Logo जेठ ३०, २०७८ आइतबार


एमाले विग्रहको कारण के हो ? जिम्मेवार को ?

हजारौं नेता कार्यकर्ताको बलिदान र योगदानले निर्माण भएको पार्टीलाई अध्यक्ष ओलीले आफ्नो मात्र पेवा सम्झेकोले आज पार्टी कमजोर अवस्थामा आईपुग्यो । पार्टीमा योग्य, इमान्दार,क्षमतावान र लामो समयदेखि योगदान गरिरहेका हजारौं कार्यकर्तालाई निषेध गरेर अराजक,अशिष्ट, अनुशासनहीन अनि विचारशून्य झुण्डलाई कथित साइबर सेनाको नाम दिएर नेता र आफ्नै सहयोगीहरुको मान मर्दन गर्न परिचालन गर्नुभयो । अध्यक्ष ओली त्यतिमा मात्र रोकिनु भएन । डन र दलाल पुँजीपतीहरुको ठूलो पंक्ति पार्टीभित्र हुल्नुभयो । जसले गर्दा इमान्दार नेता कार्यकर्ता क्रमशः पलायन हुन थाले ।

–विष्णु लम्साल

सबैलाई थाहै भएकै कुरा हो, पहिले देखिनै कमरेड केपी शर्मा ओली पार्टीमा सधै फरक मत राख्ने गर्नुहुन्थ्यो । संघीयता तर गणतन्त्रको नारा घन्काउदै २०६२÷२०६३ सालमा जनता सडकमा उत्रिरहेको बेला जनताको बोलीमा सबै दलका नेताले सहमति जनाउदै आन्दोलनको नेतृत्व गरेका थिए ,तर त्यसबेला पनि कमरेड आलीले गणतन्त्र र संघीयताको बारेमा फरक धारणा राख्नुभएको थियो । तर पनि जनचाहना अनुरुप गणतन्त्र स्थापना भएरै छँड्यो । पार्टीमा फरक धारणा राख्ने कुरालाई अन्यथा लिनु पनि हुदैन । उहाँले पार्टीमा फरक धारणा राखे पनि, नेतृत्वसँग चरम अन्तरविरोध बढे पनि तत्कालीन नेतृत्वले उहाँलाई पार्टी तथा सरकारमा उचित स्थान दिएकै थियो । पटक पटक सरकारमा अवसर दिएकै कारण गृहमन्त्री, परराष्ट्रमन्त्री, उपप्रधानमन्त्री लगायतका थुप्रै जिम्मेवारी सम्हाल्ने मौका पाउनुभएको थियो । अवसर दिनु पनि पर्दथ्यो, किनकी पार्टी निर्माणमा उहाँको पनि महत्वपूर्ण योगदान थियो ।

जब उहाँ स्वयम् पार्टीको ड्राइभिङ सिटमा आसिन हुनुभयो, हामी सबै प्रत्यक्षदर्शी छांै कि उहाँ बिस्तारै एक पक्षीय बन्दै जानुभयो । पहिलो पटक प्रधानमन्त्री बन्दा उहाँको मन्त्रीमण्डल एकपक्षीय जस्तै नै थियो । एकाध मान्छेलाई उहाँले स्थान दिनुभएको थियो । तर पनि अन्य सहकर्मी नेताहरुले त्यसलाई सहज रुपमा नै लिनुभएको थियो । किनकी प्रधानमन्त्रीलाई जो मानिस लिदा सहज हुन्छ उहि लिनुभयो , ठिकै छ भन्ने भयो । यद्यपी त्यसभन्दा पहिले मन्त्रीमण्डलमा पठाउने मान्छेको तय पार्टीले गरेर प्रधानमन्त्री कहाँ सिफारिस गर्दथ्यो । पार्टी पद्यती पनि त्यहि नै हो । पहिलोपटक प्रधानमन्त्री बन्दा भारतसंग लिएको अडानले उहाँ र पार्टी दुवैको छवि उच्च भएको थियो । तर अहिले त्यो छवि उस्तै छ कि धमिलो भयो ? विश्लेषणको जिम्मा यहाँहरुलाई नै छोडिदिएको छु ।

