-रम्भा पौडेल
अन्तरर्राष्टिय श्रमिकमहिला दिवसको पृष्ठभूमिः
अन्तर्राष्ट्रिय क्षेत्रमा हेर्दा सबैभन्दा पहिलो महिला आन्दोलनको शुरुवात फ्रान्सेली राज्य क्रान्ति (The French State Revolution) सन् १७८९ बाट नै भएको देखिन्छ । सामन्ती समाजमा पिसिएका महिलाहरु पनि यसै फ्रान्सेली राज्यक्रान्तिको प्रेरणाबाट जुर्मुराएका थिए । अन्तर्राष्ट्रिय स्तरमा संगठित महिला आन्दोलन यसै फ्रान्सेली राज्यक्रान्तिबाट शुरु भएको थियो । त्यहाँ महिलाहरुले महँगीका विरुद्ध प्रदर्शन गरेका थिए । सन् १८३५ देखि सन् १८६० सम्म अन्तर्राष्ट्रियरुपमा श्रमिक महिला आन्दोलनको लहरनै चल्यो । त्यतिखेर कारखानामा १८ घण्टासम्म काम लिइन्थ्यो । महिला आन्दोलनले त्यसलाई ११ घण्टाको कार्यमा झार्न सफल भयो । सन् १८४८ मा लेखिएको कम्युनिष्ट घोषणापत्रले विश्वव्यापीरुपमा महिला अधिकारको पक्षमा आवाज उठायो । यसै वर्ष संयुक्त राज्य अमेरिकाका महिलाहरुले समान शिक्षा, समान ज्याला र मताधिकारको पक्षमा आवाज उठाए । सन् १८९० मा महिला मताधिकार सम्बन्धि अन्तर्राष्ट्रिय स्तरमा ठूलाठूला प्रदर्शन भए जसको फलस्वरुप पहिलो पटक हल्याण्डका महिलाहरुले सन् १८९३ मा मताधिकार पाए (२ महिला भोट = १ पुरुष भोट) । सन् १८९२ देखि समाजवाद पक्षीय महिला आन्दोलनको नेतृत्व क्लारा जेटकिनले गरिन् । उनको नेतृत्वमा महिला अधिकार, मातृत्वको अधिकार, आमा र बच्चाको शुरक्षाको अधिकारजस्ता विषयहरु विश्वव्यापी रुपमा बहसमा आए । यसै सिलसिलामा सन् १९०७ मा जर्मनीको स्टुटगार्टमा पहिलो अन्तर्राष्ट्रिय महिला सम्मेलन भयो । यस सम्मेलनले क्लारा जेटकिनलाई अन्तर्राष्ट्रिय महिला संगठनको महासचिवमा चयन गर्यो । उनको नेतृत्वमा सन् १९०९ मार्च ८मा महिला मताधिकारको माग राख्दै अमेरिकाको शिकागो सहरमा महिलाहरुले ठूलो प्रदर्शन गरे । सन् १९१० मा क्लारा जेटकिनको नेतृत्वमा डेनमार्कको कोपेनहेगनमा पहिलो अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलन सम्पन्न भयो । यस सम्मेलनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिलादिवस घोषणा गर्यो ।
आठ मार्च बिद्रोहको प्रतीक
मार्च ८ की नेता क्लाराजेटकिन हुन् । उनकै नेतृत्वमा महिला आन्दोलनले सार्थकता पाएकोले नै आजको दिनलाई स्मरण गरिन्छ ।
आज,आर्थिक ,समाजिक ,शैक्षिक र राजनैतिक मुद्धा उठान गरेको दिन । प्राप्त गरेका उपलब्धिको रक्षा र पाप्त गर्न बाकी रहेका अधिकारको बारेका बिश्वब्यापी स्तरबाट आवाज उठाउने दिन आज ८ मार्च ,मुलत माहिलाको योगदानको चर्चा गर्ने दिनको रुपमा मानिन्छ । महिलाहरुले आजसम्म भएगरेका कामहरुको मूल्यांकन गर्ने दिन पनि हो । हरेक बर्ष यो दिनलाई महिलाहरु कोसेढुुंगाको रुपमा एक पछि अर्को मुद्दालाई बिश्वब्यापी रुपमा उठान गर्ने दिनको रुपमा लिन्छन् । यस अर्थमा पनि यो दिन बिशेष दिनको रुपमा मनाउने गरिन्छ । प्रत्येक वर्षहरुले नयाँ चुनौती सवैलाई लिएर आएको हुन्छ । त्यसमा अझ महिलाका चुनौती थपिदै जान्छन् । जसले समानताको बिन्दुमा पुुग्न सधै हम्मे बनाउछ नै । राज्यको दृष्टि समानताको पक्षमा पार्न सधै सघर्षको मैदानमा कुद्नु विश्वकै महिलाको चुनौतीको विषय हो ।
यो वर्ष संयुक्त राष्ट्रसंघले भविष्यको दिगो विकासका लागि आज लैगिक समानता भन्ने नाराका सााथ ११२ औ नारी दिवस मनाउदै छ । यस्तै नेपालले विविध समानता र समावेशी संसारभित्र पूर्वाग्रह र विभेद रहित लैगिंक समानताको परिकल्पना भन्ने नाराका साथ यो बर्षको नारी दिवस मनाउदै छ ।
