सत्तामा पुग्नेले जमिनमा टेक्न छाेडेका छन् । सत्ताभन्दा बाहिर कुनै दुनियाँ नै छैन जस्तो गरेका छन् । करिव दुई तिहाइको जनमतका साथ सरकारको नेतृत्व गर्ने अवसर पाएका व्यक्ति र पार्टी स्वयंले जनताको मन जित्ने गरी काम गर्न सकेनन् । आज तिनै व्यक्ति र पार्टी जनतासमक्ष भोट माग्न २७ वर्षअघि अल्पमतको सरकारले गरेका काम देखाउदै हिड्नुले पनि मनमोहनप्रति जनताको कति बिश्वास थियो र छ भन्ने प्रष्ट हुन्छ । मनमोहनले जति समय पाउनु भयो काम गरेर सधैँ अमर हुनुभयो ।
डा ढाकाराम सापकोटा
काठमाडौंको लाजिम्पाटमा १९७८ असार १५ मा मनमोहन अधिकारीको जन्म भएको थियो । जतिबेला मनमोहन अधिकारीको जन्म भएको थियो त्यो समय नेपालमा राणाहरूको जहानियाँ निरङ्कुश शासन चलेको थियो । उहाँका पिता रामचन्द्र अधिकारी पढे लेखेका शिक्षित व्यक्ति हुनुहुन्थ्यो । त्यसो हुँदा राणाशासनको थिचोमिचो विरुद्ध सामाजिक सुधारका नाममा आन्दोलन गर्न थाल्नुभयो । जुन राणा शासकका लागि स्वीकार्य हुने कुरै थिएन । फलतः चन्द्रशमशेरको शासन कालमा सर्वश्वहरण गरी निर्वासित गरियो ।
भारतमा निर्वासीत जीवन बिताइ रहनुभएका रामचन्द्र अधिकारी त्यहाँ चलेको स्वतन्त्रता आन्दोलनमा सहभागि हुनुभयो । चन्द्रशमशेरको मृत्युपछि स्वदेश फर्किएर काठमहल अड्डामा जागिरे हुनुभयो । तर भारतीय स्वतन्त्रता आन्दोलनमा सहभागि भएका नेता जो संरक्षण खोज्दै नेपाल आएका थिए तिनलाई सुरक्षा दिएको बहानामा त्यो जागिर खोसियो । मनमोहन अधिकारीको बाल्यकालीन अवस्थामा यी सबै घटनाहरू घटेका थिए । ती घटनाले उहाँको बालमस्तिष्कमा अमिट छाप पार्यो ।
मनमोहन अधिकारीको बाल्यकाल भारत र नेपालका विभिन्न ठाउँहरूमा बित्यो । उहाँको प्रारम्भिक शिक्षा घरमा नै मास्टर राखेर भएको थियो भने अलि जान्ने बुझ्ने भएपछि भारत गएर अध्ययन गर्दै बनारसबाट म्याट्रिक पास गरेपछि उच्च शिक्षाका लागि बनारस हिन्दू विश्वविद्यालयमा भर्ना हुनुभयो । बिएस्सी पढ्दै गर्दा बृटिश शासनविरुद्ध भारतमा स्वतन्त्रताको आन्दोलन उत्कर्षतर्फ उन्मुख हुँदै थियो । भारत छोडो (१९४२) आन्दोलनमा मनमोहन अधिकारी पनि प्रत्यक्ष सहभागि हुनु भइ जेल पर्नुभयो । जेलमा नै कम्युनिस्ट पार्टीका बारेमा जान्ने बुझ्ने अवसरसँगै भारतीय कम्युनिस्ट पार्टीको सदस्यता लिनुभयो। डेढ वर्षको जेल जीवनबाट छुटेपछि केही वर्ष भारतीय कम्युनिस्ट पार्टीले दिएको पार्टीगत जिम्मेवारिअनुसार विद्यार्थी, किसान र मजदुरहरूका माझमा रही काम गर्नुभयो । विद्यार्थीका रूपमा भारत जानु भएका मनमोहन नेता बनेर नेपाल फर्किनु भयो।
