–लक्ष्मी पौड्याल
२०७८ साल भाद्र १७ गते बुबाको १३ दिनको काम सकिएपछि लगत्तै घरमा भगवत पुराण गर्ने कुरा तय भएको थियो। बैनी विभा हस्पिटलको जागिर र म पनि लामो समय अफिस नगएकाले भागवत पुराणमा नबसी भोलिपल्टै काठमाडौं फर्किने तय भयो । हामी चार जना म, मेरो श्रीमान, भाइ बिवेक र बैनी विभा काठमाडौं आउने, सीता बैनी र पर्वती दिदी पनि सँगै बुटवलसम्म आउने तय भए अनुसार १८ गते भाद्र बिहान ६ : ३० बजे घरबाट हिँडियो।
गाडी हामीले रिजर्व गरेको जस्तो नै थियो । ड्राइभर भाइले सिट भएकाले थप दुई जना गाडीमा राख्नु भएको थियो। दुई दिन अगाडि ३ दिनसम्म पहिरोको कारणले बुटवल गुल्मीको बाटो बन्द र अस्तव्यस्त थियो। बुटवल पुगिन्छ कि बाटोमा बस्नुपर्ने हो भनि मनमा कुरा खेलिरहेका थिए। त्यसैले गाडी ट्वाइलेटको लागि पाल्पा तानसेनमा रोकेको बाहेक सरासर कहीँ नरोकि बुटवल आयौँ । बाटोमा कहीँ डिस्टर्भ पनि भएन, सजिलोसँग नरोकिकन बुटवल बिहान ११ बजे तिरै आइपुगियो।
भैरहवा काठमाडौंको प्लेनको टिकट सिद्धबाबाकाे अफ्ठ्याराे काटेपछि लिने भन्ने थियो किन कि बाटोको केही भर थिएन, तर त्यस्तो भएन। बाटोमा अवरोध नभएपछि भैरहवा काठमाडौंको प्लेनको टिकट बुझेको दिउँसोको बुक पूरा रहेछ, चार जनालाई एउटै प्लेनमा टिकट पाइएन, बेलुका ५ : १५ को श्री एयरमा एक जना र ७ : १७ को बुद्ध एयरमा तीन जनालाई टिकट काटियो।
बुटवल शंखरनगर दिदीकोमा गयौं । खान खाने र दिनभरिको बसाई त्यहीँ नै भो। चारै जनासँगै भैरहवा एयरपोर्टमा आयौं। सबैजसो प्लेनहरु समयमा नउढेकाले एयरपोर्टमा निकै भीडभाड थियो। हाम्रो पनि ७ : १५ को उडान लगभग १ घण्टा जति ढिला भयो । काठमाडौं घर आइपुग्दा लगभग रातिको १० बजिसकेको थियो ।
मैले शरीरमा दुखान र थकान भएकाले बाटोमा २ पटक सिटामोल खाएको थिएँ। घर त आइयो तर शरीरमा आलस्य थियो, जाँगर केही थिएन खान मन पनि थिएन, एक गिलास दूध र जाँगर नलागि नलागि थोरै खान खाएर सुतेँ। मेरो योजना शुक्रबार काठमाडौं पुग्ने, शनिवार र आइतवार दुई दिन थकान मेटेर सोमवारबाट अफिसको नियमित काम शुरु गर्ने थियो।
शनिवार बिहान उठ्दा शरीरमा दुखान र थकान उत्तिकै थियो, जाँगर थिएन, दिनभर घरमै सुतेर बित्यो। शनिवार बिहान वाग्मती सफाइमा पनि जान सकिन। आइतबार अलि जाँगर चल्छ कि भनेको केही शुरनै छैन। बुबाको १३ दिनको काममा बसेको शारीरिक र मानसिक थकान र तनाव त थियो नै, काजक्रियाका विधिविधान, दाजु, भाउजू, आमाहरु कृयामा बसेकोले केही व्यवस्थापनको पाटो पनि हेर्न पर्ने थियो आदि आदि।
खानपिनको तालमेल पनि हुने कुरा भएन। शरीरमा थकानसहित हल्का खोकी पनि थियो, साहेद दैनिक चिसो पानीले नुहाएर होला, यस्तै खाले आफ्ना अड्कलबाजी मनमा भइरहेको थियाे। यसो विचार गरेँ एकजना फिजिसियनला देखाउन पर्यो। बिहान एभरेष्ट हस्पिटल बानेश्वरमा फोन गरे, ११-३ बजे सम्म गर्तौला डा. साब आउनुहुन्छ भन्ने थाहा भयो।
