Logo असार १, २०७८ मंगलबार


कथा : कुमाइर-२

-मुना चौधरी

जोखन र परीको विवाह सम्पन्न भयो । परी धेरै खुसी छिन् । राति खाना खाएर उनी बच्चीलाई लिएर सुत्न कोठामा गइन् । सुत्ने कोठामा पलङ् त थियो तर ओछ्यान थिएन । पलङ्मा मात्र पुरानो गुन्द्री ओछ्याइएको थियो । उनी पहिला जोखनको घर आउँदा त्यही पलङ्मा डसना, तन्ना, तकिया र झुलले सजिएको ओछ्यान लागाइएको थियो । त्यो ओछ्यानमा जोखन सुत्थे तर त्यही पलङ्मा अहिले कुनै विछ्यौना थिएन । त्यो देखेर उनी उदास भइन् । सुतेकी बच्चीलाई काखमा बोकेर उनले घरको चारैभित्तामा आँखा डुलाइन् । एउटा अलमारी, भित्तेघडी, टेबल पङ्खा, लुगा राख्ने अलना थियो ।

अलमारीमा ताल्चा लगाइएको थिएन । उनले अलमारी खोलेर हेरिन् । त्यसभित्र जोखनका लुगा र एउटा पुरानो च्यातिएको तन्ना थियो । उनले त्यही तन्ना झिकेर ल्याइन् । एउटा हातले बच्चीलाई च्यापेर अर्को हातले गुन्द्रीमाथि तन्ना ओछ्याइन् र त्यसमाथि बच्चीलाई सुताइन् । बिहेपछि उनको यो पहिलो रात थियो । बिहेको पहिलो रात सबैको ओछ्यान सजिसजाउ हुन्छ तर उनको ओछ्यान त्यस्तो थिएन । उनको मन भित्रबाटै रोयो । आँखाबाट आँसु बग्दै थियो । आँखाबाट निस्केर गालासम्म आइपुगेको आँसु पुछ्दै जोखन आएपछि ओछ्यानको लागि सोध्छु भन्ने सोचेर उनी बच्चीको छेउमै पल्टिइन् । तर तकिया नभएको कारण उनलाई असहज भयो । उनी उठेर फेरि अलमारी खोलिन् । अलमारीबाट जोखनका पुराना लुगाहरु ल्याएर डल्लो पारेर तकिया जस्तै बनाइन् । र, सिरानी बनाएर त्यसमा टाउको राख्दै पल्टिइन् ।

उनी बिना सङ्कोच र बिना कुनै अवरोध खुलेआम जोखनको रङ्गीन सपनामा हराउँन थालिन् ।

उनको मन खै किन हो अचाक्ली खुसी थियो । विना कसैको अनुमति उनले जोखनलाई मनको दैलोमा सजाएर मुटुको ढुकढुकीमा बसाएकी थिइन् । उनी जोखनको व्यग्र प्रतीक्षामा थिइन् । कोठाको अवस्था देखेर शुरुमा मन उदास भए पनि जोखनलाई सम्झेर खुसी थिइन् उनी । जोखन आएपछि राम्ररी ओछ्यान लगाइदेलान् र सुमधुर रात बनाइदेलान् भन्ने आशाले रत्तिसकेकी थिइन् उनी । हुन पनि जोखनलाई सम्झिन किन कसैको अनुमति लिनुपथ्र्यो र ? एकपटक उनले मस्त निदाइरहेकी बच्चीको मुहारमा हेरिन् । बच्ची उनीहरुको प्रेमको प्रमाण थिइन् । बच्चीको अवोध मुहार देखेर उनको मन हर्ष र उल्लासले भरिएर आयो । उनको मनमा उल्लासको यस्तो लहर बगिरहेको हुन्छ जुन लहर समुद्रमा सुनामी आउँदा पनि बगाउन सक्दैन भन्नेमा उनलाई दृढ विश्वास थियो । कल्पनाको सागरमा तैरिदै जोखनको प्रतीक्षा गर्दा गर्दै उनी निदाइन् ।

