–दीपेन्द्र दोङ तामाङ
काठमाडौं । अञ्जु पन्तको स्वरमा रहेको गीत न बिर्से तिमीलाई, न पाएँ तिमीलाई पछिल्लो पुस्ताकी रचना रिमालको आवाजमा पुनः रिकर्ड भएपछि अहिले नयाँ वहस छेडिएको छ । गीत आखिर कसको हुन्छ ? प्रतिलिपी अधिकार ऐनका अनुसार गीतको स्वामी स्रष्टा (पहिले गीतकार त्यसपछि संगीतकार ) हुन् । गायक गायिका प्रस्तोता हुन् । तर प्रस्तोताको प्रतिलिपी अधिकार पनि सुरक्षित गरिएको छ ऐनमा । यो विवादले वहसको रुप लिएपछि गीतकार विपिनकिरणको एकसुत्रीय तर्क छ–मैले खर्च गरेको र मैले रचेको गीत मैले जोसुकैलाई गाउन दिउँ, मेरो अधिकारको कुरा हो । गायिका अञ्जु पन्तको गुनासो छ–म सक्रिय गायनमा हुँदा हुँदै र एक दशक समेत नपुग्दै त्यही ट्रयाकमा अरुको आवाज भर्नुअघि एकपटक सोध्ने औपचारिकता समेत पूरा गरेनन् ।
लामो समयदेखि प्रतिलिपी अधिकारका लागि संघर्ष गरेका संगीतकार/गायक तथा संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी पनि अञ्जुकै पक्षमा धारणा व्यक्त गर्छन् । यो प्रसँगमा सबैभन्दा अगाडि सार्वजनिक टिप्पणी समेत उनैले गरेका थिए । उनको निचोड के छ भने–कुनै गायक गायिकाको सक्रिय व्यवसायिक जीवनकाल रहेसम्म विना अनुमति पुनः उत्पादन, रिकर्डिङ गर्न पाइदैन वा हुँदैन ।
तर नेपाली संगीत क्षेत्रको वास्तविकता यस्तो छ
जब कुनै एक पक्ष (गीतकार, संगीतकार वा प्रस्तोता ) लाई गीत तयार गर्छु भन्ने लाग्छ, तब उसले सबै व्यवस्थापन आफैं गर्छ । जस्तो गीतकार हो भने उसले गीत लेखिसकेपछि संगीतकार र प्रस्तोतालाई निश्चित पारिश्रमिक दिएर गीत तयार पार्छ, संगीतकार हो भने गीतकारलाई गीत लेख्न लगाएर आफू संगीत सिर्जना गर्छ अनि प्रस्तोतालाई गाउन लगाइन्छ । प्रस्तोता अघि बढेको अवस्थामा उसले गीतकार र संगीतकारलाई निश्चित पारिश्रमिक दिएर गीत तयार पार्छ । स्वभाविक हो कि मागेको पारिश्रमिक लिएर सहमति जनाएपछि त्यसमा कुनै दाबी गर्न पाइदैन, अनुमति विना अर्काको सम्पत्ति आफ्नो निजी लाभमा प्रयोग गर्न पनि पाइदैन । यही बूँदामा अञ्जु–विपीन विवादको जन्म भएको हो भन्न सकिन्छ ।
नबिर्से तिमीलाई गीत जब चर्चा र लोकप्रियताको उचाइमा थियो, त्यसले गीतकार विपीन र संगीतकार महेश खड्कालाई अप्रत्यक्ष व्यवसायिक फाइदा भयो होला तर प्रत्यक्ष फाइदा भने गायिका अञ्जुलाई भयो । त्यही गीतको आधारमा अञ्जुले देश विदेशका सांगीतिक टुरहरु पाइन्, त्यसबाट निश्चित आर्थिक लाभ पनि भयो होला । तर आयोजकसँग पारिश्रमिक लिएर त्यही गीत अञ्जुले कुनै मेला,महोत्सव वा कन्सर्टमा गाउनु अघि उक्त गीत उत्पादन गर्न आर्थिकदेखि सिर्जनात्मक लगानी गर्ने पक्षको अनुमति लिइन् कि लिइनन् ? त्यसरी भएको आर्थिक लाभको हिस्सा बाँडफाँड गरिन् या गरिनन् ? यदि गरेकी थिइन् भने अहिले त्यही गीत नयाँ गायिकाको आवाजमा पुनः रिकर्ड गराउँदा उनले पूर्ण क्षतिपूर्ति पाउनैपर्छ । तर थिएन भने यसमा उनको रुवाइको कुनै अर्थ रहन्न । बरु त्यही गीत रेकर्ड गराए वापत पारिश्रमिक लिएर अनेक व्यवसायिक मञ्चहरुमा त्यही गीत उपभोग गरेर आर्थिक लाभ लिएकोमा उनले आत्मसमीक्षा गर्नुपर्छ ।
गीत संगीत भनेको विशुद्ध सिर्जना हो । कसैसँग गीत लेख्ने, कसैसँग संगीत सिर्जना गर्ने प्रतिभा हुन्छन् भने कसैसँग मीठो आवाज र गायकी हुन्छ । यी तिनै पक्षको सहभागीताबाट मात्र सिर्जना जन्मिन्छ । तर पूँजीवाद हाबी भएको यो समयमा सिर्जना पनि कारोबार भएको छ । अनि जहाँ कारोबार हुन्छ, त्यहाँ व्यवसाय मात्र धर्म मानिन्छ ।
त्यसैले जब कुनै सिर्जना गरिन्छ भने, त्यसलाई सिर्जनाकै रुपमा तीनै पक्षले अवलम्बन गर्न सक्नुपर्छ । गीतकार, संगीतकार र प्रस्तोता सबैले आ-आफ्नो पक्षबाट कन्ट्रीब्यूसन गर्नुपर्छ । उत्पादनमा लाग्ने खर्च दामासाहीले बाँड्न सकिन्छ । अनि त्यो सिर्जनाबाट प्राप्त हुने जस अपजस, फाइदा नोक्सान सबैमा समान अधिकार रहन्छ । सम्भवतः यस्तै गीत वा सिर्जनाको वास्तविक स्वामीको पहिचान गर्न कठिनाइ हुँदा रोयल्टी संकलन समाजले दुखले संकलन गरेको रोयल्टी वितरण प्रक्रिया समेत एक दशक बित्दासम्म अन्यौलमा छ ।