संसारका मजदुर एक हौँ भन्ने विश्वव्यापी कम्युनिस्ट नारा थियो । मनमोहन स्वयं पनि मजदुरका रुपमा विराटनगरस्थित नेपाल केमिकल उद्योगमा काम गर्न थाल्नुभयो । उहाँको उद्देश्य जागिर खानुभन्दा पनि त्यसैलाई माध्याम बनाएर संगठन निर्माण गर्नु रहेको थियो । फलत संसारका मजदुर एक हौ भन्ने कम्युनिस्ट नारालाई मजदुरका बीचमा पुर्याउदै सङ्गठीत गर्न थाल्नुभयो । इतिहासमा नै पहिलोपल्ट मजदुरहरूले विभिन्न माग राखेर आन्दोलन चलाए । त्यसको नेतृत्व स्वयम् मनमोहन अधिकारीले गर्नु भयो । २००३ साल चैत्र १२ बिहान तत्कालीन राणा सरकारले उहाँलाई पक्राउ गरी जेल हाल्यो । मनमोहन जेलमा रहेकै बेला पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भयो । नेपालको जेठो कम्युनिस्ट भए पनि नेकपाको संस्थापक सदस्य बन्ने अवसरबाट वञ्चित हुनु पर्यो । नेकपाको स्थापना हुँदा पुष्पलाल निर्विकल्प नेतृत्व लिने व्यक्तिका रुपमा रहे तापनि पार्टीको प्रथम सम्मेलनसम्म आइपुग्दा प्रतिस्पर्धाको स्थिति बनिसकेको थियो । पार्टीको प्रथम महाधिवेशनबाट मनमोहन महासचिवमा निर्वाचित हुनुभयो।
२०१७ साल पौष १ राजा महेन्द्रले संसदीय व्यवस्थाको अन्त्य गरी पञ्चायती व्यवस्था लागु गर्ने क्रममा राजनीतिक दलका धेरै नेतालाई जेल हालियो त्यसमध्ये मनमोहन पनि एक हुनुहुन्थ्यो । करिव ८ वर्षको जेल जीवनपछि २०२५ साल रिहा हुनुभयो । त्यति बेलासम्म नेकपा विभाजन भएर विभिन्न घटक बनेका थिए । कति नेता जेलमै थिए भने कति निर्वासित भएका थिए । उहाँ देशभित्रै बसेर शासन व्यवस्थाका विरुद्ध आन्दोलनमा जुटी रहनुभयो । उहाँले पार्टीभित्र लिएको मध्यमार्गि धार नै प्रजातन्त्र स्थापनाका लागि अन्य दलहरूसँग सहकार्य गर्ने आधार भयो । त्यसैको जगमा २०४६ सालमा नेका र वाममोर्चाले संयुक्त रुपमा प्रजातन्त्र पुनर्स्थापनका लागि आन्दोलन गरे । जुन आन्दोलन सफल पनि भयो । राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा चिरपरिचित व्यक्तित्व मनमोहन अधिकारीलाईे अगाडि सारेर बहुदलीय राजनीतिमा रुपान्तरण हुने उद्देश्यले नेकपा मालेले मनमोहन नेतृत्वको पार्टीसँग एकीकरण गर्यो । जुन पार्टीको नाम नेकपा एमाले रहन पुग्यो । उहाँ पार्टीको पार्टीको अध्यक्ष हुनुभयो ।
२०४८ सालमा भएको आमनिर्वाचनबाट एमाले संसदमा प्रमुख प्रतिपक्षी दल भयो । विपक्षी दलको नेता मनमोहन अधिकारी नै हुनुभयो । यहाँ सम्झनु पर्ने कुरा के छ भने पार्टी महासचिव मदन भण्डारी हुनुहुन्थ्यो । बन्न चाहेको भए विपक्षी दलको नेता सजिलै सक्नुु हुन्थ्यो तर अग्रजहरूलाई सम्मान गर्दा आफ्नो पनि सम्मान हुने ठान्नु उँहाको माहनता थियो ।