मलाई हस्पिटलमा गएर धेरै बेर कुरेर बस्ने जागर थिएन, डा. आएपछि बिरामीको चाप हेरेर हस्पिटल जाने तयारीमा थिए। ११ बजेपछि फोन गरेँ, रिसेप्सनमा बोल्ने बैनीले डा. साब आउदै हुनुहुन्छ, अनि तपाईंलाई के भएको हो भन्नुभयो, मैले भने जेनेरल चेकअपको लागि हो, अलि अलि खङ खङ छ, शरीर हल्का दुखेको छ। बैनीले भन्नुभयाे, पीसीआर टेस्ट गर्नुभएको छ ? पीसीआरको रिपोर्ट नभइ त डा. साबले हेर्नुहुन्न। मैले भनेँ २ हप्ता पहिला त गराएको थिए नेगेटिभ थियो, यो एक दुई भित्र गराएको छैन।
बैनीले फेरि भन्नुभयाे एन्टिजेन टेस्ट गरे पनि हुन्छ, यहाँ पहिला एन्टिजेन टेस्ट गरेर डा.साब लाई जचाउँन सकिन्छ। यो सम्वादपछि मैले फोन राखेँ। मैले दुई डोज खोप लगाइ सकेको थिएँ। खोप लगाएकोलाइ एन्टिजेन टेस्टमा पोजेटिभ तर पीसीआर नेगेटिभ आएका धेरै घटना सुनेको थिएँ, मेरो घरमै माइलो दाजुलाई पनि त्यस्तै भएको थियो। अब मैले फिजिसियनलाई देखाउनका लागि पहिला पीसीआर गर्न पर्ने भयाे।
कहाँ गर्ने भनेर गुगल सर्च गरेँ, सरकारले स्वीकृती दिएको मध्ये स्टार हस्पिटलमा गएर नमूना दिएको राति ९.३० बजे अनलाइनमा रिपोर्ट राखेको रहेछ, त कोभिड पोजेटिभ सीटी भ्यालु २४.६ रहेछ। हतार हतार गुल्मी दाईलाइ फोन गरेँ, घरमा कसैलाई केही लक्षण छ कि भनेँ, घरबाट सँगै आएको बुटवल तामनगर बैनीलाई गरेँ, उनले अहिलेसम्म त केही भएको छैन भनिन्, काठमाडौं सम्मको सँगै यात्रा गर्ने बिभा बैनीलाई फोन गरेँ, उठेन, भाइलाई फोन गरेँ, भाइले भने मलाई त केही भएको छैन भन्याे ।
विभाले एकदम गलेँ, थकाइ लाग्यो खाएको थाल माझ्न पनि सकिनँ, माझ्नु है भनेर सुत्न गइ भने। धेरै राति भइसकेकाले बुटवल दिदीलाई भोलि पल्ट बिहान फोन गरेँ, केही भएको छैन भन्नुभयाे। गुल्मी घर र बुटवल दिदी बहिनीलाई केही लक्षण नदेखिएकाले अलि ढुक्क त भो तर सँगै काठमाडौं यात्रा गरेकालाई के हुने हो मनमा डर डर लागिरहेको थियो।
भोलिपल्ट बिहान डा. रोशन कुमार झासँग सल्लाह लिने कुरा भयाे । उहाँसँग कुरा गरेँ, उहाँको क्लिनिक सोल्टीमोड रविभवनमा रहेछ । ८ बजेभित्र आइपुन्न भन्नुभयाे । त्यही अनुसार म, श्रीमान र छोरी तीनै जना डा. रोशनस्गँ जचाउँने काम भयो। डाक्टर सा'ब असाध्यै राम्रो हुनुहुँदोरहेछ, बिरामीको कुरा सुन्ने र काउन्सिलिङको पाटोमा। डाक्टर सा'बको सल्लाह अनुसार मैले ६ किसिमको रगत जाँच गर्न दिए, mild Covid हुँदा खाने औषधि पनि सुझाउनु भयाे ।