बिहान जब आँखा खुल्यो, कोठामा बत्ती बलिरहेको थियो । जोखनको लागि खोलेर राखिएको ढोका रातभर खुल्ला नै थियो । तर जोखन कोठामा सुत्न आएको थिएन । उनी उठेर आँखा मिच्दै जोखनलाई खोज्न हिडिन् । आँगनमा पनि जोखन थिएन । उनी बसघरा (केटा मान्छे बस्ने गुहालीसँगैको घर) गइन् । जोखन र उनका बा छुट्टाछुट्टै खाटमा सुतिरहेका थिए । त्यो देखेर परी उदास भइन् । उनले सजाएका सबै सपना चकनाचुर भयो । तर उनले केही बोल्न सकिनन् ।

बुहारीको धर्म निभाउदै परीले घरको काम गर्न थालिन् । काम सकाएर नुहाधुवाइ गरिन् । नुहाएर जलखै (बिहानको नास्ता) पकाउन थाल्छिन् । यता उनको मनमा आँधीबेहरी नै चलिरहेको थियो । जलखैमा गहुँको रोटी र आलुको दम पकाएर सबैलाई खान बोलाइन् उनले । तर, जोखन र उनका बाआमाले परीले पकाएको जलखै खान अस्वीकार गरे । उनले जोखनलाई सोधिन् , ‘मैले पकाएको नास्ता किन कसैले खानुहुन्न ?’

उनको कुरा सुनेर जोखनले जवाफ फर्कायो, ‘समाजको डरले मात्र मैले तँसँग बिहे गरेको हुँ । म तँलाई स्वास्नी स्वीकार्दिनँ । कुनै अवस्थामा स्वीकार्दिनँ ।’ उनको कुरामा सहमति जनाउँदै जोखनकी आमाले थप्छिन्, ‘तैँले पकाएको नास्ता त के तैँले छोएको पानी पनि खान्नौँ । मेरो घरमा बस्ने भए नोकरनीको दर्जामा बस् । नभए जहाँ मन लाग्छ जा ।’

उनीहरुको कुरा सुनेर परीको मनमा आकाशै खस्यो । त्यहीबेला जोखनकी आमाले रिसाउँदै उनले पकाएको सबै रोटी र आलु दम आरीमा खन्याइन् र खन्याएको आरी बाख्राहरुको अगाडि राखिदिइन् । बाख्राहरु लुछालुछ गर्दै रोटी र आलु दम खान थाले । जोखनकी आमा छुट्टै खाना पकाउन बसिन् ।

उनीहरुको कुरा सुनेर र व्यवहार देखेर परी उदास त भइन् तर थोपो आँसु झर्न दिइनन् । किनभने उनले यति सानै उमेरमा जीवन र समाजबाट धेरै पाठ सिकिसकेकी थिइन् । बिहे अगाडि आमा बन्नुपर्दा यही समाजको डरले उनले झण्डै आत्महत्याको बाटो रोज्नुपरेको क्षण उनले सम्झिन् । यसमा सबै दोष समाजकै भएको उनले बुझाइ थियो । जोखनको कुनै दोष देखिनन् उनले ।

उनीहरुको सम्बन्धमा उनले जति गल्ती गरेकी थिइन्,त्यो गल्तीमा जोखनको पनि समान साझदारी थियो । तर सबैले उनलाई नै मुख्य दोषी ठहर्याउदै भनेक थिए, ‘जोखन केटा मान्छे हो । तँ केटी होस् । केटी मान्छे सधैँ सचेत भएर बस्नुपर्छ ।’ उनी आफैँ एक्लै गर्भवती भएजस्तो । जोखनको केही हात नभएजस्तो । के छोरी मान्छे दोष बोक्नलाई मात्र जन्मेकी हो ?