२०५१ सालमा भएको मध्यावधि निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन सकेनन् यद्यपि नेकपा एमाले संसदमा सबै भन्दा ठुलो दल भयो । बहुमत पुर्याएर सरकार बनाउने कुरामा नेकाले सक्दो प्रयास गरेको भए पनि उ सफल भएन । ठुलो दलको नाताले एमालेलाई अल्पमतको सरकार गठन गर्ने मौका आयो । मनमोहन अधिकारीको नेतृत्वमा पहिलो पटक कम्युनिस्ट पार्टीको सरकार बन्यो । कम्युनिस्ट पार्टीले सरकार कसरी चलाउनु पर्छ भन्ने उदाहरण बन्न मनमोहन सफल हुनुभयो । उँहा शासक होइन जनताको सेवक बन्न रुचाउनु भयो । सानो घेरामा रमाउने र परिवारका सदस्यलाई महत्व दिने कुरा उहाँबाट भएन । भ्रस्टाचारमा सुन्य शहनशील नीति लिनु भयो । नाै महिना सरकार चलाउँदा पार्टी कार्यकर्ता र नेताको मात्र होइन सबै नेपालीका अभिभावक बन्न सफल हुनुभयो ।
आफ्नो गाउँ आफै बनाउ, जेष्ठ नागरिक सम्मान (वृद्धभत्ता) जस्ता कार्यक्रमबाट जनता खुशी भए । नेताको काम आफू बदलीने होइन जनताको जीवन बदल्ने हो भन्ने मार्ग सिद्धान्त बोक्नु हुने मनमोहन अधिकारी आधुनिक नेपालका तमाम प्रधानमन्त्रीहरूमध्ये सबैभन्दा लोकप्रिय र सम्मानित रहनुभयो । कम्युनिस्ट पार्टीको सदस्यता लिने पहिलो नेपाली, नेकपाको पहिलो निर्वाचित महासचिव, नेकपाको पहिलो प्रधानमन्त्री, राजकीय सम्मान पाउने पहिलो कम्युनिस्ट नेता उँहा नै हुनुहुन्छ । समग्रमा मनमोहन अधिकारीलाई यसरी चिन्न सकिन्छ ।
ऐतिहासिक योद्धा
नेपालको इतिहासमा प्रजातन्त्र प्राप्तिका लागि २००७ साल र २०४६ साल गरी मुख्यत दुईपटक आन्दोलन भए । यी दुबै आन्दोलनमा मनमोहन अधिकारी सक्रिय रुपले सहभागि हुनुभयो । भारत छोडो आन्दोलनमा सहभागि भएदेखि कम्युनिस्ट विचार र सिद्धान्तबाट प्रभावित भएर सक्रिय राजनीतिमा लाग्नुभयो । त्यस विचारबाट कहिल्यै पनि विचलित हुनु भएन । छ दशकसम्म अविचलित रुपमा आन्दोलनमा लागेर पुर्याएको योगदानका कारणले ऐतिहासिक योद्धाको नामले समेत सम्बाेधन गरिन्छ।
शालिन व्यक्तित्व
मनमोहन अधिकारीमा जुनसुकै चिजलाई समग्रतामा हेर्ने, बुझ्ने र प्रस्तुत गर्ने स्वभाव थियो । कुनै प्रकारको आग्रह, छिचरोपना र उत्तेजना प्रदर्शन नगरी संयम र प्राज्ञीक ढङ्गले विषय वस्तुलाई प्रस्तुत गर्न रुचाउनु हुन्थ्यो । कुनै पनि सन्दर्भ–प्रसङ्गमा उत्तेजनामा नआई विषयको गाम्भीर्यतालाई बुझ्न सक्ने क्षमता आर्जन गर्नु भएको थियो । यसै विशेषताका कारण उहाँ शालिन एवम् भद्र व्यक्तित्वका धनि हुनुहुन्थ्यो ।
निष्ठाको राजनीति
मनमोहन अधिकारीको जीवन खुला किताबको पाना जस्तो थियो । उहाँले कुनै कुरा लुकाएर र बढाइचढाइ आफ्नो व्यक्तित्व प्रदर्शन गर्ने सोचाइ कहिल्यै राख्नु भएन । निस्वार्थ रुपमा निरन्तर क्रियाशील रहनु उहाँको इमान्दार समर्पण थियो ।
राष्ट्रिय हितका पक्षपाती
मनमोहन अधिकारीको व्यक्तित्व राष्ट्रिय हितका निम्ति जीवनपर्यन्त सङ्घर्षको उपलब्धी थियो । (सन् १९५०) २००७ को शान्ति र मैत्री सन्धिको विरोध सडकमा मात्र होइन जिम्मेवारीमा रहँदा भारतीय समकक्षी समक्ष सन्धि पुनरावलोकन गर्ने प्रस्ताव पहिलो पटक राखेर राष्ट्रप्रेमी व्यक्तित्व कस्तो हुन्छ भन्ने उदाहरण नै बन्नु भएको थियो । राष्ट्रियताको सवालमा कोही पनि पक्ष/विपक्ष बन्नु हुँदैन भन्ने कुरामा दृढ हुनुहुन्थ्यो ।