जब उहाँ दोश्रो पटक दुई तिहाईको समर्थन प्राप्त प्रधानमन्त्री बन्नुभयो, उहाँबाट धेरै आशा अपेक्षा गरिएको थियो । सकारात्मक व्यवहार समन्वय र सहकार्यका साथ अघि बढ्नु हुनेछ भन्ने विश्वास पनि लिइएको थियो । यो उहाँ अनि पार्टी दुवैका लागि राम्रो गरेर देखाउने ऐतिहासिक अवसर थियो ।

तर सोचेजस्तो हुन सकेन । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको दम्भ, असहिष्णुता र एक्लै हिड्ने प्रवृति व्यापक रुपमा बढेर गयो ।

कसरी बढ्न थाल्यो ओलीको निषेधको राजनीति र असहिष्णुता ?

पार्टी नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल प्रचण्ड समेतको समर्थनमा विद्यादेवी भण्डारीलाई दोश्रो पटक राष्ट्रपति बनाईयो । तर ओलीले राष्ट्रपति भण्डारी भन्दा धेरै पुरानो र आफ्ना दुधे बालकहरु छोडेरै भूमिगत रुपले पार्टी निर्माणमा खटिने लामो इतिहास बोकेको निष्ठावान नेतृ अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बन्नबाट रोक्नुभयो । पार्टीका पुराना नेता भिम आचार्यमाथि पनि अन्यायपूर्ण व्यवहार गर्नुभयो । अहिले पार्टी भित्रको अन्तरविरोध चरम उत्कर्षमा पुगेको छ । तर त्यसबेला त्यस्तो केहि थिएन । केपी ओलीले ल्याएका हरेक प्रस्ताव सर्वसम्मतिले पास गरिएकै थियो । बिना होमवर्क माओवादीसँग पार्टी एकताको घोषणा गरियो । मनमा संशय भएपनि राम्रै काम हो, ठिकै छ भनेर सबैले सहयोग र स्वागत नै गर्नुभएको थियो । राम्रा काम सँगसँगै केहि गलत प्रवृत्तिहरुपनि झाँगिदै गएका थिए । पार्टी एकिकरण जस्तो महत्वपूर्ण कुरा दुईजना अध्यक्ष मात्र बसेर टुङग्याउने , दुईजनाबीच प्रधानमन्त्री आधा आधा कार्यकाल चलाउने लिखित सम्झौता गर्ने जस्ता गम्भीर निर्णयहरु लिइए । तर ती सम्झौता र निर्णयहरु कार्यन्वयनमा आउन सकेनन् र एकिकरण प्रक्रिया संकटमा पर्दै गयो । गरेका सम्झौता प्रति केपी ओली इमान्दार नहुँदा भंग हुदै गए र दुई अध्यक्षको बीचमा असमझदारी तीव्र रुपमा बढेर गयो । यो रमिता त अरु नेताहरुले गरेका थिएनन् । सम्झौता गर्ने पनि र सम्झौता तोड्ने पनि उहाँहरु नै हुनुहुन्थ्यो । दुईजना अध्यक्ष मिल्दासम्म पार्टी कमिटीहरुका बैठक, छलफल, विधि पद्धति बिधान सबै कुरालाई बन्धक बनाईयो । अर्को शब्दमा भन्नुपर्दा कम्युनिष्ट पार्टी चलाउने भद्रगोल तरिकाको विकास गरियो ।

