–डा. प्रकाश पौडेल (सर्जक/सर्जन)
म जन्मेको धरती, मैले टेक्ने माटो, मेरो मातृभूमि ।।।
यो त मनले भन्ने कुरा हो ।
बुद्धको जन्मथलो, सगरमाथाको छानो, शान्ति भूमि ।
यी सब गर्व गर्ने कुराहरु हुन्।
अवश्य पनि नेपाली हुनुमा गर्व लाग्छ,
सगरमाथा अग्लो हुँदा अनि
वाग्मती सङ्गलो हुंदा गर्व लाग्छ ।
मैले गर्व गर्न लायक , विश्व समक्ष छाती फुलाएर सुनाउने, देखाउने कुराहरु धेरै दिएको छ मलाई मेरो देशले ।।
तर मैले देशलाई के दिएको छु ?
देशको लागि के गरेको छु त ?
अथवा
के गरेको छैन जुन गर्नुपर्थ्यो ?
म नेपाली नागरिक भएर जन्मेकोमा नेपालले गर्व गर्ने कुरा मैले चाहिं के गरें त ?
आउनुहोस् एकपल्ट सोचौं।
हाम्रो दैनिक दिनचर्यामा देश कहाँ आउँछ वा आउँदैन?
हाम्रो प्राथमिकतामा देश कहाँ नेर पर्छ ? हामीले कुनै पनि दिन के यो कुरा सोच्छौ ? वा के यसरी सोच्छौं ?
आज मैले देश को निम्ति,
समाजको निम्ति
वा भनौं
अरुको निम्ति गर्नुपर्ने कर्तव्य के छ ?
"प्रत्येक मानिसको इच्छा स्वार्थबाट प्रेरित रहेको हुन्छ
क) व्यक्तिको हित गर्ने स्वार्थ ख) समाजको हित गर्ने स्वार्थ ।" - Jean-Jacques Rousseau
हामी कुन स्वार्थबाट निर्देशित छौं ?
क अथवा ख ?
स्वभावतः मानिसका इच्छा आकाङ्क्षाहरु केबल आफू र आफ्नाहरुको भलो र स्वार्थपरतामा सिमित हुन्छ ।
तर यदि उत्तर ख हो भने अनायास एउटा अर्को जटील प्रश्न यहाँनेर आउँछ । एउटा कल्कलाउँदो उमेरको युवाले देश र समाजको निम्ति के नै गर्न सक्छ र ?
एक पल्ट सोचौं त..
पृथ्वीनारायण शाह २० वर्षको उमेरमा राजगद्दीमा आसिन भए अनि, ४० मा वृहत नेपाल निर्माणमा सफल भैसकेका थिए।
Steve Jobs Apple Company को CEO २७ वर्षको उमेरमा भए ।
Eisenstein Theory of relativity प्रथम अवधारणा प्रस्तुत गर्दा १६ वर्षका अनि पुर्ण सिद्धान्त प्रतिपादन गर्दा २७ वर्षका थिए ।
हजारौं यस्ता उदाहरणहरु छन् । प्रायशः महान् युगान्तकारी परिकल्पना , परिवर्तन र आविष्कार प्पयुवाहरुले नै गरेका छन्।
युवा मस्तिष्क संघर्षशील हुन्छ । सिर्जनशील हुन्छ। अनि ज्यादा उर्जाशील हुन्छ । युवाहरु भविष्यका कर्णधार , संवाहक हुन्।
यो सत्य हो तर पुर्ण सत्य होइन । वास्तवमा हुनुपर्ने चाहिं यसो हो -
"आजको आवश्यकता .. नेतृत्वदायी युवापुस्ता।
आजको युवा ...आजको अगुवा ।"
युवाहरुको उर्जा आजको निम्ति उपयोगी भए मात्र आजको दिन सार्थक हुन सक्छ । आजलाई उज्यालो बनाउन सके भोलिको दिन निश्चय नैं उज्ज्वल हुनेछ।
" म एक्लैले गरेर के हुन्छ र ? "
"व्यवस्था नै खराब छ व्यक्तिले चाहेर के हुन्छ र ?"
यी र यस्तै यावत् प्रश्नहरुलाई एकछिन अर्कोतिर थाती राखेर गरेर एउटा प्रण गरौं । देशको लागि केही गरौं । जे सकिन्छ त्यही गरौं । जति सकिन्छ त्यति गरौं । जसरी सकिन्छ त्यसरी गरौं।
“if you can’t fly, then run,
if you can’t run, then walk,
if you can’t walk, then crawl,
But whatever you do, You have to keep moving forward.” -Martin Luther King Jr.
