अबको निर्वाचनमा सकेसम्म एक कार्यकाल पूरा गरिसकेका जनप्रतिनिधिले दोहोर्याउने कुरालाई प्राथमिकतामा राख्नु हुँदैन । यस्तो कुराले नेतृत्व विकास जाम हुने अवस्था बन्छ भने अर्कोतिर लोकप्रिय काम गरेको व्यक्ति पनि फेरि अर्को कार्यकाल त्यही लोकप्रियताको शिखरमा नरहन सक्छ । बरु जनताले भन्ने दिन आओस्- अघिल्लो मेयर वा अध्यक्ष ठिक थिए ।
खुशराज लामा
संघीय संरचनामा मुलुक प्रवेश गरेपछि आगामी वैशाख ३० गते दोस्रो कार्यकालका लागि स्थानीय तहको निर्वाचन हुँदैछ। संघीयतापछि पहिलो निर्वाचित जनप्रतिनिधिको अवधि सकिएर दोस्रो कार्यकालको लागि निर्वाचनमार्फत स्थानीय तहमा नयाँ जनप्रतिनिधि चुनिँदैछन् ।
संघीयतापछिको पहिलो निर्वाचित जनप्रतिनिधिको कार्यकाल सिक्ने र सिकाउनेमा नै बितेको पाइन्छ । अबको कार्यकाल भनेको जनताले महसुस गर्नेगरी हुने सामाजिक एवं भौतिक विकासको काममा केन्द्रित हुनुपर्छ । पहिलेकै जनप्रतिनिधिले दोहोर्याउने अवस्था छ या चाहना छ भने पनि उसले मैले किन दोहोर्याउँदैछु, मेरो उदेश्य के हो ? भनेर आफ्नै पार्टी र जनतासँग स्पष्ट कुरा राख्न सक्नुपर्छ ।
पूरानो उम्मेदवारले दोहोर्याउने अवस्थामा पूरानै एजेण्डा बोकेर जनताको घर जाँदा बिश्वास जित्ने अवस्था हुँदैन । मैले पाँच वर्षमा शुरु गरेको कामहरु पूरा गर्नु पर्छ भन्ने आधारमा जनताले मत दिने अवस्था रहँदैन । दोहोरिने जनप्रतिनिधिले पाँच वर्षको अवधिमा सबै काम पूरा नभएकाले अपूरो काम पूरा गर्ने एजेन्डा बोकेर जाने एउटा कुरा भयो । तर समग्रमा पालिकाको आवश्यकता र त्यो आवश्यकता पूरा गर्न देखिएको चुनौतिको बारेमा ब्याख्या गर्दै थप योजना स्पष्ट रुपमा राख्न सक्नुपर्छ । बिनायोजना पूरानो काम पूरा गर्ने एकल एजेण्डाकै भरमा दाबी गर्दा एउटै व्यक्तिलाई १० वर्षसम्म दिनु हुँदैन भन्ने पक्ष सवल बन्नेछ ।
नयाँ जनप्रतिनिधिले आफू कुनै पालिकाको प्रमुख या उपप्रमुखमा योग्य छु भनेर दलहरुसँग कुरा राख्दा वा स्वतन्त्र हैसियतले जनतासँग कुरा राख्दा आफ्नो बखान गरेर भन्दा पनि आफूले नेतृत्व गर्न चाहेको पालिकाको अवस्था र त्यसको सुधारको लागि वा त्यसको भौतिक, सामाजिक, राजनीतिक र आर्थिक विकासको लागि के के योजना छन् भनेर स्पष्ट खाका प्रस्तुत गर्न सक्नुपर्छ ।
अर्को कुरा कुनै पालिका वा वडा र टोलको विकास गर्न चाहेको हो भने कार्यकारी पदमा नै बस्नुपर्छ भन्ने छैन । पालिकामा नेतृत्व गर्ने जनप्रतिनिधि जुनसुकै राजनीतिक दलको भए पनि उसलाई सहयोग गरेर पनि आफ्नो दक्षता, योग्यता प्रदर्शित गर्न सकिन्छ ।
स्थानीय तहको विकास र समृद्धिको लागि जनप्रतिनिधिको भूमिका मूख्य हुने कुरामा कुनै दुविधा छैन तर जनप्रतिनिधिले आफ्नो योजनालाई सफल बनाउन सम्बन्धित विषयका विज्ञहरुको राय सुझाव र सहयोग अवश्य लिनुपर्ने हुन्छ र त्यो भूमिका निर्वाह गर्ने बौद्धिक वर्ग पनि पालिकाको लागि छायाँ जनप्रतिनिधि सरहनै हुन्छन् ।
त्यसैले, अहिलेको मूख्य विषय भनेको पालिकाको विकासका लागि कसको भूमिका के र कसको नेतृत्व कुन कुरामा भन्ने छुट्टाउन जरुरी हुन्छ । अबको निर्वाचनमा सकेसम्म एक कार्यकाल पूरा गरिसकेका जनप्रतिनिधिले दोहोर्याउने कुरालाई प्राथमिकतामा राख्नु हुँदैन । यस्तो कुराले नेतृत्व विकास जाम हुने अवस्था बन्छ भने अर्कोतिर लोकप्रिय काम गरेको व्यक्ति पनि फेरि अर्को कार्यकाल त्यही लोकप्रियताको शिखरमा नरहन सक्छ । बरु जनताले भन्ने दिन आओस्- अघिल्लो मेयर वा अध्यक्ष ठिक थिए ।