काठमाण्डाैं । राज्यको तर्फबाट ज्येष्ठ नागरिकका लागि सेवा सुविधा वृद्धि हुँदै गए पनि सामाजिकस्तरमा भने उनीहरूप्रतिको सम्मानमा भने कमी हुँदै गएको पाइएको छ । अक्टोबर १ मा ३१औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइरहँदा नेपालमा पनि आज विविध कार्यक्रमसहित यो दिवस मनाइँदै छ ।
नेपालमा गत डेढ दशकदेखि नेपालमा ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो । सरकारले यस वर्षको ज्येष्ठ नागरिक दिवसमा ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने नारा तय गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार पछिल्लो केही वर्षदेखि ज्येष्ठ नागरिकका हक अधिकारमा उल्लेख्य प्रगति हुँदै गएको दाबी गरेको छ । यद्यपि ‘बूढो भयो सब रङ्ग गयो, आँगन भयो परदेशी’ भनेझैं समाजमा असम्मान बढिरहेको छ ।
ज्येष्ठ नागरिकसम्बन्धी अध्ययन र अनुसन्धान गर्दै आएको संस्था एजिङ नेपालका अनुसार पहिला एक महिनामा ज्येष्ठ नागरिकको बेवारिसे शव पाँचदेखि छवटा मात्र भेटिन्थ्यो अहिले सो सङ्ख्या बढेर २० देखि २५ पुगेको छ । पछिल्लो समयमा ज्येष्ठ नागरिकप्रति गरिने दुव्र्यवहार तीव्र रूपमा बढ्दै गएको पाइएकाे छ । ज्येष्ठ नागरिक समाजका मार्गदर्शक हुन्, उहाँहरूको सीप र ज्ञानलाई राज्यले उचित सदुपयोग गरी समाजमा ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बाँच्च पाउने वातावरण बनाउने जिम्मेवारी घरपरिवार, समाज र सरकार सबैको हो ।
ज्येष्ठ नागरिकमाथि आपसी विश्वासघात, शारीरिक वा मनोवैज्ञानिक क्षति, आफैँले आफैँलाई अविश्वास गर्नु, आर्थिक बेवास्ता, यौनजन्य दुव्र्यवहार, ज्येष्ठ नागरिकलाई बेवारिस पार्नु र अधिकारका लागि सडकमा उत्रन बाध्य हुनु प्रमुख समस्याका रूपमा देखाएको छ । सरकारको तर्फबाट २०५१ सालमा मासिक एक सय रुपियाँबाट सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता अहिले मासिक चार हजार रुपियाँ पुर्याइएको छ । त्यस्तै ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरी सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिककालागि दुईवटा सिट आरक्षण गरिएको भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था रहेकाे छ । यद्यपि त्यसको कार्यान्वयन राम्रोसँग भएको पाइन्न ।
सार्वजनिक स्थानमा ज्येष्ठ नागरिकले राजस्व तिर्दा मठमन्दिरमा लाइन बस्न नपर्ने व्यवस्था कार्यान्वयन हुँदै गएको र सरकारी अस्पतालमा ज्येष्ठ नागरिकको उपचार गर्दा औषधोपचारमा सहुलियत प्रदान गर्ने कार्य कार्यान्वयनमा आएको छ । सरकारले ज्येष्ठ नागरिकमैत्री नीति निर्माण गरी कार्यान्वयन गरिरहेको छ । देशभर २११ वटा स्थानीय तहले आआफ्नो पालिकाभित्र ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण गरेका छन् । स्थानीय तहले समयसमयमा विभिन्न धार्मिक स्थलको तीर्थाटन गराउने गरेका छन् । ठाउँठाउँमा ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र स्थापना गरिएका छन् ।
ज्येष्ठ नागरिकका विभिन्न समस्यालाई क्रमिक रूपमा सरकारले सम्बोधन गर्दै गएको छ । यस वर्षदेखि ज्येष्ठ नागरिकलाई विद्युतीय प्रविधिको पहुँचमा विस्तार गर्नका लागि मोबाइलमा ज्येष्ठ नागरिकमैत्री छुट्टै एप निर्माण गर्ने प्रक्रिया अगाडि बढेको छ । लेखपढ गर्न नजान्ने ज्येष्ठ नागरिकलाई सुनेर जानकारी लिन सकिने व्यवस्था गर्न लागिएको छ । ज्येष्ठ नागरिकका लागि अहिले सरकारले प्रदान गरेको सेवा सुविध अपुग भएकाले उक्त सेवा सुविधा वृद्धि गर्दै जानुपर्ने जेष्ठ नागरिकका क्षेत्रमा काम गर्नेहरू बताउँछन् । बुढ्यौली जीवनलाई क्रियाशील र प्रभावकारी बनाउने जिम्मेवारी घरपरिवार, समाज र राष्ट्रको हो । अहिले छोरा–बुहारीले आफ्ना आमाबुबालाई पाल्न सक्ने अवस्था हुँदाहुँदै वृद्धाश्रममा राख्ने गरिएको छ, यस्तो कार्यको सरकारले अनुगमन गरेर त्र्नुयस्पता छाेराबुहारीहरूलाइ सचेतना दिनु पर्ने देखिन्छ ।
ज्येष्ठ नागरिक मीठो खाने राम्रो लगाउने धन सम्पत्ति, कमाउनेभन्दा पनि माया, ममता, मिजास, सहानुभूति र सहयोग खोजीमा रहन्छन् । राज्यले त्यस्तो वातावारण निर्माण गर्न पर्ने देखिन्छ । अहिले नेपालको कुल जनसङ्ख्याको करिब नौ प्रतिशत ज्येष्ठ नागरिक रहेका छन् । हरेक वर्ष साढे तीन प्रतिशतका दरले ज्येष्ठ नागरिकको सङ्ख्या वृद्धि हुँदै गएको छ ।