छोरी र श्रीमानको पीसीआर टेष्ट गर्न उहाँले सुझाउनुभयाे । मेरो रगतको नमूना दिएर, श्रीमान र छोरीको कोभिडको पीसीआर टेस्ट गर्न त बाँकी नै थियो। झा डाक्टर सा'बको क्लिनिकमा पीसीआर टेष्ट त हुने रहेनछ तर बोलाएर पीसीआर टेष्ट गर्ने, अन्य ल्याब र घरमै आएर टेष्ट गर्ने सम्मको सम्पर्क नम्बर रहेछन्।
उपलब्ध नम्बरमा सम्पर्क गर्दा त्याहाँ आएर पीसीआर गर्न १ : ३० पर्खनु पर्ने भएपछि, क्रिस्टल ल्याब सिनामंगलमा रु १५०० मा तुरुन्त टेष्ट हुन्छ भन्ने थाहा भयो । अनि हामी सिनामंगलतिर लाग्यौं, गाडी पार्किङ रहेनछ, पार्क गर्ने ठाउँ खोज्दा खोज्दै बैनी बिभालाई पीसीआर टेष्ट भयो भनेर फोनमा सोधेँ । सिभिल हस्पिटलमा गर्न लागेकाे र एक हजार शुल्क लाग्ने बताएपछि हामी सबै जना त्यतै लाग्याैं । छोरी, श्रीमान, भाइ विवेक र बैनी बिभा चार जनाकाे पीसीआर टेष्ट गर्न दिएर फर्कियाैं।
बाटो भरी मनमा एकतिर आधारभूत स्वास्थ्य मौलिक हक रुपमा संविधानमा छ, अर्कोतिर कोभिडको पीसीआर टेष्टको रकम हस्पिटलपिच्छे किन फरक भएकाे होला ? हिजो मैले स्टार हस्पिटल सरकारबाट स्वीकृत पाएको जहाँ धेरै जना विदेश जाने मानिसहरू हातमा पासपोर्ट लिएर पीसीआर टेष्टको लाइनमा थिए, त्यहाँ टेष्टको रु २०००, क्रिष्टल ल्बाव सिनामंगल रु १५०० र सिभिल हस्पिटलमा रु १०००।
सिभिल हस्पिटल त सरकारी भयो र सस्तो भएहोला तर एउटै जाँच पनि प्राइभेटबीच फरक फरक किन ? मनमा यो पनि व्यापार नै भएछ भन्ने लाग्यो। म आफै थाहा नपाएर रु २००० तिरेँ । यस्तै मारमा अरु कति छन् होला कति ? केही डाक्टर सा'ब र नजिकको व्यक्तिहरुलाई यो कुरा सुनाएँ । खै यस्तै छ जताततै, प्राइभेटले आफ्नो लगानी उठाउन होला सरकारबाट नियन्त्रण छैन भन्ने आयो।
मेरो त कोभिड पोजेटिभ थियो नै, बाँकी मसँगै यात्रा गरेका भाइ, बैनी र श्रीमानको पनि कोभिड पोजेटिभ देखियो । अब दैनिकी उथलपुथल भयो, आइसोलेसनमा बस्ने, डाक्टरको सल्लाहअनुसार औषधि खाने, झोलिलो पोषिलो खाना खाने, २ दिन बिराएर रगत जाँच गर्ने आदि आदि।
खोकी लागि रहेको थियो । शरीरमा जाँगर कत्ति पनि थिएन, खान मन पटक्कै नलाग्ने थियो मलाइ। तर मै खानालाई औषधिको रुपमा पेलेरै खाइ रहेँ। अलि अलि खोकी त थियो । शरीरमा जाँगर कम भएपनि दिनानुदिन अलि ठिक भएको महसुस भएको थियो।
उता मेरो श्रीमानलाई भने एकदिन हल्का ज्वरो देखियाे । दुई दिन जति जाँगर छैन भन्नुभयो । अरु खास लक्षणहरू देखिएन, खाना पनि राम्रै खाइरहुनभएकाे थियाे । भाइ विवेकलाई खासै असर देखिएन। बैनी बिभालाई केही दिनसम्म अलि अलि गाह्रो भयो, अनि ठिक भयो।
हामी सबै डाक्टरको सल्लाह अनुसार औषधि र खानपिनमा ख्याल गरी १४ दिन आइसोलेसनमा बितायौं। कोभिड पोजेटिभ देखिएको १४ दिनको दिन रगतको रिपोर्टसहित रोशन डाक्टर साहेबको क्लिनिकमा गयौं। सबै रिपोर्ट हेर्नुभयो, त अब ठिक भयो, पोसिलो खाने, आराम गर्ने, ३ महिना जति रगत पातलो बनाउने औषधि एस्प्रिन खानु, अरु केही गर्न पर्दैन भन्नुभयो । सबै जना खुशी हुँदै क्लिनिकबाट फर्कियाैं।
