विकास पौडेल
कहिले कहीँ एउटा प्रिय कुरा छोडेर अर्को प्राप्तिमा लाग्नु पर्ने रहेछ । अहिले म त्यस्तै संयोगबाट गुज्रिएँ । भोगाइबाट । भनौँ स्विकार्यताबाट । काठमाडौँको वसन्त ऋतु मलाई औधि मनपर्ने समय । यस समयमा त्रिचन्द्र अगाडि ज्याकाराण्डा निलै भएर फुलेका हुन्छन् । निलै ज्याकाराण्डाले मलाई त्रिचन्द्रका शुरुका दिनमा पुराउँछन् । जहाँ निलो कार्पेट जसरी ज्याकाराण्डाले स्वागत गरेको हुन्छ, सुदूर भूभागका अनेकौँ भोगाइ र स्विकार्यता लिएर आएकाहरुलाई ।
यस पटक मैले अघिल्लो रात बुढानिलकण्ठको पहाडमा बिताएँ । तारेभीरमा । गुराँस टिपेँ, पहिलो पटक टेन्ट हाल्न सिकेँ । आगो बालेँ जंगलमा गएर । केही प्रिमिटीभ सोचाई जिएँ, केही आफ्नो उपस्थितिलाई लिएर हाँसेँ, हाँस्नु भन्दा बढी जिउनु हो मैले जिएँ तारेभीरमा एक रात । हातमा लाइट थियो । तर त्यो बाल्नु नै परेन । साथीले नवमीको रात भन्दै थिए, चन्द्रमाले आफ्नो धर्म छोडेको थिएन ।
रेशम मेरो मिल्ने साथी हो । उसलाई मैले कहिल्यै तँ भनेको छैन । तर माया गर्दा म तँ भन्छु, लेख्छु तर प्रत्यक्ष म तँ भन्दिन जति माया गरे पनि जतिमाया लाएपनि । अँ साँच्चि कोही कोहीलाई तँ भन्ने रहेछु त मैले मायाले, मैले सम्झिएँ । अफिसमा आइतबारबाट नै विदा लिएको थिएँ । तारेभीरबाट फर्किएर, फेरि अफिस गएर हतार हतार घर जान नाइट गाडी समात्ने । अँ नन्सेन्स थट । मैले मनको सुनेँ । मैले तारेभीरमा रात बिताएँ । दिन पनि हतार नगरी बिताएँ ।
नाइट गाडीमा घर हानिएँ । काठमाडाैंको वसन्त ऋतु छोडेर म घर हानिएँ । मैले भनि सकेको छु एउटा प्रिय कुरा पाउन अर्को प्रिय कुरा छोड्नुपर्ने रहेछँ । हुन त भोलिपल्ट गुराँस टिप्नु थियो र त म राति मात्र घर हानिएँ, नत्र त म प्रायः बिहानै हानिने मान्छे । काठमाडौँको लोभले पनि बिदाको आधा दिन यतै बिताएँ । घर जाने गाडी १० बज्न डेढ घण्टा कम भनेको ढाई पो रहेछ । हतार हतार कलंकी पुगेँ । साथीबाट पैसा मगाएर । अफिसले तलब दिए पो । भएको ५ सय पनि एनसीसी बैंकको एटिएमले अड्काइदियो । त्यतिमात्र हो र फर्किएपछि ल बचत भयो भन्दै आएको कहिले हो फर्काइदिएको पनि रहेछ । मैले सकिसकेको पनि रहेछु । सोही बुझ्न जाँदाँ थाहा पाएँ, एनआइसी एसिया बैंककी एक शाखामा कार्यरत रिसेप्सनिष्टको आँखा कति राम्रा । पैसा सकिएको टेन्सन भन्दा बढी आँखा सम्झिएँ निस्किदा ।
बुटवल जादाँ काठमाडौँमा गल्र्स होस्टल चलाएकी महिला परिन् आडैमा । भन्न त यतिकी बुढीलाई आइमाइ भनेपनि हुने हो । तर मैले भनिन । उनीसँग जागा भएर भन्दा बढी निदाएर बिताएछु । ठिकै छ । उनी सोर्सफोर्सले गाडीले अन्तिममा दिने गरेको पहिलो सिट पाएकी मैले अन्तिममा परेर पाएको कुरा पनि उति मिल्थेन होला । जे होस् मान्छे भने कता कता देखे जस्तो लाग्थ्यो ।