त्यसैगरी दोश्रो पटक प्रधानमन्त्री बनेपछि पनि एकाध बाहेक सबै मन्त्रीहरु आफ्नै अनुकुलका नेताहरुलाई बनाउनुभयो । त्यसमा पनि कुनै टिप्पणी गरिएन । प्रधानमन्त्रीलाई जो चलाउन सजिलो लाग्यो उहाँलाई नै नियुक्ति गर्नुभयो । तर एउटा प्रश्न उठछ, ती मन्त्रीहरु जनताको काममा कति खरो उत्रन सके ? कति पारदर्शि बन्न सके ? यो घाम जतिकै छर्लङ्गै छैन र ? हजारौं नेता कार्यकर्ताको बलिदान र योगदानले निर्माण भएको पार्टीलाई अध्यक्ष ओलीले आफ्नो मात्र पेवा सम्झेकोले आज पार्टी कमजोर अवस्थामा आईपुग्यो । पार्टीमा योग्य, इमान्दार,क्षमतावान र लामो समयदेखि योगदान गरिरहेका हजारौं कार्यकर्तालाई निषेध गरेर अराजक,अशिष्ट, अनुशासनहीन अनि विचारशून्य झुण्डलाई कथित साइबर सेनाको नाम दिएर नेता र आफ्नै सहयोगीहरुको मान मर्दन गर्न परिचालन गर्नुभयो । अध्यक्ष ओली त्यतिमा मात्र रोकिनु भएन । डन र दलाल पुँजीपतीहरुको ठूलो पंक्ति पार्टीभित्र हुल्नुभयो । जसले गर्दा इमान्दार नेता कार्यकर्ता क्रमशः पलायन हुन थाले । गरिव मजदुर किसान तथा श्रमजीवि जनताको उत्थान गर्ने भन्ने घोषणापत्र मार्फत व्यक्त प्रतिबद्धताबाट पछि हट्दै दलाल पुंजीपति र बिचौलियाहरुको स्वार्थ रक्षामा तल्लीन हुनुभयो । तर आफ्नो कुकर्मलाई ढाकछोप गर्न घेराबन्दी भयो, काम गर्न दिइएन भन्ने राग अलाप्न चाहिं छोड्नु भएन । उहाँको बुझ्न नसकेको कुरा के छ भने प्रायः मन्त्री आफैले मन पराएका र आफू अनुकूलको मान्छे छन् । कर्मचारी आफैले सेटिङ मिलाएर आफूले चाहेको ठाउँमा खटाइएका मान्छे छन् । संवैधानिक निकायमा सबै आफैले भर्ति गरेका मान्छे छन् । योजना आयोगमा सबै आफ्नै मान्छे छन् । सल्लाहकारहरु सबै अहिले मन पराएर अनि दोहो¥याएर राखेका मान्छे छन् । राजदूत सबै एकलौटी ढंगले आफैले नियुक्ति गरेका मान्छे छन् । राष्ट्रपति सधै दाहिना छन् । संसदमा अवरोध होला भनेर भट्टाभट आफू अनुकुलका अध्यादेश ल्याउने काम भएकै छन् । त्यति गर्दा पनि काम गर्न दिइएन भन्न छोड्नु हुन्न । नेपाली समाजमा एउटा उखान प्रचलित छ, आफ्नो छोरी कुन्नी के …. माउली तन्नेरीलाई दोष भनेको जस्तो भएन र ? अझ स्पष्ट शब्दमा बुझ्ने गरी भन्दा नाच्न नजान्ने आँगन टेढो भने जस्तो भएन र ?

अर्को कुरा काम गर्न दिइएन भन्न पनि नछोड्ने अनि मैले अतुलनीय काम गरेको छु भन्न पनि पछि नपर्ने । यो कस्तो बिरोधाभाष कुरा हो ? हरेक कुराको जस्टीफाई गर्न सक्ने तर्क, तथ्य र आधार हुनै पर्दछ । एकातिर प्रधानमन्त्री भन्नुहुन्छ, अतुलनीय विकास भएको छ , अर्को तर्फ उहाँकै मातहत रहेको अर्थमन्त्रालय भन्छ, तीन वर्षदेखि विकास खर्च तीस प्रतिशत भन्दा माथि जान सकेको छैन । यो भन्दा परस्पर विरोधी कुरा के हुनसक्छ ? त्यस्तै विकास भन्ने कुरा जनताले परिवर्तनको अनुभूति गर्ने अवस्थाको निर्माण गर्नु हो । रोजगारीको अवसर बृद्धि भएर जाने कुरा हो । दुखबाट सुःख तर्फको यात्रामा लम्कने कुरा हो । तर प्रधानमन्त्रीले भने जस्तो विकासको कुरा यहाँ हुन सकेको छैन । यो मेरो आरोप होइन, तथ्यले देखाएको कुरा हो । तथ्यहरुले भन्छ हाम्रो देशको प्रतिव्यक्ति आय क्रमशः घटिरहेको छ । रोजगारी सृजनाको कुनै आधार खडा गर्न सकेको छैन । मानिसले भएकै रोजगारीबाट हात धोइरहेका छन् । विकासको बाधक भ्रष्टाचार पनि हो । तर तथ्यहरुले भ्रष्टाचार र कमिशनतन्त्र मौलाउदै गएको देखाउछ । अब प्रधानमन्त्रीले भनेको जस्तै व्यापक विकास भएको छ भनेर पत्याउने आधार के रह्यो र ? कि हाम्रा प्रधानमन्त्री आफ्नै मान्छे हुन् उनले भनेपछि पत्याइदिउँ न त भन्ने हो भने बैग्लै कुरा भयो । मान नमान तु मेरा मेहमान भने जस्तो, अब दुई चारवटा भौतिक संरचनाको निर्माणलाई व्यापक विकास भनेर सन्तुष्ट हुने हो भने त हाम्रो भन्नु केहि छैन । तसर्थ निर्वाचनको बेला आफैले जारी गरेको घोषणा पत्र पल्टाएर हेरे थाहा भैहाल्छ प्रधानमन्त्री ओलीले कति विकास गर्नुभयो भन्ने कुरा ।