लैंगिक समानताको बिषय उठान भएको लामो समय भैसकेको छ । प्रत्येक बर्षका नारी दिवसका नारामा लैगिक समानताको कुरा उठान भएका छन् । यो एउटा देशबाट मात्र नभई समग्र विश्वस्तरबाट नै उठान भैरहेका छन । तर पनि समानता नारामा मात्रै छ । उनीहरुले भोग्ने विभिन्न कदमहरुमा समानताको आभास महिलाहरुले अझै पाउन सकेको अवस्था छैन ।
याद गर्नुपर्न कुरा के छ भने समानता नारीको बिद्रोह र उसका कार्यले निश्चित गर्ने गरेको छ । यो आठ मार्च पनि त्यही विद्रोहको दिन हो ।
अहिले पनि भोगाइ उस्तै :
२१ औ शताब्दीको आजको दिनमा पनि महिलाले भोग्नपरेका समस्या र अप्ठयाराहरु उस्तै छन् । नाम नखुलाउने शर्तमा एक गाउँपालिका उपाध्यक्षले गरेको बिद्रोह हेर्न लायक थियो । जसमा अध्यक्षले एक खानेपानी योजनाको उदघाटन गर्दै थिए । त्यसमा अध्यक्षको नाम लेखिएको थियो । उद्घाटन समारोहमा उपाध्यक्ष महिला पनि उपस्थित थिइन् । तर त्यस कार्यक्रममा उनलाई कुनै महत्व दिइएन । त्यसपछि उनलाई यति जंग चल्यो कि त्यो उदघाटन लेखिएको बोर्ड नै उनले लौराले पिटर सवै मानिसको सामु कुच्याइन् । समारोहका सवैले उनलाई त्यो कार्य गर्नबाट रोक्न खोजे । तर उनको रिसको आवेगलाई कसैले रोक्न सकेनन् । उनले आफनो नाम लेखाएर मात्र उदघाटन गर्न सवैलाई राजी गराइन् । उनको भनाइ थियो–के म उपाध्यक्ष भएको एउटा लौरो मात्र हुुन हो ? मेरो अस्तित्व छैन ? उनी कड्किइन्, सभामा उपस्थित सबै स्तब्ध भए । यस्ता पूर्वाग्रह र बिभेद महिलाहरुले राजनैतिक क्षेत्र मात्र हैन अन्य सामाजिक ,शैक्षिक र प्रशासनिक क्षेत्रमा पनि भोग्दै आएका छन् ।
अर्काे उदाहरण एक प्रधानाध्यापकको छ । उनी पन्ध्रवर्षदेखि निरन्तर प्रधानाध्यापक भएर माध्यमिक तहको स्कूल चलाईरहेकी सफल प्रअ हुन् । तर पनि उनको भोगाइमा प्रअको कुुुर्चिमा बसिरहेको देख्दा पनि बाहिरबाट आउने मानिस तथा अभिभावकहरु भन्ने गर्दछन् हेड सर खोई । मानिसहरुले उहाँ हो हेडसर भन्दा ए ए भनेर नाक खुम्च्याउछन् । यसले हामीलाई काम गर्ने उत्साह मारिदिन्छ । तर पनि मैले हिम्मत हार्दिनँ, उनको भनाइ थियो ।
यस्तै भोगाइहरु डाक्टर, पाइलट, प्रशासक सवै कामकाजी महिला दिदीबहिनीका साझा हुन् । त्यति मात्र नभएर मन्त्री राष्ट्रपति सम्मलाई अपमानित गरेका उदाहरण त देखेकै हौं । तिरस्कार,अपमान र विभेदका र बलत्कारका अनेकौ घटनाहरु अहिले पनि सुनिएकै छन् । बलत्कारी थुनामा हुँदा त्यसको रेखदेख गर्ने तर पीडित पक्षले न्याय नपाउने अवस्था आखिर कहिलेसम्म ? के यो देशमा साँच्चिकै न्याय मरिसकेको हो त ? होइन भने महिलामाथि अझै तिरस्कार र अपमान किन ?
अन्यमा, संविधानमा महिलाका हक अधिकार पनि लेखिएका छन् । महिलाको सवै क्षेत्रमा सहभागिता र राजनीतिक अधिकार पनि सुनिश्चित गरिदिएको छ । तर जनसंख्यामा आधा भन्दा बढी हिस्सा बोकेका महिलाका लागि यो ३३ प्रतिशत सहभागिताले सवैलाई समेटने छैन । त्यसैले अबको हाम्रो मुद्दा भनेको अपमान र विभेदलाई हटाउदै सवै क्षेत्रमा समान सहभागिता र सहअस्तित्वको आवाज उठाउनु र स्थापित गर्नु हो । त्यसैले भोलिको दिगो विकासका लागि आजैबाट लैगिक समानताको थालनी गरौं । यसको थालनी आफनै परिवारबाट शुरु गरौं ।
सवै आमा दिदीहिनी तथा दाजुुभाइमा अन्तरर्राष्टिय श्रमिक महिला दिवसको शुुभकामना ।