भोलिपल्टबाट मैले अफिसियल केही महत्वपूर्ण भर्चुवल मिटिङहरुमा जोडिन थालेँ । घरमै बसेर केही कम्प्युटरमा काम गर्न लागेँ। बोल्दा अलि खोकी लाग्थ्यो, बोल्ने काम अलि कम गरेको थिएँ। अब ठिक हुन लाग्यो भन्ने लाग्न लागेको थियो। तर तीन दिनपछि मलाई खोकी बढ्न थाल्यो, शरीर भरी सियाेले रोपे जस्तो सिल्का हान्न थाल्यो । ज्वरो बढ्याे ।
अक्सिजन नियमित हेरिरहेको थिएँ, अक्सिजनको लेबल भने ठिक थियो। खोकीको औषधि र सिटामोल खाएर ठिक हुन्छ कि भनि एकदिन सुतेँ। अफिसका अलि अलि सुरुवात गरेका काम पनि बन्द गरेँ। तर ज्वरो १०१ भन्दा बढी, खोकी र शरीर दुखाइ बढ्न थाल्यो, निको हुने चाल देखिएन। मलाई लाग्यो शरिरमा केही गडबडी छ, डाक्टरको सल्लाह लिनुपर्ने भयो।
कोभिड पछिको छातिमा केही कम्प्लिकेसन आयो कि छाति रोग विषेशज्ञ साथै शिक्षण अस्पतालको कोभिड संयोजक डाक्टर सन्त कुमार दासलाई देखाउने पारिवारिक सल्लाह भयो। उहाँलाई कोभिड सम्बन्धी प्रवचनमा वाग्मती सफाई र काठमाडौं रुरुको कार्यक्रममा ल्याएका थियौं, उहाँको प्रवचन र व्यावाहारिक अनुभवबाट म प्रभावित थिएँ।
ग्रिनसिटी अस्पतालमा डाक्टर दास बेलुका ४ : ३० बजे आउनुहुन्छ भन्ने थाहा पाएपछि बेलुका ग्रिन सिटी अस्पताल गएँ। डाक्टर साहेबले पहिलाका सबै रिपोर्ट हेरेपछि भन्नुभयो ज्वरो आउन नहुने, एक पटक सबै टेष्ट गरौं। फेरि ६-७ थरि रगतको जाँच, छातिको एक्सरे, पिसाब जाँच आदि आदि। सिटामोल र खोकीको औषधि लिएर बाँकी ल्याबको रिपोर्ट भोलिपल्ट आउने र डाक्टरलाइ देखाउने भनि बेलुका घर फर्कियाैं।
भोलिपल्ट बिहान मलाई अलि च्यापिरहेको थियो । ज्वरो १०२ भन्दा बढी, शरीरमा दुखाई र खोकी उस्तै। मलाई ल्याबको रिपोर्ट हेर्ने हतार थियो। हस्पिटलमा अनलाइन रिपोर्ट पठाउन केही सिस्टमले काम गरेको छैन भन्नुभयो। अरु नभए पनि दुई वटा CRP, D-Dimer को रिपोर्ट भाइवरमा पठाएर सहयोग गर्न अनुरोध गरेँ, रिपोर्ट आयो दिउँसो २ बजेतिर।
रिपोर्ट हेरेको त दुबैको रिजल्ट रेन्जभन्दा तलमाथि रहेछ। पहिला पनि यि टेष्टहरु तीन पटक गरिसकेकाले मलाई तुलना गरेर हेर्न सजिलो भयो। केही गडबड छ भन्ने अनुमान भयो। तुरुन्त डाक्टर हरिहर खनाल दाइलाइ फोन गरे। दाइले भन्नुभयाे, यो रगतको रिपोर्ट हेर्दा भर्ना हुनपर्ने हुनसक्छ, कहाँ हुने घर सल्लाह गर्नपर्यो ।
आज शुक्रबार हो आज तुरुन्त भर्ना हुनपर्ने भए अहिले नै तयारी गर्नपर्छ, थप जटिलता आउनदिनु हुँदैन, छातिको रिपोर्ट हेरेपछि डा. सन्तले के भन्नुहुन्छ त्यही गर्ने तर भर्ना हुनुपरे पनि तुरुन्त भर्ना हुनका लागि हस्पिटल खोज्ने, बेड छ छैन बुझ्न पर्यो भन्ने भयो।
