एजेन्सी । चीनले जैविक विविधताको संरक्षणका लागि ठूलो सहयोग गरेको र त्यसमा सार्थक योगदान गरेको संयुक्त राष्ट्र संघकी एक अधिकारीले बताउनुभएको छ । चीनले ल्याएको वातावरणीय सभ्यता सम्बन्धी दर्शन ‘विश्वव्यापी जैविक विविधताको लक्ष्य हासिल गर्न सबै देशका लागि महत्वपूर्ण’ रहेको उहाँको भनाइ छ ।
‘वातावरणीय सभ्यता रमाइलो अवधारणा हो । अनि यो किन रमाइलो छ त ? किनकी यसले समाज र प्रकृति बीचको सम्बन्ध हेर्छ,’ जैविक विविधता सम्बन्धी महासन्धिकी कार्यकारी सचिव एलिजाबेथ मारुमा म्रेमाले बताउनुभयो ।
यस अवधारणाले ‘विभिन्न क्षेत्र तथा विभिन्न विभागमा जैविक विविधता मूलधारको विषय भएको भनि देखाएको छ र सबै मुलुकले विश्वव्यापी जैविक विविधताको लक्ष्य हासिल गर्नका लागि पनि यो महत्त्वपूर्ण छ,’ उहाँले सिन्हवालाई हालै दिएको अन्तर्वार्तामा बताउनुभयो ।
चीनको दक्षिण पश्चिममा रहेको शहर कुनमिङमा जैविक विविधता सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलन (कोप १५) को १५औं बैठकमा सहभागि हुन म्रेमा चीन आइपुग्नुभएको हो ।
‘वातावरणीय सभ्यता ः पृथ्वीमा सबै जीवको साझा भविष्य बनाउने प्रयास’ शीर्षकको यो बैठक वातावरणीय सभ्यता विषयमा संयुक्त राष्ट्रसंघले आयोजना गरेको पहिलो विश्वव्यापी सम्मेलन हो ।
बैठकको पहिलो भाग असोज २५ गते शुरू भएको हो । त्यसमा सहभागिहरूले भविष्यमा जैविक विविधताको संरक्षणका लागि खाका तयार पार्न ‘२०२० पछिको विश्वव्यापी जैविक विविधता संरचना’को सकिक्षा गर्ने छन् । दोस्रो भागको आयोजना सन् २०२२ को पहिलो ६ महिनाभित्र व्यक्तिहरूको सशरीर उपस्थितिका साथ गरिनेछ र त्यसमा महत्त्वाकांक्षी तथा व्यावहारिक संरचनाभित्र रही बृहत्तर र गहन सम्झौता गरिनेछ ।
‘यस संरचनाले विगत १० वर्षमा हाम्रो कार्यान्वयनलाई निर्देशन गरिरहेको आइची जैविकविविधता लक्ष्यलाई वास्तवमा विस्थापित गर्नेछ,’ उहाँले भन्नुभयो ।
बैठकको पहिलो भागमा कुनमिङ घोषणालाई अंगीकार गरिने अपेक्षा म्रेमाले राख्नुभएको छ । त्यसले ‘जैविक विविधता संरक्षणको महत्त्वका विषयमा गति प्रदान गर्न’ तथा ‘जैविक विविधताको क्षतिलाई तत्कालै सम्बोधन गर्न आवश्यक छ’ भनि देखाउन सहायता गर्ने उहाँको भनाइ छ।
विगत कैयौं दशकदेखि ‘चीन विश्वव्यापी जैविक विविधताको सुदृढ समर्थक तथा योगदानकर्ता रहिआएको छ’, उहाँले बताउनुभयो ।
जैविक विविधता सम्बन्धी महासन्धिको पक्षराष्ट्र बन्ने आरम्भिक लहरका मुलुकमा चीन पर्ने म्रेमाले उल्लेख गर्नुभयो । चीन उक्त महासन्धिका दुई आलेखहरू जैविक सुरक्षा सम्बन्धी आलेख र पहुँच तथा लाभलाई साझा गर्ने काम सम्बन्धी नागोया आलेखको पक्ष राष्ट्र हो ।