म घर पुगेँ । यसपटक कुनै झोला बोकेको थिइनँ । निलो ज्याकेट, टिसर्ट, पाइन्ट र जुत्ता । बा आमा भान्छामा भात खाँदै हुनुहुुन्थ्यो । पछि दिदीबाट थाहा पाएँ आमा त कता लुटिएर आएछ छोरो भनेर डराउनुभएछ । हाहाहा । आफैलाई पनि हाँसो लायो । म पहिले घर जाँदा फुटबल ग्राउण्डमा एक टिम पुग्थेन अहिले दुई टिमले नभ्याउने रहेछ । गाउँको मन पर्ने मलाई अर्को कुरा हाम्रो टोल फुटबल फ्रि छ । दिन छोटा हुँदा काम गर्ने हरु फुटबल ग्राउन्डमा आउनै भ्याउदैँनन्, रात छोटा हुँदा गा्रउण्डमा मान्छे बढ्छन् । म पढेको स्कुलको पर्खालपछाडीबाट के को हल्ला आइरहेछ भनेर बुरुक्क उफ्रिएर हेरेँ, भुइँमा खुट्टा पर्ना साथ कुद्न लागेँ अनि बल्ल सोचेँ कति धेरै मान्छे बढेका गा्रउण्डमा, सबै सेन्टरमा जम्मा भइसकेका, गेम सुरु हुन थालिसकेको थियो ।
पहिलो दिन नै गएर भुसुक्क निदाएपछि सिधै फुटबल मलाई के चाहियो र ! बीचमा एकदिन बुटवल गएँ कामले, प्रशान्तलाई भेटेँ । पुरानो बसपार्क थिएँ, हिलपार्कमा पुग्नु थियो । बुटवलको इरेक्साले भाडा २५ रुपैयाँको डबल भन्यो मलाई थाहा थियो बुटवलमा प्रायः २५ हो । ट्राफिक चोक गए २५ मै पाइयो । बुटवलको बाटा बाटामा हुने उखुको जुस मिस गर्नै भएन । फेरि आफूलाई चिसै मनपर्ने बुटवलको गर्मीमा । गर्मीमा भन्दा पहिले मच्छडका दिन आएछन् बुटवलमा । प्रशान्त धेरै टाढासम्म छोड्न आए मलाई, पुरानो बस पार्कसम्मै । मैले उनलाई हतार त छैन नि भनेर सोधेँ । छैन जवाफ आयो । मैले बढी केही भन्न सकिन एप्रिसिएट मात्र गर्न सकेँ । गाडीमा मेरो जुट्टी भेटियो शिरिष । प्लस टु पढ्दा जुट्टी भन्न सिकेको मैले त्यो शब्द यसै माथि प्रयोग गर्छु । गफ गर्दै गइयो । अँ साँच्चि जाँदा साल फरेष्टमा खसेका पातको सौन्दर्यता मोबाइलमा क्याप्चर गर्दै गएको थिएँ । फर्किदा भने आँखाले क्याप्चर गरेँ । बाटो बनाउदैँ गरेर आजभोलि गाडी जंगल तिरको बाटो हिड्दो रहेछ । मज्जाले आफ्नो गाउँ देख्न पाएँ । कान्छी दिदी आएकी रहिछे माइत। मलाई स्कुटरको पनि खाँचो भएन गाँउ डुल्न । त्यसपछिको एक दिन छिमेकी कपिलवस्तु बहादुरपुरको टिम फुटबल खेल्न आएको थियो । हारियो । खै के के मिल्दै मिल्दैन गेम खेल्दा । सधैँ हारेपछि मिलाईन्छ तर पनि फेरि हारिन्छ ।
अर्को दिन दुइटा टिम आएछ । त्रिकोणात्मक सिरीज चल्यो पाँच पाँच सयको, ३० ३० मिनेटको । सुरुमै मैदानमा, सुरुमै बाहिर । मैले पेनाल्टि मिस गरेँ । काठमाडौँले काम गरेन सबैले त्यसै भने । दाइले विकासले हान्छ भनेर अरुलाई चुप बनाएको मैले सम्झिएर मुसुमुसु हासेँ । तर अर्को टिम त रात परेको भनेर खेल्नै मानेन । फेरि हामी बीच नै ३ सयको दोहोरो म्याँच । क्षितिजमा घाम जतिबेला डुब्छ त्यतिबेला सम्म । यसपटक बराबर भैयो ।