तर यस्ता कुराहरुले परीलाई भित्रभित्रै बलियो बनाइरहेको थियो । उनी पहिला जति कमजोर थिइन् अब त्यति छैनन् । जोखन र उनकी आमाको कुरा सुनेपछि परीले भनिन्, ‘म आफ्नो अधिकार लिएरै छोड्छु ।’

उनको कुरा सुनेर जोखनले रिसाउँदै भन्यो, ‘जे गर्नु छ गर् तर मलाई बदनाम गरेर मेरो मायाको आशै नगर् ।’

परीले पनि रिसाउँदै भनिन्, ‘रगत मेरो हो तर वीर्य तपाईको हो । गर्भ बोकाउने बेला लाज लागेन ? अहिले बदनामीको डर लाग्छ ?’ उनको कुरा सुनेर जोखन केही बोलेनन् ।

जोखनको त्यो मौनता देखेर परी अझ आक्रोशित बनिन् । तर त्यही बेला उनले बाअआमालाई सम्झिइन्, बिदाइ गर्ने बेलामा उनका बाले, ‘घर अगाडिकै केटोसँग बिहे गरिस् । मेरो घर कहिले नआ’ भनेको सम्झिइन् । बिहे अगाडि बाआमा र समाजको घृणा, बिहेपछि लोग्ने र सासु ससुराको अपमान । कति झेल्नु सधैँको अपमान ? कति सहनु सधैँको तिरस्कार ?

यति दिनसम्म लाग्थ्यो उनलाई, बिहेपछि सबै समस्या समाधान होला तर त्यस्तो भएन । उनले सोचिन्, ‘गर्भ बोकाउने बेलामा गर्भ बोकाउँछु भनेर केटाले केटीसँग अनुमति पनि नलिने ? उल्टै मनपरी तरिकाले गर्भ बोकाउने र दोषी पनि उसैलाई ठह¥याउने ? गर्भ केटीले बोक्ने र गर्भ बोक्नेलाई कुनै कदर नगर्ने । इच्छाबिरुद्ध गर्भ बोकाउने अनि उल्टै दोष लगाउने ? बिहे अगाडि प्रेमीको, बिहे पछाडि लोग्नेको मनपरी सहनुपर्ने ? त्यहीमाथि समाज, बाआमा र सासु ससुराको हेला सहनुपर्ने ? आखिर किन ?

नदीले बगाउँदै लगे माटो नदीको इच्छाले बग्छ तर माटोले आफ्नो अस्तित्त्व थाहा पाउने बित्तिकै गरा छेउ लागेर आफूलाई बगाउनबाट बचाउँछ । बगरमा भएको बालुवालाई पनि समुद्रको छालले बगाउन खोज्छ तर बालुवाले आफ्नो धरातल कहिले छोड्दैन भने उनी किन आफ्नो धरातल छोड्दै थिइन् ? केको लागि त्यत्रो दुःख र सङ्घर्ष गर्दै थिइन् ? के पाउनको लागि अपमान झेल्दै थिइन् ? दुई छाक खान, एक सरो लाउन र लोग्नेलाई पाउन सङ्घर्ष गर्नुपर्ने ? बदनामी सहेर पुरुषको सहाराको लागि कल्पिनुपर्ने ? उनी यति दिनसम्म जोखनलाई मुटुको टुक्रा मान्थिन् । तर उनलाई ज्ञात भयो उनले जसलाई सर्वश्व सुम्पेकी थिइन् त्यही मान्छे उनलाई अहिले ठाडै अस्वीकार गरिरहेका छन् ।

बिहे भएको एक महिना भइसकेको थियो । यसबीचमा न जोखन उनीसँग बोले न त उनका बाआमा नै बुहारी स्वीकार्न तयार थिए । उनले पकाएको खानासम्म कसैले खाँदैनथे । त्यसैले उनले सबैको लागि खाना पकाउन बन्द गरिन् । आफ्नो लागि मात्र पकाउँथिन् र एक्लै खान्थिन् । उनी दिनभरि घरको काम गर्थिन् । चिन्ता र कामले होला उनी दुब्लाइसकेकी थिइन् । गाला र आँखा तल धसिसकेका थिए । चिन्ताले आँखा वरिपरि कालो दाग बसिसकेको थियो । आफ्नो यस्तो दुर्दशा देखेर उनले सबैभन्दा पहिला जोखनको नाममा थुकिन् । त्यसपछि बाआमा र सासुससुराको नाममा थुकिन् । अन्तिममा आफैँलाई थुकिन् ।