फेरि पुरानै प्रसँगमा फर्कौ । जब हठात ढंगले नेकपाको निर्माण भयो यसले कार्यकर्तामा नयाँ उत्साह थपेको थियो र जनतामा पनि विकासको सपना पूरा हुने आशा पलाएको थियो । जनताको सपना पूरा गर्ने उदेश्यले निर्मित कम्युनिष्ट पार्टी स्वयम पनि व्यवस्थित र विधि पद्धती,छलफलका माध्यमबाट योजना निर्माण गर्दै अघि बढ्नु अनिवार्य थियो । तर पार्टी सो अनुरुप अघि बढेन । छलफललाई सानो संख्याको सचिवालय अनि दुईजना नेताको कमिटीमा सीमित गरियो । सचिवालयको सन्तुलनमा पनि छिटो छिटो परिवर्तन भैरहयो । आफू अनुकुल हुँदा सचिवालयमा छलफल गर्ने र प्रतिकूल हुँदा कमिटीलाई बाईपास गर्ने काम निरन्तर रुपमा अध्यक्ष ओलीबाट भैरहे । त्यति मात्र नभई पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीलाई पनि पूर्ण रुपमा उपेक्षा गरियो । पार्टी कमिटीबाट भागेर सानो कोटरीमा बसेर निर्णय गर्ने गलत परम्पराको थालनीले पार्टी क्रमश कमजोर बन्दै गयो । यसले कमरेड केपीमा निरंकुश प्रवृत्ति जन्मायो जसका कारण पार्टीभित्र अन्तरविरोध झाङ्गिदै गयो । यसलाई करेक्सन गर्ने काममा शुरुमा अन्य नेताहरुले पनि उचित ध्यान पु¥याउनु भएन र केपी ओली त करेक्सन भन्दा पनि विधि पद्धति मार्नमै तल्लिन रहनुभयो । त्यसको परिणाममा पार्टीमा ठूला ठूला समस्या आउन थाले, द्वन्द बढेर गयो । सरकार पनि बेलगामको घोडा बन्दै गयो । २०७७ साल भाद्र २६ गते आएर द्वन्द समाधानका लागि क. प्रचण्ड र क. माधवकुमार नेपालले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदमा रहनुस तर पार्टी मिलाएर लैजानुस भन्ने प्रस्ताव राखेपछि क. केपी ओलीले त्यसमा सहमती जनाउनु भयो । र, सोही बमोजिमको निर्णय भयो । त्यसले सबैलाई उत्साही बनायो । तर त्यसको कार्यान्वयनमा केपी ओलीले इमान्दारिता देखाउनुपर्ने ठाउँमा पुनः एकलौटी ढंगले निर्णय गर्दै अघि बढ्नुभयो । सरकार पनि बेलगामको घोडा बन्दै गयो । चारैतिरबाट पार्टी र सरकारको आलोचना हुन थाल्यो । आलोचना स्वभाविक थियो । किनकी आलोचनाले करेक्शन गर्न मद्धत पुग्छ तर आलोचनाको कुनै पर्वाह नै गरिएन र उल्टै ओठे जवाफ फर्काउने काम मात्र हुन थाल्यो ।