हामीहरुमा असीमित इच्छा-शक्ति र क्षमता हुँदा हुँदैं किन हाम्रो देश र समाज अझै विश्वव्यापी अर्थतन्त्र र सम्बृद्धीको प्रतिस्पर्धामा कोशौं पछाडि छ त ? यसको सही र सटीक उत्तर खोज्ने चेष्टा गरौं।
एउटा पुस्ताले केबल एउटा क्रान्ति , एउटा योगदान वा जिम्मेवारी वहन गर्न सक्छ । अगिल्लो पुस्ताले राजनीतिक क्रान्ति सम्पन्न गर्यो । परिणामस्वरुप: कयौं वर्षदेखि दबाइएका आवाजहरु बुलन्द भएका छन् । स्वतन्त्रता समावेशिता र मानवधिकारका मुल्य र मान्यता स्थापित भएका छन् । पुरानो पुस्तामा जुन एउटा राजनितिक vision थियो, क्रान्तिको vision , आमुल परिवर्तन को vision ,त्यो कुशलतापुर्वक सम्पन्न पनि भयो । तर त्यो पुस्तासङ्ग विकास र सम्बृद्धि को vision थिएन, छैन ।
अबको खाँचो सामाजिक र आर्थिक क्रान्तिको हो । स्वास्थमा शिक्षामा आमुल सुधार र स्तरोन्नति जरुरी छ । अर्थतन्त्र र विज्ञान प्रविधिको क्षेत्रमा तिव्रतर गतिमाल्प्प अघि बढिरहेको विश्वसामु आफ्नो पहिचान कायम गर्न एउटा अलग्गै नवीन र वृहत्तर सोच जरुरी छ। मुलत: सोचमा छलाङ मार्नु जरुरी छ।
पूरानो पुस्ताले नयाँपन, नयाँ सोच दिनै सक्दैन । नयाँ युग हाँक्न सक्दैन । जो पुस्ताले जुन समयमा यो क्रान्तिको अगुवाइ गर्यो, उ पनि त्यसबेला युवा नै थियो । तर अब थकित छ । थकित अग्रज पुस्तालाई एक्काईसौं सताब्दीको नेतृत्व जिम्मा लगाएर हामी युवाहरु आदि इत्यादि विषयहरुमा भुलिरहेका छौं ।
"Older men declare war. But it is youth that must fight and die " - Herbert Hoover
निसन्देह: पुरानो पुस्ताले सपना देखाएको छ , अनि धेरै सपना बाँडेको छ । तर ती सपनाहरु दिशाहिन छन् , गन्तव्य विहिन छन् अनि नेतृत्व विहिन छन्। हाम्रो युवा पुस्ताले ती छरपस्ट सपनाहरुलाई सङाल्नु छ, सम्हाल्नु छ एकतृत पार्नु छ अनि साकार पार्नु छ । सपना आफैं साकार हुंदैनन् , साकार पार्नु पर्छ । अलपत्र अस्तब्यस्त सपनाहरुलाई दिशानिर्देश गर्नु छ ।
सपना त हजार हुन्छन्।
सबै कहां साकार हुन्छन् !
संकल्प, अठोट र प्रयत्न बिना
हरेक सपना बेकार हुन्छन्।
देशले आज के खोजिरहेको छ ?
नयाँ युगको थालनीको आधार के हो?
एक सबल पथप्रदर्शक, असल नेतृत्व , युवा नेतृत्व ।
देशले आज साथ खोजिरहेछ ।
एउटा दहृलो काँध खोजिरहेछ। ।।
विकासको आधार कोर्न सक्ने
एउटा कर्मशील हात खोजिरहेछ ।।।
सम्बृद्धिको भार बोक्न सक्ने ,
एउटा सक्षम जमात खोजिरहेछ ।।।।
अनि,
समयको माग बुझ्न सक्ने
एउटा पुस्ता खास खोजिरहेछ ।।।।।
समय सङ्गै कुद्न सक्ने
एउटा पुस्ता खास खोजिरहेछ ।।।।।
के हामी देशले खोजिरहेको पुस्ता बन्न तयार छौं ?
