दुई दिन लम्बिएको नेकपा एमालेको महाधिवेशन आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सर्वसम्मत पार्टी अध्यक्षमा दोहोरिने आकांक्षा राखेर अध्यक्ष केपी शर्मा ओलीले नै सबै पदमा सर्पसम्मतिको प्रस्ताव राखेपनि त्यो स्वीकार्य भएन । लोकतान्त्रिक विधिलाई अस्वीकार गर्देै आफूले चाहेका सबै परुन् भन्ने उद्देश्यले पार्टी नेतृत्वले दुई दिनसम्म सर्वसम्मतिको रटान लगायो तर भीम रावल लगायतका केही नेताहरुले पार्टी विधानले दिएको अधिकार कुनै पनि बहानामा कुण्ठित गर्न पाइदैन भन्ने अडानका नछोडेपछि दुई दिनसम्मको ओलीको कसरत त्यसैखेर गयो । जसको परिणाम स्वरुप अन्ततः माहोल निर्वाचनमय बन्न पुग्यो ।
प्रतिनिधि छनौटदेखि नै सिण्डिकेट गरेको कारण स्वभाविक रुपमा अध्यक्षमा पुनः ओली नै निर्वाचित भए । तर उनका प्रतिष्पर्धी भीम रावलको अडानले केही हदसम्म भएपनि ओलीको निरंकुश प्रवृत्ति र पार्टी पंक्तिमा रहेको नेतृत्वले भनेपछि जे पनि हुन्छ भन्ने सोंचलाई परास्त गर्न सफल भयो । यसले पार्टी जीवनका लागि राम्रो र सफल पक्ष रहेको आफूले अनुभुति गरेको पराजित नेता रावलले बताउछन् । महाधिवेशन प्रतिनिधि छनोट गर्दा गरिएको जबर्जस्ती र महाधिवेशनमा देखाइएको हरेक किसिमको हतकण्डाका बाबजुत जति मत आएको छ, त्यो पार्टीभित्र राम्रो संस्कृति बसाल्न पर्याप्त हुने नेता रावल लगायतका नेताहरुको तर्क आफैंमा गम्भीर छ ।
पार्टी अध्यक्ष ओलीले मैले भनेपछि जे पनि हुन्छ, सबैले मान्नै पर्छ र मान्छन् भन्ने प्रवृत्तिको विकास जसरी गर्देै जानुभएको थियो, त्यसलाई दशौ महाधिवेशनले चुनौति दिएको छ । यदि यो कुरालाई अध्यक्ष ओलीले सिकाइको रुपमा लिएर सबै विचार र पक्षलाई समेटेर जानुपर्छ भन्ने सोंच राखे उनको लागि मात्र होइन समग्र एमाले पार्टीलाई नै आगामी दिनमा लोकतान्त्रिकरण गर्देै जान सहयोग पुग्ने छ । तर अध्यक्ष ओलीले त्यसको गाम्भीर्यताको भने महसुश गर्नैपर्छ ।
भीम रावलले यदि आफू पराजित हुने डरले निर्वाचनमा जान अस्वीकार मात्रै गरेको भए ओलीले सबै पदमा सर्वसम्मति गरेरै छोड्थे । अर्थात अन्य नेता कार्यकर्तालाई पेलेरै जाने स्थिति थियो । तर रावलले गर्दा अन्य नेताहरुले पनि उम्मेदवारी दिन पाए । ओलीको प्रस्तावित सूचीमै नरहेका केही नेताले समेत केन्द्रीय कमिटीमा स्थान पाए । यसलाई पाटीभित्र भोलिका दिनमा अवश्य गम्भीर समीक्षा हुनेछ । हुन त यो एमालेका लागि मात्र होइन लोकतान्त्रिक पद्दतिमा खोलिएका सबै राजनीतिक दल र तिनका नेतृत्वका लागि समेत ज्वालन्त पाठ बन्नेछ । यसर्थ जति मत ल्याएको भएपनि यो महाधिवेशनमा रावल नायक सावित भएका छन् । पार्टीभित्र जन्मन लागेको तानाशाही र पार्टीभित्र हुर्कदै गएको नोकरशाही पद्दतिलाई चुनौति दिन रावल सफल भएका छन । सिद्धान्त र नीतिलाई भन्दा अहंतालाई मलजल गर्न खोज्ने ओलीको सक्कली अनुहार पनि एमाले पंक्तिले चितवनमा राम्रोसँग चिन्न पाए ।
महाधिबेशनमा भएको खर्च र आचार सहिता उल्लंघन जुन रुपमा खुलेआम रुपमा भएको देखियो त्यसले पनि देशकै सबैभन्दा ठूलो पार्टीकै नेतृत्वमा लोकतान्त्रिक संस्कारको विकास हुन बाकी रहेको देखाएको छ । ६ हजार कार्यकर्ता जम्मा गरेर गोदावरीमा बिधान महाधिबेशन गरेको एमालेले पदका लागि चितवनमा गएर बिधानमा संशोधन गर्ने काम गरयो ।
२०४९ सालको बिधान गोदावरीमा संशोधन गरियो । यदि चितवनमा पुगेर पनि सशोधन नै गर्नु थियो भने गोदावरीमा त्यो तामझाम र करोडौं खर्च किन गर्नुपरेको थियो भन्ने प्रश्न पनि बौद्धिक जगतमा त्यत्तिकै रुपमा उठेको छ । यसको जवाफ ओलीसँग इतिहासले क्रमशः माग्दै जानेछ । नयाँ नेतृत्वलाई बधाइ र शुभकामना ।