मूख्य चालक बनाएर ड्राइभिङमा सिटमा पु¥याएको मान्छेले सवारी ठिक ढंगले नचलाउदा दुर्घटना हुन सक्छ । सवारी ठिक ढंगले चलाउनुस भन्दा त्यसलाई सकारात्मक ढंगले ग्रहण गर्नुको सट्टा आफ्नै सहकर्मी यात्रुमाथि असहिष्णु ढंगले खनिने काम भैरहयो । सवारी साधनले लिक छोड्न लाग्यो लिकमा ल्याउनुस भन्दा सहयोग भयो कि असहयोग ? तर उहाँले असहयोग भयो भनेर लाञ्छाना लगाउने काम गरिरहनुभयो । क्रमशः प्राप्त उपलब्धी गुम्दै गए । एकपटक तुलना गरेर हेरौं त हिजो र आजको पार्टीको अवस्था । यहाँ मैले केहि उदाहरण मात्र उल्लेख गरेको छु । किनकी सबै फेहरिस्त यो एउटा लेखमा समेट्न असम्भव छ ।

२०७४ सालमा भएको निर्वाचनबाट झण्डै २ तिहाईको सरकारका कसैले हल्लाउन नसक्ने प्रधानमन्त्री बन्न सफल केपी ओली आज घोर अल्पमतमा परि कसरी कुर्सी जोगाउने भन्ने परिस्थितिमा पुगेका छन् । कुर्सी जोगाउन संविधान, कानून, नैतिक मूल्य मान्यता सबै कुल्चन तयार भएर अघि बढ्दा पनि हम्मे हम्मे परिरहेको अवस्था छ । त्यस्तै आफैले थालेको माओवादीसँगको एकीकरण प्रकृया आफ्नै दम्भ, दाउपेच र असहिष्णुताका कारण आज भंग हुन पुगेको छ । ठूला दुई कम्युनिष्ट पार्टीको एकीकरण गर्ने ऐतिहासिक श्रेय पाएका केपी ओलीले त्यो श्रेयलाई धेरै दिन टिकाउन सकेनन् । माओवादीसँगको एकता त भंग गरे गरे, आफ्नै एमाले पार्टीमा झण्डै ५ दशक सँगसँगै काम गरेका आफ्नै सहकर्मी वरिष्ठ नेताहरु क.माधवकुमार नेपाल, क. झलनाथ खनाल लगायतका दर्जनौं नेताहरुलाई गरेको प्रतिशोधपूर्ण निश्कासनले पार्टीलाई विभाजनको मुखमा धकेल्ने काम भयो । त्यस्तै उहाँले २ तिहाईको कम्युनिष्ट पार्टीको सरकारबाट जनताले देखेको आमूल परिवर्तनको सपनामाथि समेत तुषारापात गरिदिनुभयो । सुखी नेपाली समृद्ध नेपाल भन्ने पार्टीको नारा केवल नारामै मात्र सीमित हुन पुग्यो । उहाँले यस काममा सिन्को पनि भाँच्नु सक्नु भएन । त्यस्तै उहाँले गरेको अर्को ठूलो भूल भनेको आफ्नो स्वार्थ अनुकूल मात्र चलाउन खोज्दा राष्ट्रपतिको गरिमामाथि पनि आँच पु¥याउनु भयो । त्यसमा स्वयं राष्ट्रपतिले पनि आफ्नो र राष्ट्रपति संस्थाको गरिमाको ख्याल नगरी प्रधानमन्त्रीको इशारामा चल्दा संस्थाप्रतिको जनविश्वास गुम्दै गैरहेको छ । राष्ट्रपति कार्यालयलाई प्रधानमन्त्रीको साखा कार्यालयको रुपमा प्रयोग गर्न खोजियो यो अत्यन्त खेदजन्य बिषय बन्न पुग्यो । त्यस्तै हिजो राष्ट्रियताको सवालमा दृढ अडान लिने केपी ओली आज कुटनैतिक मर्यादालाई कुल्चिएर भारतीय एजेन्टसंग निर्वाध रुपमा घाँटी जोड्ने र उनीहरुकै इशारा मुताविक राष्ट्रहीत विपरित सहमति गर्दै निर्णय लिने काम गरिरहेका छन् । नागरिकता जस्तो संवेदनशील बिषयमा हठात अध्यादेश ल्याउनु, पुस्तकमा चुच्चे नक्शा प्रकाशन गर्ने निर्णयबाट पछि हट्नु, दीर्घकालीन रुपले नेपाली राष्ट्रियता माथि आँच आउने एमसीसी जवर्जस्ती पारित गर्न खोज्नुले उनीमाथि थुप्रै आशंका र प्रश्नहरु जन्मिएका छन् । समयले यसको छिनोफानो पनि गर्नेनै छ ।