सादा जीवन र धैर्यशील स्वभाव :
उहाँको जीवनशैली सरल र सादगीपूर्ण थियो । नेताहरूले जनताले प्रश्न उठाउने तहको जीवनयापन गर्नु हुन्न भन्ने स्पष्ट मान्यता थियो । साङ्गठनिक रुपले कमजोर रहेका अवस्थामा पनि उहाँको सादा जीवन नै पञ्चायती शासक डराउने साधन बनेको थियो ।
आर्थिक रुपमा पारदर्शी :
मनमोहन अधिकारीले आफ्नो जीवनकालमा निकै आर्थिक कठिनाइहरूको सामना गर्नु पर्यो । पुर्खाैली जायजेथा राणाशासकले खोसेपछि आफ्ना पिताले दुःखजेलो गरी कमाएको थोरै आयआर्जनले परिवार धान्नु परेको थियो । आर्थिक सुखसयल उहाँका लागि गौण विषय रह्यो । फलतः मुलुकको कार्यकारणी प्रमुख भएर काम गर्दा पनि आर्थिक अनियमितताको विषयमा कहिल्यै आलोच्य बन्नु परेन ।
इतिहासकै लोकप्रिय प्रधानमन्त्री :
मनमोहन अधिकारीले ‘मलाई एकजना असल व्यक्तिका रुपमा सम्झिदिए पुग्छ’ भन्ने हिसाबले काम गरेको हुँदा आधुनिक नेपालका तमाम प्रधानमन्त्रीहरूमध्ये सबैभन्दा लोकप्रिय र सम्मानित व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ । कुनै पनि मानिस कुराले होइन काम र व्यवहारबाट आदर्श बन्न सक्छन् । चुड्की बझाएर ठुला ठुला गफ त जसले पनि गर्न सक्छ तर मौका पाउँदा र जिम्मेवारी लिँदा गरेका कामलाई हेरेर नेताको मूल्याङ्कन गर्नुपर्छ भन्ने आधार प्रस्तुत मात्र गर्नु भएन की आफूलाई पनि त्यही कसीमा राखेर मूल्याङ्कन गर्न अनुरोध गर्नु भयो ।
निष्ठा, सर्मपण र निरन्तरता उहाँको राजनीतिबाट पछिल्लो पुस्ताले सिक्न र ग्रहण गर्न सके देशका लागि सकारात्मक योगदान हुनेछ । मनमोहनमा सत्ता प्राप्तिलाई लक्ष्य ठान्ने कुसंस्कार छाड्नु पर्छ भन्ने प्रस्ट दृष्टिकोण थियो । तर विडम्वना आजको भोलि नै पदमा पुग्नु परेको छ । सत्तामा पुग्नेले जमिनमा टेक्न छाेडेका छन् । सत्ताभन्दा बाहिर कुनै दुनियाँ नै छैन जस्तो गरेका छन् । करिव दुई तिहाइको जनमतका साथ सरकारको नेतृत्व गर्ने अवसर पाएका व्यक्ति र पार्टी स्वयंले जनताको मन जित्ने गरी काम गर्न सकेनन् । आज तिनै व्यक्ति र पार्टी जनतासमक्ष भोट माग्न २७ वर्षअघि अल्पमतको सरकारले गरेका काम देखाउदै हिड्नुले पनि मनमोहनप्रति जनताको कति बिश्वास थियो र छ भन्ने प्रष्ट हुन्छ । मनमोहनले जति समय पाउनु भयो काम गरेर सधै अमर हुनुभयो ।
गफडीले गफ हाके दुई तिहाइको सरकार बालुवाको घर बन्यो भनी मुल्याङ्कन गर्ने पनि जनता नै हुन् । जे भए पनि मनमोहन नेतृत्व अल्पमतको सरकारले गरेका कामले कम्युनिस्ट कार्यकर्ताको मनोवल सधैँ उच्च राख्ने छ । जनताको मन मस्तिष्कमा सधै अटल बनेर रही रहनुभएको छ । मनमोहन अधिकारीप्रति हार्दिक श्रद्धासुमन ।