नाम देखेको छु , राम प्रसाद भट्ट चितवन ।

जसै कल पिकअप भयो, त्यसै  मेरो मुटुको धड्कन स्थिर भयो । मैले हेलो पनि गर्न सकिन ।  विजयजी…, के भयो?कम्पन सहितको मधुरो स्वरमा  भने “सर ! मलाई आपत परयो , मामालाई दिउँस  कुरा गरेको अस्पतालमा भर्ना गराइदिनुहोस्  प्लिज । अस्पतालले ल्याउनु भनेको थियो, मैले काठमान्डौ लिएर आएँ  तर यहाँ डाक्टर बिहान मात्र आउछन र भर्ना हुन्छ, यहाँ अक्सिजन पनि अभाव हुन् सक्छ, म जोखिम लिन सक्दिन । यो अवधिमा जे दुर्घटना  पनि हुन् सक्छ । एम्बुलेन्सको अक्सिजन पनि धेरै छैन ।”

एकछिन म अस्पतालमा कल  गर्छु र भन्छु भन्नुभयो । मलाई केही  राहत भएको महसुस भयो । केही  आशा जाग्यो । अस्पतालको बेन्चमा थचक्क बसेँ  र  आखाँ बन्द गरेर आफ्नो श्वाश हेरेँ  ,विपश्यनामा यो बिद्या  सिकेको थिएँ । हरेक कुरा अनित्य छ । सधैं  पीडा रहदैनΙ मेरो मोवाइलमा घन्टी आयो, मैले तुरुन्त उठाएँ  “विजयजी अस्पतालको मानिसको कल उठेन , तर हजुर मामालाई लिएर तुरुन्त  हिड्नु । चिन्ता नगर्नुहोस् , भर्ना जसरि पनि हुन्छ ।”

अबमेरा लागि एम्बुलेन्स चालक सबकुछ  थिए । मैले बिनम्र अनुरोध गरे । उनले स्वीकारेΙ काठमाडाैंका सहयोगी उहाँलाई  कल गरे र भनें ” बिमारीलाई लिएर चितवन फर्कदैछु , मैले एउटा निर्णय लिनुपर्छ । ठिक गरें  या बेठिक मलाई थाहा छैन  ” उहाँ  धेरै चिन्तित हुनुभयो तर बोल्ने शब्द थिएन उहाँसँग । एम्बुलेन्सले २ बजे राति कलंकी छोडीसकेको थियो । चालकलाइ नमन गरें ।

म त्यो पल सम्झन्छु, यदि त्यो  मध्यरातमा मेरो कल पिकअप नभएको भए मेरो के हुने थियो होला ! त्यो कल पिकअप मेरा लागि संजीवनी बुटी थियो, कल्याणकारी थियो  । उनी  मोबाइल साइलेन्स गरेर  पनि सुत्न साक्थे नि , त्यसो गरेनन । धम्म बुझेका विपस्वीसाधक राम प्रसादजीको मानवप्रतिको मैत्री साम्झिएँ  ।मेरा आशु झरें । मन हल्का, शान्त भयो केही क्षणलाई ।

चालकले  बिश्राम गर्दै, सुरक्षित ढंगले  चितवन पुर्याए । ४.३० बजे  कल गरें, कल उठेन शायद निदाउनुभयो होला । २ बजेसम्म मसँग  बार्तालाप भइरहेको नै थियो । मलाई हौसला दिनुभएको थियो , आउनुहोस् व्यवस्था हुन्छ, मेरो कुरा भइसकेकोछ । तब  म झनै ढुक्क भएको थिएँ । ५ बजे बिहान मलाई कल आयो, अस्पतालको सम्पर्क व्यक्तिको मोबाइल नम्बर दिनु भयो । अन्तत: मेरो बिमारी अस्पताल भर्ना भए । एक हफ्ता  सघन कक्षमा उपचार भयो । कोभिड निको भयो, अक्सिजन जरुरी छैन, आज घरमा आराम गरिरहेका छन ।

भर्ना भएको २ दिनमा अस्पतालका डाक्टर आशा रामले कल गरेर  बिरामीको हालखबर सोधे र भने केही परे भन्नु होला, यो नम्बर मेरो हो । यो फोनले  मात्र पनि मलाई उर्जा थप्ने  काम गरेको थियो ।

मैले अनुभूत गरें  आपतको समयमा मोबाइल  दुरुस्त राखनुपर्छ । सामान्य अवस्थामा पनि बन्द गर्नुहुँदैन । मोबाइलले  लिने तस्बिरहरु  सामाजिक सञ्जालमा राख्दा त्यसको संवेदनशीलतामाथि ध्यान दिन जरुरीछ । आफूलाई आवश्यक हुदाँ खोल्ने र आवश्यक नहुँदा  बन्द गर्नेले बुझ्नुपर्छ, आफूलाई जस्तै आवश्यक अरुलाई पनि हुन्सक्छ । मोबाइलको  सदुपयोग र यसको महत्वलाई बुझेर अरुको मङ्गल गर्न सकियोस् । सबैको कल्याण  होस् । मोबाइल कल्याणकारी कार्यको माध्यम  बनोस् । मङ्गलम ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…