अहिले पार्टी भित्र रहेका केहि अवसरवादी झुण्डहरुको उक्साहटमा लामो त्याग र योगदान गरेका आफ्ना सहकर्मी नेताहरुलाई पार्टीबाट निस्काशन गरिएको छ । अन्य नेताहरुलाई पनि क्रमशः निस्काशन गर्ने दिशातर्फ अघि बढिरहेको देखिन्छ । योभन्दा ठूलो दम्भ र असहिष्णुता के नै हुन्छ र ? ठिकै छ निकाल्नुस तपाईको यो तथाकथित कार्वाहीले जनताको जीवन रुपान्तरणका लागि दशकौं देखि प्रारम्भ भएको यात्रा रोकिने छैन । केपी ओलीले पार्टीभित्र भित्र्याएका विकृति, विसंगति, बेथिति विरुद्धको लडाई निरन्तर जारी रहन्छ र तानशाह बनेर पार्टी र जनतालाई धोका दिने अभिष्ट पुरा हुन किमार्थ दिइनेछैन । किनकी यो पार्टी निर्माणमा हाम्रो पनि धेरै रगत पसिना लगानी भएको छ । र, यो तिम्रो मात्र विर्ता होइन भन्ने बुझ कमरेड केपी ओली । तिमीहरुले ठानिरहेका होलाउ आफ्ना सहयोद्धाहरु निकालेपछि ठूलो भाग खाउला भनेर । ठूलो भाग त त्यस्तै हो नराम्रोसँग धुलो चाटेपछि थाहा पाउनेछौ कुकर्मको फल कस्तो हुन्छ भनेर । एउटा कुरा याद गर कुनै पनि कुराले सीमा नाघेपछि त्यहाँ विद्रोह पनि हुन्छ, अवज्ञा पनि हुन्छ, संघर्ष पनि हुन्छ र पराजय भने पद र पावरको दुरुपयोग गर्नेकै हुन्छ । रोमानियाका तानाशाह निकोलाई चाउभरेष्कोले मेरो शासनको अन्त्य हुनु र पश्चिमबाट घाम उदाउनु एउटै कुरा हो भन्थे । उनले त्यसो भनेको २४ घण्टा नबित्दै जनताले उनलाई घरबाट थुतेर सडकमा ल्याएर मृत्यूदण्ड दिए । त्यसकारण दम्भ होइन सहिष्णु बन । एउटा कुरा तिमीलाई थाहै छ बिरालोलाई ढोका थुनेर कुट्न थाल्यौं भने त्यसले तिम्रो घाँटी समात्छ भनेर । अहिले त मिठा राष्ट्रजालमा पारेर केहि वरिपरि घुम्ने कार्यकर्ता तयार गरेका छौं । एकदिन तिम्रो जाली कुरा थाहा पाएपछि उनिहरुले पनि साथ छाड्नेछन् अनी तिम्रो हविगत कस्तो होला र एक्लै हिडेर कहि पनि पुगिदैन भन्ने कुरा नविर्सदा राम्रो होला । अन्त्यमा एउटा प्रसंग राखेर यस लेखलाई विट मार्न चाहन्छु ।
पार्टीकै एकजना नेताले मलाई केहि बर्ष अघि सुनाउनु भएको कुरा यहाँ राखेको छु ।

२०४६ साल पूर्व भूमिगत कालमा मन मिल्ने पार्टी नेताहरु बीच एउटा चर्चा हुन्थ्योरे । वामदेव गौतमलाई पार्टीको मूल जिम्मेवार सुम्पियो भने पार्टी लुलो हुन्छ । केपी ओलीलाई सुम्पियो भने पार्टी धुलो हुन्छ । अहिलेको चर्तिकला हेर्दा होइन भन्न सक्ने अवस्था छैन । त्यसैले असहिष्णुता र दम्भ त्यागेर तिमि प्रति लागेको पार्टी धुलो हुन्छ भन्ने आरोपलाई मिथ्या सावित गरिदेऊ ।

लेखक लम्साल नेपाल टे«ड यूनियन महासंघ (जिफन्ट) केन्द्रीय अनुशासन निरीक्षण आयोगका प्रमुख हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…