आजको युगमा हर नागरिक चेतनशील छन् तर अलमल छन् ।
जागृत चेतनाहरुलाई लागाम चाहिएको छ । अब नयाँ पुस्ताले त्यो बागडोर सम्हाल्नु पर्छ । पर्छ नै, निर्विकल्प पर्छ । हामीले, हाम्रो पुस्ताले अब राष्ट्रको नेतृत्व गर्नुपर्छ ।
"अग्रज पुस्तासङ्ग असीम ज्ञान र अनुभव छ तर गतिशील उर्जा छैन । नयाँ पुस्तामा अपार शक्ति छ तर पर्याप्त ज्ञान छैन्। सामाजिक रुपान्तरण र वैचारिक क्रान्तिको निम्ति ज्ञान र उर्जा दुवै जरुरी हुन्छ । यसको लागि कि त वयस्कलाई उर्जा दिनु पर्यो कि त युवालाई ज्ञान । हाललाई दोस्रो विकल्प नै ज्यादा सम्भव देखिन्छ ।" - Mehmet Murat Ildan
त्यो ज्ञानको खोजीमा हामी कतै रुमल्लिरहेका त छैनौं ? व्यर्थमा आफ्नो उर्जा खेर फालिरहेका त छैनौं ?
के छ र अरबको खाडीमा ,
के छ र अनाकालको वर्बादीमा ?
सुन उमार्ने उर्बर जमिन छ यहां ,
के छैन र यहांको आवादीमा ?
अवसरहरु हाम्रो आंखासामु नै छन्। हरेक खेत - गरामा अवसर छन् , प्राकृतिक स्रोत साधनमा , गाउँ गाउँ , घर-आँगनमा अवसर छन्। यो अवसरलाई चुनौतीको रुपमा स्विकारेर नेतृत्वदायि भुमिका निर्वाह गर्न के हामी अग्रसर छौं ? हामी तयार छौं ? अनि हामी सक्षम छौं ?
छौं।।। अवश्य छौं ।।।
"यदि तपाईंका कामहरुले अरुलाई अझै धेरै काम सिक्न गर्न र सुधृन प्रेरणा दिन्छ भने तपाईं नेतृत्व गर्न योग्य हुनुहुन्छ।"
- John Quincy Adams
निस्संदेह हामी योग्य छौं समाजलाई नेतृत्व दिन, अनि प्रेरित गर्न ।
सक्षम नेतृत्व यस्तो गुण हो जसले अरु मानिसहरुको जिन्दगीमा व्यापक सुधार ल्याउंछ अनि आफ्नो अनुपस्थितिमा समेत त्यो सकारात्मक असर कायम रहन्छ ।
हामी सक्षम छौं समाजमा त्यो सकारात्मक भाव प्रवाह गर्न ।
इतिहासले व्यक्तिलाई चिन्दैन ,मान्दैन, पुस्तालाई मान्छ ।
हामी त्यही पुस्ता हौं जसले एउटा नयाँ इतिहास लेख्नेवाला छ।
"एक दृढ व्यक्तिले महत्त्वपुर्ण परिवर्तन ल्याउन सक्दछ भने दृढप्रतिज्ञ व्यक्ति हरुको समुहले इतिहास बदल्न सक्छ। "
- Sonia Johnson
हामी त्यही समुह हौं जसले इतिहास बदल्ने वाला छ ।
"युवाहरुलाई एउटा अवसर देउ, उनिहरुले दुनियाँलाई चकित पार्ने छन् " - Marc Kielburger
हामी तिनै युवाहरु हौं जसले दुनियाँलाई चकित पार्ने क्षमता राख्छ।
यो हो हाम्रो समय ...
हाम्रो पालो ...हाम्रो भविष्य ... हाम्रा सपनाहरु ।
यो हो हाम्रो संकल्प ...
उंचो सोच ... तिब्र गति ... सङठित पाइलाहरु ।।
यी हुन क्रान्तिका पाइलाहरु
यी हुन शान्तिका पाइलाहरु ।।
अबको क्रान्ति...
अबको परिवर्तन...
अबको नेतृत्व ...
कलमले गर्ने छ ।
कलम समाउनेहरुले गर्ने छन्।
कलम चलाउनेहरुले गर्ने छन्।
गोला बारुद या खुकुरी होइन,
कलम चलाउनेहरु
यीनै हुन् यो देशको घाउमा,
मलम लगाउनेहरु ।।
असिमित क्षमता र सृजनशीलता ...
हामी युवा पुस्ता ...
नयां युगको अब्बल नेतृत्व ...
हामी युवा पुस्ता ...
आउ युवाहरु आउ ... देशको बागडोर समाउ ।
आउ युवाहरु आउ ... सुन्दर सम्बृद्ध नेपाल बनाउ ।