–सञ्जय गुप्ता
कुनै हाँसको भालेपोथी उड्दै बिरानो ठाउँमा पुगे, त्यहाँ स्थानप्रिय मान्छेको बस्ती नदेख्दा पोथीले सोधी, ‘खसम, हामी कस्तो उराठ ठाउँमा आइपुग्यौँ, यहाँ न पानी देखिन्छ, न जंगल छ र न चिसो हावा नै छ, फर्किउँ, यहाँ नबसौँ ।’
भालेले भन्यो, ‘जे भए पनि जसरी भए पनि आजको रात यतै बिताउँ, भोलि बिहानै आफ्नै ठाउँमा फर्किउँला ।’
भलाकुसारी गर्दागर्दै झमक्क रात पर्यो । उनीहरु एउटा रुख मुनि रात बिताउन बसे, संजोगले त्यै रुखमा एउटा उल्लूको पनि बास रहेछ । त्यो उल्लू उसको नैसर्गिक स्वभावअनुसार रातमा कराउन थाल्यो । त्यो सुनेर हाँसकी पोथीले विरक्तिदै भनी, ‘धत् यहाँ त रातमा नि सुत्न पाइँदो रहेनछ, उल्लूले अति नै गरिसक्यो ।’
हाँसले सम्झाउँदै भन्यो, ‘के गर्ने त, यस्तो अन्धकारमा कता जाने ? जसरी भए पनि आजको रात बिताउँ, बिहानै फर्किउँला, यो ठाउँ यस्ता उल्लू बस्ने ठाउँ भएकाले पो उजाड भएको रहेछ ।’
तिनीहरुको कुराकानी उल्लूले ध्यान दिएर सुनिरहेको थियो, बिहान भयो । उल्लू मुन्तिर ओर्ल्यो र भन्यो, ‘हाँस भाइ ,मेरा कारण तिमीहरुलाई राति गाह्रो भयो है ? मलाई माफ गर । हाँसले जवाफ फर्कायो केही छैन, तिमीलाई धन्यवाद ।’
त्यति भनेर हाँस आफ्नो पोथी लिएर जान मात्र के लागेको थियो, उल्लू करायो, ‘ए हाँस भाइ, मेरी पोथी लिएर कहाँ जान लागेको ?’ हाँस झस्क्यो र भन्यो, ‘यी तिम्री स्वास्नी ? यी त मेरी पो हुन्, मसँगै आएकी, मैसँग जान्छिन् ।’
उल्लूले भन्यो, ‘चूप लाग, यी मेरी पत्नी हुन् ।’ हुँदाहुँदै ती दुईमा विवाद बढ्दै गयो । हल्ला सुनेर त्यस ठाउँका मान्छे भेला भए । पञ्चायत बस्यो । पञ्चले सोधे, ‘होइन किन यत्रो विवाद ?’ त्यहाँ उपस्थित अरुले भने, ‘उल्लू भन्छ त्यो पोथी उल्लूकी पत्नी हो ।’ लामो बैठक बस्यो । वृहद छलफल भयो । त्यहाँ पञ्च हुन आएकाले आआफ्नो आङ तन्काउदै खासखुस गर्दै भने, ‘हुन त, त्यो पोथी हाँसकै पत्नी हो तर हाँस त अलिखेरमा गइहाल्छ, हामीबीच रहने त त्यही उल्लू नै हो । तसर्थ हाम्रो फैसला त उल्लूकै हकमा हुनुपर्छ ।’ त्यसपछि ती पञ्चहरुले फैसला सुनाउँदै भने, ‘सारा तथ्य र प्रमाण हेर्दा यो पञ्चायत ती पोथी हाँस उल्लूकै पत्नी भएको देख्दछ। तसर्थ यो पञ्चायत भाले हाँसलाई पोथी हाँसलाई यही छोडेर गाउँबाट तुरुन्त फर्किने आदेश जारी गर्दछ ।’
त्यो सुनेर हाँस उदेकियो । रुँदै भन्यो, ‘यो पञ्चायत मण्डलीले गलत फैसला गर्यो । जाति विचार नगरी मेरी पत्नी उल्लूकी पत्नी कसरी बनायो ? उ रुँदै फर्किंदै थियो । त्यहीबेला उल्लूले भन्यो, ‘ए हाँस पख ।’ हाँसले भन्यो, ‘अब मेरो के लुट्नु छ भन ? पत्नी त खोस्यौ, अब के खोस्छौ ?’
उल्लूले भन्यो, ‘यी तिम्रै पत्नी हुन्, थिइन् र रहनेछिन । तर हिजो राति मैले कराउँदा तिमीले आफ्नी पत्नीलाई यो इलाका उजाड, बिरानो हुनुको कारण उल्लू बसेकाले हो भनेर खिसी गर्यौ, त्यो साँचो होइन, देखिहाल्यौ यो ठाउँमा त्यस्ता मान्छे बस्दछन्, जसले सधैँ उल्लूकै हकमा फैसला गर्दछन् र उल्लू बन्दछन् ।’