यसबाहेक ‘चीन विशेष गरी सन् २०१९ देखि महासन्धि र आलेखहरूको केन्द्रीय बजेटमा योगदान गर्ने सबभन्दा ठूला दातृ राष्ट्रमध्ये एक हो’, म्रेमाले भन्नुभयो ।
कोप १५ सम्मेलनको आयोजना गरेर ‘चीनले जैविक विविधताको सवालमा नेतृत्व तथा प्रतिबद्धताको स्पष्ट प्रदर्शन गरेको’ उहाँको भनाइ छ ।
म्रेमाले विगतका दशकहरूमा जैविक विविधताको जगेर्ना तथा संरक्षणका लागि चीनले गरेको पुनरबहाली सम्बन्धी प्रयासलाई पनि उच्च मूल्यांकन गर्नुभएको छ । चीनका यी प्रयासले भविष्यमा गर्नु पर्ने कामहरूको राम्रो नमूना प्रस्तुत गरेको र अन्य मुलुकले पनि यसलाई अनुकरण गर्न तथा सिक्न सक्ने उहाँको भनाइ छ ।
‘चीन सरकारले जैविक विविधताको क्षतिलाई रोक्न तथा उल्ट्याउनका लागि दीर्घकालीन उपाय अवलम्बन गरिरहेको छ । त्यसका लागि बनाइएका विभिन्न क्षेत्रका टोलीहरूले सामाजिक तथा आर्थिक जटिलतालाई सम्बोधन गर्ने उद्देश्यका साथ प्रमाणमा आधारित समाधान उपलब्ध गराउन सक्छन् । साथै तिनीहरूले समावेशी तथा सुगम नीतिगत दिशाहरू पनि उपलब्ध गराउन सक्छन् । जसमा वातावरणीय लक्ष्मणरेखा नीति पनि पर्छ । यसले भविष्यका असर तथा झड्काहरूलाई सहन सक्ने उत्थानशील वातावरण निर्माण गराउनेछ,’ उहाँले बताउनुभयो । ‘प्रकृति तथा मानवको एकता सम्बन्धी चिनियाँ अवधारणा अन्य मुलुकले अनुसरण वा अनुकरण गर्नका लागि राम्रो उदाहरण बन्ने हाम्रो आशा छ,’ मेम्राले बताउनुभयो ।
जैविक विविधता संरक्षणका चुनौतिको विषयमा बोल्दै म्रेमाले कोभिड–१९ महामारीले हाम्रो स्वास्थ्य तथा जैविक विविधता दुबैलाई असर पारेकाले त्यो ‘प्रमुख चुनौति’ भएको बताउनुभयो ।
सन् २०१९ मा सार्वजनिक भएको संयुक्त राष्ट्रसंघीय प्रतिवेदनले जैविक विविधताको क्षतिका पाँच प्रत्यक्ष कारणहरूको पहिचान गरेको थियो, जसमा समुद्र र जमीनको बदलिँदो उपयोग, जीवहरूको ठाडो शोषण, जलवायु परिवर्तन, प्रदूषण तथा अमौलिक प्रजातिको अतिक्रमण रहेका थिए ।
जैविक विविधताको क्षति रोक्नका लागि सारा संसारले जमीन र महासागरहरूलाई प्रभावकारी रूपमा संरक्षण गर्नु पर्ने, दिगो उपभोग तथा उत्पादनको सुनिश्चितता गर्नु पर्ने, प्रकृति संरक्षणमा सबै व्यक्तिलाई सहभागि गराउने सुनिश्चितत गर्नु पर्ने र सरकारहरू तथा सबै सरोकारवालाहरूका बीच सहकार्य बढाउनु पर्ने आवश्यकता रहेको म्रेमाले बताउनुभयो ।
‘प्रकृतिसँगको सुमधुर सम्बन्ध सुनिश्चित गर्ने परिवर्तनकारी कार्यका लागि हामी जिम्मेवार छौं । त्यसैले प्रकृतिसँग हाम्रो सम्बन्धमा परिवर्तन गर्नुपर्छ,’ उहाँले बताउनुभयो ।