अब सहने सीमाका सबै बाँध भरिसकेका थिए । जुन जुनसुकै बेला भत्कनसक्ने अवस्थामा थियो । त्यहीबेला उनले सोचिन्, जब सङ्घर्षको दिन आउँछ त्यतिबेला आमा अगाडि । तर जब बच्चाको अभिभावकको नाम लेखाउने र बोलाउने बेला आउँछ तब पुरुष अगाडि ? दुःख परेको बेलामा आमा चाहिने तर अरु बेलामा जहाँ जुन ठाउँमा पनि आमा किन गौण ?
जोखनले बच्चीलाई वेवास्ता गरेको देखेर एक बिहान उनी रिसाउँदै बसघरामा पुगिन् । र त्यहाँ बसिरहेका जोखनलाई भनिन्, ‘यो तपाईकी पनि छोरी हो । किन छोरीलाई बेवास्ता गर्नुुहन्छ ?’ जोखनले केही नबोल्दै उनका बाले भने, ‘धरै नकरा ? हात समात्न दिँदा डुडुल्नो निल्न खोज्ने ? चुप लागेर खा र बस् ।’

ससुराको कुरा सुनेर परीलाई असह्य भयो, ‘खानु र बस्नु मात्र सबै थोक होइन । त्यो बाहेक म र मेरी छोरीको पनि जिन्दगी छ ।’ उनको कुरा सुनेर आँखा तर्दै जोखन र उनका बा त्यहाँबाट निस्के ।

अब उनलाई त्यो घरमा पटक्कै बस्न मन छैन । आफ्नो संसार र सर्वश्व ठानेर आएको जोखनले समेत पराईजस्तो व्यवहार गरपछि कसको आशमा बस्नु ? केको लोभमा बस्नु ?

त्यसैले त्यसैदिन दिउँसो बच्चीलाई बोकेर उनी घरबाट निस्किन्छिन् । माइती पनि जान मन लागेन उनलाई । बच्चीलाई बोकेर गाउँ नजिकको बजार पुगिन् । रिक्सा चढिन् र आधा घन्टापछि लहान बसपार्क पुगिन् । उनको मनमा धेरै कुरा खेलिरहेको थियो । बस पार्कबाट गाईघाट, धरान, इटहरी र बिराटनगर जाने बस छुटिरहेका थिए । उनी केही नसोचिकन बिराटनगर जाने बसमा चढिन् । बिराटनगर ठूलो सहर हो भन्ने उनले सुनेकी थिइन् । उनीसँग गाडी भाडा दिने पैसा थिएन । उनीसँग भएको पैसा रिक्सा भाडा दिएर सकिसकेको थियो । खलासीले जब गाडि भाडा माग्न आयो, उनले हातमा लगाइरहेको घडी फुकालेर खलासीलाई दिँदै भनिन्, ‘मसँग पैसा छैन । पैसाको सट्टा यो घडी लिनुस् ।’ उनको कुरा सुनेर खलासीले उनलाई तलदेखि माथिसम्म हेर्यो तर केही बोलेनन् । खलासीले परीले दिएको घडी उनैलाई फर्काउदै भन्यो,‘अर्को पटक यो बस चढेको वेलामा सम्झेर पैसा देऊ है ।’ परीले टाउको हल्लाउँदै फुकालेको घडी हातमा बाँधिन् ।