होलीको दिन आयो । साथीले बोलायो गएँ । साथीका साथीसँग चिनजान भयो । झारगैराका केटाहरु गाडीमा अगाडी स्पिकर बाँधेर जो भेटिन्छ त्यसलाई रङ्ग दल्दै ,चोकचोकमा स्पिकर बजाउदैँ नाच्दैँ रमाईलो गर्दै हिडिरहेका रहेछन् । धौलागिरी चोकमा भेट भयो । खुशी साटासाट भयो । दिदीको स्कुटरको हेल्मेट ध्वस्त । पछिसम्मै कलर गएन ।
यसैदिन कहिल्यै नमेटिने गरी जिन्दगीमा अर्को रंगिन याद थपियो । पूर्वयोजना अनुसार गाँउमा फुटवल आयोजना, विवाहित भर्सेस अविवाहित । फुटबल ग्राउन्डमा उत्रिन टिम पुराउदाँ ख्याल भयो केटाहरुले कति छिटो बिहे गरेछन् । फुटबल त छदै थियो त्यसमा स्पिकर, टेन्ट हालेर व्यवस्थित बनाउन अंकलले काम गरे, अंकललाई अलिकती अल्कोहलले काम गर्यो अलिकति होलीले काम गर्यो । अंकलले सबै स्पोन्सर उठाइदिए । फोन गरेर तिम्रोमा भएको मुुटु हल्लाउनी स्पिकर ३ बजेभित्र वर्गदवा फुटबल ग्राउन्डमा जोडिदेउ भने । हामी लोड गर्न गयौं । ३ बजे जोडियो पनि । फुटबल सुरु भयो बुटवल होली खेल्न गएका केटाहरु बल्ल बाटामा आउदैँ थिए । पाचँ पाचँ हजार पुराउने भनेको हातमा एक हजार उठ्यो अविवाहितहरुको । आफू, दाइ र केही केटाहरु सहित तीन हजार पुर्याउने आटँ आयो । तर पैसाको कुरै उठेन खेल सुरु हुदाँ ।खेल सुरु गराउने रेफ्रि टेके दाईको खेलप्रेम र व्यक्तित्व मलाई मनपर्छ । आमा समूहहरुले पानी खुवाएर सहयोग गर्यो ।
अंकलले फेरि कता गएर घैटो लिएर आएछन् आमा दिदी बहिनीहरुको लागि घैटो फोड सुरु भयो । अँ साच्चि यति बीचमा हामी अर्थात विकासकुमार पौडेलहरु फुटबल हारिसकेका थियौँ । ५ पेनाल्टीमा अविवाहित कसैले एक गोेल गरेन सुरुमा पोलमा हान्ने सुनिलको नै उत्कृष्ट पेनाल्टी भो, मैले दोस्रो पेनाल्टी मिस गरेँ । काठमाडाैंले फेरि काम गरेन ।
रमाइलो गरी होली सकियो । रातीसम्मै नाचगान भयो । हाम्रो गाउँ थारु बाहुन सबै सबै मिलेर बसेको छ । ग्राउण्डमा मिश्रित अनुहार देखिन्थे । सबै मिलेर होली साटियो । थारु केटीहरु आइटम सङमा कति मज्जाले नाच्ने भएछन् । मैले रमाइलो मानेँ । त्यस दिन सबैभन्दा बढि बजेको गित लहंगा उठाके अभिनन्दन करेला ।
अनि अंकलको अर्गानिक र अल्कोहलिक कमेन्ट्री । शनिवार फेरि बुटवल गए, भान्जाको छुट्टी, स्कुटर लिएर गएको भान्जासँग बुटवल डुल्न गएँ । भ्लग बनाइयो । मामा ड्राइभर भान्जा भ्लगर । ट्राफिक चोकको खाजा खाइयो । हिल पार्क घुमियो । हिलपार्क जंगलका बीचमा बनाइएका संरचना, सालका पात खसेर स्यारस्यार आवाज । ओहो ! मलाई हिलपार्क निकै मनपर्यो ।
काठमाडौँ फर्किएँ । घर गएको पहिलो दिन आमाले कता निस्कनु परेपछि भुटेको मकै प्लाष्टिकमा पोको पारेर सिरानी नजिकै राखिदिनुभएको, भानुभक्त बाजेले गम्छाले गिलास छोपेर चिया पिएको देख्दा मलाई बारबार एउटै वाक्यको नजिक पुर्याउँछ, ‘प्रेम लक्ष्य हो जीवन यात्रा हो ...!’