छातिको एक्स रेको रिपोर्ट, सबै टेष्टको रिपोर्ट डा. सन्तलाई देखाएर जटिलताको आँकलन गरी भर्ना हुनु पर्ने, नपर्ने, भर्ना हुनपर्ने भए, हस्पिटल र बेडको उपलब्धता बुझ्ने काम प्राथमिकतामा आयो। अब जति सक्दो छिटो डाक्टरलाई भेट्न पर्ने थियो।
४ : ३० बजेबाट डा. सन्तले ग्रिन सिटीमा आउनुहुन्थ्यो ४ बजे नै हस्पिटल पुग्ने गरी घरबाट हिँडियो। ल्याब र एक्स रेको सबै रिपोर्ट लिएर डाक्टरको पर्खाइमा बसियो । हस्पिटलमा धेरै भिडभाड थियाे । बल्ल ५ : ३० बजे पालो आयो। डाक्टर साहेबले सबै रिपोर्ट हेरेपछि छातिको एक्स रे ठिकै छ, तीन हप्तालाई घरमै बसेर खाने औषधि चलाउनु पर्यो, एउटा औषधि अहिले नै केही खाएर तुरुन्त खानु, ७२ घण्टाभित्र ज्वरो आए तुरुन्त हस्पिटल आउनु भन्नुभयाे । हस्पिटल तुरुन्त भर्ना हुने कुराबाट छुटकारा मिल्यो।
सञ्चाे नभएर डाक्टरको सल्लाहअनुसार चलेको आज ३० दिन भएछ, जीवनमा पहिलो पटक यति लामो समयसम्म सन्चो नभएर सुतेकाे घटना भयाे । थप औषधि खाएको आज आठ दिन भयो। यो बीचमा ज्वरो आएको छैन, खोकी निकै कम भएको छ। तर औषधिको साइडईफेक्ट होकी, खुट्टाको पैताला आगोको भुरोमा राखे जस्तो हुन्छ, कमजोर महसुस भएको छ । बेला बेलामा पसिना आउँछ, हातको नशामा केही दुखान छ, औषधिको कारणले सुगर अलि बढेछ, मस्त निद्रा नलाग्ने तर झुम्म हुने जस्ता लक्षणहरू देखिइरहेका छन्।
सुखद कुरा खाना रुचेको छ । ज्वरो बढेकाे छैन, पूरा आराम गरिरहेको छु, छोटा छोटा योगा अभ्यास गरिरहेको छु। अहिले चलिरहेको औषधि अझै दुई हप्ता खान बाँकी नै छ । देखिएका साइडइफेक्ट कम गर्नुछ। छिट्टै निको हुने आशामा छु, तर कहिले भनेर भन्न गाह्रो छ।
जीवनमा पहिलो पटक एक महिना बिरामी भएर घर र हस्पिटल गरेको, घर र विस्ताराकाे चौघेरभित्र बसेको अनुभव लिइरहेको छु। यो अवधिमा मेरो परिवार, अफिस, साथी, शुभचिन्तकको सहयोग, माया र सद्भावले निको हुनको लागि उर्जाको काम गरेको अनुभूति भएको छ।
मेरो यो अनुभवले यहाँहरु पनि सहयोगी हुनेछ भनेर धेरै पटकको जमर्को पछि मेरो अनुभव, भोगाइ र गराइ यहाँहरु सामु पस्कन सफल भएकाे छु ।
समग्रमा के भन्न चाहनुहुन्छ भने कोभिडको केस आफूले मात्र सतर्कता अपनाएर हुने रहेनछ । यसका जटिलता व्यक्ति पिच्छे फरक हुने रहेछन्। कोभिड पछिको कम्प्लिकेसन पनि देखिने रहेछ । लक्षणको आधारमा उपचार हुने भएकाले जटिलता र पूर्ण स्वस्थ हुने आँकलन गर्न अलि गाह्रो रहेछ।
तपाई हामी सबै सचेत र सतर्क रहौं । सुझाएका मापदण्ड सबैले पालना गरौं। कोभिड केही हाेइन रहेछ नभनाैं ।यसको भुमरी र जटिलतामा फसेपछि निस्कन निकै मेहनत गर्नुपर्ने रहेछ ।