चार घन्टाको यात्रापछि बस रोकियो । अरु यात्रुहरुसँगै परी पनि बसबाट ओर्लिन् । तर कहाँ जाने ? के गर्ने ? उनले केही सोच्न सकिनन् । उनको सामुन्ने लामो सडक थियो तर गन्तव्य थिएन । उनका पाइला अगाडि बढिरहेको त थियो तर पाइला रोकेर बिश्राम गर्ने ठाउँ उनले कतै देखिनन् । कतिसम्म भने आफ्नो पाइला पूर्वतिर गइरहेको छ कि पश्चिमतिर ? उनलाई केही होश थिएन । तर, गन्तव्य भेटाउँछु भन्ने आत्मविश्वास भने उनको मनमा थियो । त्यही आत्मविश्वासका साथ उनी पाइला अगाडि सारिरहेकी थिइन् । घाम टन्टलापुर थियो । घामबाट बच्न टाउकामा पछ्यौरी ओढेकी थिइन् । बच्चीलाई पनि त्यही पछ्यौरीले ढाकेकी थिइन् । आधाघन्टा हिँडेपछि उनलाई थकाइ र तिर्खा लाग्यो । शायद तिर्खाले होला बच्ची पनि रोइरहेकी थिइन् । बच्चीको अवस्था र आफ्नो विवशता सम्झेर उनको दुवै आँखा फेरि आँसुले भरिए ।

आँसु पुछ्दै बच्चीलाई दुध खुवाउन एउटा रेस्टुरा अगाडि बस्छिन् । रेस्टुराँबाट एकजना महिला निस्केर उनलाई कराउदै भनिन्, ‘रेस्टुराँ अगाडि नबस् । ग्राहकहरु भड्किन्छन् ।’ उनी रेस्टुराँको साउनी थिइन् । भोक र तिर्खाले आक्रन्त परी साउनीको कुरा सुनेर घुक्कघुक्क गर्दै रुन थालिन् । उनलाई रोएको देखेर साउनी नजिक आएर किन रोएकी ? के भयो ? तेरो नाम के हो ? घर कहाँ हो ? भनेर सोध्न थालिन् । परीले पनि आफ्नो सबै कुरा सबिस्तार सुनाइन् ।

साउनी पनि एक स्वास्नी मान्छे थिइन् । परीको ओठ, मुख सुकिसकेको उनले देखिन् । उनले परीलाई रेस्टुराँ भित्र लगेर खाना खान दिइन् । उनलाई परीप्रति दया जाग्यो । त्यसैले रेस्टुराँमा झारु, पुछा लगाउने कामदारको रुपमा काम पनि दिइन् ।

परी अब साउनीकै घरमा बस्न थालिन् । बस्नको लागि भ¥याङ छेउको अँध्यारो कोठा दिइएको थियो । कोठा अँध्यारो भए पनि साउनीको रुपमा उनलाई भगवान् नै पाएको अनुभूति भैरहेको थियो । त्यसैले उनको मन उज्यालिदै जान थाल्यो ।

बच्चीलाई खेलाउँदै बिहान साउनीको घरको काम र दिनभरि रेस्टुराको काममा व्यस्त हुन थालिन् उनी ।

दिन बित्दै गयो । परीकी छोरी तीन वर्षकी भइन् । परीले रेस्टुराँमा काम गरेर पाएको पैसा जम्मा गर्दै गइन् । एकदिन रेस्टुराको छेउको सटर खाली देखेर उनले घर मालिकसँग उक्त सटर भाडामा लिइन् । बडो दुखले चिया पसल खोलिन् ।

हिजो आज परीले साउनीको घरमा बस्न छोडिसकेकी छिन् । आफैंले कोठा भाडामा लिएकी छिन् । चिया पसलमा एकजना कामदार पनि राखेकी छिन् । पसल ठीकठाक चलिरहेको छ । उनको पसलमा चिया खाने मान्छेको भिड विहानैदेखि देखिन्छ । उनले छोरीलाई स्कुल भर्ना गराएकी छिन् । स्कुल भर्ना गराउने बेलामा उनले बाको नामको सट्टामा आफ्नो नाम परीकुमारी चौधरी लेखाएकी छिन् । आफ्नो छुटेको पढाइ सकाउन उनी आफू पनि क्याम्पसमा भर्ना भएकी छिन् । छोरीलाई स्कूल पठाएर आफू क्याम्पस पढ्न जान्छिन् । उनी पढ्न गएको बेलामा सहयोगी कामदारले चिया पसल चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…