Logo जेठ ३०, २०७८ आइतबार


तलब वृद्धिमा कर्मचारी असन्तुष्ट, महँगी बढ्ने बहाना भएकाे भनाइ

काठमाडाैं । मध्यावधि चुनाव केन्द्रित बजेट ल्याएको सरकारले कर्मचारीको तलब दुई हजार रुपैयाँले बढाएर जस लिन खोजेको छ । यद्यपि कर्मचारी यसमा सन्तुष्ट हुन सकेनन् ।

निजामती कर्मचारी सेवा ऐन, २०४९ दफा २७ (१ ख) मा ‘तलब भत्ता पुनरावलोकन समितिले तीन वर्षमा राजस्व वृद्धिदर, कुल दरबन्दी संख्या र विगत तीन वर्षमा मूल्यसूचीको आधारमा प्रदान गरिएको महँगी भत्तासमेतलाई आधार बनाई तलब भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्ने’ व्यवस्था भए पनि सरकारले जस लिन दुई वर्षमै तलब वृद्धि गरेको हो ।

सबै वर्गलाई सकेजति गरेका छौँ भनेर देखाउन खोजेकोजस्तो देखिन्छ, यसैले तलब वृद्धि भन्ने कि नभन्ने ? कुनै आधार वा अध्ययन नै छैन ।

अध्ययनबिनै सरकारले तलब बढाएको पूर्वप्रशासकको टिप्पणी छ भने महँगीअनुसार तलब वृद्धि न्यून भएको भनेर कर्मचारीले गुनासो गरेका छन् । ‘तलब वृद्धि हँसीमजाकजस्तो भयो । यसले कर्मचारीलाई तलब वृद्धिको महसुस पनि हुँदैन, बरु यही बहानामा महँगी बढ्छ,’ निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका कार्यबाहक अध्यक्ष भोलानाथ पोखरेलले भने, ‘कोभिडको संकटका वेला तलब वृद्धि हाम्रो अपेक्षा थिएन । तर, कर्मचारीको तलब बढाएकै भए जीविकोपार्जन गर्न सहज हुने गरी बढाउनुपर्थ्यो ।’

अर्थमन्त्री विष्णु पौडेलले शनिबार अध्यादेशमार्फत सार्वजनिक गरेको बजेटमा कर्मचारीको तलब मासिक दुई हजारका दरले वृद्धि गरिने उल्लेख छ । आगामी १ साउनदेखि लागू हुने नयाँ तलबमान सबै राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक तथा प्राध्यापकको सुरुको तलबमानमा मासिक दुई हजार बढ्नेछ । सरकारले यही आधारमा पदाधिकारीको तलब पनि वृद्धि गर्ने गर्छ ।

ऐनअनुसार तीन वर्षमा एकपटक तलब बढाउन पाइने भए पनि पारिश्रमिक यथावत रहँदैन । किनकि मुख्यसचिवको अध्यक्षतामा रहने पारिश्रमिक पुनरावलोकन समितिको सिफारिसमा वार्षिक मूल्यवृद्धिको ७५ प्रतिशत रकम भत्ताका रूपमा दिन सकिने व्यवस्था छ । त्यसरी प्रदान गरिएको भत्ता रकम सुरु तलब स्केलको २५ प्रतिशत वा सोभन्दा बढी हुन गएको वर्षमा २५ प्रतिशत रकम तलबमानमा समायोजन गरी बाँकी रकम भत्ताको रूपमा प्रदान गर्न सकिने व्यवस्था दफा २७ को २ मा छ । तर, अर्थमन्त्री पौडेलले भने आधारभूत तलब नै दुई हजारले बढाएको घोषणा गरे ।

‘सबै वर्गलाई सकेजति गरेका छौँ भनेर देखाउन खोजेकोजस्तो देखिन्छ, यसले तलब वृद्धि भन्ने कि नभन्ने ? कुनै आधार वा अध्ययन नै छैन,’ लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले भने । यद्यपि, सरकारले महँगी भत्ता यथावत् राखेको छ । लोकसेवाले कर्मचारीको पारिश्रमिक वृद्धि कार्यसम्पादनका आधारमा गर्न यसअघि नै सरकारलाई सुझाब दिइसकेकोे छ । ‘कर्मचारीको सुरुको तलब स्केल कर्मचारीको उच्च मनोबल बनाउने र जीविकोपार्जन गर्न पुग्ने हुनुपर्छ,’ मैनालीले भने, ‘त्यसपछि ग्रेड र सहुलियत भत्तालाई कार्यसम्पादनसँग जोड्नुपर्छ । जसको कार्यसम्पादन राम्रो हुन्छ, यसले बढी पारिश्रमिक बुझ्छ ।’

महालेखा नियन्त्रकका अनुसार कर्मचारी, शिक्षक, सुरक्षाकर्मी र संस्थानसहित करिब ६ लाख बेतनधारी छन् । उनीहरूको तलबभत्तामा वार्षिक सवा खर्ब रुपैयाँ खर्च हुन्छ । नयाँ पत्रिका दैनिकमा यम बमले लेखेकाे समाचार अनुसार ‘बढेको तलबले महँगीलाई मिट गर्दैन,’ पूर्वसहसचिव जानकीबल्लभ अधिकारीले भने, ‘सरकारले परिस्थितिको आकलन गरेन । तलब वृद्धिको सिद्धान्त मिलेन । ऐन कानुनअनुसार बढाउनुपर्ने हुन्छ ।’ प्रशासन सुधार आयोगका अध्यक्ष काशीराज दाहालले कर्मचारीको सानो आकार, चुस्त संरचना बनाएर किटानीका साथ कामको जिम्मेवारी तोकेर न्यूनतम तलब सुविधा प्रदान गर्नुपर्ने बताए । ‘सार्क मुलुकसँग महँगीको तुलना गरेर तलब कायम हुनुपर्छ,’ उनले भने, ‘प्रविधिमैत्री प्रशासन बनाएर जिम्मेवारी बहन नगर्नेलाई कारबाही गरेमा मात्र जनमुखी प्रशासन बन्छ ।’

निजामती कर्मचारीको तलबमान र अरू सेवासुविधाबारे सुझाब पेस गर्न ‘पे कमिसन’ गठन गरिने पनि बजेटमा उल्लेख छ । जुन राम्रो कदम रहेको पूर्वसचिव पूर्णचन्द्र भट्टराईले बताए । ‘पटके तलब वृद्धिभन्दा प्रणालीगत सुधारमा जानु उचित हो,’ उनले भने, ‘वैज्ञानिक र व्यवस्थित ढंगबाट पारिश्रमिक निर्धारण गरिने हो भने हरेक वर्ष वृद्धिको अपेक्षा गर्नुपर्दैन ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…